
जसरी अहिले प्रधानमन्त्री पुष्पकमल दाहालको बालुवाटार र खुमलटार, कांग्रेस सभापति शेरबहादुर देउवाको धुम्बाराही र एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोट निवास राजनीतिक चहलपहल र निर्णयका प्रमुख केन्द्रका रूपमा परिचित छन्, कुनै वेला लोकेन्द्रबहादुर चन्दको भक्तपुर, लोकन्थलीस्थित पुरानो हबेली त्यस्तै शक्तिकेन्द्र थियो ।
चारपटक देशको प्रधानमन्त्री भइसकेका चन्दलाई नेता–कार्यकर्ता भेटघाट गर्न भ्याइनभ्याई हुन्थ्यो । समय यस्तो पनि थियो, उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई हबेलीको गेट खोल्न र बन्द गर्न चटारो हुन्थ्यो ।तर, समय बदलिएको छ । चन्दको त्यही हबेली अहिले शान्त छ, सत्ता–शक्तिको चलखेल र राजनीतिक खिचातानीबाट धेरै टाढा कतै सुनसान छ । त्यसैले त पूर्वप्रधानमन्त्रीको सुरक्षामा उभिने गेटका सुरक्षाकर्मीलाई पनि आराम छ । एकातिर रङ खुइलिँदै गएका भित्ताहरू, अर्कोतिर ८४ पार गर्नै लागेका चन्दलाई हेर्दा लाग्छ, उनी र उनको हबेली दुवै अहिले आफ्नो जीवनको उत्तराद्र्धसँगसँगै हिँडिरहेका छन् ।
सत्ता र शक्तिको मोहबाट बिल्कुलै टाढा छन् । साढे तीन तलाको पुरानो हबेलीमा एउटा तलादेखि अर्को तलासम्म मुस्किलले ओहोरदोहोर गर्छन् । घाँटी र कम्मरको समस्याका कारण पछिल्लो एक महिनायता वीर हस्पिटल उनको नियमित सेड्युल बनेको छ । बिहान १० बजेदेखि दिउँसोको १ बजेसम्म ‘स्ट्रचिङ’ गर्न उनी हस्पिटल पुग्छन् । एक वर्षअघिसम्म हरेक बिहान सुरक्षागार्ड लिएर मर्निङ वाकमा निस्कने उनी अचेल कोठाभित्रै बिहान–बेलुका व्यायाम गर्छन् । हरेक दिउँसो ३ बजेपछि कोठाभित्रै व्यायाम र ‘साइक्लिङ’ गर्छन् । त्यसपछि बचेको समय भेटघाट र अध्ययनमा दिन्छन् ।
‘अचेल मेरो साथी भनेकै तपाईंहरूजस्तो भेटघाट गर्न आउने मान्छेहरू हुन्,’ श्रीमतीसहित पुरानो हबेलीमा आफ्नो राजनीतिबाट रिटायर्ड जीवन बिताइरहेका चन्दले भने, ‘त्यसबाहेक व्यायाम, पुस्तक मेरो समय कटाउने साथी हुन् । जीवनको यो स्वाभाविक प्रक्रिया हो । यसपछि मृत्यु पनि स्वाभाविक हो । त्यसैले समय बिताउन मलाई गाह्रो छैन ।’ चन्दका चार छोरा र तीन छोरी छन् । तर, उक्त हबेलीमा १० जना सुरक्षाकर्मी र उनका केही सहयोगी मात्रै बस्छन् ।’‘चारपटक प्रधानमन्त्रीको कुर्सीमा पुगेको मान्छे, मनमा कहीँकतै त्यसको मोह अझै बाँकी होला नि ?’
