पुर्खाले गरेको रचना, योगदान र तत्कालीन समाजको चिनारी संग्रहित गरेर राख्ने र आउँदो पुस्तालाई जस्ताको तस्तै जानकारी दिने थलोे संग्रहालय नै हो । संग्रहालयमा लाखौँ वर्ष पुराना वस्तु नयाँ पुस्ताको जानकारी लागि पनि सम्हालेर राखिएको हुन्छ । संग्रहालय एउटा विद्यार्थीका लागि शैक्षिक केन्द्र हो भने रिसर्चरका लागि रिसर्च सेन्टर । त्यहाँ पुग्दा देशको इतिहास, समाज र पुर्खाको योगदानबारे नयाँ पुस्तालाई जान्न र अध्ययन–अनुसन्धान गर्न मद्दत पुग्छ ।
संसारभरि नै त्यो ठाउँको इतिहासबारे जानकारी दिनुपर्यो भने त्यसको स्रोत संग्रहालय नै हो । तर, नेपालमा रहेको संग्रहालय निकै असुरक्षित र साँघुरा छन् । संग्रहालयको असुरक्षा भवन नराम्रो भएर होइन, त्यहाँ रहेका ऐतिहासिक वस्तुहरूको सजावट र राख्ने तरिका नमिल्दा ऐतिहासिक वस्तुहरू असुरक्षित बनेका हुन् ।
छाउनीस्थित राष्ट्रिय संग्रहालयको बाहिरी र भित्री बनावट सुन्दर देखिन्छ । तर, भवनको कोठाकोठामा राखिएका अति महत्वपूर्ण ऐतिहासिक दस्तावेजलाई सुरक्षासँग दाजेर हेर्ने हो भने अत्यन्तै नाजुक रहेको भान हुन्छ । सामान्यतया, संग्रहालयमा वस्तुअनुसार ‘थिमिटिकल डिस्प्ले’ गरिएको हुनुपर्छ । तर, यहाँ म्युजियममा डिस्प्ले गर्ने तरिका पनि मनमौजी छ । कुनपछि कुन राख्ने भन्ने विधि संग्रहालयमा मिलेको देखिँदैन । यसोगर्दा संग्रहालयभित्र रहेका अति संवेदनशील र महत्वपूर्ण वस्तु ओझेलमा परेका छन् भने केही महत्वपूर्ण वस्तु सड्ने अवस्थामा छन् । यसको ज्वलन्त उदाहरण हो– छाउनीस्थित नेसनल म्युजियममै राखिएको जय बर्माको मूर्ति । यो मूर्तिसँगै १८औँ शताब्दीको अर्को मूर्ति राखिएको छ ।
संग्रहालयभित्र भीमसेन थापा र जंगबहादुरले प्रयोग गरेका भोटोलगायत लुगाहरू सड्ने अवस्थामा छन् । यसबाहेक यहाँ ऐतिहासिक वस्तुहरू डिस्प्ले गर्दा ‘थिम’ नै मिलाइएको छैन । संग्रहालयमा कुन पुरानो, कुन नयाँ, कुन सानो, कुन ठूलो, कुन महत्वपूर्ण भन्ने क्रम मिलाएर राखिएकै छैन । पुरातत्व विभागका पूवउपमहानिर्देशक डा. भरत रावतका अनुसार यहाँका म्युजियममा ऐतिहासिक वस्तु सजाउँदा सिलसिला मिलाइएको छैन ।
