• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
रामबहादुर थापामगर
२०८० भदौ २ शनिबार ०९:४९:००
यात्रा

टोपीको राष्ट्रियता 

२०८० भदौ २ शनिबार ०९:४९:००
रामबहादुर थापामगर

 

पहिले, टोपी लगाउनेलाई ‘गाउँले’, ‘अनपढ’ र ‘गवाँर’ भन्थे । अहिले यही टोपी राष्ट्रियताको प्रतीक बनेर अनपढ भन्नेहरूलाई गतिलो झापड दिएझैँ लाग्छ ।

 

संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा विश्वका आदिवासी जनजातिको मुद्दासम्बन्धी काम गर्ने निकाय छ, जसलाई ‘संयुक्त राष्ट्रसंघ, आदिवासी मामिलासम्बन्धी स्थायी मञ्च’ भनिन्छ । स्थायी मञ्चले हरेक वर्ष विश्वका आदिवासी जनजातिका मुद्दाबारे छलफल गरी निर्णय पारित गर्न सम्मेलनको आयोजना गर्छ । यसको महत्व र गरिमाको कारण सम्मेलनमा विश्वका सरकार, आदिवासी जनजातिका संगठन, आदिवासी जनजाति अभियन्ता र अध्येयताको सहभागिता हुन्छ । स्थायी मञ्चको २२औँ सेसनमा नेपालको आदिवासी जनजातिको स्थिति र भावी कार्यदिशा तथा अन्तर्राष्ट्रिय जगत् र संयुक्त राष्ट्रसंघले खेल्नुपर्ने भूमिकाबारे सम्बोधन गर्न आदिवासी जनजाति आयोगको अध्यक्षको हैसियतमा २३ अप्रिल २०२३ मा म न्युयोर्क गएको थिएँ । 

 

२७ अप्रिलमा सेसनलाई सम्बोधन गरेपश्चात् मे ५ मा नेपाल फर्कें । सन् २०१० मा पनि सोही सेसनमा भाग लिएको थिएँ । त्यो वेला राज्यको नभई आदिवासी जनजाति महासंघको महासचिव र सभासद्को हैसियतमा गएको थिएँ । त्यतिखेर अबुधाबी हुँदै न्युयोर्क यात्राका क्रममा वैदेशिक रोजगारीमा गएका नेपालीसँग भेट्ने मौका मिलेको थियो । मैले लगाएको ढाकाटोपी देखेर अबुधाबीको विमानस्थलका सुरक्षा जाँचकी र सरसफाइमा काम गर्ने नेपालीले देखाएको आत्मीयताले यो संस्मरण लेख्न उत्प्रेरित गरेको थियो । 

 

काठमाडाैं–दुबई
यात्राको गन्तव्य काठमाडाैंदेखि न्युयोर्कको । तर, उडानको पहिलो चरण काठमाडौंदेखि दुबईसम्मको थियो । चार घन्टाको उडानपछि स्थानीय समयानुसार बिहानको ४ बजे दुबई पुगियो । दुबईसम्मको यात्रामा नेपाल एयरलाइन्समा एकादुईबाहेक व्यापारिक वर्गको सिटमा प्रायः नेपाली थिए । न्युयोर्क जाने साथी छन् कि भनेर आँखा डुलाएँ, तर सबै व्यापारी दुबईमै उत्रिए । 

 