यस्तो जिज्ञासाको चन्द सशक्त प्रतिकार गर्छन् । ‘मलाई अब कहीँ पुग्नु छैन, केही चाहियो भन्ने पनि छैन,’ उनले भने, ‘जीवनमा जति पाएँ, त्यति ठिक छ । अब त दुई–चार महाद्वीपकै प्रधानमन्त्री बनाइदिने प्रस्ताव आए पनि म हात जोडेर ‘पर्दैन क्षमा गरिदिनुस्’ भन्छु । उमेर पाको भयो । अब जिम्मेवारी लिएर मात्रै हुँदैन, सञ्चालन गर्न सक्नुपर्ने हुन्छ ।’
‘राजाको निगाहले प्रधानमन्त्री’
चन्दका लागि राजनीति र प्रधानमन्त्री हिँड्दाहिँड्दै बनेको नयाँ बाटो हो । ०२६–२७ सालतिर सर्वोच्च अदालतबाट वकालतको लाइसेन्स लिएर बैतडी हानिएका थिए, वकालत गर्न । तर, त्यहीँबाट उनको करिअर राजनीतितिर मोडियो ।
त्यतिखेर पञ्चायत सदस्य भएका वकिलहरूको कर्मचारीमाझ राम्रो प्रभाव हुन्थ्यो । त्यही प्रभाव हात पार्न चन्द जिल्लासभाको सदस्य भए । त्यसपछि ०२७ सालतिर बैतडी जिल्ला पञ्चायतको सभापतिको चुनाव भयो । चन्दका अनुसार चाहँदा–नचाहँदै साथीहरूको दबाबले सभापतिको चुनाव लडे, निर्वाचित पनि भए । त्यसैगरी ०२८ सालमा अञ्चल सभापति र ०२९ सालमा राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भए । राष्ट्रिय पञ्चायतमा जितेपछि काठमाडौं फर्किएका उनी त्यसको करिब एक वर्षपछि राष्ट्रिय पञ्चायतको उपाध्यक्षमा लडे । त्यो चुनावमा पनि त्यतिखेरका चर्चित नेता मरिचमान श्रेष्ठलाई एक मतले पराजित गर्दै उनी निर्वाचित भए ।
यसरी वकालतबाट राजनीतितिर होमिएका चन्द ०४०, ०४६, ०५३ र ०५८ साल गरेर चारपटक प्रधानमन्त्री भए । भलै प्रधानमन्त्रीमा पछिल्ला कार्यकाल लामो र सुखद हुन सकेनन् । ‘राजनीतिमा मेरो रुचि भए पनि सोझै हामफाल्ने पक्षमा थिइनँ,’ चन्द सम्झन्छन्, ‘तर, साथीहरूको दबाबले पञ्चायती व्यवस्थाभित्र आएर सभापति भएँ । हुँदै जाँदा
चारपटक देशको प्रधानमन्त्रीको जिम्मेवारी आइलाग्यो । तर, मैले प्रधानमन्त्री बनाइदिनुप¥यो भनेर कहिल्यै दौडधुप गरिनँ । न दरबार धाएँ, न कतै प्रधानमन्त्री बनाइदिनुप¥यो भन्दै गएँ । जति भएँ, जनताको आशीर्वाद र राजाको निगाहाले भएँ ।’
०४० सालमा चन्द पहिलोपटक प्रधानमन्त्री हुनुअघि सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । तर, त्यतिवेला पञ्चायतभित्र पनि विरोधका स्वर बढेका थिए । थापाको विपक्षमा मत बढ्दै थियो । विरोधको आगो दन्किएपछि अविश्वास प्रस्ताव लगेर थापालाई प्रधानमन्त्रीबाट हटाइयो । त्यसपछि आफू सबैको समर्थनमा पहिलोपटक प्रधानमन्त्री बन्ने अवसर पाएको चन्द बताउँछन् । प्रधानमन्त्रीमा उनको पहिलो कार्यकाल ९८३ दिनको भयो ।
