• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
डा. ओममूर्ति अनिल
२०८० भदौ १६ शनिबार ०६:२३:००
समाज

सम्बन्धलाई किन्ने कि नकिन्ने ?

२०८० भदौ १६ शनिबार ०६:२३:००
डा. ओममूर्ति अनिल

मानिसको जीवनमा पैसाभन्दा ठूलो कुरा सम्बन्ध हो । कसैको यसमा दुईमत नहोला । त्यसैले सम्बन्धलाई जोगाउन पैसा खर्चिनुपर्छ भने खर्चिने कि नखर्चिने ? मलाई लाग्छ, सम्बन्धका लागि व्यक्तिले पैसा खर्चिन सक्नुपर्छ । किनभने प्रायः हामीले सम्बन्ध बिगारेर पैसा कमाएका हुन्छौँ । तर, एउटा यस्तो समय आउँछ कि मानिससँग पैसा हुन्छ, तर उसको जीवनमा सम्बन्धको कमी हुन्छ ।


सम्बन्ध मानिसलाई खुसी राख्न नभई नहुने कुरा हो । यदि पैसाले कुनै सम्बन्ध बिग्रिनबाट जोगाउन सक्छ भने यो सस्तोको व्यापार हो । अब प्रश्न के आउँछ भने धेरैले भन्छन् कि जुन सम्बन्धमा पैसा प्रमुख कुरा हुन्छ, त्यो स्वार्थको सम्बन्ध हो । त्यस्तो सम्बन्धचाहिँ धेरै दिन टिक्दैन ।


यदि त्यो सम्बन्धमा आफ्नो लाभ भएन भने त्यस्ता व्यक्ति छोडेर जान्छन्, यो कुरा पनि शतप्रतिशत सही हो, किनभने उसलाई लाभ हुने वेलासम्म मसँग सम्बन्ध बनाउँछ, मेरो प्रिय हुन्छ, जब मबाट उसको लाभ सकिन्छ, अनि म उसको अप्रिय हुन्छु । त्यसैले यस्तो सम्बन्धको के काम ? यो पनि एउटा राम्रो तर्क हो, त्यसलाई हामीले गलत भन्न मिल्दैन ।तर, मेरो बुझाइमा संसारमा थोरै यस्ता सम्बन्ध पनि हुन्छन्, जसमा मानिसको कुनै स्वार्थ गाँसिएको हुँदैन । मेरो अनुभवमा स्वार्थ नभएको एक–दुइटा मात्र सम्बन्ध हुन्छन्, त्यसमध्ये आमा र बच्चाको सम्बन्ध स्वार्थ नभएको सम्बन्ध हो, तर अधिकांश सम्बन्धमा स्वार्थ अप्रत्यक्ष भएको पाइन्छ ।


स्वार्थ भनेको पैसाको होस् वा अरू कुराको होस्, स्वार्थ त रहन्छ । त्यसैले पैसाको खेल त छ । तपाईं प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हेर्नाेस्, पैसाको खेल सम्बन्धमा भएको पाउनुहुन्छ । सम्बन्धको एउटा बलियो स्तम्भको रूपमा पैसाले आफ्नो ठाउँ ओगटेको देखिन्छ । त्यसैले, अपवादबाहेक पैसाविनाको सम्बन्ध आधुनिक संसारमा आशा गर्न कठिन छ भन्नु गलत नहोला ।

तपाईंलाई थाहा छ कि यो व्यक्ति मसँग उसको लाभका लागि जोडिएको हो । ठीक छ, जोडिएको त छ नि, जोडिन दिनुस्, जुन दिन उसलाई छुट्न मन लाग्छ छुट्टिन्छ । तर, ऊसँगको यति दिनको सम्बन्धसँग त रमाउनोस् ।


