• वि.सं २०८१ मङ्सिर २१ शुक्रबार
  • Friday, 06 December, 2024
२०८० भदौ २ शनिबार १०:३६:००
फिल्म

गुमनाम कस्ट्युम डिजाइनर

२०८० भदौ २ शनिबार १०:३६:००

 

‘दाङमा पुगेर पूर्वमाओवादी भेटेँ, उनले रुँदै बाक्साबाट ड्रेस निकालेर दिए । यो मैले भोगेको जीवन हो, फिर्ता गर्नू पनि भनेका थिए । यस्तै कपडा बनाएपछि मैले उनको ड्रेस फिर्ता गरेको थिएँ ।’

 

०६७ सालतिरको कुरा हो । ‘छड्के’ फिल्म निर्माणको तयारी चलिरहेको थियो । यतिवेला सुजन परियार भर्खरै प्लस टु सकेर बसेका थिए । निर्देशक निगम श्रेष्ठले ‘छड्के’मा कस्ट्युम डिजाइनका लागि सुजनलाई छाने ।

 

‘प्लस टु सकेपछि ‘सिए’ पढ्ने योजना थियो । फुर्सदको समय म कस्ट्युम डिजाइन सिकिरहेको थिएँ । फिल्ममा छानिएर यात्रा नै मोडिन लेखेको रहेछ,’ उनले सम्झिए । ‘छड्के’मा परिवेश र पात्रले लगाउने पहिरनका लागि रिसर्च गर्नुपर्ने थियो । यसका लागि उनी चितवनमा दुई हप्ता बसे । फिल्मका हरेक पात्रका लागि हुलिया तयार गर्न रिसर्च गरे । ‘छड्के’मा बिन्दु माझी (विपिन कार्की) को हाउभाउसँग मिल्ने हुलिया उनले नै तयार पारेका हुन् । उक्त पात्रको बोल्ने शैली मात्रै होइन, हुलिया पनि दर्शकमाझ प्रिय भइदियो, किनकि त्यो नेचुरल थियो । 

 

‘छड्के’ उनको पहिलो अनुभव थियो । ‘मैले त्यसअघि फिल्मको डिजाइन गर्न पाएको थिइनँ । आफैँमा च्यालेन्जिङ थियो, छड्केको क्यानभास निकै ठूलो छ, त्यसमाथि डिजाइन गर्न आफैँमा चुनौती थियो । कतिपय कपडा डिजाइन पनि गरिन्छ, कतिपय स्टाइलिङ मात्रै पनि गरिन्छ । कतिपय आफैँ डिजाइन गरेँ, उनले भने, ‘सर्वसाधारण मान्छेले लगाएको कपडा मागेर मिलाएका थियौँ । त्यसवेला मैले काम गर्ने अवसर पाएँ । यसले मलाई कस्ट्युम डिजाइनर बन्ने प्रेरणा मिल्यो ।’

 

यसपछि उनी फेसन डिजाइन पढ्न भर्ना भए, नमुना कलेज अफ फेसन टेक्नोलोजीमा । तीन वर्षमा कोर्स पूरा गरे । र, फेरि फिल्ममा काम गरे । सन् २०१५ होस्टेल रिटर्न फिल्मको कस्ट्युम डिजाइन गरे । फिल्म हिट भयो । फिल्मभित्रको हुलियाले पनि चर्चा पायो । सुजनलाई फिल्मको कस्ट्युम डिजाइनप्रति मोह बढ्दै थियो । 

 

नयाँ कपडा झोलामा लिएर जान्छु । फिल्मको पात्रसँग मिल्ने कपडा कसैले लगाएको देख्यो भने लगाएको कपडा नै मागेर ल्याउने हो । यस्ता थुप्रै फिल्मका लागि पहिरनको जुगाड गरेको छु ।

 

छोरा भविष्यमा फिल्मतिर काम गर्लाजस्तो देखेर बुबाआमा चिन्तित थिए । फिल्ममा काम गर्नुभन्दा बरु विदेशतिर जान सल्लाह दिन्थे । ‘विदेशतिर गयो भने राम्रो पैसा कमाउला भन्ने बुबाको सोचाइ थियो’, सुजन थप्छन्, ‘फिल्ममा काम गर्दा पैसा हुँदैन भन्ने चिन्ताले बुबा–आमालाई सताएको थियो । तर, जिन्दगी गुजार्ने पैसा फिल्ममा ‘कस्ट्युम डिजाइन’बाटै आउँछ भन्नेमा म ढुक्क थिएँ । फिल्म रिलिजपहिले नै पैसा पाइने, यसलाई पेसा बनाउन व्यावसायिक बनाएँ ।’ 

 

