• वि.सं २०८१ मङ्सिर ८ शनिबार
  • Saturday, 23 November, 2024
शिशिर वैद्य काठमाडौं
२०७६ बैशाख २८ शनिबार ०८:५१:००
समाज

काठमाडौंका अद्भुत चार

सहर

२०७६ बैशाख २८ शनिबार ०८:५१:००
शिशिर वैद्य काठमाडौं

काठमाडौं किंवदन्तीको सहर हो । यस सहरसँग अनेकौँ किंवदन्ती जोडिएका छन् । मञ्जुश्री तिनै किंवदन्तीसँग गाँसिएको एउटा नाम हो । महाचीनबाट परिक्रमा गर्न निस्किएका मञ्जुश्रीले नगरकोटको डाँडाबाट यो उपत्यका देखेका थिए । पानीले भरिएको । उनी यति मोहित भए कि चोभारको डाँडो काटेर पानी निकास गरे । किंवदन्ती यसै भन्छ । यही किंवदन्तीलाई आधार मानेर मञ्जुश्रीको अजंगको मूर्ति स्थापना गरिएको छ, चोभारमा । समाजमा घटेका अद्भुत घटनालाई दैवी शक्तिसित जोडेर हेर्नु मानवीय स्वभाव हो । ती दैवी शक्तिको बयान नै किंवदन्तीका जग हुन् । 

मञ्जुश्रीले उपत्यकाको पूर्वोत्तर डाँडोबाट देखेको काठमाडौं खाल्डो ताल थियो । पृथ्वीनारायण शाहले दक्षिण पश्चिमको डाँडोबाट देख्दा चित्ताकर्षक सहर बसिसकेको थियो । मञ्जुश्री मोहित भएको समय र स्थान यकिनसाथ भन्न सकिन्न । तर, शाहले यसको सुन्दरताको मोहबाट बच्न नसकेर नेपाल हानेको इतिहास धेरै पुरानो होइन । अढाई शताब्दीअघिको मात्रै हो । त्यसअघि मल्ल, किरात, गोपाल अनेक काल भोगेको छ, काठमाडौंले । काठमाडौंका शासकहरूमा धार्मिक आस्था अपार थियो । त्यसैले सहर बसाउँदा नै देश रक्षार्थ विभिन्न स्थानमा गणेश, भैरव, नारायणलगायत देवदेवीका अनेक मन्दिर स्थापना गरेका थिए । 

मञ्जुश्रीले चोभारको डाँडो काटेर पानीलाई निकास दिएको किंवदन्ती प्रख्यात छ । तर, पानी निकासका लागि काटिएको स्थान चोभार मात्रै थिएन । अन्य तीन स्थानमा पनि काटिएका थिए पहाड । न्हसिकाप भनिन्छ, यी ठाउँलाई । क्वदुवा न्हसिकाप (कटुवाल दह), क्वयना न्हसिकाप (चोभार), आर्यघाट न्हसिकाप, गोकर्ण न्हसिकाप । (हरिराम जोशी) यी चार स्थानका वर्णन विरलै सुन्न पाइन्छ । 

कालक्रममा चार नारायण, चार गणेश, चार टाकुरा, चार भञ्ज्याङ, चार योगिनी... स्थापित भएका छन् यहाँ । चार अंकसँग काठमाडौंको अजिबको सुयोग छ । वंशावली भन्छ, चारौँ शताब्दीमा नेपाल खाल्डोमा चार नारायणको स्थापना गरिएको थियो । चार दिशामा । चाँगु नारायण, इचंगु नारायण, शेष नारायण र विशंखु नारायण । भनिन्छ, सिमाना थिए यी चार नारायण । त्यसैले परिक्रमा गरिन्थ्यो । उद्देश्य हुन्थ्यो देश दर्शन । चार नारायणको परिक्रमा अहिले पनि गरिन्छ । तर, देश दर्शनको परिकल्पना महत्वहीन  भएको छ अहिले । अठार कोस हिँडेरै यी स्थान परिक्रमा गरेका कुरा पत्याउँदैनन्, आजका पुस्ता । यी नारायण थानहरूमा हरिबोधिनी एकादशीमा विशेष मेला लाग्ने प्रचलन निरन्तर चलिरहेकै छ । 

