• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
रामचन्द्र न्यौपाने
२०८० भदौ १६ शनिबार १०:५०:००
समाज

ज्यान लिने जडीबुटी

२०८० भदौ १६ शनिबार १०:५०:००
रामचन्द्र न्यौपाने

डोल्पामा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन गर्ने समय सकिएको डेढ महिना भइसक्यो । स्थानीयले संकलन गरेको जडीबुटी बेची पनि सके । तर, त्यहाँका मानिसका मनमा भने वर्षौँदेखिका घाउ अझै ओभाएका छैनन् । हरेक वर्ष यार्सा टिप्ने मौसम आएसँगै आफन्त गुमाएको पीडा पुनः बल्झिन्छ । यार्सा टिप्ने क्रममा ज्यान गुमाउनुपरे पनि यहाँका मानिस पाटनमा जान बाध्य छन् । एक सिजनमा एउटा परिवारले दुईदेखि १० लाखसम्म कमाउँछन् । छोटो समयमै लाखौँ कमाइ हुँदा खुसी त मिल्छ, तर यार्सा संकलन गर्न जाँदा भने पलपल मृत्युको सामना गर्नुपर्छ । यार्सा संकलन गर्न जाँदा कैयौँका घर उजाडिएका छन् । बालबच्चा टुहुरा भएका छन् । घरबार उजाडिएका केही प्रतिनिधि घटना यस्ता छन्– 

घटना – १
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ गल्ली गाउँ बस्ने हिरालक्ष्मी शाहीलाई यार्सा संकलन गर्ने समय जति नजिक आउँछ त्यति नै पीडा हुन्छ । उनलाई लाग्छ, वर्षमा अरू सबै महिना आओस्, तर जेठ महिना कहिल्यै नआओस् । किनकि जेठ महिनामै उनको श्रीमान् हरिचन्द्र शाहीको यार्सा टिप्ने क्रममा मृत्यु भएको थियो । ६ वर्षअघि पति गुमाएकी हिरालक्ष्मी अहिले ४१ वर्षकी भइन् । श्रीमान् बित्दा उनी ३५ वर्षकी मात्र थिइन् । उनका श्रीमान्ले ४३ वर्षको उमेरमै ज्यान गुमाउनुपर्‍यो ।


हरिचन्द्र ०७३ जेठ महिनामा भोक्पा लेकमा पुगे । उनको सपना थियो– यार्सा बेचेको पैसाले सुर्खेतमा ११ कक्षा पढ्दै गरेकी जेठी छोरी रत्नरूपालाई झनै धेरै पढाएर ठूलो मान्छे बनाउने । यस्तै, सपना बोकेर श्रीमती र कान्छी छोरीसहित उनी करिब चार हजार मिटर उचाइको भोक्पा लेकमा पुगे । हरिचन्द्रको परिवारले बाटोमा बाग्लो हिउँ जमेका कारण धेरै समस्या भोग्यो । साथमा लगेको चामल, चाउचाउ र बिस्कुट खाँदै चिसोबाट बच्ने कोसिस गरिरहे । निकै कष्ट भोगेर पाटन पुगे । हरिचन्द्र चिसोका कारण पहिलेदेखि नै बिरामी परिरहन्थे । पाटनको माइनस तापक्रमले झनै गल्दै गए । 


पाटन पुगेको भोलिपल्टदेखि हिरालक्ष्मी पनि साह्रै बिरामी परिन् । त्यो नमीठो क्षण सम्झिँदा उनलाई अहिले पनि अत्यास लाग्छ । भन्छिन्, ‘धेरै चिसो भएर हातखुट्टा पूरै सुनियो । रातिदेखि दिसापिसाब नै बन्द भयो ।’ चिसोले दुवैजना थलिएपछि उनीहरूलाई गाउँलेहरूले घरसम्म पुर्‍याइदिए । चिसोका कारण उनको श्रीमान्को शरीर पूरै सुन्निएको थियो । घर पुगेर उनीहरूले देवीदेउता गुहारे, धामीझाँक्री बोलाए । तर, निको भएन । हिरालक्ष्मी गला अवरुद्ध बनाउँदै भन्छिन्,‘हामी मेडिकलमा गयौँ । दुवैजनालाई अलि ठीक भयो । तर, रातिदेखि उहाँलाई गाह्रो भयो । मलाई आइसियूमा राख्नू, म बाँच्छु भन्नुभयो । त्यसपछि भोलिपल्ट बिहान नेपालगन्ज लैजान सिँढीबाट ओराल्दै गर्दा उहाँ बित्नुभयो । बाँच्ने लेखा (भाग्य) भएर होला मचाहिँ बाँचेँ ।’