जहाजबाट झर्दा इकोनोमिक क्लासमा यात्रा गरेका नुवाकोटका भाइसँग चिनजान भयो । युवाहरूको सम्मेलनमा भाग लिन न्युयोर्क नै हिँडेका रहेछन् उनी । अन्तर्राष्ट्रिय उडानबाट यात्रा नगरेको दशकौँ भएको थियो । भाइले सघाए । उनको उडान मेरोभन्दा अगाडि र बाटो पनि सीधै न्युयोर्क तर मैले इटलीको मिलान हुँदै जानुपर्ने । उनको उडान दुई घन्टाअगाडि भयो । भाइलाई बिदा गरेपछि म एयरपोर्टपरिसरमै डुलिरहेको थिएँ । म आफ्नो उडान गन्तव्यको ढोका पत्ता लगाउने क्रममा थिएँ । अलमलिएजस्तो मेरो हाउभाउ देखेर दुबई एयरपोर्टको कस्मेटिक पसलमा काम गर्ने बालुवाटारकी गुरुङ बहिनी मलाई पथप्रदर्शकको रूपमा सहयोग गर्न आइन् । उनलाई धन्यवाद दिएर म सुझाबअनुसार प्रतीक्षालयमा बसेर साथीभाइ र आफन्तलाई यात्राको जानकारी गराइरहेको थिएँ । मोबाइलको ब्याट्री कम हुँदै थियो । चार्ज गर्ने स्थान खोज्न भाैँतारिइरहेको थिएँ । विभिन्न ठाउँमा चार्जका लागि कोसिस गरेँ तर भएन । चितवनका बाहुन थरका भाइले मलाई सघाए र आराम गर्ने स्थानसमेत देखाइदिए । त्यहीँ बसिरहँदा ताप्लेजुङको शेर्पा र ओेखलढुंगाकी क्षेत्री बहिनी म नजिक आएर चिनजान गरे । स्कुल जाने उमेरमा किन विदेशमा आएको भन्ने मेरो जिज्ञासामा बाध्यताले आएको जवाफ दिए । केहीबेरपछि उनीहरूको आत्मीयता र सहयोगको प्रशंसा गर्दै दुबईबाट इटलीको मिलानतर्फ उडेँ ।

 

मिलान–न्युयोर्क
उडेको साढे चार घन्टापछि इटलीको मिलान सहरमा पुगियो । मिलान एयरपोर्ट वरिपरिको केही दृश्य क्यामेरामा कैद गरेँ । मिलानदेखि न्युयोर्कका लागि जहाज उड्ने समय भएपछि जहाजमा चढेँ । सिटमा बस्नुभन्दा अगाडि अरेबियन पोसाकमा सजिएकी एकजना एयर होस्टेसले नेपाली भाषामा बोल्दै बस्ने सिट देखाइदिइन् । म अचम्मित भएँ । उनीप्रति अपार आस्था जागेर आयो । फोटो खिच्न अनुरोध गर्नासाथ स्वीकृति दिएपछि उनको फोटो लिएँ । विमानमा नेपाली यात्रु नभेटेको क्षणमा जहाजको कर्मचारी नै नेपाली भेट्नु अन्तर्राष्ट्रिय उडानमा जोकोही नेपालीलाई खुसी लाग्ने नै भयो । केही समयपछि उनै एयर होस्टेस खाजा लिएर आइन् । हाम्रो दोहोरो कुराकानी भयो । परिचय सोध्दा आफू काभ्रेको पनौतीमा घर भएको, तर बेल्जियममै हुर्केर यो पेसामा आएको बताइन् । यात्राभरि चिसोतातो, खाना, खाजा र पेयपदार्थको व्यवस्थामा खुबै ख्याल राखेर आत्मीयता दर्साइन् । जहाज स्थानीय समयअनुसार बेलुकाको ७ बजे न्युयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । 

 

न्युयोर्कमा छचल्किएको राष्ट्रियता
 मे २४ मा न्युयोर्क पुग्दा स्थायी मञ्चको सेसन चलिरहेको थियो । २५ तारिखमा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगको कार्यालय म्यानह्याटनमा महामहिम अमृतबहादुर राईसहित नियोगका कर्मचारीसँग भेटघाट भयो । अप्रिल २६ मा स्थायी मञ्चको दुईवटा सेसनलाई सम्बोधन गरेँ । सम्बोधनमा आदिवासी जनजातिको हक–अधिकार संरक्षण र संवद्र्धनका लागि आदिवासी जनजाति आयोगको संक्षिप्त परिचय तथा संयुक्त राष्ट्रसंघले खेल्नुपर्ने भूमीका र तराईका थारू आदिवासी जनजातिमा देखिएको सिकल–सेल एनिमियाबारे प्रस्ट्याएँ । सेसनलाई सम्बोधन गरेपश्चात् विश्वभरिबाट सम्मेलनमा आएका आदिवासी जनजाति साथीहरूसँग भेटघाट भयो । स्थायी मञ्चका अध्यक्षसँग पनि भेटघाट भयो । साथीहरूसँग फोटो लिने क्रममा पनि मेरो टोपीको बखान गरे विदेशी साथीले । अमेरिकामै आदिवासी जनजाति संघसंस्थाले गरेको सम्मान तथा छलफल कार्यक्रममा सहभागी हुँदाहुँदै एक हप्ता बित्यो ।

