
प्रदीप गिरिको मान्यता थियो– समाजवादको वैचारिक अवधारणा आधारभूत रूपले कामदार वर्गको अवधारणा होे । तर, नेपाली कांग्रेस कामदार वर्गको पार्टी थिएन ।
उहाँको अर्को नाम थियो विद्रोह । विद्रोह समाजसँग । विद्रोह परिवारसँग । विद्रोह पार्टीसँग । विद्रोह आफैँसँग । मनमा भावनाको भेल आएका वेला प्रदीप दाइको प्रेमका अकथित पानाहरू पनि खोलौँला । उहाँ प्रेमको बिम्ब हुनुहुन्थ्यो । महिमालायक प्रेमको बिम्ब ।
समतावादी चिन्तक, लोकतान्त्रिक समाजवादी दर्शनका अध्येता तथा स्वतन्त्रताका पहरेदार प्रदीप दाइ (प्रदीप गिरि) ले आफ्नो देह विसर्जन गर्नुभएको एक वर्ष पूरा भएको छ । मानिस जन्मिएपछि मर्छ । यो सामान्य कुरा हो । मृत्यु मानिसको अन्तिम नियति हो । देह विसर्जन गर्ने मानिसको यो नियतिले उसका प्रियजनलाई केही समयका लागि दुःखको सागरमा डुबाइदिन्छ । त्यसपछि प्रियजनको घाउ पुरिँदै जान्छ र सबै कुरा सामान्य हुन थाल्छ । तर, केही प्रियजन वाचाल हँुदैनन् । प्रदीप दाइका प्रियजन पनि वाचाल थिएनन् । खुसी पनि चुपचाप भोग्ने र दुःख पनि चुपचाप सहने व्यक्तिहरूले घेरिएर बस्नुहुन्थ्यो प्रदीप दाइ । आफ्नो जन्मभूमि बस्तीपुर, सिराहामा उहाँले आश्रमको स्थापना गर्नुभएको थियो । आफू आश्रममा बसेका वेला बाँसुरी बजाउन खप्पिस विजयको ‘शराब’ पिउने आदत सुधार्ने, सफिदको आत्मबल बढाउने, जितनी रामको स्वाभिमानलाई उत्साहित गर्ने र गम्भीर लामाको अव्यक्त अभिव्यक्तिहरूको अर्थ खुलाउने काममा दत्तचित्त रहनुहुन्थ्यो प्रदीप दाइ । उहाँको आश्रम सन्त नेता कृष्णप्रसाद भट्टराईको चिन्तनको थलो थियो । धेरै राजनीतिकर्मीको आकर्षणको केन्द्र थियो आश्रम । आश्रम मानवीय चेतनाको प्रतीक थियो ।
प्रदीप गिरिको जन्म कांग्रेसी परिवारमा भएको थियो । उहाँका पिता मित्रलाल गिरि सिराहाका सम्भ्रान्त व्यक्ति हुनुहुन्थ्यो । प्रदीपका काका रुद्रप्रसाद गिरि नेपालमा प्रजातन्त्र स्थापनाका लागि २००७ सालमा भएको जनक्रान्तिका कमान्डरमध्ये एक हुनुहुन्थ्यो ।
प्रदीप गिरिलाई सर्वप्रथम समाजवादी बाटोमा डोहो¥याउनुभएको थियो, सहिद सरोजप्रसाद कोइरालाले । नेपाली कांग्रेसले दोस्रोपटक राजाको नेतृत्वमा निर्दलीय पञ्चायत व्यवस्थाको नाममा चलेको निरंकुश राजतन्त्रका समयमा मधुवनी, भारतमा निर्वासित जीवन बिताइरहनुभएका सरोज कोइरालाको हत्या गरेका थिए, निर्दलीय आततायीले । मधेसको राजनीतिमा सक्रिय रहनुभएका सरोज कोइरालाको जघन्य हत्या लोकतान्त्रिक आन्दोलनको सर्वाधिक ठूलो क्षति थियो । प्रदीप गिरिलाई समाजवादी बाटोमा डोहो¥याउने क्रममा सरोज कोइरालाले आफ्ना पुस्तकको सानो संंग्रहालयबाट भारतीय समाजवादी चिन्तक अशोक मेहताले लेख्नुभएको पुस्तक ‘लोकतान्त्रिक समाजवाद’ पढ्न दिनुभयो । अशोक मेहता गान्धीवादका हितैषी हुनुहुन्थ्यो । तर, उहाँको मित्रता थियो, डा. राममनोहर लोहियासँग । लोहिया स्वयं पनि गान्धीजीका अनुयायी हुनुहुन्थ्यो । तर, राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको बाटोमा लाग्नेले हिंसाको परहेज गर्न नहुने मान्यता राख्नुहुन्थ्यो । लोकतान्त्रिक समाजवादी विचारधारासँग प्रदीप गिरिको सामिप्यको सेतु अशोक मेहताको यही पुस्तक थियो । प्रदीप दाइले मलाई बताउनुभएको थियो – लोकतान्त्रिक समाजवादसँगको मेरो पहिलो परिचय, आकर्षण र लगाव यहीँबाट सुरु भएको हो ।
