• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
शिवहरि घिमिरे
२०८० भदौ २३ शनिबार ०८:४०:००
समाज

परम्परागत सीप सिकाउँदै सामुदायिक विद्यालय

२०८० भदौ २३ शनिबार ०८:४०:००
शिवहरि घिमिरे

 

सधैँ किताब–कपीको भारी बोकेर स्कुल हिँड्ने विद्यार्थी शुक्रबार नजिकिएसँगै व्यावहारिक ज्ञान सिक्न पाएपछि खुसी हुन थालेका छन्

 

काठमाडौं महानगरपालिका–४ लङ्टंगिनस्थित पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा ८ मा पढ्ने सरिता बुढालाई सालको पात भन्ने थाहा थियो, तर त्यसबाट दुनाटपरी बन्छ भन्ने सुनेकी पनि थिइनन् । विद्यालयका शिक्षकले उनलाई सालको पात र सिन्काबाट टपरी र दुना गाँस्न सिकाए । अहिले उनी दुनाटपरी बुन्न सिपालु भइसकेकी छिन् । ‘मैले सालको पात भनेर सुनेकी त थिएँ, तर त्यसबाट के–के बन्छ भन्ने थाहा थिएन,’ उनले सुनाइन्, ‘स्कुलमै मैले सालको पात गाँसेर दुनाटपरी गाँस्न सिकेँ, अहिले मलाई यो काम राम्ररी आउँछ ।’ त्यसो त सरितालाई विभिन्न पुराना लुगाबाट टालो सिलाउन र मोजा बनाउन पनि विद्यालयले सिकाएको छ । पढाइमा मेधावी उनी विद्यालयमै सिकेर घरमा खानेकुरा पनि राम्ररी बनाउन सक्छिन् । घरमा आमालाई पनि सघाउँछिन् ।

 

सोही विद्यालयमा कक्षा ७ मा पढ्ने सञ्जित तामाङलाई पनि अहिले सालको पात र सिन्काको सहयतामा टपरी गाँस्न आउँछ । ‘मलाई पहिले यस्तो काम आउँदैनथ्यो, घरमा नसिकेको कुरा स्कुलमा सिक्न पाइयो,’ उनले सुनाए, ‘यसबाहेक हाम्रो स्कुलमा म्युजिक र डान्सको कक्षा पनि हुन्छ ।’ 

 

काठमाडौंको बौद्धमा रहेको जनकल्याण माविमा कक्षा ७ मा अध्ययनरत रानीकुमारी ठाकुरलाई अहिले सिलाइबुनाइ सिक्न भ्याइनभ्याइ छ । उमेरले ११ वर्षीया उनी बिहानै ६ बजे नै स्कुलमा आइपुग्छिन् । स्कुलको टेलरिङ कक्षमा गएर लुगा सिलाउन मेसिनको सियोमा धागो राख्छिन् । स्कुलले उपलब्ध गराएको कपडा कैँचीले काट्छिन् र त्यसलाई सिलाएर लुगाको आकार दिन्छिन् । ‘आज मैले टोपी सिलाएँ, अन्य लुगा पनि सिलाउन सिक्दै छु,’ मंगलबार जनकल्याणको टेलरिङ कक्षमा भेटिएकी उनले सुनाइन्, ‘अब अरू लुगा पनि सिलाउन सिक्छु, मलाई यस्तो काम गर्न रहर लागेको छ ।’ रानीकुमारीसँगै टेलरिङ कक्षमा पेटीकोटको इजार सिलाउँदै थिए अन्य थुप्रै छात्रा । यहाँ धेरैजसो विद्यार्थीले दुई महिनादेखि टेलरिङको काम सिक्नलाई बिहानैदेखि विद्यालयमा धाउने गरेका छन् । दुई महिनाको अवधिमा हालसम्म अधिकांश विद्यार्थीले टोपी सिलाउन, रुमाल बनाउन, पेटीकोट सिलाउन, इजार बनाउन सक्ने भइसकेका छन् ।