अब बुझ्नुपर्ने कुरा के छ भने तपाईं कस्तो सम्बन्ध चाहनुहुन्छ ? स्वार्थरहित र दीर्घकालीन सम्बन्ध सबैको आकांक्षा हो, तर कलियुगमा यो सम्भव छैन ।


म पढ्दाको कुरा हो । एकपल्ट एकजना आफन्तको घर जाँदा काकी पर्नेले भन्नुभयो, ‘तपाईं त काम परेका वेला मात्र आउनुहुन्छ, अरू वेला त आउनुहुन्न ।’ मलाई उनको त्यो कुराबाट चित्त दुखेको थियो । तर, अहिले त्यो कुरा सम्झिँदा नराम्रो लाग्दैन । उहाँले नबुझेर त्यस्तो भनेकोजस्तो लाग्छ । कोही व्यक्ति काम परेका वेला मात्रै आए पनि के बिग्रियो त ? 


भगवान्ले तपाईंलाई अरूको सहायता, मद्दत वा सहयोग गर्ने योग्य बनाउनुभएको छ । यो त तपाईंका लागि खुसीको कुरा हो । गर्वको कुरा हो । तपाईं भाग्यशाली हुनुहुन्छ, त्यो व्यक्तिको ठाउँमा तपाईं स्वयं पनि हुन सक्नुहुथ्यो । त्यसो भए तपाईंलाई अहिलेकै अवस्था नै प्रिय लाग्ने होइन र ?


तपाईंसँग माग्नका लागि मात्र कोही व्यक्ति आयो, तपार्इं यसमा त झन् खुसी हुनु सक्नुपर्छ ।त्यस्तै एकपटक एकजना मित्रको फोनमा सम्पर्क नहुँदा ‘किन मोबाइल स्विच अफ गर्नुभएको होला ?’ भनेर सोधेँ । उनले ‘डाक्टर साहेब, मानिसहरू फोन गरेर असाध्यै डिस्टर्व गर्न थाले । कसैलाई के कसैलाई के सहयोग चाहियो भन्छन्,’ भने । अनि मैले उहाँलाई उल्लिखित कुरा स्मरण गराएँ । हामी अरूलाई मद्दत गर्न सक्ने अवस्थामा हुनुको अर्थ यो होइन कि अरूले मसँग स्वार्थका लागि मात्रै सम्बन्ध बनाउँछन् । त्यसरी बुझ्नुको सट्टा उसलाई मैले मद्दत गर्न सक्ने अवस्थालाई बुझ्ने प्रयास गर्नुपर्ने रहेछ ।

स्वार्थ प्रत्येक सम्बन्धमा कुनै न कुनै रूपमा लुकेर बसेको हुन्छ, यसैले कोही व्यक्तिसँग स्वार्थरहित सम्बन्ध मात्रै स्थापित गर्छु भन्नु गलत हो
 


स्वार्थ प्रत्येक सम्बन्धमा कुनै न कुनै रूपमा लुकेर बसेको हुन्छ । यसैले कोही व्यक्तिसँग स्वार्थरहित सम्बन्ध मात्रै स्थापित गर्छु भन्नु गलत हो । स्वार्थ पूर्तिकै लागि भए पनि कोही व्यक्ति मसँग याचक बनेर वा अप्रत्यक्ष रूपमै लाभ लिन खोजेको मलाई ज्ञात भयो भने म यसलाई नकारात्मक रूपमा नलिने सोच बनाएको छु । अर्थात्, त्यो व्यक्तिसँगको सम्बन्ध मैले केही अर्थ वा सम्पत्ति खर्चेर भए पनि स्थापित गर्न प्रयास गर्छु ।त्यसको बदलामा उसले मलाई आफ्नो समय र साथ त दिन्छ, जुन मेरा लागि पैसाभन्दा ठूलो हो भने मैले यो सम्बन्ध पैसा खर्चेर पनि गर्न सक्ने मनस्थिति बनाउन सक्नुपर्छ ।