एउटै कोठामा काठ, ढुंगा, माटो, कागज र विभिन्न धातुका मूर्ति कोचेर राखिएका छन् । संग्रहालयमा रहेका सामानलाई डिस्प्ले गर्दा कहाँबाट सुरु गरेर कहाँ अन्त्य गर्ने भन्ने नियम हुन्छ । तर, छाउनी तथा उपत्यकाका तीन जिल्लाका दरबार क्षेत्रका संग्रहालय भद्रगोल अवस्थामा विभिन्न वस्तुहरू राखिएका छन् । ‘नेपालमा रहेका संग्रहालयमा वस्तुहरूको वर्गीकरण राम्रो छैन । यदि पुरानो वस्तु हो भने त्यसलाई मात्रै एउटा कोठामा राखिदिनुपर्छ,’ डा. रावत भन्छन्, ‘संग्रहालयमा राखिएका सबै वस्तुहरूको सर्टनोट पनि लेखिएको छैन, कतै माटोबाट बनेका वस्तुसँग धातुको मूर्ति मिसाइएको छ, कतै थांकासँगै काष्ठकलाबाट बनेका मूर्ति एकैठाउँ राखिएको छ, यो हुँदै भएन ।’
पूर्वउपमहानिर्देशक रावत केही वर्षअघि ग्रिसमा रहेको संग्रहालयमा पुगेका थिए । उनलाई थर्ड सेन्चुरीको एउटा मूर्ति देखाइएको थियो । तर, त्यो मूर्तिको कुनै पनि भागमा दाग लागेको थिएन, निकै सुरक्षित तरिकाले राखिएको देखेपछि रावतले प्रश्न गरेका थिए,‘त्यति पुरानो मूर्तिमा पनि कुनै दाग नलाग्नुको कारण के होला ?’ उनलाई म्युजियमकै एक कर्मचारीले भनेका थिए, ‘यो नेपालको म्युजियम होइन, ग्रिसको हो ।’ तर, नेपालका संग्रहालयभित्र राखिने ऐतिहासिक वस्तुहरूको वर्गीकरण भद्रगोल छ भने त्यसमा दिने भित्री र बाहिरी प्रकाश पनि नमिलेको डा. रावतको ठम्याइ छ ।
संग्रहालयभित्र भीमसेन थापा र जंगबहादुरले प्रयोग गरेका भोटोलगायत लुगा सड्ने अवस्थामा छन् । यसबाहेक यहाँ ऐतिहासिक वस्तु डिस्प्ले गर्दा ‘थिम’ नै मिलाइएको छैन । एउटै कोठामा काठ, ढुंगा, माटो, कागज र विभिन्न धातुका मूर्ति कोचेर राखिएका छन् ।
जसका कारण नेपालका संग्रहालयभित्र रहेका वस्तुहरू असुरक्षित रहेको र पुर्खाका नासो छिट्टै नाश हुन सक्ने डर पैदा भएको छ । तर, ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको पाटन संग्रहालयका प्रमुख सुरेश लाखेले म्युजियमभित्र प्रत्यक्ष उज्यालो दिन नहुने बताए । उनले पाटन संग्रहालयभित्र राखिएका सबै ऐतिहासिक वस्तु अप्रत्यक्ष लाइट राखिएको दाबी गरे । ‘कुनै पनि वस्तुमा प्रत्यक्ष लाइट राख्नुहुँदैन, अर्कोकुरा, कुनै लुगा वा कागजात छ भने त्यसलाई झुन्ड्याएर पनि राख्नुहुँदैन,’ उनले भने, ‘यसो गर्दा गुरुत्वाकर्षणका कारण लुगा वा कुनै कागजात तानिने र छिटो फाट्ने डर हुन्छ ।
यस्तो वस्तु भार नपर्ने गरी सजाउनुपर्छ ।’ अवलोकनकेन्द्रित मात्रै छन् नेपालका संग्रहालयसंग्रहालय एक सार्वजनिक सम्पत्ति हो । यसको प्रयोग बालबालिका, अनुसन्धानकर्तादेखि विशेषज्ञले समेत गर्छन् । यसमा राखिएका वस्तुहरूको दायरा निकै फराकिलो हुन्छ ।
