• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
केन्ट ह्यारिङटन
२०८० भदौ १६ शनिबार ०७:१०:००
अनुवाद

जासुसी vs जासुसी

२०८० भदौ १६ शनिबार ०७:१०:००
केन्ट ह्यारिङटन

भूमिका अध्ययनमा ‘रासोमोन कथा’कै जस्तो गुण अनिवार्य हुन्छ, किनकि यसमा एउटै घटनाले समेत विभिन्न, कहिलेकाहीँ त परस्परविरोधी व्याख्यालाई जन्म दिन्छ । आखिरकार, गुप्तचरीको दुनियाँ गुप्त अभियान, गोप्य कार्यस्थल, खुफिया सम्बन्धबीचको साझेदारी र अक्सर अवैध कामकारबाहीसहितको गोप्य सञ्चालन हो । यही कारणले गर्दा यसका सफलता र असफलता आकलन गर्न र राजनीतिक नेतृत्वका निर्णयमा गुप्तचरीको भूमिकालाई इतिवृत्त लिपिबद्ध गर्न निकै कठिन हुन्छ । 


हार्वर्डका इतिहासकार काल्डर वाल्टनले आफ्नो नयाँ पुस्तक ‘स्पाइजः द इपिक इन्टेलिजेन्स वार बिटविन इस्ट एन्ड वेस्ट’मा यो चुनौतीको सामना गरेका छन् । पुस्तकले पश्चिमाको रुसी सुरक्षा सेवासँगको प्रतिस्पर्धाको इतिहासमार्फत आधुनिक गुप्तचरीको उदय र तिनको भूमिकाको वर्णन गर्छ । 


यो एउटा महत्वाकांक्षी र रोचक कथा त हुँदै हो, साथै यो प्राज्ञिक अनुसन्धानमा पनि दृढतापूर्वक आधारित छ । वास्तवमा, वाल्टनले पस्किएका विवरणले बोल्सेभिक क्रान्ति र दोस्रो विश्वयुद्धदेखि बिसौँ शताब्दीको अन्त्यताका अमेरिकी, बेलायती र रुसी गुप्तचरी सेवाका सकल दर्जामा खबरी(जासुस)हरूको तैनाथीसम्मका यस अघि जानकारीमा नरहेका घटनाक्रमहरूलाई प्रकाश पार्छन् ।


वाल्टनले हालै सार्वजनिक अभिलेख, वर्गीकृत इतिहास, संस्मरण र नीति–निर्माता तथा जासुसहरूसँगका अन्तर्वार्तालाई पुस्तकमा उतारेका छन् । यसरी उनले सन् १९६२ को ‘क्युबाली क्षेप्यास्त्र संकट’ र सन् १९८३ को ‘एबल आर्चर प्रकरण’जस्ता घटनामा गुप्तचर निकायको योगदान कस्तो रह्यो भन्ने कुरा उजागर गरेका छन् । त्यसबखत कसरी नेटोको एउटा सैन्य अभ्यासले रुसको मनमा पश्चिमले पहिलो प्रहार गर्ने त्रासलाई जन्म दिएको थियो र विश्वलाई आणविक युद्धको सँघारमा पुर्‍याएको थियो भनेर उनले केलाएका छन् । 

सुरुवातमै आफ्नो नयाँ पुस्तकमा हार्वर्डका इतिहासकार वाल्टन काल्डर यस्तो तर्क गर्छन्, ‘पश्चिमा नेताले आफ्ना खुला समाजको नैसर्गिक कमजोरी र सोभियत जासुसी सेवाबाट उत्पन्न खतराको जटिलतालाई निकै ढिलो गरी बुझेका थिए ।’ के अहिले चीनसँग पनि उनीहरू यही गल्ती दोहोर्‍याइरहेका छन् त ?