 

१३ वर्षअगाडि न्युयोर्कमा नेपालीहरू बिरलै भेटिन्थे । तर, अहिले न्युयोर्कको ज्याक्सन हाइट नेपालकै कुनै सहरजस्तो भइसकेछ । नेपालीहरू आ–आफ्नै काममा व्यस्त रहे पनि सामाजिक, सांगठनिक तथा नेपाली चाडपर्वमा एक हुने र नेपालको विषयमा चिन्ता र चासो गरिरहने समुदायको अमेरिकामा पनि बढोत्तरी भएको देख्दा नेपाल र नेपालीको पहिचान अन्तर्राष्ट्रियकरण भएको महसुस भयो । हिजो अमेरिका नेपालीका लागि कल्पना र सपनाको संसार थियो । तर, आज त्यो रहेन । न्युरोड र न्युयोर्क, डिल्लीबजार र डिसी उस्तै लाग्न थालेको छ । नेपालमा भएका राजनीतिक तथा जातीय संस्थाका भातृ संगठनहरू नेपालमा भन्दा बढी सक्रिय रहेछन् । आयआर्जन राम्रो भएकाले नेपाललाई रेमिट्यान्स पठाएर सहयोग गरिरहेका छन् । यो नेपाली जातिको मात्रै होइन, भाषा संस्कृति र पहिचानको पनि अन्तर्राष्ट्रियकरण हो । 

 

न्युयोर्कदेखि नयाँदिल्ली
अप्रिल ४ मा एयर इन्डियाबाट मेरो उडान न्युयोर्कदेखि दिल्लीको थियो । जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने एकजना काभ्रेतिरको लामा भाइलाई भेटेँ । ऊसँग संक्षिप्त कुराकानी भयो । अमेरिकाको विमानस्थलमा पनि नेपालीसँग भेट भएकोमा गौरवान्वित भएँ । 

 

दिल्लीका लागि जहाज उड्यो । न्युयोर्कदेखि न्युदिल्ली करिब १८ घन्टामा आइपुगियो । दिल्लीबाट अर्को जहाजमा काठमाडौं आउनु थियो । तर, न्युयोर्कदेखि निर्धारित समयभन्दा आधा घन्टा ढिलो उडेको एयर इन्डियाको जहाजले मलाई काठमाडौं लैजाने जहाज भेट्न सकेन । अप्रिल ५ को १:३० बजेको सट्टा ६:३० बजे उड्नुपर्ने भयो । नयाँदिल्ली एयरपोर्टको प्रतीक्षालयमा कोरियालगायत देशमा रोजगारीका लागि हिँड्न लागेका नेपालीसँग भेटघाट र भलाकुसारी भयो । सबैको गुनासो थियो, नेपालमा कहिलेदेखि शान्तिसँग काम गर्न र मेरो देश हो भनेर गर्व गर्न पाइएला ? उनीहरूको प्रश्नले मलाई अवाक् बनायो ।

 