संग्रहालयमा कला, विज्ञान, प्राकृतिक इतिहास, स्थानीय इतिहास र अन्य विषयहरू झल्किने वस्तु सजाइएको हुन्छ । तर, यस हिसाबमा नेपालका संग्रहालय निकै कमजोर र साँघुरा छन् । हाल नेपालमा छाउनीस्थित नेसनल म्युजियम सबैभन्दा ठूलो मानिन्छ । यसबाहेक उपत्यकाका तीन जिल्लामा तीनवटा, धनकुटा, पोखरा र सुर्खेतमा एक–एकवटा संग्रहालय छन् भने यसबाहेक विभिन्न व्यक्ति, संघ–संस्थाका नाममा खोलिएका चार दर्जनभन्दा बढी संग्रहालय छन् । तर, नेपालका सबै संग्रहालयहरूलाई अध्ययन–अनुसन्धानको थलोका रूपमा प्रयोग गर्न सकिएको छैन ।
उता भारतमा रहेको नेसनल म्युजियममा तीन विषयमा पढाइ हुन्छ, केहीले त्यही भित्रकै विषयमा पिएचडीसमेत गर्छन् । जापानमा पनि ‘ओसाका’ भन्ने बृहत् म्युजियम छ । यहाँ १५ वटाभन्दा बढी विषयमा विद्यार्थीले पढ्न पाउँछन् । तर, हामीकहाँ म्युजियम भनेको हेर्ने र रमाइलो गर्ने थलोका रूपमा मात्रै रहेको पाइन्छ । अध्ययन–अनुसन्धानका लागि प्रयोग गरिएको छैन । कतिपयले त लभ गर्ने ठाउँ पनि म्युजियमलाई नै बनाएको आरोप पूर्वउपमहानिर्देशक रावतको छ ।
उनका अनुसार संग्रहालय, पुरातत्व र अभिलेखालय फरक विषय हुन् । तर, नेपालका सबैजसो संग्रहालयमा पुरातत्वका कर्मचारी नै छन् भने म्युजियमसम्बन्धी अध्ययन गरेका कर्मचारीहरू छैनन् । संग्रहालयमा छुट्टै टिम चाहिन्छ । पुरातत्व र म्युजियमलाई जोड्न नमिल्ने भए पनि पुरातत्वअन्तर्गत म्युजियमलाई राखेको छ । नेसनल म्युजियममा राखिएको सबैभन्दा पुरानो वस्तु हात्तीको दाँत हो, जुन जीवाश्मा बनिसकेको छ । दाङबाट ल्याइएको त्यो हात्तीको दाँत ढुंगा बनिसकेको छ ।
यसकारण संवेदनशील हुन्छन् संग्रहालय !
भनिन्छ, म्युजियम मानिसलाई आकर्षण गर्ने किसिमको हुनुपर्छ । मानिसलाई आऊँ–आऊँ बनाउने किसिमको हुन्छ । तर, यहाँका म्युजियममा एकपटक आएका मानिस दोहोर्याएर आउँदैनन् । यसको कारण यहाँका संग्रहालयलाई व्यवस्थित नबनाउनु पनि हो । यसबाहेक संग्रहालयमा एकैपटक धेरै मानिस छिर्न मिल्दैन । त्यसोगर्दा तापक्रम बढ्छ र त्यसको असर त्यहाँभित्र रहेका वस्तुमा पर्छ । तर, नेपालमा संग्रहालयको सुव्यवस्थित सुरक्षा नभएको पूर्वउपमहानिर्देक डा. रावतको भनाइ छ । उनी यसबाहेक कुनै पनि संग्रहालयमा ‘कन्जर्भेसन ल्याब’ र त्यसको टिम हुनुपर्ने बताउँछन् । ‘कुनै पनि बाढीपहिरो हुने, आगलागी हुने सम्भावित ठाउँमा म्युजियम बनाइनुहुँदैन, तर नेपालमा म्युनियम सेक्युरिटीबारे कुनै चासो छैन,’ उनी भन्छन्, ‘एकपटक आगलागी भयो भने म्युजियम नै ध्वस्त हुने अवस्था आउँछ । त्यसकारण हावा, पानी, प्रकाश, प्राकृतिक विपत्तिलगायतको सुरक्षामा ध्यान दिन आवश्यक छ ।’