वाल्टनको पुस्तक गुप्तचरीको इतिहासमा हालैमा सार्वजनिक गोप्य विवरणको एउटा इँटा थप्ने काम मात्रै होइन । ‘अप्लाइड हिस्ट्री (इतिहासका नजिर र तुलनाको विश्लेषण गरेर वर्तमानका चुनौती र विकल्प उजागर गर्ने विधि)’को एउटा उदाहरणमा, उनी युक्रेन युद्धजस्ता वर्तमान परिघटनाको विवेचना गर्न गुप्तचरीको विगतमाथिको आफ्नो अन्वेषणलाई उपयोग गर्छन् र नयाँ शीतयुद्धमा चीनमाथि पश्चिमको गुप्तचरी हाबी हुन सक्छ कि सक्दैन भन्नेलगायत भविष्यका महत्वपूर्ण प्रश्न उठाउँछन् । 


उनको पुस्तक ‘स्पाइज’ले लेनिनको ‘चिका’ अनि स्टालिनको ‘केजिबी’देखि त्यसका सोभियोत्तर अवतारसम्मका रुसी खुफिया सेवाको उदय र भूमिकाको विवरण पस्किन्छ । स्टालिनको ‘ग्रेट पर्ग’मा केजिबीको पूर्ववर्ती ‘एनकेभिडी’को घातक भूमिकादेखि मस्कोको आणविक सफलताका निमित्त महत्वपूर्ण गोप्य जानकारी संकलन गर्न सोभियत जासुसद्वारा ‘म्यानहट्टन परियोजना(द्वितीय विश्वयुद्धको समयमा आणविक बम निर्माण गर्ने अमेरिकाको अत्यन्त गोप्य परियोजना)’मा गरिएका घुसपैठसम्मका मिसन (घरेलु र अन्तर्राष्ट्रिय) माथि नयाँ अन्तर्दृष्टि प्रदान गर्छ । साथै, केजिबीका उत्तराधिकारी ‘एसभिआर’ र ‘एफएसबी’ले सोभियतकालीन प्लेबुक प्रयोग गरेर विदेशमा आफ्ना गुप्त अभियान, जासुसी र अफवाहका अभियान अझै पनि कसरी  फत्ते गर्छन् भन्ने कुराको पनि वर्णन गर्छ । 


भ्लादिमिर पुटिन आफैँ एक पूर्वकेजिबियन हुन् । रुसको भ्रष्ट आर्थिक कुलीनतन्त्रसहित रुसी अभिजात वर्गमा अहिले पूर्वकेजिबियनकै प्रभुत्व कायम छ । राज्यका शक्तिशाली संस्था उनैले हाँकिरहेका छन् ।  यसले रुसलाई एउटा अधिनायकवादी राज्यमा रुपान्तरण गरिरहेको छ । जेसुकै नामक हुन्, तर रुसका सुरक्षा निकाय २०औँ र २१औँ शताब्दीको आजसम्म पनि शासनसत्ताको मेरुदण्ड हुन् ।

 
तर, वाल्टनले देखाएझैँ रुसका खुफिया सेवामा सधैँ उल्लेखनीय कमजोरी रहिआएका छन् । तिनको जरा अधिनायकवादी संस्कृतिमा गाडिएको छ, जसले उसलाई सत्तासीन शक्तिसमक्ष सत्य बताउन असम्भव बनाएको छ । सन् १९३० को दशकमा एनकेभिडीमा मौलाएको ‘घातक शुद्धीकरण अभियान’देखि पुटिन शासित क्रेमलिनको माथिबाट तल निर्णय थोपर्ने शैलीसम्मले तल्ला तहका अधिकारीहरूलाई एउटा सीधा सन्देश दिन्छ– त्यो मात्र बताऊ, जो तिम्रो नेतृत्व सुन्न चाहन्छ । किनकि, यथार्थ रिपोर्टिङ र विश्लेषणको परिणाम उनीहरूका निमित्त करिअरको अन्त्य मात्रै होइन कि घातकसमेत हुन सक्छ । 