त्यसपछि ०४६ सालमा फेरि उनलाई प्रधानमन्त्री बन्ने अवसर जु¥यो, तर १६ दिनको मात्रै । त्यसवेला निर्दलीय भन्ने एउटा दफाबाहेक अरू पञ्चायतको संविधान थियो । त्यो संविधानअन्तर्गत नै अन्तरिम संविधान गठन भएको थियो । कुनै समस्या परेका वेला राजाले जुनसुकै व्यक्तिको अध्यक्षतामा पनि निश्चित काम सुम्पेर सरकार गठन गर्न सक्ने संविधानमा व्यवस्था थियो । त्यो सरकारको अवधि बढीमा तीन महिना मात्रै हुन सक्थ्यो वा दिएको काम पूरा भएको दिनसम्म मात्रै त्यसको म्याद रहन्थ्यो ।
कांग्रेस र वाममोर्चा सहभागी ०४६ सालको आन्दोलन मत्थर गर्न यही संवैधानिक व्यवस्थाको उपयोग गर्दै त्यतिवेला तत्कालीन राजा वीरेन्द्रले चन्दलाई दोस्रोपटक प्रधानमन्त्री बनाएको उनी सम्झन्छन् । ‘आन्दोलनको समयमा म सिनियरलाई सहयोग गर्छु भन्ने पक्षमा थिएँ, आफैँ प्रधानमन्त्री बन्ने लाइनमा थिइनँ,’ चन्दले सम्झिएँ, ‘तर, अरू नबस्नेजस्तो छाँट देखियो । राजाले मलाई तिमी पनि नबस्ने भनेर भनेपछि मेरो चित्त दुख्यो । र, म फेरि प्रधानमन्त्री भएँ । त्यो आन्दोलनका वेला मान्छेहरू हुनुभन्दा नहुनु ठिक भन्थे । तर, म भएँ ।’
आफ्नो समय भन्ने नै हुँदैन । त्यसमाथि अनेक माग लिएर आउने मान्छेहरू । पूरा गर्न सकिएन भने उनीहरूको त्यो रिस । त्यसैले आनन्द छैन प्रधानमन्त्रीलाई । सबैले त्यो पीडा भोग्नैपर्छ । तैपनि जानीजानी यसलाई ओगट्छन्, अचम्मको छ यो पद ।
आन्दोलनकारीसँग वार्ता गरेर शान्ति कायम गर्ने राजाको मनसायअनुसार चन्दलाई त्यतिवेला वार्ता गर्ने जिम्मेवारी दिइएको थियो । आन्दोलनकारीसँग वार्ता गर्न गएका चन्दलाई राजाका दुई प्रश्न थिए– पहिलो, उनीहरूलाई यो मुलुक चाहिएको हो कि होइन ? दोस्रो, मुलुकको सार्वभौमिकता र स्वतन्त्रता चाहिएको हो कि होइन ? चन्दका अनुसार दुवै चाहिएको अवस्थामा उनीहरूको माग पूरा गर्न तत्कालीन राजा तयार थिए ।
‘आन्दोलनकारीसँग कुरा गर्न राजाले बक्सेको जिम्मेवारीअनुसार मैले वार्ता प्रक्रिया अघि बढाएँ ,’ चन्दले भने, ‘मुलुक स्वतन्त्र होस्’ र ‘सार्वभौम सत्ता चाहन्छौँ’ भनेर आन्दोलनकारीले भनेपछि वार्ता सफल भयो । जिम्मेवारी पूरा भएलगत्तै १६ दिनमै म प्रधानमन्त्री पदबाट बिदा भएँ ।’
त्यसपछि ०५३ साल फागुन २६ मा शेरबहादुर देउवाको सरकार ढलेपछि चन्दलाई फेरि प्रधानमन्त्रीको अवसर जु¥यो । देउवा सरकार ढलेको भोलिपल्टै चन्दले एमालेको समर्थनमा सरकार बनाएका थिए । चन्द र एमालेको गठबन्धन भएका कारण त्यतिवेला उनको सरकारलाई कतिपयले ‘चमाले’ गठबन्धन पनि भन्थे ।
प्रधानमन्त्रीको तेस्रो कार्यकालबाट पनि उनको बहिर्गमन सुखद मानिँदैन । तर, त्यही वेला उनको मुखबाट फुत्किएको ‘मुसा प्रवृत्ति’को राजनीति वृत्तमा अझै चर्चा हुन्छ । त्यसवेला चन्दको सरकारले दुई चरणमा स्थानीय निकायको र त्यसपछि जिल्ला विकास समितिका पदाधिकारीको निर्वाचन गराएको थियो । तर, सरकारमै सहभागी भएका उनकै पार्टी राप्रपाका केही मन्त्री कमल थापालगायतले उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याए । आफ्नै पार्टीका मन्त्रीको व्यवहारबाट रुष्ट चन्दले त्यतिवेला उनीहरूलाई नै इंगित गर्दै भनेका थिए, ‘यो त मुसा प्रवृत्ति भयो ।’