विभिन्न धर्मावलम्बीका तीर्थ छन् उपत्यकामा । अधिकतर तीर्थस्थल हिन्दू र बौद्ध धर्मावलम्बीहरूका छन् । ती तीर्थसँग गाँसिएका किंवदन्ती पनि अनेक छन् । बौद्ध, हिन्दू, किरात, इसाइ, शिख, मुस्लिम सबै धर्मावलम्बीहरूको मिश्रित बसोबास छ यहाँ । धार्मिक सहिष्णुता उदाहरणीय छ । हिन्दूहरूका प्रथम पूज्य भगवान् हुन् गणेश । बौद्ध धर्मावलम्बीहरू पनि उत्तिकै आस्था राख्छन् । गणेशका अनेक प्रतिमा स्थापित छन् । टोलटोलमा । चोकचोकमा । तीमध्ये चार गणेश विशेष छन् । सूर्य विनायक, चावहिः गणेश (रक्तविनायक), मरु गणेश (अशोक विनायक), क्वेना गणेश (जल विनायक) ।

गणेशलाई विघ्नहर्ता पनि भनिन्छ । त्यसैले बालबालिकाको बोली नफुटे सूर्यविनायक, रोगव्याधी लागे चावहिः गणेश, शोकरहित जीवन बाँच्न अशोक विनायक र अन्नबालीको सुरक्षाका लागि क्वेना गणेशको पूजा गर्ने धार्मिक विश्वास अझै कायम छ । त्यस्तै, चार प्रसिद्ध योगिनी तीर्थ छन् यहाँ । खड्गजोगिनी, बज्रजोगिनी, आकाशयोगिनी (विजेश्वरी) र नैरात्मा योगिनी (गुह्येश्वरी) । हरिसिद्धिलाई चौथो योगिनी मान्ने केही संस्कृतिविद्हरू पनि छन् । 

फुचो (फुल्चोकी), धिलाचो (चम्पादेवी), जामाचो (नागार्जुन), सिधिफुलचो (नगरकोट) । काठमाडौं वरिपरिका चार टाकुरा हुन् । किंवदन्तीअनुसार काठमाडौं तालको बीचमा स्वयम्भू थियो । दिव्य ज्योतिसहित कमलको फूलमा तैरिरहेको । स्वयम्भूको दर्शन गर्न विभिन्न समयक्रममा विभिन्न बुद्धहरू आएका थिए यहाँ । विश्वभु बुद्ध, शिखी बुद्ध, विपश्वी बुद्ध, र मञ्जुश्री बोधिसत्वले यी चार टाकुराबाट दर्शन गरेका थिए स्वयम्भूको । काठमाडौं प्रवेशका बिन्दु पनि थिए यी चार टाकुरा । 

उपत्यकाका तीनै सहर तान्त्रिक विधिअनुसार स्थापित गरिएको मानिन्छ । भनिन्छ, तान्त्रिकहरू अकल्पनीय र अपत्यारिला शक्तिका धनी हुन्छन् । उनीहरू कुनै पनि दैवी शक्तिलाई वशमा पार्न सक्ने क्षमता राख्छन् । मत्स्येन्द्रनाथ, भद्रकाली, काष्ठमण्डप, हरिसिद्धि तान्त्रिक वशमा परेका किंवदन्ती प्रख्यात छन् । काठमाडौंमा सहर बसालिएका अनेक किंवदन्तीहरू छन् । प्रमाणरूपी वंशावलीहरू छन् । मध्यकाल र त्यसभन्दा अघिसम्म ‘नेपाल मण्डल’ भनिन्थ्यो काठमाडौंलाई ।

पृथ्वीनारायण शाहले जितेपछि ‘तीन सहर नेपाल’ भन्न थालियो । मध्यकालमा तीन व्यवस्थित र बलिया मल्ल राज्य थिए यहाँ । यें (काठमाडौं), यल (पाटन) र ख्वपः (भक्तपुर) । संस्कृति र सम्पदामा धनी थिए ती मल्लकालीन सहर । सहरको वास्तुकला वातावरण सुहाउँदो थियो । मल्लकालको त्यो सुन्दर सम्पदा सहर अहिले कुरूप भएको छ ।

मल्लकालीन काठमाडौं राज्यका चार कुनामा चार ढोका थिए । सहर प्रवेशका प्रमुख नाका तिनै थिए । पूर्वमा भोटाहिटी, पश्चिममा क्षेत्रपाटी ढल्को, उत्तरमा थँहिटी, दक्षिणमा ह्युमत । गाईजात्रा र उपाकु जानेबेला नगर परिक्रमा गरिन्छ । नगर परिक्रमाको यही चक्रले मध्यकालीन कान्तिपुर सहरको परिधिलाई किटान गर्छ । ललितपुरका बौद्धमार्गीहरू गाईजात्रा भिन्नै तरिकाले मनाउँछन् । मतया जाने भनिन्छ यसलाई । दुवै मृतकका सम्झनामा सहर परिक्रमा गरिने पर्व हुन् ।