नेपाली कांग्रेसले सन् १९५६ मा मात्रै लोकतान्त्रिक समाजवादलाई आफ्नो राजनीतिक लक्ष्य बनाएको हो । साँच्चै भन्ने हो भने १९५० यता नेपाली कांग्रेसको अधिकांश समय राजा महेन्द्रको तानाशाहीसँग लड्दैमा बित्यो । त्यसैले पनि नेपाली कांग्रेसले समाजवादको व्याख्या गर्ने र यसका विभिन्न पक्षमा बहस चलाउने मौका पाएन ।
प्रदीप गिरिको मान्यता थियो– समाजवादको वैचारिक अवधारणा आधारभूत रूपले कामदार वर्गको अवधारणा होे । तर, नेपाली कांग्रेस कामदार वर्गको पार्टी थिएन । नेपाली कांग्रेसको नेतृत्वमा मध्यमवर्गीय किसानका शिक्षित सन्ततिको पकड थियो । यद्यपि, सरोज कोइरालाजस्ता समान विचार राख्ने नेताहरू अपवादका रूपमा समाजवादका पक्षमा उभिएका थिए ।
प्रारम्भिक दिनमा प्रदीप गिरिको समाजवादी विचारमा सर्वसाधारण जनताको यथार्थ अवस्था समाहित हुन सकेन । किन यस्तो भयो त ? राजनीतिक दलहरूले समाजवादलाई जनताको ध्यान खिच्न सक्ने नाराको रूपमा मात्रै विकसित गरे । नेपालमा लोकतन्त्र र समाजवादको गहन प्रयोग गर्ने अवसर आउनै लागेका वेला राजा महेन्द्रले सन् १९६० मा संसदीय प्रजातन्त्रको विघटन गरे । देशले त्यसपछिका तीस वर्ष सकसमा बितायो ।
प्रदीप गिरिको विचारमा सन् १९९० बाट नेपालमा नयाँ युगको प्रारम्भ भयो । गणेशमान सिंहको नेतृत्वमा भएको राष्ट्रिय जन–आन्दोलनमा वामपन्थीहरूको सहभागिता भएकोमा कांग्रेस गौरवान्वित भएको थियो ।
नेपाल र नेपाली समाजको अवस्थाको विवरण र व्याख्या गर्ने प्रयत्न नभएकोमा प्रदीप गिरि उद्विग्न हुनुन्थ्यो । मसँगको अन्तर्वार्तामा उहाँले भन्नुभएको थियो, ‘न त बिपीले लोकतान्त्रिक समाजवादलाई नेपाली सन्दर्भमा व्याख्या गर्न भ्याउनुभयो, न त मदन भण्डारीले जनताको बहुदलीय जनवादको व्याख्यालाई पूर्णता दिन भ्याउनुभयो । कांग्रेस र एमालेभित्र वैचारिक अवधारणालाई स्थापित गर्न सक्ने अरू कुनै सिर्जनात्मक हस्ती देखिएनन् ।’
प्रदीप गिरिले नेपाली समाजवादका विशेषताको पहिचान गर्नुपर्ने बताउनुभएको थियो । माओवादी नेतृत्वमा सहभागी महिला, दलित, आदिवासी, जनजातिको पहिचान कायम हुनुपर्ने विचार थियो उहाँको । पछिल्लो समयमा नेपाली कांग्रेसका सांसद प्रदीप गिरि र माओवादी पार्टीका अध्यक्ष तथा हाल प्रधानमन्त्री प्रचण्डबीच नियमित राजनीतिक परामर्श हुने गरेको थियो । गिरिको निधनपछि राजनीतिक परामर्शको त्यो तन्तु छिनेको छ । प्रधानमन्त्री प्रचण्ड यतिखेर सत्तावृत्तले खडा गरेका अनेक अभ्mयौलामा उल्झिनुभएको छ भने नेपाली कांग्रेसका सभापति देउवा ‘पोलिटिकल एडजस्टमेन्ट’मा लाग्नुभएको छ ।
एकपटक मैले प्रदीप दाइसँग सोधेको थिएँ– देशमा अहिले जुन प्रकारको असन्तुष्टि र हाहाकारको स्थिति छ, त्यो कहिलेसम्म रहन्छ ? प्रदीप दाइको जवाफ थियो– अहिले एउटा युगको अन्त्य हुँदै छ । यसपछि नयाँ युगको सुरुवात हुनेछ । हामी जुन व्यवस्थालाई स्वीकार गरेर हिँडेका छौँ, यो हाम्रो व्यवस्था होइन । यसबारे नेपाली कांग्रेसमा बडो अनभिज्ञता छ । यस्तो अनभिज्ञता अरू पार्टीमा पनि होला...।