गाउँका धेरैले उनको श्रीमान्लाई भुतले खायो भने । तर, हिरालक्ष्मीलाई आफ्नो श्रीमान् भूतले खाएको भन्नेमा विश्वास छैन । भन्छिन्, ‘मेरो श्रीमान् पैसा कमाउन यार्सा टिप्न नगएको भए बित्नुहुने थिएन । दुई–चार पैसा होला कि भनेर चिसोमा यार्सा टिप्न जानुभयो । अनि चिसोले बित्नुभयो ।’ आफ्नो श्रीमान् कुनै देवीदेवता, भूतप्रेतको श्राप लागेर बितेको कुरामा उनलाई विश्वास छैन । श्रीमान्को मृत्यु गरिबीको कारण भएको उनको ठहर छ । 

बर्सेनि ज्यान गुमाए पनि यार्सा संकलन गर्न मानिस गइरहेका छन् । जीविकोपार्जनको अन्य माध्यम नहुँदा उनीहरू ज्यानको बाजी थापेर चिसो पाटनमा जान बाध्य छन् । सरकारले बिचौलिया नियन्त्रण, यार्साको मूल्य निर्धारण र बिमालगायत सुविधा उपलब्ध गराउनुपर्छ । यति गरेमा नागरिकले राज्यबाट राहत महसुस गर्थे । 


हिरालक्ष्मीका दुई छोरा दुई छोरी छन् । छोराछोरी पढ्दै छन् । आयस्रोत केही पनि छैन । जग्गाबाट उब्जनी पनि हुँदैन । ज्याला मजदुरी गरेर जसोतसो छोराछोरी पढाइरहेकी छिन् । उनी आशावादी हुँदै भन्छिन्, ‘दुःख गरेरै भए पनि छोराछोरी पढाइरहेकी छु । एक दिन यिनीहरूले सपना पूरा गर्लान् भन्ने आशा छ ।’ 


घटना – २ 
हिरालक्ष्मीको जस्तै यार्सागुम्बाकै कारण त्रिपुरासुन्दरी– १० लिकु बस्ने रीता पहाडीले पनि कलिलै उमेरमा श्रीमान् गुमाइन् । भर्खरै ३१ वर्ष टेकेकी उनका श्रीमान् नारायण पहाडीको ३३ वर्षकै उमेरमा ग्यालबारा पाटनमा चिसो र लेक लागेर अकालमै ज्यान गयो । नारायणको पनि घरायसी अवस्था कमजोर छ । यार्सा टिपेर नयाँ घर बनाउने सपना लिएर उनी पाटन पुगेका थिए । तर, सपना पूरा भएन । ०७५ जेठ १३ गते उनको ज्यान गयो ।


‘यार्सा टिपेर नयाँ घर बनाउने हाम्रो योजना थियो । तर, उहाँ फर्किएर आउनुभएन,‘रीता सुस्तरी भन्छिन्,‘मैले त श्रीमान्को मुखसम्म देख्न पाइनँ । उतै बित्नुभयो । दाहसंस्कार पनि उतै भयो । मेरो श्रीमान्को यार्साले ज्यान लियो ।’ उनीहरूका दुई छोरी एक छोरा छन् । छोरीछोरी पढ्दै छन् । उनको परिवारमा बिहान–बेलुकी छाक टार्नै समस्या छ । रीताको जग्गा धेरै छैन । थोरै भएको जग्गामा उब्जनी पनि हुँदैन । रीताले मजदुरी गरेर छोराछोरी हुर्काइरहेकी छिन् । नयाँ घर बनाउने श्रीमान्को सपना गाउँले र माइतीको सहयोगमा रीताले पूरा गरेकी छिन् । त्यो घर बनाउने आधा खर्च भने उनी आफैँले कमाएकी हुन् । ‘घर बनाउँदा लागेको पन्ध्र लाख ऋण छ कसरी तिर्ने हो रातभरि निद्रा लाग्दैन्,’ उनले भनिन्,‘बरु भोकै बसौँला, तर छोराछोरीलाई किरा टिप्न कहिले पठाउँदिनँ ।’


