
विभिन्न प्रजातिका फूल, हरिया रुखबिरुवा, ठाउँ–ठाउँमा ऐतिहासिक महत्व बोकेका ढुंगा, हरिया फाँटसहितका पाटन, त्रिवेणीमा मिसिएका खोला, खोलामा बग्ने पानीको आवाज, पदयात्रामा हिँड्दा भेटिने एकाध र पुराना गोठ । यी सबैले बाजुराको बडीमालिकाका लागि यात्रा गर्ने जो–कोहीको मन लोभिन्छ । अपी र सैपाल हिमालको मनोरम दृश्य होस् या ठुल्ठूला फाँटका हरियाली पाटन नियाल्न कसलाई मन नहोला र ?
बडीमालिका मन्दिर सुदूरपश्चिमकै धार्मिक तथा पर्यटकीय दुवै दृष्टिले चर्चित गन्तव्य पनि हो । धार्मिक ग्रन्थ, स्वस्थानी व्रत कथाको आधारमा सतीदेवीको कुम पतन भई यस पर्वत (मलयागिरि पर्वत) मा देवी उत्पन्न भई बडीमालिका मन्दिर स्थापना भएको कथन छ । त्यसैले हिन्दू धर्मावलम्बीहरूले आफ्नो मनोकांक्षा पूर्ण होस् भन्ने उद्देश्यका साथ यस मन्दिरमा दर्शन गर्न आउने गरेका छन् ।
बडीमालिका त्रिवेणी नगरपालिकाको स्वामित्वमा छ । मन्दिर दर्शनसँगै पछिल्लो समय लोकप्रिय बन्दै गएको ‘ट्रेक कल्चर’का लागि पनि यो गन्तव्य उपयुक्त बन्दै छ । बडीमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास छ । मन्दिरपरिसरबाट आँखैअगाडि देखिने सैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ । हिउँदमा हिउँले छोपिने भएकाले बडीमालिका शृंखला अझ रोमाञ्चक देखिन्छन् ।
जति मनोरम र सुन्दर दृश्य छ, यात्राका क्रममा उत्तिकै कठिनाइ आउँछन् । साउनको तेस्रो हप्ता बडीमालिका दर्शन र पदयात्राका लागि सुनसरीबाट ६ जना निस्कियौँ । बाजुरा सदरमुकाम मार्तदीसम्म यातायातको व्यवस्था छ । मार्तदीबाट सुरु हुन्छ बडीमालिकाको यात्रा । बाटोमा भोक लाग्दा खानका लागि सातु, बिस्कुटलगायत खाद्य सामग्री साथै लैजानुपर्छ । प्रायः पानी परिरहने भएकाले पाल, छाता वा रेनकोट अनिवार्य हुन्छ । तीन दिनदेखि पाँच दिनसम्मको यात्रापश्चात् बडीमालिका मन्दिर पुगिन्छ ।
करिब ४३ सय मिटरको उचाइमा रहेको मन्दिर पुग्न बीचमा बास बस्नुपर्ने हुन्छ । मार्तदी बजारबाट बिहानै हिँड्दा साँझसम्ममा सोता पाटन पुगिन्छ, जहाँ केही गोठ छन् । हिउँदको चार महिनाबाहेक अन्य समयमा बाजुराका विभिन्न ठाउँबाट भेडा, भैंसीलगायत चराउन माथि लगिन्छ । निश्चित शुल्क तिरेपछि खान र बस्न गोठमै पाइन्छ । कहीँकतै धर्मशालासमेत निर्माण भएको छ । त्यहाँ सानो घर छ, बाँकी सबै व्यवस्था पदयात्रीले नै गर्नुपर्छ । यसरी बीचमा वास बस्दै नियमित यात्रा गर्दा तीन दिनमा पनि पुगिन्छ । पहिलो दिन वनक्षेत्र भए पनि दोस्रो दिनबाट पाटन भेटिन सुरु हुन्छ । र, यात्राको क्रममा देखिने हिमालका दृश्य, खोलानदीमा बगेको पानीको आवाज, हरिया र मनमोहक वनक्षेत्रले यात्राको कठिनाइसमेत बिर्साउँछ । दोस्रो दिन त्रिवेणी पाटन बसेर तेस्रो दिन मन्दिरका लागि निस्किन सकिन्छ ।