उपत्यकाका तीनै सहर तान्त्रिक विधिअनुसार स्थापित गरिएको मानिन्छ । भनिन्छ, तान्त्रिकहरू अकल्पनीय र अपत्यारिला शक्तिका धनी हुन्छन् । उनीहरू कुनै पनि दैवी शक्तिलाई वशमा पार्न सक्ने क्षमता राख्छन् । 

काठमाडौं, भक्तपुरतिर मनाइने जात्राको भोलिपल्ट मनाइन्छ यो जात्रा । पाटन सहरको चार कुनामा रहेका चार थुरभित्रका लगभग सम्पूर्ण बहाः र बही परिक्रमा गरिन्छ यस दिन । तेता थुर (ग्वार्को), लगनख्यः थुर (लगनखेल), पुच्व थुर (पुल्चोक), ईबहीः थुर (बाग्मती) । यी चार थुरले पाटन सहरको प्राचीन सीमा निर्धारण गर्छ । मल्लकालसम्म उपत्यकाको सबैभन्दा ठूलो राज्य हो पाटन । यहाँका चार गणेश, चार महादेव, चार नारायण, चार भीमसेन, चार जगन्नाथ निकै प्रसिद्ध छन् । 

सत्ताका लागि षड्यन्त्र र हत्याका अनेक घटना भोगेको छ काठमाडौंले । ती घटनाले शाह राजाहरूलाई कठपुतली बनायो । राणाहरू बलिया भए । एक शताब्दीभन्दा बढी शासन गरे राणाहरूले । तीन सहर नेपाललाई जहानियाँ राणाहरूले ‘नेपाल खाल्डो’ भन्न सुरु गरे । तर, व्यवहारमा चार भञ्ज्याङ प्रचलित थियो । पूर्वमा सांगा भञ्ज्याङ, पश्चिममा बाँडभञ्ज्याङ, उत्तरमा पाँचमाने भञ्ज्याङ र दक्षिणमा फर्पिङ (सौखेल) भञ्ज्याङ । यी काठमाडौं खाल्डोका सिमाना थिए । काठमाडौं प्रवेश गर्ने आर्थिक नाका थिए । नेपाल खाल्डो प्रवेश गर्न प्रवेशाज्ञा चाहिन्थ्यो । प्रवेशाज्ञा भञ्ज्याङका नाकामा देखाउनुपथ्र्याे । चार भञ्ज्याङको वर्णन सरकारी दस्तावेजहरूमा खोज्दा अझै पनि भेटिन्छन् । 

उपत्यका संस्कृति र चाडपर्वमा धनी सहर हो । स्त्रीहरूको चार विवाह गर्ने परम्परा प्राचीनकालदेखि प्रचलित छ यहाँ । सोमसित– प्रथम (इही), गन्धर्वसित– द्वितीय, अग्निसित (सूर्य)– तृतीय, मनुष्यसित– चतुर्थ विवाह । चार अंकको सुयोग उपत्यकामा मात्र सीमित छैन । बज्रयानीहरूको चार क्षण, चार आनन्द, चार मुद्रा ।

बौद्ध धर्मावलम्बीहरूको चतुर्दर्शनीय स्थान । चार धाम, चार देवका वर्णनले चार अंकको महत्व  चौतर्फी रहेको देखिन्छ । तथागत बुद्धको जन्मस्थल– लुम्बिनी, तथागत बुद्धले ज्ञान प्राप्त गरेको स्थल– बोध गया, तथागतले अनुत्तर धर्मचक्रको प्रवर्तन गरेको स्थल– सारनाथ, तथागतले महापरिनिर्वाण प्राप्त गरेको स्थल– कुशीनगर बौद्ध धर्मावलम्बीहरूले घुम्नै पर्ने चतुर्दर्शनीय स्थलमा पर्छन् । त्यस्तै, बद्रीनाथ एवं केदारनाथ, रामेश्वर, द्वारका र जगन्नाथ प्रसिद्ध तीर्थ हुन् । चार धाम भनिन्छ, यी तीर्थलाई । प्रथमानन्द, परमानन्द, विरमानन्द र सहजानन्द बज्रयानीहरूका चार आनन्द हुन् । माता, पिता, गुरु र अतिथिलाई चार पूज्य देव मान्ने संस्कृति बोकेको काठमाडौंको चार अंकसँगको नाता अद्भूत छ ।