घटना – ३
त्रिपुरासुन्दरी –८ देवकोटा वाडागाउँ बस्ने ४५ वर्षीया सुनकुमारी जैसीको पनि त्यस्तै कथा छ । उनले पनि कलिलै उमेरमा आफ्ना पति गुमाइन् । उनको श्रीमान् हरिप्रसाद जैसीको पनि यार्सा टिप्न जाँदा ०६७ जेठमा ४० वर्षको उमेरमा पाटनमै मृत्यु भयो । हरिप्रसादका चार छोराछोरी छन् । यार्सा टिप्न उनी से–फोक्सुन्डो गाउँपालिकाको कुनासा पाटनमा पुगेका थिए । जाँदाजाँदै लेक लागेर उनी थला परे । बिरामी परेपछि हरिप्रसादलाई आफन्त छिमेकीले घरसम्म पुर्‍याइदिए । घरेलु उपचार गरे, झामीझाँक्री लगाए । तर, उनको ज्यान बचेन । ‘हामीसँग पैसा थिएन । बुबालाई उपचार गर्न आमाले गाउँभरि पैसा खोज्नुभयो, तर कसैले पत्याएन,’ छोरी प्रतिमा जैसीले भनिन्,‘यदि पैसा भएको भए बुबालाई बचाउन सकिन्थ्यो ।’


हरिप्रसाद बितेपछि उनको परिवार छिन्नभिन्नजस्तै भयो । प्रतिमा भन्छिन्,‘बुबा बितेपछि म अर्काको घरमा बसेर पढ्दै छु । साइली बहिनी काठमाडाैंमा अर्काको घरमा काम गर्छिन् । कान्छी बहिनी जुफाल गाउँमा आफन्तकहाँ बस्छिन् । घरमा ठूली दिदी र आमा हुनुहुन्छ । यदि बुबा भएको भए यसरी सबै छुट्टाछुट्टै बस्नुपर्ने थिएन ।’


घटना – ४
त्रिपुरासुन्दरी –१० दापुगाउँ बस्ने प्रीति साहिँलाको छोरा रुद्री साहिँला पनि पन्ध्र वर्षकै उमेरमा यार्सा टिप्न जाँदा उतै अस्ताए । उनी से–फोक्सुन्डो गाउँपालिकाको सागर पाटनमा यार्सा टिप्न पुगेका थिए । ०६६ जेठमा उनी पाटनमै बिरामी परेर बिते । उनका दाई हरिचन्द्र भन्छन्,‘पाटनमै चिसो र लेक लागेर भाइ बित्यो ।’ उनकी आमा हिरामती साहिला भन्छिन्,‘छोरा किरा खोज्न पाटन गएको थियो । किरा टिपेर कमाएको पैसाले काठमाडाैं गएर पढ्छु भन्थ्यो । तर, उसले भनेजस्तो भएन ।’ 


घटना – ५
त्रिपुरासुन्दरी–९ चुँगाउँ बस्ने ५० वर्षकी उजेली पुनः पनि यार्सा टिप्न जाँदा पाटनमै बितिन् । ०५७ सालमा यार्सा टिप्न गएको वेला कुनासा यार्सा पाटनमा लेक लागेर उनी बितेकी हुन् । उनको दाहसंस्कार उतै भयो । उनकी छोरी च्यामा भन्छिन्, ‘आमा बितेलगत्तै बुबा पनि बित्नुभयो । हामी झन् टुहुरा भयौँ ।’ आर्थिक अवस्था कमजोर भएकाले बुढेसकालमा पनि आमा किरा खोज्न जान बाध्य हुनुपरेको उनले सुनाइन् । 


