• वि.सं २०८१ भदौ २२ शनिबार
  • Saturday, 07 September, 2024
कृपा भण्डारी
२०८० भदौ १६ शनिबार ०६:५२:००
समाज

सामाजिक सञ्जालले खोस्यो आत्मिक सम्बन्ध

२०८० भदौ १६ शनिबार ०६:५२:००
कृपा भण्डारी

एकाबिहानै मेरो फेसबुकको भित्तामा जन्मदिनको शुभकामना आयो । यसो हेरेँ, छिमेकी दिदीको म्यासेज रहेछ । खुसी हुँदै जवाफ दिएँ, ‘धन्यवाद दिदी !’ फेसबुकमा कुराकानी भएको केही घन्टा नबित्दै तिनै दिदीसँग तरकारी पसलमा भेट भयो । एकदम आमनेसामने । म खिस्स हाँसेँ, दिदीले पनि हाँसो फर्काइन् । केही घन्टाअघि मात्रै फेसबुकमा जन्मदिनको अनेकौँ शुभकामना दिने दिदीसँग केही घन्टा पनि नबित्दै भेट हुँदा मसँग बोल्ने शब्द थिएन, मसँग पनि दिदीसँग बोल्ने शब्द थिएन । तर, फेसबुकमा भने कमेन्ट र त्यसको रिप्लाई तुरुन्त दिन हामीलाई नै भ्याइनभ्याई हुन्छ ।


फेसबुक धेरैको हाँसो, खुसी, दुःख, सुख, आरोह–अवरोह बिसाउने चौतारी भएको छ । मानिसहरू प्रत्यक्ष साथभन्दा पनि फेसबुकमा आएका कमेन्टको साथमा नै अभ्यस्त हुँदै गइरहेका छन् । हिजोआज केही कुरा बोलिरहन पनि नपर्ने भएको छ । को कहाँ जाँदै छ ? दिनभरि के–के गर्‍यो ? कसलाई भेट्यो ? दुःखी भयो कि खुसी, सब कुरा फेसबुकबाट थाहा पाइने भएको छ ।


फेसबुकमा अनेकौँ साहित्य छाँटेर लेख्ने र विचार व्यक्त गर्ने मान्छे धेरै छन् । फेसबुकमा पोस्टाइएका कुराहरू हेर्दा लाग्छ, यहाँ नजान्ने र नबुझ्ने कोही छैनन् । सबै एकसेएक । मान्छेहरू ‘फिलिङ ह्याप्पी’ भन्दै खुसीहरू बाँडिरहँदा यस्तो लाग्छ, साँच्चै मान्छे कति खुसी छ, जीवन जिउन जान्यो उसले । तर, वास्तविकता भने अर्कै छ । केहीबाहेक अधिकांश मानिसले सामाजिक सञ्जालमा व्यक्त गरिएका त्यही भाव, त्यही विचार व्यक्तिगत जीवनमा राख्न वा अवलम्बन गर्न भने नसकेको तितो यथार्थ हाम्रोसामु छ । न त त्यहाँ गरेका ठुल्ठूला आदर्शका कुरा आफ्नो जीवनमा लागू गर्न नै सक्छ मानिस । न त त्यहाँ देखिएको खुसीलाई वास्तविकतामा नै अनुभूत गर्न सक्छ ।

मान्छेमा हुनुपर्ने आत्मीयता, मानवता, दयामाया सबै सामाजिक सञ्जालले नियन्त्रणमा लिइरहेको छ

महिला हिंसा अपराध हो भनेर दिउँसो फेसबुकमा स्टाटस लेखेको मान्छेले नै साँझ घर गएर श्रीमती कुट्छ । त्यस्तै, पुरुषको दबाबमा दबिन हुँदैन, हाम्रो अधिकार खोसेर भए पनि लिनुपर्छ, हामी महिला यस्ता, उस्ता भनेर दिउँसो चर्को भाषण गर्ने महिला साँझ आफ्नै लोग्ने जाँड खाएर कुट्दा सहेर बस्छन् । देखावटी बन्दै गइरहेको छ, सामाजिक सञ्जाल । फेसबुकमा जुन रूपमा कुरा व्यक्त हुन्छन् त्यही रूपमा सबैले आफ्नो वास्तविक जिन्दगीलाई बुझ्ने र त्यहीअनुसार जिउने हो भने पनि समाजमा उदासीनता, नैराश्यता, वैराग्यजस्ता कुरा हटेर जाने थियो । तर, होइन हामीलाई लाइक र कमेन्टको लेखाजोखा गर्नुछ, ठूला कुरा गरेर । 


एकातिर प्रविधिले विश्वलाई नै सानो गाउँमा सीमित गरेको छ भने अर्कोतिर मानिस मानिसबीचको आत्मियतामा कमी ल्याएको देखिन्छ । एक–अर्काको अनुहार हेरेर बोल्न, समय भयो भने भेटेरै आँखामा आँखा जुधाएर दुःख–सुखका कुरा बाँड्न आजकाल मानिसलाई फुर्सद नै छैन । केही गरेर कहीँकतै भेटिहाले पनि मानिसहरू एक–अर्कासँग आफ्ना कुरा राख्ने काम थोरै र मोबाइल र त्यसमा भएका अपडेट हेर्न धेरै समय खर्चिन्छन् । 


उदाहरणका लागि छिमेकीको घरको कोही सदस्य हस्पिटल भर्ना हुँदा अर्को छिमेकीले फेसबुकबाटै ‘गेट वेल सुन’ अर्थात् ‘छिटो निको हुनू’ भनेर शुभेच्छा प्रकट गर्छ । तर, त्यही कुरा प्रत्यक्ष भेटेर ढाडस दिन भने समय छैन हिजोआज मानिसहरूसँग । मानिस सुख–दुःखमा अन्य मानिसहरूको साथ र सहयोग चाहन्छ, तर हिजोआज साथ–सहयोग पनि फेसबुकमा लेखिने निर्जीव शब्दमै सीमित हुन थालेका छन् । 