 

जनकल्याण माविमा टेलरिङ सिक्दै विद्यार्थी

 

जनकल्याणमा बाबुदिन मियाँ मन्सुरीले विद्यार्थीलाई टेलरिङसम्बन्धी तालिम दिने गरेका छन् । ‘माथिल्लो कक्षाका भन्दा पनि सानै कक्षाका विद्यार्थीले टेलरिङमा रुचि देखाएका छन्,’ उनले सुनाए, ‘एक वर्षको अवधिमा करिब पाँच सयजना विद्यार्थीले यो तालिम लिएका छन्, उनीहरूले आफूलाई चाहिने कुरा सिकेका छन् ।’ उनका अनुसार टेलरिङ कक्षामा विद्यार्थीलाई सबै प्रकारका लुगा सिलाउन सिकाइन्छ । तर, विद्यार्थीको उमेर समूहका आधारमा उनीहरूलाई पहिलो चरणमा सामान्य र सजिलो प्रकारले सिलाउन सकिने लुगा सिलाउन सिकाइने गरिएको छ ।

 

जनकल्याण माविले एक वर्षअघिदेखि नै विद्यार्थीलाई सिलाइबुनाइ सिकाउन थालेको थियो । त्यसका लागि शिक्षकको समेत व्यवस्था गरिएको छ भने बिहान र बेलुकीको समयमा विद्यार्थीले सिलाइबुनाइ तालिम लिने गरेका छन् । तालिम लिनेहरू कक्षा १ देखि १० सम्मका विद्यार्थी छन् । तर, तालिम लिनेमा अधिकांश छात्र छन् । बिहान दुई घन्टा यो तालिम लिएपछि उनीहरू घर गएर खाना खाएर पुनः नियमित विद्यालय आउने गरेका छन् । यसबाहेक जनकल्याणले विद्यार्थीलाई वाद्यवादनसम्बन्धी संगीत कक्षा पनि सञ्चालन गर्ने गरेको छ । सो कक्षा पनि बिहानीको समयमा सञ्चालन हुने गरेको छ । 

 

आधुनिकता र सहरीकरणले विर्साउन लागेका परम्परागत सीप र ज्ञान सिकाउने थलो बनेको छ, राजधानीका केही सामुदायिक विद्यालय । सहरी क्षेत्रमा जन्मिएको र यहीँ हुर्किएका विद्यार्थीले किताबबाहेक व्यावहारिक ज्ञान सिक्न पाउँदैनन् । समाजका परम्परात, सीप, रहनसहन र संस्कृति केही पनि बुझ्न पाउँदैनन् । तर, त्यस्ता विद्यार्थीलाई लक्षित गर्दै सामुदायिक विद्यालयले परम्परागत संस्कृति र सीप सिकाउन थालेका छन् । काठमाडौं महानगरले रैथाने तथा परम्परागत र व्यावहारिक सिकाइका लागि भन्दै शुक्रबारलाई ‘बुक फ्री डे’ पनि बनाएको छ । यस दिन झोलामा किताब बोकेर जानुनपर्ने र विद्यार्थीलाई मनोरञ्जनमूलक, संस्कृति र सीपमूलक कक्षा विद्यालयले सञ्चालन गरिहेका छन् । पुरानो पेसा–व्यवसायबारे ज्ञान दिने, विद्यार्थीलाई नै सामेल गराएर सिकाउने, संस्कृति तथा बाजागाजा बजाउन सिकाउने, विद्यार्थीमा भएको प्रतिभा उजागर गर्नेलगायत ज्ञान सामुदायिक विद्यालयले दिन थालेका छन् ।

 