घटना – ६ 
सोही नगरपालिका–२ रुम गाउँ बस्ने ४६ वर्षीय आइतुरूपा बुढाका श्रीमान् नन्दबहादुर बुढाले पनि यार्साकै कारण ज्यान गुमाए । तीन छोरी र दुई छोरा भएकी आइतुरूपाका श्रीमान् ०६७ सालमा बाउलिगार्ड यार्सा पाटनमा बिते । दमका बिरामीसमेत रहेका नन्दबहादुर बालबच्चालाई राम्रो शिक्षा दिने र नयाँ घर बनाउने सपना बोकेर यार्सा टिप्न गएका थिए । नन्दबहादुर पाटन पुगेको केही दिनमै बिरामी भए । लगातार रगत बान्दा गरेर उनको मृत्यु भयो । आयस्रोत कमजोर भएका कारण दमको रोगी श्रीमान्लाई पनि पाटनमा पठाउनु परेको आइतुरूपाले सुनाइन् । नन्दबहादुरको पनि सपना थियो– यार्सा टिपेर कमाएको पैसाले नयाँ घर बनाउने । तर त्यो सपना पूरा भएन । नन्दबहादुर अघिल्ला वर्षहरूमा पनि यार्सा टिप्न जान्थे । आइतुरूपाले आँसु झार्दै सुनाइन्, ‘अघिल्लो वर्ष दश–पन्ध्र हजारसम्म कमाउनुहुन्थ्यो । तर, त्यो वर्ष यार्साले उहाँको ज्यानै खायो । सास त भेट्न पाइनँ, लास पनि देख्न पाइनँ ।’ 


घटना – ७
त्यस्तै, वडा नम्बर ७ छलगाउँका २५ वर्षीय लालबहादुर रोकायले पनि अकालमै ज्यान गुमाउनुपर्‍यो । यार्सा टिप्न गएको वेला लेक लागेर छोराको कलिलै उमेरमा मृत्यु भएको लालबहादुरका बुबा शिवबहादुर रोकायाले सुनाए । ‘०७७ सालमा सुम्से यार्सा पाटनमा छोराले ज्यान गुमायो । एउटै छोरा थियो, त्यो पनि बित्यो,’ उनले दुखेसो पोखे,‘आर्थिक अवस्था कमजोर भएकै कारण छोरा किरा खोज्न गएको थियो । घर फर्कन नपाएरै त्यहीबाट दैवले चुँडेर लग्यो ।’ 

 यार्सा टिप्न गएका श्रीमान् गुमाएकी रीता पहाडी भन्छिन्– यार्सा टिपेर नयाँ घर बनाउने हाम्रो योजना थियो । तर, उहाँ फर्किएर आउनुभएन । मैले त श्रीमान्को मुखसम्म देख्न पाइनँ । उतै बित्नुभयो । दाहसंस्कार पनि उतै भयो । यार्साले उहाँको ज्यान लियो ।


बिमा होइन, भाकल गरिन्छ 
यार्सा टिप्न जानेहरूको कुनै बिमा गरिँदैन, बरु ‘देवता’लाई भाकल राखिन्छ । भाकल राखे सुरक्षित भइने स्थानीयको विश्वास छ । अन्य गाउँका जस्तै रुम गाउँका मानिस यार्सा टिप्न जाँदा देउता भाकल गरेर जान्छन् । प्रत्येक वर्ष आफ्ना कुल देउतालाई दुईवटा बोका चढाएर जान्छन् । रुम गाउँका स्थानीय केदार बुढा भन्छन्,‘देउताले पाटन नजानु भनेपछि जान मिल्दैन । जसले अटेर गर्छ, त्यो बिरामी पर्छ वा मर्छ ।’ स्थानीयहरू आम्दानीको राम्रो स्रोत अरू नहुँदा चुनौती मोलेरै भए पनि हरेक वर्ष यार्सा टिप्न पाटनमा जान्छन् । ०३५ सालदेखि डोल्पालीहरूको आम्दानीको स्रोत नै यार्सा भएको त्रिपुरासुन्दरी– १ का स्थानीय तुलराम सार्की बताउँछन् । 


आफन्त गुमाएका परिवार अहिले पनि पीडामा बाँचिरहेका छन् । यार्सा टिप्न जानेहरूका लागि अहिले पनि कुनै बिमाको सुविधा छैन । डोल्पामा धेरै यार्सागुम्बा पाइने भएकाले रुकुम, जाजरकोट र जुम्लाका सर्वसाधारण पनि प्रत्येक वर्ष त्यहाँ पुग्ने गर्दछन् । प्रत्येक वर्ष रुकुम र जाजरकोटका मात्रै कम्तीमा पाँचजनासम्म नागरिकले ज्यान गुमाउने गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । रुकुम र जाजरकोटमा गर्मी हुन्छ । यार्सा चार हजार मिटरभन्दा माथि अत्यधिक चिसोमा पाइन्छ । तातो हावापानीमा बस्ने मान्छे एक्कासी उच्च हिमाली भेट पाटनमा पुग्दा लेक लागेर र चिसोका कारण ज्यान गुमाउने गरेको प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले बताए ।