‘मैले त्यतिवेला एकजनालाई होइन, सबैलाई भनेको हो,’ पुरानो हबेलीको पुरानो कुर्सीमा बसेका चन्द सम्झन्छन्, ‘देशको झन्डा बोकेर संसद्मा गयो, तर भोटचाहिँ विपक्षमा दिएपछि भनेको हो । मैले व्यक्तिलाई भन्दा पनि प्रवृत्तिलाई भनेको हुँ ।’ आफ्नै मन्त्रीहरूले अविश्वास गरेपछि चन्दले त्यतिवेला २०५४ असोज १८ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
चारपटक प्रधानमन्त्री भएका लोकेन्द्रबहादुर चन्द भन्छन्– जीवनमा जति पाएँ, त्यति ठीक छ । अब दुई–चार महाद्वीपकै प्रधानमन्त्री बनाइदिने प्रस्ताव आए पनि पर्दैन भन्छु ।
०५९ असोज २५ मा चन्द चौथोपटक देशको प्रधानमन्त्री भए । त्यतिवेला तत्कालीन राजा ज्ञानेन्द्रले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न अक्षम भनेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई पदबाट मुक्त गरेका थिए । त्यहीवेला सशस्त्र द्वन्द्वमा रहेको माओवादीलाई शान्ति–प्रक्रियामा ल्याउन भनेर आफूलाई राजा ज्ञानेन्द्रले प्रधानमन्त्री बनाएको चन्द बताउँछन् । ‘चौथोपटक राजा ज्ञानेन्द्रले मलाई माओवादी समस्या मिलाउनू भनेर प्रधानमन्त्री बनाएका हुन्,’ उनले भने, ‘माओवादीसँग संवाद पनि गरियो । तर, आधा मात्रै सफल भइयो । वार्ता चलिरहेको थियो, तर ठूला दललाई नसमेटी सम्भव देखिएन । मैले राजालाई भनेँ– जति पनि ठूला दल थिए, अब यिनीहरूलाई नदिईकन यो कुरा मिल्दैन । त्यसैले पार्टीकै कुनै मान्छेलाई प्रधानमन्त्री बक्सिनुपर्यो । त्यसपछि ६० साल जेठ २२ मा मैले छुट्टी पाएँ, तर राजाले अन्य दलबाट होइन, राप्रपाकै सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाउनुभयो ।’
त्यसपछि वार्ता बिथोलिएको चन्दको बुझाइ छ । ‘थापा प्रधानमन्त्री भएपछि माओवादीसँग एकपटकबाहेक अरू वार्ता बसेन । द्वन्द्व रोकिएन,’ उनले भने । चन्दको अनुभवमा प्रधानमन्त्रीको कुर्सी बाहिरबाट देखेजस्तो सहज छैन । ‘बिहानदेखि रातिसम्म लगातार काम गर्नुपर्छ,’ उनी फिस्स हाँस्दै भन्छन्, ‘आराम गर्नै पाइँदैन । बाहिरबाट देखेर हामी प्रधानमन्त्री हुन पाए हुन्थ्यो भन्छौँ । तर, त्यहाँ पुगेपछि के–के हुन्छ, मलाई थाहा छ । आफ्नो समय भन्ने नै हुँदैन । त्यसमाथि अनेक माग लिएर आउने मान्छेहरू । पूरा गर्न सकिएन भने उनीहरूको त्यो रिस । त्यसैले आनन्द छैन प्रधानमन्त्रीलाई । सबैले त्यो पीडा भोग्नैपर्छ । तैपनि जानी–जानी यसलाई ओगट्छन्, अचम्मको छ यो पद ।’
टुटफुट राप्रपाको नियति
चन्द टुटफुट राप्रपाको नियति ठान्छन् । दोस्रो तलामा बरन्डामा बसेर हामीसँग गफिएका चन्दकै छेउमा पुस्तकहरूको थाक थियो । त्यहीमाथि भित्तामा एक पत्रिकाको कटिङ फ्रेमिङ गरेर राखिएको छ, जहाँ लेखिएको छ– ‘म नै राप्रपाको वैधानिक अध्यक्ष हुँ ।’