उज्यालोबाट पनि असुरक्षित
म्युजिममा रहेका वस्तुहरूलाई राख्ने तरिका नमिल्दा वा चाहिनेभन्दा बढी उज्यालो दिँदा सबैभन्दा बढी असर पर्ने गर्छ । यसबाहेक नेपालमा म्युजियममा कार्यरत कर्मचारीहरू पनि त्यहाँ रहेका ऐतिहासिक वस्तुहरू जथाभावी छुने, चलाउने गर्छन् भने सरसफाइ गर्न पनि जान्दैनन् । अर्कोतर्फ, म्युजियम भिजिट गर्न गएकाहरूले पनि ती वस्तु छुने गर्छन् । त्यहाँ कुनै निगरानी नै देखिँदैन । हाल छाउनी तथा अन्य म्युजियममा रहेका वस्तु विभिन्न कपडाले पुछ्ने गरेको पाइन्छ । तर, यसरी पुछ्न वा छुन मिल्दैन । यसोगर्दा त्यो वस्तु छिटो खुइलिने, फाट्ने वा थोत्रिने सम्भावना हुन्छ । यहीकारण पनि नेपालका म्युजियममा रहेका वस्तुहरू सुरक्षित नभएको पूर्वउपमहानिर्देशक डा. रावतको भनाइ छ ।
म्युजियममा रहेका वस्तुहरूमा दिने प्रकाश मापन गर्ने यन्त्रलाई ‘लक्स मिटर’ भनिन्छ । कुनै पनि म्युजियमभित्र रहेका वस्तुहरूमा बाहिरी वा भित्री उज्यालो दिँदा त्यसको मापन अनिवार्य गर्नुपर्छ । यसको मुख्य समस्या हो हाम्रो प्रिजर्भेसन, म्युजियम, आक्र्यालजीलगायत विषयबारे पढाइ नै हुँदैन । अनि कसरी हुन्छन् यहाँ म्युजियमको सुरक्षा जानेका जनशक्ति ? तर, मापन नगरी जथाभावी उज्यालो दिँदा त्यसले वस्तुलाई नै खान्छ । नेपालका म्युजियममा ‘लक्स मिटर’को प्रयोग नै गरिएको छैन । ह्वाङह्वाङती झ्याल खोलिएको हुन्छ ।
पूर्वउपमहानिर्देशक रावतका अनुसार म्युजियममा राखिएका काठका मूर्ति, थांका, ढुंगाका मूर्ति, लुगा तथा कपडा, मेडल, कागजातलगायतका आवश्यकताअनुसारको उज्यालो दिनुपर्छ । म्युजियममा राखिएका कुनै पनि वस्तुमा अप्रत्यक्ष उज्यालो आवश्यक हुन्छ । तर, छाउनीस्थित नेसनल म्युजियममा चर्को अबजेक्टिभ लाइट (वस्तुकेन्द्रित बत्ती) दिइएको हुन्छ । यसोगर्दा काठ, कपडा, धातु वा कागज खुइलिने, किरा लाग्नेलगायत समस्या हुन्छ । यसबाहेक धमिरा र काठको किराले काठका मूर्ति ध्वस्त पार्ने देखिएको छ ।
नेपालका म्युजियममा देखिएको अर्को डर हो, आगलागीलगायत प्राकृतिक विपत्तिको । कुनै पनि म्युजियममा लागलागी वा भूकम्पसँग सम्बन्धित सचेतना र पूर्वतयारी केही पनि छैन ।
कसरी राख्ने सुरक्षित ?