०६४ साल जेठ १५ गते जगदुल्ला गाउँपालिकामा पर्ने टाङटुङे लेकमा हिउँ पहिरोले पुरेर १६ जनाको एउटै चिहान भयो । ती सबैजना यार्सा टिप्न जाँदै थिए । त्यो पहिरोमा तल्लो डोल्पाको मुड्केचुला र जगदुल्लाका स्थानीय धेरै परे । रुकुम, जाजरकोट, सल्यान, जुम्ला, कालिकोटबाट पनि हजारौँ सर्वसाधारण यार्सा संकलन गर्न डोल्पा पुग्छन् । त्यसरी पुग्ने २०औँ हजारमध्ये हरेकपटक दुईदेखि तीनजनाले ज्यान गुमाउने गर्छन् । प्रत्येकपटक यार्सागुम्बा सिजनमा डोल्पाका सर्वसाधारण घरमा ताला लगाएर बुढाबुढी, सुत्केरी, दूधे बालबच्चासमेत लिएर पाटन पुग्छन् । त्यो वेला ४५ दिनसम्म जिल्लाका सम्पूर्ण विद्यालयसमेत बन्द हुन्छ । जेठदेखि असार १५ सम्म यार्सागुम्बा संकलन हुने गर्छ ।


जेठदेखि यार्सागुम्बा टिप्न जान वैशाख १५ सम्ममा सम्पूर्ण तयारी सकाउनुपर्छ । बाक्लो कपडा, चामल, दाललगायतका खाद्यवस्तु जोहो गरिन्छ । गरिबीका कारण सबैजनाले पोषिलो खानेकुरा र न्यानो लुगा जोहो गर्न सक्दैनन् । र, पनि उनीहरू लेकमा जान बाध्य हुन्छन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार पछिल्लो पाँच वर्षमा यार्सा टिप्न गएकामध्ये लेक लागेर १२ जनाले ज्यान गुमाए । उनका अनुसार यो अवधिमा दुई वर्ष कोरोनाका कारण यार्सा पाटन नै खुलेन । तीन वर्षमा मात्रै १२ जनाले ज्यान गुमाएका हुन् ।


यी त रेकर्डमा आएका मात्रै हुन् । सबै पाटनमा प्रहरी पुग्न सकेको छैन । बुढाथोकी भन्छन्,‘प्रहरीको तथ्यांकमा यति मात्रै घटना हुन् । प्रहरी कार्यालयको जानकारीमै नआइपुगेका घटना अझै धेरै छन् । प्रत्येक वर्ष करिब एक दर्जनभन्दा धेरैले ज्यान गुमाउने गरेका छन् ।’


यार्सा उच्च भूभागमा पाइने भएकाले तयारीविना गएका मान्छेहरूले चिसोले ज्यान गुमाउने गरेको जिल्ला अस्पताल डोल्पाका डाक्टर अखण्ड उपाध्यायले बताए । ‘यार्सा पाइने हतारोले जंकफुड खान्छन् । काँचो खाना पनि खान्छन् । त्यसले गर्दा पनि स्वास्थ्यमा समस्या आउँछ, उनले भने, ‘अर्को कारण भनेको प्रेसर, दम पनि हो । यी रोगले छोएका बिरामी पनि यार्सा टिप्न पुग्छन् ।’ यार्सा टिप्न जाँदा न्यानो कपडा लगाउने, तातो खाने, प्राथमिक उपचारका औषधि बोकेर जाने र दम प्रेसरका बिरामी सकभर नजाने, साना बालबालिकाहरू नलैजान उनी सुझाव दिन्छन् ।


करोडौँ उठ्छ राजस्व 
से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले यार्सा संकलन इजाजत र छोड पुर्जी वितरणबाट प्रत्येक वर्ष न्यूनतम ५० लाखभन्दा धेरै राजस्व संकलन गर्ने गरेको छ । यस वर्ष मात्रै छोडपुर्जी र संकलन इजाजत वितरणबाट दुई करोड तीन लाख राजस्व संकलन भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए । प्रत्येक वर्ष जिल्लामा सर्वपक्षीय भेलाबाट मात्र यार्सा संकलन मिति तोक्ने गरिन्छ । निकुञ्जले वर्ग छुट्याएर राजस्व उठाउँदै आएको छ । मध्यवर्ती क्षेत्रभित्रका स्थानीयलाई एक हजार, जिल्लाभित्रकालाई दुई हजार र जिल्लाबाहिरकालाई तीन हजार तोकिएको छ । संकलकबाट बर्सेनि लाखाैँ राजस्व उठाए पनि स्वास्थ्य बिमा भने गरिँदैन ।