‘त्यो सूर्यबहादुर थापासँग विवाद हुँदाको हो,’ चन्दले सम्झिए, ‘चारजना एक–एक वर्ष पार्टीको अध्यक्ष हुने भन्ने सम्झौता भएको थियो । सूर्यबहादुर थापापछि मेरो पालो थियो । तर, उनले सिधै पशुपतिशमशेरलाई बनाउन खोजे । त्यही द्वन्द्वका क्रममा मैले दिएको इन्टरभ्यु हो यो ।’
पटक–पटक राप्रपा टुटफुट भइरहनु दुर्भाग्य भएको बताउँछन् उनी । ‘पशुपति शमशेर, प्रकाशचन्द्र लोहनी र कमल थापाले तीन अलग–अलग पार्टी बनाएपछि बीचमा एक वर्षका लागि म अध्यक्ष हुँदा मिलाएको पनि हुँ,’ उनले भने, ‘मिलेर बस्नुस्, म एक्टिभ छैन । म बरु ठुल्ठूलो कार्यक्रममा आउँला, तपाईंहरू मिलेर आउनुस् भनेर मिलाएको थिएँ । तर, पछि फेरि फुटे ।’
राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङदेनसँग हारेपछि कमल थापालाई पार्टीबाट अलग हुन नदिन पनि आफूले सक्दो प्रयास गरेको चन्द सम्झन्छन् । ‘के गर्ने, त्यस्तै परिस्थिति आउँछ त,’ निराशामिश्रित भावमा उनी भन्छन्, ‘मैले कमल थापालाई यहीँ बस्नुस् भनेर जोड गरेको हुँ । तर, उनले मलाई तीन–चार दिनमा निर्णय गर्छु भनेर उता मकवानपुर गएर राजीनामा पो दिए । तर, एउटै विचार बोक्नेहरू सधैँ सँगै बस्नुपर्छ भन्ने मेरो मनमा थियो, अहिले पनि छ ।’गीताको कसम खाएर पार्टी फुटाउँदिनँ भनेका थापाले राप्रपाबाट अलग्गिएर राप्रपा नेपाल ब्युँताए पनि राजसंस्थाको एजेन्डा फर्किएकोमा भने चन्द खुसी छन् ।
‘उहाँले गल्ती सुधार गरेर पुरानो ठाउँमा आउनु ठिकै हो,’ उनले भने, ‘संवैधानिक राजतन्त्रको मुद्दा उठाउनेहरू सबै एक ठाउँमा आउनुपर्छ । सके पार्टी एकता, नसके कार्यगत एकता भए पनि गर्न भनेर मैले पहल गरिरहेको छु ।’आफ्नो एजेन्डा भुलेर राप्रपा सत्ता लिप्त भएको भने चन्दलाई मन परेको छैन । हरेक बिहान अखबार पढ्ने उनलाई राप्रपा सरकारमा जाने तयारीमा छ भन्दा बेस्सरी बिझाउँछ । ‘मेरो सल्लाह लिने उनीहरूसँग फुर्सद भएन,’ चन्दको गुनासोमिश्रत सुझाव छ, ‘नत्र म त जानुहुँदैन भन्थेँ । पहिले कमल थापा सरकारमा जाने वेला पनि यहाँ आउनुभएको थियो । मैले नजानुस् भनेको हुँ । तर, उपप्रधानमन्त्री दिने वचन पक्का छ भन्नुभयो । सरकारमा गए पनि हाम्रो लाइन यो हो र त्यसबाट विचलित हुनेछैन भनेर एउटा वक्तव्य निकाल्न सुझाएँ । तैपनि जनताले उनलाई पत्याएनन् । उनको जुन क्रेज थियो, त्यसपछि घट्यो ।’
देशमा अहिले भइरहेको नक्कली शरणार्थी, ललितानिवासदेखि सुन तस्करी प्रकरण र त्यसमा नेताको संलग्नतासम्बन्धी भ्रष्टाचारका काण्डबारे अखबारबाटै जानकारी लिइरहेका छन् चन्द । तर, नेताहरू पक्राउले मात्रै भ्रष्टाचार निर्मूल नहुने उनको तर्क छ । ‘यसका लागि यो मुलुकको वातावरण परिवर्तन हुनुपर्छ,’ उनले भने, ‘जहाँसम्म राजनीतिक भ्रष्टाचारको कुरा छ, त्यो निर्मूल गर्नका लागि निष्पक्ष र धाँधलीरहित चुनाव महत्वपूर्ण हो । चुनाव गर्दा करोडौँ खर्च गर्नुपर्ने, अनि सरकारमा गएपछि भ्रष्टाचार नभएर के हुन्छ । मूल जरो नै सुधानुपर्छ ।’