म्युजियममा अधिकांश वस्तु सोकेश र फ्रेम बनाएर राखिएको छ । तर, सिसाको फ्रेमभित्र राखिएको वस्तुलाई सिसाले कुनै सुरक्षा दिँदैन । म्युजियम सुरक्षासम्बन्धी जानकारका अनुसार सबैभन्दा महत्वपूर्ण त अप्रत्यक्ष उज्योला मात्रै दिनुपर्छ । उज्यालो ‘लक्समिटर’ले मापन गर्नुपर्छ । कुनै वस्तुलाई हातले वा कुनै पनि चिजले छुनु हुँदैन । यसबाहेक म्युजियममा बस्ने कर्मचारी, सेक्युरिटीगार्ड वा भिजिटरले मास्क लगाउनुपर्छ । हातले छुनु हुँदैन । यदि सफा गर्ने वेलामा कुनै वस्तु छुनै प¥यो भने पन्जा लगानुपर्छ र त्यसमा असर नपर्ने किसिमको केमिकल प्रयोग गर्नुपर्छ । त्यस्तै, म्युजियममा रहेका थांका पेन्टिङहरूलाई उचाल्नु वा झुन्ड्याउनु हुँदैन । म्युजियममा रहेका वस्तुहरूको ‘प्रिजर्भेसन’ गर्न जान्यो भने त्यहाँ राखिएका वस्तुहरूको आयु लाखौँ वर्षसम्म हुन्छ । मुख्य कुरा त सन्लाइट, बिजुलीबाट दिइने लाइट, ह्युमिडिटीलगायतमा बढी ध्यान दिनुपर्छ । धेरै चिसो वा तातोमा राख्नुहुँदैन । चिसो कोठा भयो भने त्यहाँ राखिएका वस्तुहरूमा ओस पस्छ र फंगस आउन सक्छ । अर्को कुरा कुनै पनि वस्तुमा आवश्यकताअनुसार प्रकाश दिनुपर्छ भने काष्ठकलामा किरा लाग्न नदिन केमिकलको प्रयोग गरिन्छ ।
सुरक्षित छैनन् जंगबहादुर र भीमसेन थापाका भोटा
म्युजिममा झन्डै दुई सय वर्ष पहिले भीमसेन थापालाई फ्रेन्चहरूले दिएको भोटो तथा उनले प्रयोग गर्ने बुट र जुत्ताहरू राखिएका छन् । तर, त्यसलाई प्लास्टिकको ह्यांगरमा झुन्ड्याइएको छ । यसरी कुनै पनि वस्तुलाई झुन्ड्याएर राख्न मिल्दैन । त्यसो गर्दा कपडा तानिने, धागो निस्कने र खुइलिने हुन्छ । त्यसलाई जोगाउन कुनै टेको दिनुपर्छ भने प्रत्यक्ष लाइट दिनुहुँदैन ।
म्युजियमभित्र तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले लगाउने दौरा सुरुवाल, टाई, बुट, जुत्ता, मेडललगायत वस्तु पनि त्यसैगरी झुन्डयाइको छ । म्युजियमभित्र राखिएका जंगबहादुर र भीमसेनकालीन हातहतियारसमेत भुइँमा छरपस्ट पारेर कागजले छोपेर राखिएको छ । यस्तै, नेसनल म्युजियममै भीमसेन थापाले बनाएको तत्कालीन समयको नेपालको नक्सा राखिएको थियो । तर, हाल उक्त नक्सा म्युजियमबाट गायब छ ।
संग्रहालयकी संग्रहालय अधिकृत मिमी प्रधानले बजेट अभावका कारण व्यवस्थित गर्न नसकिएको बताइन् । ‘यहाँका कति ऐतिहासिक वस्तु व्यवस्थित गर्न बाँकी छ, तर म्युजियममा राखिएका वस्तुहरू असुरक्षित हुन्छन् भन्न मिल्दैन । हामीले अहिले पुराना हातहतियार र अन्य वस्तुहरू राम्ररी डिस्प्ले गर्न खोज्दै छौँ,’ उनले भनिन्,‘ जंगबहादुर र भीमसेनलगायतका चिनारीहरू सुरक्षित नै छन् ।’ तर उनले ह्यांगरमा झुन्ड्याउँदैमा जंगबहादुर र भीमसेनका लुगाहरू नबिग्रने दाबी गरिन् । उनले नेपालको पुरानो नक्सा पनि संग्रहालयलाई मर्मत गर्नेहरूले कतै सारेको, तर नहराएको जानकारी दिइन् ।