‘आधुनिकतासँगै समाजका परम्परागत कुरा नयाँ पुस्ताले भुल्दै छन्, हामीले उनीहरूलाई पुराना कुरा स्मरण गराउँदै आत्मनिर्भर बनाउने गरी शिक्षा दिइरहेका छौँ,’ जनकल्याण माविकी प्रअ कुमारी कमला राईले भनिन्, ‘जति पनि रैथाने सीप तथा संस्कृति छन् हामीले विद्यार्थीलाई सिकाउँछौँ, यसले उनीहरूलाई आत्मनिर्भर र समाजको वास्तविकता बुझ्न सघाउँछ ।’ पञ्चकन्या विद्यालयकी प्रअ विनिता रञ्जितले पनि आधुनिकतासँगै लोप हुन लागेका सीप र तथा व्यवसायका बारेमा विद्यार्थीलाई सिकाउन आवश्यक रहेकाले उनीहरूलाई किताबी ज्ञानसँगै बाहिरी ज्ञान पनि दिइँदै आएको बताइन् । ‘हामीले विद्यार्थीलाई समाजको बाटो देखाउनुपर्छ, हिजोको हाम्रो रहनसहन र संस्कृति पनि सिकाउनुपर्छ,’ उनले भनिन्, ‘यसका साथै आधुनिक शिक्षामा पनि हामीले जोड दिएका छौँ ।’

 

काठमाडौं महानगरपालिकाले शिक्षामा सीप योजनालाई अघि सार्दै हरेक शुक्रबार कक्षा १० सम्म ‘बुक फ्री डे’ बनाउनुपर्ने नियम लागू गरिसकेको छ  । ५ जेठमा यो नियम लागू भएसँगै विद्यालयले विद्यार्थीलाई व्यावहारिक र जीवनोपयोगी ज्ञानसीप सिकाउन थालेका छन् । सधैँ किताब–कपीको भारी बोकेर स्कुल हिँड्ने विद्यार्थी शुक्रबार नजिकिएसँगै खुसी हुन थालेका छन् । अरू दिन स्कुल जान कर गर्नुपर्ने बालबालिका शुक्रबार भने खुसीखुसी जाने गरेका छन् । त्यसको आकर्षण भनेको विद्यालयको सिकाइ शैली नै हो । 

 

‘घरमा सिकेका कुरालाई पाठसँग जोड्नुपर्छ’

 

शिक्षाविद् विद्यानाथ कोइराला पछिल्लो समय केही सामुदायिक विद्यालयहरूले सिकाइ सुधारमा फड्को मारेको बताउँदै उक्त कदम सकारात्मक भएको बताउँछन् । ‘देशका शिक्षा र स्वास्थ्यसम्बन्धी धेरै नियम अझै पालना भएका छैनन्, तर पछिल्लो समय केही विद्यालयले आशा जगाउने काम पनि गरेका छन्, मौलिक र रैथाने ज्ञान सिकाउने, आत्मनिर्भर बनाउने गरी पठनपाठन पनि सुरु गरेका छन्,’ उनी भन्छन्, ‘काठमाडौं महानगरले पनि यसमा राम्रो गरेको पाइन्छ, यसबाहेक अब महानगरले निजी र सरकारी विद्यालयबीचको सहकार्यको डिजाइन बनाउनुपर्छ, नमुनाका रूपमा रहेका सरकारी विद्यालय राम्रा देखिए पनि अधिकांश कमजोर छन् । अब निजी र सामुदायिक विद्यालय नमुना विद्यालय बन्नका लागि एउटा मानक चाहिन्छ ।’ उनले बुक फ्री डे वा यस्तै कुनै सिकाइसँग सम्बन्धित गतिविधिमा घरमा सिकेका कुरालाई पाठमा कसरी जोड्ने भनेर जोड्दा अझै राम्रो हुन्छ भन्ने विषयलाई ध्यान दिनुपर्ने शिक्षाविद् कोइरालाको भनाइ छ । त्यस्तै, विद्यार्थीको रुचिअनुसारको सीप क्षमता दिन आवश्यक रहेको उनको धारणा छ । 

 

काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रमा यस वर्षअघि सारेका महत्वाकांक्षी योजना ‘गरिखाने शिक्षा महानगरको इच्छा’ र ‘स्वर्णिम विद्यालय परियोजना’ अघि सारेको छ । यो कार्यक्रम कार्यान्वयनको चरणमा छ । ‘गरिखाने शिक्षा महानगरको इच्छा’लाई महानगरले गौरवको योजनामा राख्दै विद्यालयसँग व्यापक छलफल अघि बढाएको शिक्षा विभागले जनाएको छ । यो कार्यक्रमअन्तर्गत विद्यार्थीको सिकाइलाई व्यावहारिक सीप र रोजगारसँग जोड्ने महानगरको योजना छ । त्यसका लागि छलफल गर्न महानगरले शुक्रबार र शनिबार धुलिखेलमा गोष्ठीसमेत आयोजना गरेको थियो । महानगरभित्र रहेका ८९ वटै सामुदायिक विद्यालयका शिक्षकलाई सहभागी गराएर महानगरले सिकाइमूलक शिक्षामा ध्यान दिन प्रअहरूलाई निर्देशन दिएको थियो ।

 

मेयर बालेन्द्र साहले नै ‘गरिखाने शिक्षा महानगरको इच्छा’को योजना अघि सारेका थिए । यस कार्यक्रमअन्तर्गत विद्यार्थीको सीप विकास गर्ने, पुस्तकरहित शुक्रबार कार्यक्रम सञ्चालन गर्ने, विद्यालयमैत्री सीप विकास कार्यक्रम सञ्चालन गर्ने, शिक्षण सिकाइमा सुधार ल्याउने, असल अभ्यासको आदान–प्रदान गर्ने, नतिजा सुधार गर्ने, रोबोटिक कार्यक्रम सञ्चालन गर्नेलगायत पर्छन् । यसको कार्यान्वयनका लागि विद्यालयका प्रअहरूसँग छलफल गरिएको विभाग प्रमुख कोइराला बताउँछन् । उनका अनुसार महानगरकै अर्को कार्यक्रम ‘स्वर्णिम विद्यालय परियोजना’ अन्तर्गत विद्यालयमा भौतिक र मानवीय स्रोत चुस्त बनाउने, वातावरण सहज र शान्त पार्ने, विद्यालय सिँगारपटार गर्ने, बाल क्लब स्थापना गर्ने, पूर्वविद्यार्थीबीच भेटघाट गराउने, अनुगमन र मूल्यांकन गर्नेलगायत कार्यक्रम समावेश छ । 

 

बुक फ्री डे (शुक्रबार)मा टपरी र दुना गाँस्न सिक्दै पञ्चकन्या आधारभूत विद्यालयका विद्यार्थी

 

बाफलस्थित हर्टल्यान्ड एकेडेमीले बिहीबार ‘डेमोक्रेटिक डे’ मनाउने गर्छ । यस दिन स्कुलमा विद्यार्थीको रोजाइ चल्छ । सातामा पाँच दिन शिक्षकको रोजाइअनुुसारको शिक्षा र एक दिन भने विद्यार्थीको रोजाइमा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन हुने भएकाले यस दिनलाई ‘डेमोक्रेटिक डे’ भनिएको छ । यो दिन विद्यार्थीलाई ‘डेमोक्रेटिक डे’ पर्वझैँ लाग्छ । अर्थात्, उनीहरू स्वतन्त्र भएर आफूलाई इच्छा भएको कुरा सिक्छन् । कोही गीत गाउँछन् । कोही बारीमा काम गर्छन्, कोही खेल्छन् भने कोही ल्याबमा जान्छन् ।

 