दिल्ली–काठमाडौंं
सन् २०१० मा न्युयोर्कबाट नेपाल फर्किंदा अबुधाबीबाट काठमाडौं आउने प्लेनमा एकजना नेपाली मूलकी सिक्किमकी राई एयर होस्टेस थिइन् । रमाइलै लागेको थियो । अर्को रमाइलो, एकजना विदेशी महिला यात्रुले छेउमा आएर अभिवादन गर्दा मलाई आश्चर्य लागेको थियो । मलाई कसरी चिन्यौ भन्दा उनको उत्तर थियो, ‘म न्युयोर्कदेखि अबुधाबीसम्म तिमी सवार जहाजमा एयर होस्टेस थिएँ । तिमीले लगाएको टोपीलाई मैले मार्क गरिरहेकी थिएँ । बैंककदेखि म यात्रु भएर नेपाल घुम्न हिँडेको । तपाईंलाई हिजै देखेकाले बोल्न आएकी ।’ 

 

यसपालि पनि दिल्लीदेखि काठमाडौं आउँदा नेपाली मूलका दुई महिला परिचारिका देखेँ र बोलाएँ । उनीहरू एकजना नागाल्यान्डकी आदिवासी र एकजना सिक्किमकी नेपाली मूलकी रसाइली थरकी बहिनी थिइन् । मे ५ को ८:३० मा म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेर नेपालको माटो टेकेँ । 

 

स्वदेशमा भन्दा विदेशमा राष्ट्र र राष्ट्रियताको महत्व बढी हुँदो रहेछ । दुबई एयरपोर्टमा भेटिएका बालुवाटारकी गुरुङ, चितवनका बाहुन भाइ, ओखलढुंगाकी कार्की, ताप्लेजुङकी शेर्पा र बनेपाकी राउत भाइबहिनीहरूले कसरी मलाई माया, सम्मान र सहयोग गर्न पुगे ? उनीहरूले मलाई कसरी चिने ? यी सबैको कारण मेरो शीरको टोपी र उनीहरूको घर नेपाल भएकाले हो । मेरो शीरमा टोपी हुन्थेन भने उनीहरूले मलाई चिन्दैनथे । टोपीले नेपाली भनेर मात्रै चिनाएन राष्ट्रियतालाई पनि चिनायो र आत्मीय बनायो । 

 

सन् २००० तिर पारिवारिक भ्रमणमा हङकङ गएको थिएँ । हङकङको प्रसिद्ध रमणीय स्थल ओसन पार्कमा डुलिरहँदा एउटा विदेशीले मैले लगाएको टोपी देखाउँदै सोध्यो, ‘यो के हो ?’ मैले टोपी हो भनेँ । उसले टोपीका बारेमा बुझ्ने मनसायले कुनै धार्मिक या सांस्कृतिक प्रतीक हो कि भनी पुनः प्रश्न गर्‍यो । उत्तरमा मैले टोपी कुनै धार्मिक चिह्न नभएर राष्ट्रियताको प्रतीक हो भनेँ । अचम्म मान्दै तिम्रो देशमा त विश्वकै अग्लो सगरमाथा पनि छ हैन ? भनेर सोध्यो । मैले हो, विश्वको अग्लो सगरमाथा मेरो गौरव र टोपी राष्ट्रियता हो भनेँ । मेरो उत्तरपछि उसले संसारकै अग्लो हिमालजस्तै शीरमा अग्लो टोपी रहेछ भनेथ्यो । उसको भनाइले मेरो आत्मा गौरवले फुलेको थियो । 

 

टोपी लगाउने बानी कहिलेदेखि भयो थाहा छैन । सानैदेखि बाआमाले टोपी लगाइदिएको बानीलाई जुल्फी पाल्ने फेसनको समयबाहेक निरन्तरता दिएको छु । बानी लाग्यो । टोपी नलगाउँदा साथीहरू आश्चर्य मान्छन् । मेरो परिचय र पहिचान नै टोपी भएकाले लगाइरहने सुझाब दिन्छन् ।

 

पहिले, टोपी लगाउनेलाई गाउँले, अनपढ र गँवार भन्थे । अहिले यही टोपीले राष्ट्रियताको प्रतीक बनेर अनपढ भन्नेहरूलाई गतिलो झापड दिएझैँ लाग्छ । 

 

(लेखक थापामगर आदिवासी जनजाति आयोगका अध्यक्ष हुन् ।)