यसरी गरिन्छ कस्ट्युम डिजाइन
सुजनलाई निर्देशकले फिल्मको स्क्रिप्ट दिन्छन् । पूरै स्क्रिप्ट पढिसक्छन्, अनि पात्रको कल्पना गर्छन् । त्यसपछि निर्देशकसँग बसेर आफ्नो आइडिया सुनाउँछन् । पहिरनको स्केच बनाउँछन् । ‘निर्देशकसँग आफ्नो आइडियाबारे छलफल गर्छु, अनि मात्रै प्रोडक्सन डिजाइनरसँग बसेर कपडाका रङहरू निर्धारण गर्छु’, उनी भन्छन्, ‘कथाअनुसारको ड्रेसमा फिलिङ्स हुनुपर्छ । नयाँ ड्रेस बनाउन सजिलो छ । तर, पुरानो देखिने खालको बनाउन जटिल हुन्छ । कतिपय गाउँले पात्रअनुसार डिजाइन गर्नुपर्छ ।’ 

 

फिल्मको कथा, पात्र र परिवेशअनुसार पहिरन निर्धारण गर्न उनी माहिर छन् । फिल्मको पात्र र परिवेश मिलाउन धेरैका घरमा पुगेका छन् । पाँच वर्षअघिको कुरा हो । निर्माणाधीन ‘होल टाइमर’ फिल्मका लागि कस्ट्युम डिजाइन गर्न उनलाई निकै सकस भयो । हप्तौँसम्म पाटन ढोका कृष्ण मन्दिरआसपासमा गएर बस्थे । हरेक मान्छेले लगाएको कपडा, डिजाइन, रङ नियाल्थे । फिल्मको पात्रसँग मिल्दो–जुल्दो छ भने फोटोमा कैद गर्थे । यतिसम्म कि कपितय कपडा उनीहरूसँग मागेर ल्याउँथे । भन्छन्, ‘नयाँ कपडा झोलामा लिएर जान्छौँ, फिल्मको पात्रसँग मिल्ने कपडा लाग्यो भने लगाएको कपडा मागेर ल्याउने हो । यस्ता थुप्रै फिल्मका लागि पहिरनको जुगाड गरेको छु ।’

 

होल टाइमर फिल्मकै लागि पात्र र परिवेश बुझ्न उनी दाङमा दुई हप्ता बसे । त्यसवेला माओवादीले लगाउँने कम्ब्याट, जुत्ता, रुमाल, झोला, हुलिया तयार गर्न प्रत्येक घर–घरमा पुगेको उनी सुनाउँछन् । ‘दाङमा पुगेर पूर्व माओवादी भेटेँ, उनले रुँदै बाक्साबाट ड्रेस निकालेर दिए,’ उनले सम्झिए, ‘यो मैले भोगेको जीवन हो, फिर्ता गर्नु पनि भनेका थिए । यस्तै कपडा बनाएपछि मैले उनको ड्रेस फिर्ता गरेको थिएँ ।’ 

 

सुजनले अलिहेसम्म ‘नाका’, ‘राधा’, ‘गाँठो’, ‘हरि’, ‘आइएम ट्वान्टी वान’लगायत फिल्ममा काम गरिसकेका छन् । उनको बुझाइमा कस्ट्युम डिजाइनका लागि मज्जाले रिसर्च गर्नुपर्छ । पर्दामा अभिनेताले भोगेको समय देखाउन हदसम्म मिहिनेत गर्नुपर्छ । कथाअनुसार कपडाको रङको संयोजन पनि मिलाउनुपर्छ । उनी हरेक पल यसैका लागि सोचिरहन्छन्, घोत्लिन्छन् । बाटोमा हिँड्दा, क्याफेमा चिया पिउँदा, कसैसँग भेटघाट हुँदा उनी पात्रको कल्पना गर्छन् । पात्र र परिवेशअनुसार कलाकारले लगाउने कपडा र रंगबारे गहन अध्ययन गर्छन् । ‘कुनै फिल्ममा एउटा अभिनेतालाई पर्दामा उतार्न लामो समय लाग्छ । त्यसअघि अभिनय गरेका अधिकांश फिल्म हेनुपर्छ, नयाँ पात्रलाई फरक बनाउनुपर्छ,’ उनले भने, ‘कस्ट्युम डिजाइनरको भूमिका पात्रहरूको पोसाक सिर्जना गर्नु हो । कलाकारलाई पर्दामा जीवन्त देखाउन उनीहरूको भूमिका महŒवपूर्ण हुन्छ । कस्ट्युम डिजाइनरले निर्देशक, ध्वनि डिजाइनर र अन्य रचनात्मक कुरामा उत्तिकै ध्यान दिनुपर्छ ।’