• वि.सं २०८१ जेठ ३१ बिहीबार
  • Thursday, 13 June, 2024
हरिशरण खनाल
२०८० भदौ २३ शनिबार ०९:१९:००
रिपाेर्ट

महोत्सवमार्फत  बिपी र युवालाई  जोड्न खोज्दै छौँ

२०८० भदौ २३ शनिबार ०९:१९:००
हरिशरण खनाल

 

नेपाली कांग्रेसले पहिलोपल्ट पार्टीका संस्थापक नेता बिपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर कोइरालाका साहित्य र राजनीतिका विविध पाटामा विहंगम बहस गराउने र त्यसलाई युवा पुस्तामाझ सञ्चारित गराउने उद्देश्यले यही २४, २५ र २६ भदौमा बिपी साहित्य महोत्सव आयोजना गर्दै छ । महोत्सव आयोजना गर्नुको उद्देश्य र यसको तयारीबारे मूल तयारी समितिका संयोजक तथा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेसित हरिशरण खनालले गरेको कुराकानीको सम्पादित अंश–

 

बिपी साहित्य सम्मेलन किन गर्दै हुनुहुन्छ ?
हामीले बर्सेनि बिपीलाई सम्झेर विशेष गरी बिपी स्मृति दिवस (६ साउन) र बिपी जयन्ती (२४ भदौ) मा पार्टी र पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थामार्फत देशभरि र देशबाहिरसमेत विभिन्न कार्यक्रम गरी उहाँका विचारलाई पुनर्ताजगी गर्दै आएकै थियौँ । तर, बिपीको राजनीति, साहित्य र विचारका विविध आयामलाई एकीकृत ढंगले बृहत्तर रूपमा एकैपटक छलफलमा ल्याऔँ र नयाँ पुस्तामाझ बिपीलाई नवीकरण र हस्तान्तरण पनि गराऔँ भन्ने उद्देश्यले यो साहित्य महोत्सव गर्न लागेका हौँ । यो कार्यक्रम गर्ने भनी पार्टीको केन्द्रीय समितिबाटै निर्णय गरेका थियौँ । यसपटक पार्टीका मूल नेताबारे पार्टी केन्द्रीय कार्यालयबाटै यो साहित्य महोत्सव प्रारम्भ भयो भने आगामी दिनमा अन्य तहमा विभिन्न निकायले पनि अग्रसरता लिएर यसलाई थप विस्तारित गर्नेछन् भन्ने अभिप्रायले यो महोत्सव आयोजना गरिएको हो । यसबाट बिपीको साहित्य र विचारप्रति युवा आकर्षण बढ्नेछ र पठन संस्कृतिको समेत विकास हुनेछ भन्ने हाम्रो बुझाइ रहेको हुनाले एउटा बृहत् उद्देश्य र ठूलो महत्वाकांक्षाका साथ यो महोत्सव आयोजना गरेका हौँ । 

 

साहित्य, कला र संगीतजस्ता विषयलाई राजनीतिदेखि अलग राख्नुपर्छ भन्ने आवाज पनि उठ्ने गरेको छ । यस्तो अवस्थामा पार्टीले यसरी कार्यक्रम गर्दा बिपीचाहिँ कांग्रेसका मात्र नेता या साहित्यकार हुन् भन्ने छाप त लाग्दैन नि ?
यसबारे हामी निकै सचेत छौँ । बिपी साहित्य महोत्सवको आयोजना कांग्रेसले गरे पनि यसमा साहित्य र लेखनको क्षेत्रमा काम गर्ने नेपाली लेखक संघलगायत संघसंस्थाहरूको प्रत्यक्ष सहयोग लिएका छौँ । प्यानलिस्ट, वक्ता र सहजकर्ता तय गर्ने क्रममा हामीले ‘ए बी सी डी’ सूत्र निर्माण गरेर नयाँ प्रयोग गरेका छौँ । ए अर्थात् अन्य, जो कांग्रेस पनि होइन र कम्युनिस्ट पनि होइन । बी अर्थात् वामपन्थी । सी अर्थात् कांग्रेस र डी अर्थात् डेमोक्रेट, जसले आफूलाई डेमोक्रेट भने पनि कांग्रेस भन्न चाहँदैन । यसरी हामीले यही सूत्रअनुसार प्यानलिस्ट, वक्ता र सहजकर्ता चयन गरेका छौँ । हामीले अन्य राजनीतिक दलहरूलाई पनि निमन्त्रणा दिएका छौँ । काठमाडौं उपत्यकाभित्रका स्थानीय तहमार्फत तत्तत् स्थानका विभिन्न व्यक्तित्वलाई पनि श्रोताका रूपमा महोत्सवमा सभागिताका लागि आमन्त्रण गरेका छौँ । स्थान कांग्रेसको पार्टी कार्यालय नै हो । आयोजक कांग्रेस नै हो । तर, बिपी कोइराला सबैका साझा हुन् । उनको व्यक्तित्व एउटा पार्टी, वर्ग र समुदायभित्र मात्र सीमित छैन । उनको व्यक्तित्वको प्रभाव राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा समेत फैलिएको छ । यसलाई ध्यानमा राखेर हामीले महोत्सव आयोजना गरिरहेका छौँ । महोत्सवमा धेरै विदेशी पाहुनालाई निम्त्याउन नसके पनि हामीले जेएनयूका विशिष्ट प्राध्यापक आनन्द कुमारलाई निम्त्याएका छौँ । उहाँले महोत्सवमा ‘माक्र्स, गान्धी एन्ड बिपी, क्वेस्ट फर डेमोक्रेटिक सोसलिज्म टुडे’ शीर्षकमा आफ्नो सम्भाषण प्रस्तुत गर्दै हुनुहुन्छ । हामीले बिपी कोइरालालाई कांग्रेसभित्र मात्र सीमित गर्न खोजेका छैनौँ । 