वाल्टन सोभियत गुप्तचरीका सूचनामा एकरूपता अभावको कारण क्रेमलिनको शीतयुद्धकालीन निर्णय प्रक्रियामा त्यसले एकदमै थोरै मात्र भूमिका खेलेको दाबी पस्किन्छन् । अधिकारीहरूद्वारा अनुमोदित आख्यान र वास्तविकताबीच अन्तर हुँदा तिनले उल्लेखनीय रणनीतिक असफलता निम्त्याएका छन् जस्तो कि स्टालिनले सन् १९४१ मा खुफिया एजेन्सीले उपलब्ध गराएको हिटलरले आक्रमण गर्न सक्ने चेतावनीलाई स्टालिनले इन्कार गर्दाको परिणाम, पुटिनको सन् २०२२ मा युक्रेनमा आक्रमण गर्ने विनाशकारी निर्णय आदि । वाल्टनको ऐतिहासिक दृष्टिकोणले रुसका पश्चिमा समकक्षीका प्रदर्शनको मूल्यांकन गर्ने महत्वपूर्ण आधार पनि प्रदान गर्छ । सुरुमै उनी पश्चिमा नेताहरूले आफ्ना खुला समाजको नैसर्गिक कमजोरी र सोभियत जासुसी सेवाबाट उत्पन्न खतराको जटिलतालाई निकै ढिलो गरी बुझेको तर्क गर्छन् । 


वास्तवमा, अमेरिकाको गुप्तचरी निकायको सुरुवात निकै कठिन रह्यो । सन् १९४७ मा जब सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए)को स्थापना भयो, ज्वाइन्ट चिफअफ स्टाफका अध्यक्ष ओमार ब्राडली आफूलाई यसको नेतृत्वमा नराखिएकोमा क्रुद्ध भए । त्यसैले उनले सिआइएका निर्देशक रोस्को हिलेन्कोइटरलाई अँध्यारोमा राख्न एफबिआईका निर्देशक जे एडगर हुभरसँग साँठगाँठ गरे, जो यस नवोदित गुप्तचरी निकायलाई रुचाउँदैन थिए । यसैले उनीहरूले हिलेन्कोइटरलाई सोभियत रुसविरुद्धको अति गोप्यप्रति जासुसी परियोजना ‘वेनोना प्रोजेक्ट’ र तिनका क्रिप्टोलोजिस्ट (सांकेतिक शब्दमा लेखिएका गुप्तचरी सूचना तथा जानकारी खुट्याउने र विश्लेषण गर्ने विज्ञ व्यक्ति) हरूले निकालेका निष्कर्षका बारेमा दोस्रो विश्वयुद्धअघि, विश्वयुद्धको अवधि र त्यसपछि समेत जानकारी दिएका थिएनन् । वाल्टनले सही नै भनेका हुन्, अमेरिकी गुप्तचरीको यो ‘भद्रगोल’ स्थिति सन् १९५२ सम्म चलेको थियो 


निःसन्देह, अमेरिकी गुप्तचरी समुदायको परिपक्कताका बाबजुद, यो नोकरशाही द्वन्द्व र राजनीतिक अन्तरकलह कायमै रह्यो । आमजनतामा द्विविधा उत्पन्न हुँदा अमेरिकी खुफिया एजेन्सीहरूको सञ्चालन, परिचालन प्रभावित भयो । लोकतन्त्रमा खुफिया एजेन्सीको भूमिकालाई लिएर चलेको विवादका साथै विदेशी भूमिमा सञ्चालित गुप्त–अभियान र छद्म युद्धहरूको असफलता र स्वदेशमा शक्तिको दुरुपयोगसम्मका कारण आमनागरिकमा उनीहरूको छवि धूमिल थियो ।  
बदलिँदो वैश्विक वातावरणले सुरक्षा परिदृश्यलाई पनि रूपान्तरण गर्दै लगेको छ । यस्तोमा राष्ट्रिय नेताहरूलाई जनसमर्थनको खाँचो पर्नेछ । तर,  धु्रवीकरण र सरकारप्रति बढ्दो जनविश्वासले अमेरिकामाथि ठूलो व्यवधान खडा गरेको छ भने लोकतन्त्र र यसको अन्तर्राष्ट्रिय भूमिकामाथि ठूलो चुनौती थपेको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको काल्पनिक ‘डिप स्टेट’सम्बन्धी दाबीमा विश्वास गर्नेहरूले यसलाई थप चर्काएका छन् ।