यही क्रममा उनले बहुदलीय व्यवस्था आएपछि तत्कालीन राजा वीरेन्द्रसँग भएको एउटा भेट सम्झिए । त्यतिवेला उनले राजालाई भनेका थिए, ‘यी दुःख पाएका ठुल्ठूला नेताले सरकार राम्ररी चलाउँछन् भन्ने लागेको थियो, तर केही गर्न सकेका छैनन् ।’
चन्दका अनुसार त्यतिवेला जवाफमा वीरेन्द्रले भने, ‘हो, मलाई पनि त्यही लाग्या थियो । तर, यही व्यवस्था र संवैधानिक राजतन्त्र मज्जाले चलाउन सकिन्छ । तर, त्यसका लागि संवैधानिक निकाय निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, न्यायालय सबै निष्पक्ष हुनुपर्छ ।’
अहिले पनि चन्दलाई त्यही लाग्छ । भन्छन्, ‘संवैधानिक निकाय निष्पक्ष भए भने भ्रष्टाचार हुँदैन र जनताको बीचमा राजनीतिज्ञप्रति गुमेको जनताको विश्वास पनि बढ्छ । त्यसपछि इमानदार मान्छे निर्वाचित भएर सरकारमा आउने अवस्था सिर्जना हुन्छ ।’
अन्तिम उपन्यास लेख्ने धोको
‘विसर्जन’ कथासंग्रहबाट मदन पुरस्कारसमेत जितेका चन्दको साहित्यमा बिछट्टै लगाव छ । उनी पटक–पटक भन्ने गर्छन्– राजनीतिमा नगएको भए साहित्यमै पहिचान बनाउँथेँ । पुरानो हबेलीभित्र राजनीतिक क्रियाकलाप रोकियो होला, तर लेख्ने–पढ्ने रफ्तार रोकिएको छैन । महिलाको कथा ‘अपराजिता’ उपन्यास लेखिसकेका छन्, जुन प्रेसमा छापिने क्रममा छ । ‘यसमा साधारणस्तरबाट माथि उन्नति गर्ने महिलाको कथा छ । सकेछु भने अर्काे एउटा उपन्यास लेखौँ भन्ने लाग्या छ,’ उनी आफ्नो अन्तिम चाहना सुनाउँछन् ।उनको हबेलीमा अहिले नेताहरू पनि खासै भेट्न आएका छैनन् । फुर्सदका वेला रसियन उपन्यास पढेर जीवन कटाइरहेका उनी जीवनको यो घडीलाई सहज रूपमा लिन्छन् ।
‘के रहेछ त जीवन ?’
‘यो गाह्रो प्रश्न छ,’ एक मुस्कान छाड्दै उनी गम्भीर देखिए, ‘जस्तो भोगाइ हुन्छ, मान्छे त्यहीअनुसार जीवनको परिभाषा दिन्छ । मलाई लाग्छ, कुनै एक कविताको हरफजस्तै जीवन फूल पनि हो, काँडा पनि हो । हामी दुःखबाट बच्न सक्दैनौँ, आफ्नो पालो आउँदा लपेटिहाल्छ । त्यसैले जीवन न सुख हो, न दुःख, यो त दुवैको मिश्रण रहेछ ।’उनलाई अर्को प्रश्न थियो, ‘ऐनाअघि उभिएर हेर्दा आफूले जीवनमा गरेका भूल कसरी सम्झिनुहुन्छ ?’ ‘गल्ती यो उमेरमा आएर के याद गरिराख्नु ?,’ जवाफमा चन्दले भने, ‘मलाई कुनै अफसोच छैन । अरूको नजरबाट हेर्दा गल्ती भए होलान्, तर आफ्नै नजरमा त मानिसले कहाँ गल्ती गर्छ ?’ लगत्तै चन्दले फेरि हाँस्दै थपे, ‘ऐनाअघि उभिनू भन्नुभयो । मलाई ०४१ सालमा पोखरा पुग्दा लेखेको मेरो कविता पो याद आयो, जसको शीर्षक थियो– ‘म आजभोलि ऐना हेर्दिनँ ।’