निकुञ्जले यार्सा टिप्नेबाट राजस्व मात्र लिने र कुनै बिमाजस्ता सुविधा नदिनु गलत भएको त्रिपुरासुन्दरी मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमान सार्कीले बताए । ‘यार्सा टिप्न जाने क्रममा जिल्लाका प्रत्येक गाउँका नागरिकले अभिभावक र परिवारका सदस्य गुमाएका छन् । उनीहरूको जीवनस्तर दयनीय छ । मृतकका छोराछोरीले पढ्न पाएका छैनन्, राम्रोसँग खानसमेत पाएका छैनन् । राज्यले राजस्व मात्रै असुलेर हुँदैन । उनीहरूबारे राज्यले केही सोच्नुपर्छ,’ सार्की भन्छन्,‘यार्सा टिप्न जाने सबैको बिमा सरकारले गर्नुपर्छ । बिमाको व्यवस्था गर्नुपर्नेमा से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीको पनि मत छ । उनी भन्छन्, ‘यार्सा पाटनमा जानेहरूको बिमा गर्न अत्यावश्यक छ ।’ 


यार्सामा पनि बिचौलिया
यार्सागुम्बामा पनि बिचौलिया हाबी हुने गरेको छ । बिचौलियाले संकलकबाट प्रतिगोटा दुईदेखि तीन सयसम्ममा खरिद गर्छन् र व्यापारीलाई १५ सयसम्ममा बेच्छन् । यार्सा संकलनको समयमा व्यापारी पाटनमै पुगेर सस्तो मूल्यमा यार्सा खरिद गर्छन् । पछि भाउ पाइँदैन भन्दै संकलकहरूलाई मनोवैज्ञानिक त्रास देखाउँछन् । बिचौलियाले संकलकबाट प्रतिकिलो पाँचदेखि दश लाखसम्ममा लिएर १५ देखि ३० लाखसम्ममा बेच्ने गरेको दापुगाउँका स्थानीय रणबहादुर धराला बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा यार्साको भाउ प्रतिकेजी ७० लाखसम्म रहेको उनको भनाइ छ । यार्साको मूल्य निर्धारण नहुँदा संकलकहरू व्यापारीबाट प्रत्येक वर्ष करोडाैं ठगिनुपरेको धरालाको गुनासो छ । बहुमूल्य जडीबुटीको मूल्य सरकारले नै निर्धारण गर्नुपर्ने उनको भनाइ छ । 


अघिल्लो वर्ष डिभिजन वन कार्यालयबाट मात्रै दुई सय ८० किलो यार्साको छोडपुर्जी वितरण भएकोे डिभिजन वन कार्यालय डोल्पाका डिभिजन वन अधिकृत महेश कुमाईंले जानकारी दिए । उनका अनुसार पछिल्लो केही वर्षयता यार्सा घट्दो क्रममा छ । बर्सेनि छोडपुर्जी र संकलन पुर्जी घटिरहेको छ । कोभिडअघिका वर्षहरूमा डिभिजन वन कार्यालयबाट मात्रै १० देखि १२ क्विन्टलसम्म यार्साको छोडपुर्जी जारी हुने गरेको उनले बताए । अधिकृत कुमाईंका अनुसार गत आर्थिक वर्षमा एक करोड १२ लाख राजस्व संकलन भएको थियो ।डोल्पामा यार्साको व्यावसायिक संकलन ०४० सालदेखि सुरु भएको हो । २०७५ सालदेखि १२ जना यार्सा संकलकले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।


बर्सेनि ज्यान गुमाए पनि यार्सा संकलन गर्न मानिसहरू गइरहेका छन् । जीविकोपार्जनको अन्य माध्यम नहुँदा उनीहरू ज्यानको बाजी थापेर चिसो पाटनमा जान बाध्य छन् । सरकारले बिचौलिया नियन्त्रण, यार्साको मूल्य निर्धारण र बिमालगायतका सुविधा उपलब्ध गराउनुपर्छ । यति गरेमा नागरिकले राज्यबाट राहत महसुस गर्थे ।