त्यस्तै कम्प्युटर सिक्ने, डान्स सिक्ने, किचेनको काम सिक्नेलगायत गतिविधिमा सहभागी हुन पाउँदा विद्यार्थीहरू निकै खुसी देखिन्छन् । विद्यार्थीलाई बिहीबार व्यावहारिक सिकाइका लागि बाजा, ड्रम, मादल, बाँसुरीलगायत सामग्री राखिएको छ । त्यस्तै, डान्स सिक्नेहरूका लागि छुट्टै विभाग छ  । कृषि तथा खेतीपाती सिक्न छुट्टै बारी छ । किचेनसम्बन्धी काम सिक्न क्यान्टिन छ । विद्यार्थीलाई सम्झाइबुझाइ गर्न मनोपरामर्श विभागसमेत छ  । हरेक विभागको लिडर तोकिएको छ । बिहीबार १० देखि बेलुकी ४ बजेसम्म विद्यार्थीले एक–एक घन्टाको दरले लगभग सबै विभागमा गएर सिक्न र मनोरञ्जन लिन पाउँछन् । विद्यालयका प्रशासक भीमसिंह साउदले बिहीबारको कक्षा सञ्चालनका लागि छुट्टै स्रोत–साधनसमेत रहेको बताउँदै आठ वर्षदेखि नै यस्तो शिक्षा सुरु गरिएको जानकारी दिए । 

 

विश्वविद्यालयसम्म रैथाने ज्ञानको चर्चा 

 

स्कुल तहमा मात्रै होइन, नेपालको रैथाने सीप र प्रविधिको सस्ंथागत विकासका लागि विश्वविद्यालय तहसम्म नै यस्तै किसिमको शिक्षा सुरु गर्न लागिएको छ । सरकारले रैथाने विश्वविद्यालय सञ्चालनको तयारी पनि गरिरहेको छ । हाल मुलुकमा स्थापित विश्वविद्यालयले रैथाने सीप, कला र संस्कृतिलाई सम्बोधन गर्न नसकेको भन्दै मौलिक ज्ञान, कला, सीप, संस्कृति र सम्पदा जगेर्ना गर्न यस्तो विश्वविद्यालय सञ्चालनको तयारी गरिएको हो  । नेपालमा स्वदेशी ज्ञान, सीप, संस्कृति र समग्र सम्पदामा धनी मानिए पनि यसमा केन्द्रित प्राज्ञिक संस्था स्थापना हुन सकेका छैनन् । अहिले नेपालमा भइरहेको आधारभूत र उच्च शिक्षा आयातित ज्ञानबाट सुरु भएको पाइन्छ  ।

 

यी विश्वविद्यालयले रैथाने संस्कृति र सभ्यतालाई सम्बोधन गरेको पाइन्न  । सोहीकारण रैथाने सीप र कलामा आधारित विश्वविद्यालयको योजना अघि बढाइएको हो । नेपालमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बालबालिकालाई अंग्रेजी पढाउने उद्देश्यले औपचारिक रूपमा प्राथमिक शिक्षाको सुरुवात गरेका थिए  । नेपालमा पहिलो उच्च शैक्षिक संस्था त्रिचन्द्र कलेजमा सन् १९१९ मा कोलकाता र पटना विश्वविश्वविद्यालयका पाठ्यक्रम निर्धारण गरिएका थिए  । त्यसपछि त्रिभुवन विश्वविद्यालयको स्थापनापछि आधुनिक शिक्षा दिन थालिएको हो । बाह्य शिक्षाको क्रेज बढ्दै गइरहे पनि नेपालकै आफ्नै मौलिक कला, संस्कृति र सीपलाई शिक्षामा समेट्न सकिएको छैन ।

 

रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय अध्ययन समिति’का अध्यक्ष डा. मानबहादुर विश्वकर्माले स्कुल तहमा मात्रै नभई विश्वविद्यालय तहमा पनि रैथाने संस्कृति, सीप र व्यवसाय सिकाउन आवश्यक रहेको बताए । ‘नेपालमा छरिएर रहेका संस्कृति र मौलिकतालाई एकीकृत गर्नुपर्छ,’ विश्वकर्मा बताउँछन्, ‘यस्तो किसिमको शिक्षाले विद्यार्थीलाई आत्मनिर्भर मात्रै नबनाएर उनीहरूलाई समाज, परम्परा र संस्कृति पनि सिकाउँछ ।’