वाल्टनले यो खतरालाई स्विकारेका छन्, तर उनी यो खतराभन्दा पनि बढ्दो रूपले प्रविधिमा आधारित विश्वमा चीनले निम्त्याएको खतराप्रति बढी चिन्तित देखिन्छन् । यहाँ, वाल्टनले कुरा चपाएका छैनन् । उनका अनुसार अमेरिकी नेताहरूले चीनको विशाल, बहुपक्षीय गुप्तचरी आक्रमकतालाई बेवास्ता गरेका छन्, गुप्तचरीको लगानी र प्रतिगुप्तचरीलाई बेवास्ता गरेका छन् र उसले खडा गरेको आर्थिक, प्राविधिक एवं रणनीतिक चुनौतीलाई कम आँकेका छन् । ‘यदि मैले आज हामी कहाँ छौँ (चीनको सन्दर्भमा) भनेर भन्नुपर्‍यो भने म हामीलाई सन् १९४७ को स्थितिमा राख्छु,’ उनी लेख्छन् । 


तर, वाल्टनको चीनविरुद्ध कदम चाल्नुपर्ने तर्कमा गहन अध्ययनको अभाव देखिन्छ । रुसबारे राय दिन पनि उनले यही तर्कको सहारा लिन्छन् । र, गत सय वर्षका शिक्षामा आधारित रहेर भविष्यका गुप्तचरी प्रयास गर्न उनले सुझाएका सिफारिस एकदमै भरपर्दा नभए पनि विचारोत्तेजक भने छन् । ‘खुफिया सेवाको युग समाप्त भएको छ । खुला स्रोतको सूचना (ओपनसोर्स इन्फर्मेसन)को प्रभुत्व बढ्दै गएको आजको विश्वमा गुप्तचरीको भविष्य सरकारमा होइन, निजी क्षेत्रमा निहित हुँदै गएको छ,’ निष्कर्षमा उनी लेख्छन् । उनको यो कुरा सही हुन सक्छ । टेक्नोलोजीलाई खुफिया विश्वको जादुको छडीका रूपमा लिने वाल्टनको विश्वास र चिनियाँ बजार छोड्न दिनहुँ आनाकानी गर्ने ठूला कम्पनीलाई सूचीमा राख्न गरेको आग्रह भने शंकायोग्य छ ।


वाल्टनले भनेझैँ इतिहास आफैँ दोहोरिँदैन, तर मार्क ट्विनले भनेझैँ कहिलेकाहीँ यो दोहोरिन्छ पनि ।  प्रविधियुक्त उपकरण र ओपन–सोर्स खुफिया संकलन वा क्लासिक (परम्परागत) गुप्तचरीले मुलुकलाई आवश्यक जानकारी उपलब्ध गराउन सक्छन् कि सक्दैनन, त्यो भने हेर्न बाँकी नै छ । तर, एउटा कुरा निश्चित छ, कुनै पनि लोकतान्त्रिक समाजमा, गुप्तचरीका निमित्त जनता र राजनीतिक समर्थन भने महत्वपूर्ण हुन्छ । कुनै पनि गुप्तचरी सेवाको सफलता घरबाटै सुरुवात हुन्छ ।

 

(सिआइएका पूर्ववरिष्ठ विश्लेषक केन्ट ह्यारिङटन पूर्वी एसियाका लागि राष्ट्रिय गुप्तचर अधिकारी, एसियामा स्टेसन प्रमुख र सिआइएको सार्वजनिक मामिला निर्देशकको रूपमा काम गरेका व्यक्ति हुन् । ‘प्रोजेक्ट सिन्डिकेट’मा प्रकाशित यस आलेखलाई नारायण सिवाकोटीले अनुवाद गरेका हुन् ।)