परम्परागत समाज र अहिलेको समाजमा आकाश–पातालको फरक छ । एउटै गाउँका बुढापाकालाई चिन्दैन अहिलेको पुस्ता । जो एउटै धाराको पानी खान्छन्, तर एकअर्कामा अन्जान छन् । कोभन्दा को कम भन्ने सोच र पहिला को झुक्ने भन्ने घमन्डले गर्दा नै मानिस–मानिसबीच दूरी बढ्दै गएको छ । त्यस्तै, केहीको त यही फेसबुकका कारण घरपरिवार नै तहननहस भएको उदाहरण पनि नभएका होइनन् । कसैले फेसबुकमा राम्रो लाएको, खाएको पोस्ट देखे पनि भित्रभित्रै जलन भएर उसको जस्तै बन्न खोज्दा र त्यस्तै रहर गर्दा धेरैको जिन्दगी जहर भएको छ । फेसबुके रहरले आफ्नो घरपरिवारमा जहर भरिएको भेउ मानिसले पाउन सकिरहेको छैन । न ऊ आफू खुसी छ, न अर्काको प्रगति देखेर चुपचाप बस्न सक्छ । त्यसमा पनि देखासिकी गर्ने बानीले त मान्छेलाई स्वार्थी र मतलबी बनाएको छ । सामाजिक सञ्जालको जञ्जालमा मानिस रुमल्लिरहेको छ । 


बिहानै फेसबुकमा जन्मदिनको शुभकाममना दिएको मान्छे दिउँसो भेट भो भने त्यही शुभकामना प्रत्यक्ष दिन सक्दैन । मान्छेमा हुनुपर्ने आत्मीयता, मानवता, दयामाया सबै सामाजिक सञ्जालले नियन्त्रणमा लिइरहेको छ । फेसबुकको नशाले मानिसलाई यतिसम्म लालायित बनाएको पाइयो कि मानिस आफ्नै जन्म दिने आमाको अवसान हुँदा पनि आमाको लाससँग सेल्फी खिचेर पोस्टाउन भ्याउँछ । आफूलाई जन्मदिने आमा गुमाएको केही क्षण पनि नबित्दै मोबाइलमा रोइलो गर्न सक्छ मान्छे । आमा रहनुभएन, यस्तो हुनुहुन्थ्यो, उस्तो हुनुहुन्थ्यो भनेर टाइप गर्न औँला पनि कसरी दौडिन सकेका ! सम्झँदा पनि अचम्म लाग्छ । यसरी संवेदना शून्य हुँदै जाने हो भने एक दिन हामी मान्छे रहँदैनाँै, ब्याट्रीबाट चल्ने रोबोटजस्तै हुनेछौँ । जसको न मुटु हुन्छ, न माया, न आवेग, न संवेग । 


एउटा परिवारमा प्रायः सबैको हातमा मोबाइल हुन्छ । मान्छे परिवारमा भएर पनि एक्लो जीवन बाँच्दै छ । छोराछोरी ‘फिलिङ टेन्सन’ भनेर फेसबुकमा पोस्ट्याउन भ्याउछन्, तर त्यो टेन्सन के हो आफ्नै परिवारसँग बाँड्न चाहँदैन । यसरी परिवारकै सदस्यहरू पनि एक–अर्कामा अन्जान बन्दै छन् । एक–अर्काको आत्मीयताबाट टाढिँदै छ समाज । पहिला–पहिला एउटा समस्या परेको मान्छेको समस्या समाधान गर्न गाउँ नै एकजुट हुन्थ्यो, तर हिजोआज आफ्नै परिवारबाट पनि सहयोग पाउन मुस्किल छ ।


आफ्नै मनमौजीमा रमाएको मानिसलाई पनि सामाजिक सञ्जालले दास बनाइरहेको छ । केही मान्छे केही पल इन्टरनेट भएन भने, फेसबुक चलाउन पाएन भने बेचैन हुनेसम्मको एडिकजस्तै भएका भेटिन्छन् । मानिस आफूले आफैँलाई बुझ्न, र माया गर्न बिर्सेको छ । बिहानै उठेर शारीरिक व्यायाम गर्न अल्छी लाग्छ, तर बेडमा कसले के भन्यो, कसले आफ्नो स्टाटसमा लाइक र कमेन्ट गर्‍यो त्यो हेर्न गज्जबले जाँगर चलाउँछ । 


हरेकका आफ्नै फाइदा बेफाइदा छन् । भनिन्छ नि, प्रयोग गर्न जाने अमृत नत्र विष । त्यसैले सामाजिक सञ्जालको मन्द विषले मान्छेलाई खानुहुँदैन । मान्छेले सामाजिक सञ्जाल नियन्त्रणमा राख्ने हो, सामाजिक सञ्जालले मान्छेलाई होइन । त्यसैले यसलाई पनि सीमित समयको लागि महत्व दिऊँ, तर जिन्दगी नै यही हो, योविना जीवनमा केही छैन जसरी प्रयोग गर्न उद्वेलित नहोऔँ । तपाईंको वरिपरि यस्ता थुप्रै कुरा हुन सक्छन्, जसले तपाईंलाई मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालले भन्दा पनि बढी खुसी राख्न सक्छन् । सही समयमा सही कुरालाई महत्व दिऔँ, आफू पनि रमाऔँ अरूलाई पनि खुसी बनाऔँ ।