मूर्ख र ज्ञानी, साना र ठूला, मित्रदेखि शत्रुसम्म सबैमा केही न केही कुराका लागि स्वार्थले प्रेरित भएर सम्बन्ध स्थापित गरेका हुन्छन् । र, यो स्वार्थ मानवमा मात्र होइन, देवतामा पनि भएको पाइन्छ । त्यसैले होला गोस्वामी तुलसीदासकृत राम चरित्र मानसमा पनि मित्रतामा स्वार्थ लुकेको कुरा वर्णित छ । यो त त्रेतायुगको कुरा हो ।


त्रेतायुगमा तुलसीदास राम चरित्र मानसमा लेख्नुहुन्छ– सुर नर मुनि सब के यह रीति । स्वार्थ लागि करहिं सब प्रीति ।आजको आधुनिक संसारमा विनास्वार्थ सम्बन्धको कल्पनासमेत गर्नु गलत होला । अझ यसरी बुझे पनि हुन्छ कि आजको युगमा यदि स्वार्थरहित कुनै सम्बन्ध रहेछ भने शंकाको विषय हुने अनुमान गरे गलत नहोला ।यस अर्थ सम्बन्धमा स्वार्थलाई सामान्य ठानेर हामीले आफ्नो जीवनलाई अगाडि बढाउन सक्नुपर्छ । यसले जीवन सहज र सरल हुने मेरो विश्वास छ ।


सबैजनाले आफ्नो स्वार्थका लागि मित्रता गाँस्छन्, यसमा समस्या के छ ? पैसाकै लागि मित्रता गरे पनि के छ ? मित्रता त होस् । अब एउटा कुरा विचार गरम् कुन सम्बन्ध अटल छ त ? कुन सम्बन्ध दीर्घकालीन छ ? कुन सम्बन्ध टुट्दैन ? कुन सम्बन्ध बिग्रिँदैन ? कुन सम्बन्धको आयु छैन ? कुन सम्बन्धको अन्त्य छैन ?


कुरा त समयको मात्र हो । कुनै सम्बन्ध दुई–चार मिनेटको हुन्छ, कुनै दुई–चार वर्षको हुन्छ भने कुनै दुई–चार दशकको हुन सक्छ । केही त्यस्ता मात्र सम्बन्ध हुन्छन्, जुन भावनात्मक रूपले जोडिएका हुन्छन् र त्यस्ता सम्बन्ध अमर रहन्छन् । मानिसको शेषपछि पनि त्यो सम्बन्ध कायम रहन्छ, उसको मन–मस्तिष्कमा ।


हो, त्यस्तो आजभोलि मिल्दैन । त्यसैले तपाईं  यो सम्बन्ध पाउने चक्करमा यो सानो–सानो सम्बन्धलाई किन गुमाउने त ? यो सानो–सानो सम्बन्धलाई पनि हुन दिनुहोस्, रहन दिनुहोस् । जीवनमा यसको पनि प्रयोग छ, यसको पनि मूल्य छ, आवश्यकता छ ।


तपाईंलाई थाहा छ कि यो व्यक्ति मसँग उसको लाभका लागि जोडिएको हो । ठिक छ, जोडिएको त छ नि, जोडिन दिनुस्, जुन दिन उसलाई छुट्न मन लाग्छ छुट्टिन्छ । तर, ऊसँगको यति दिनको सम्बन्धसँग त रमाउनुहोस् ।


त्यस्तो खुद्राखुद्री सम्बन्धलाई नबिगार्नुहोस् । खुद्रा सम्बन्धलाई पनि किनेर राख्न सक्षम हुनुहुन्छ भने राख्नुस् । म पैसा खर्च गरेर पनि सम्बन्ध बिग्रिनबाट जोगाउन चाहन्छु र सो सम्बन्धले दिने खुसीको मूल्य मैले खर्चेको पैसाभन्दा बढी हुन्छ जस्तो लाग्छ ।