यात्राका क्रममा देखिने हिमालका दृश्य, खोलानदीमा बगेको पानीको आवाज, हरिया र मनमोहक वनक्षेत्रले यात्राको कठिनाइसमेत बिर्साउँछ । दोस्रो दिन त्रिवेणी पाटन बसेर तेस्रो दिन मन्दिरका लागि निस्किन सकिन्छ ।
बडीमालिका यात्राको सुन्दर र रमणीय दृश्य भने त्रिवेणी पाटनक्षेत्र हो । जहाँ वास बस्नसमेत अस्थायी होटल र केही गोठको व्यवस्था छ । यही क्षेत्रमा देखिन्छन्, हरिया र ठूला फाँटसहितका पाटन, चरिरहेका घोडा र भेडाहरू । करिब ३८०० मिटर उचाइमा रहेको यो क्षेत्रमा असार–साउनको समयमा हरियाली मनोरम दृश्य देख्न सकिन्छ । बिहान र बेलुकीको समयमा खुलेको मौसममा अपी र सैपाल हिमालसँगै सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यको समेत अवलोकन गर्न पाइन्छ । बडीमालिका मन्दिर पुग्न यस पाटन क्षेत्रबाट करिब पाँच घण्टाको पदयात्रा गर्नुपर्छ । यही क्षेत्रमा विभिन्न प्रजातिका फूल नियाल्न र फूलका सुगन्धलाई महसुस गर्न सकिन्छ । किंवदन्तीअनुसारका राक्षसका हड्डीबाट बनेको आकर्षक र अनौठा लाग्ने ढुंगाहरू र नदीहरूले त्रिवेणी पाटनलाई थप सुन्दर बनाएको छ ।
पैदलयात्रीको सारथि गोठ र धर्मशाला
बडीमालिका पदयात्रामा मार्तदीदेखि करिब दुई किलोमिटर माथि रहेको गाउँ नै अन्तिम गाउँ हो । त्यसपछि घर र गाउँ भेटिँदैनन् । तर, वनक्षेत्रमा रहको एक–दुई धर्मशाला राति वास बस्न उपयुक्त छन् । ट्रेकमा जाने पदयात्रीले टेन्स, म्याटलगायत सुत्न आवश्यक पर्ने सामग्री लगेमा भने जहाँ पनि बस्न सकिन्छ । धर्मशाला घर मात्र हो, सबै व्यवस्था आफ्नै हुनुपर्छ । सामग्री अभाव छ वा लगिएको छैन भने एक मात्र विकल्प गोठ पुग्नु नै हो । पहिलो दिन साँझ समयमा नै सोता पाटन र दोस्रो दिन त्रिवेणी पाटन पुग्न सके निश्चित रकम तिरेर खान र बस्न सकिन्छ ।
बडीमालिका मन्दिर तथा फाँटसम्म जाने बाटो निकै अप्ठ्यारो छ । बाटोको सुविधा नभएका कारण जति पर्यटकको आगमन हुनुपर्ने हो, त्यति हुन सकेको छैन । सोतापाटन क्षेत्रसम्म मोटर बाटो पुगे पनि वर्षायाममा पहिरो र बाटो बिग्रिने समस्याले पदमार्ग नै उपयुक्त हुन्छ । टिम र समय हुँदा मोटरबाटोभन्दा पनि पदमार्गबाट नै उपयुक्त हुन सक्छ । बडीमालिकामा प्रत्येक वर्ष साउनमा पर्ने जनैपूणिर्माका दिन ठूलो मेला लाग्छ । यस वर्ष भने मलमासका कारण भदौ ११ गते मेला लाग्दै छ ।
मार्तदीका स्थानीय मेलाको तयारीमा छन् । मेलाको समयमा अस्थायी होटेल, अस्थायी पसलको व्यवस्था हुन्छ । अन्य समयमा त्यहाँ पसल भेटिँदैनन् । पदमार्गको रूपमा भने विकास भइरहेको मार्तदी–बडीमालिकालाई अझ व्यवस्थापन गर्न सकिने पर्याप्त सम्भावना र अवसर भने छन् । यो रुटलाई उत्कृष्ट पदमार्गको रूपमा विकास गर्न सकिन्छ ।