 

पार्टीले नै बिपीको लाइन छाड्दै गएको र बिपीलाई बिर्सिंदै गएकोजस्ता प्रश्न उठिरहेको समयमा यो महोत्सवमार्फत नयाँ पुस्तालाई बिपीसित कसरी जोड्न खोज्दै हुनुहुन्छ ?
कार्यान्वयनका दृष्टिले कांग्रेस र उसले नेतृत्व गरेको सरकार बिपीको बाटामै छन्, लोकतान्त्रिक समाजवादबाट दायाँबायाँ भएका छैनन्, हामीले कहीँकतै कमी–कमजोरी गरेका छैनौँ, भन्दिनँ म । बिपी विचार कार्यान्वयनका सन्दर्भमा हामीबाट थुप्रै कमी–कमजोरी भएका छन् । हामीले भनेजस्तो बिपी विचारलाई व्यवहारमा उतार्न र कार्यान्वयन गर्न कुशलता देखाइरहेका छैनौँ । तर, हामीले बनाएको संविधान समावेशिता, लोककल्याणकारी राज्य स्थापना, सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रबन्ध, बहुलवाद, शिक्षा, स्वास्थ्यजस्ता मौलिक हक र समाजवादउन्मुख शासन प्रणालीप्रति प्रतिबद्ध छ । यसबाट पनि प्रस्ट हुन्छ, हामीले बिपी कोइरालाको लोकतान्त्रिक समाजवादको बाटो बिर्सेका छैनौँ । यद्यपि, हामीले कार्यान्वयनमा भने थप तदारुकता, इमानदारी, निष्ठा र योग्यता देखाउनुपर्नेछ । अन्तर्राष्ट्रिय परिवेशलाई हेर्दा बिपी कोइरालालगायत तत्कालीन नेताहरूले परिकल्पना गरेको डेमोक्रेटिक सोसलिज्म एक सफल राजनीतिक प्रणाली अझ अर्थ राजनीतिक प्रणालीका रूपमा स्थापित भएको छ । अहिले जति पनि देशहरू मानव विकास सूचकांक (एचडिआई) मा अगाडि छन्, तिनले डेमोक्रेटिक सोसलिज्मलाई नै लागू गरेका छन् । त्यसैले पनि बिपी कोइरालाले परिकल्पना गरेको डेमोक्रेटिक सोसलिज्म आज झनै सान्दर्भिक भएर गएको छ । यसलाई छाड्ने होइन, निष्ठापूर्वक कार्यान्वयनको दिशामा जानुपर्छ । यसैबाट आमयुवामा समेत आशाको सञ्चार गर्न सकिन्छ । साहित्य महोत्सवको पूर्वतयारीका क्रममा हामी विभिन्न क्याम्पससम्म पुगेका छौँ । हामीले त्यहाँका स्ववियूमार्फत विद्यार्थीलाई यस महोत्सवसित जोड्ने प्रयत्न गरेका छौँ । हामीले तय गरेका १२ वटा सेसन र तीनवटा सम्भाषणमा युवा विद्यार्थीको रुचि, चासो र अध्ययनको विषयअनुरूप महोत्सवमा दर्शक, श्रोताका रूपमा सहभागी हुने व्यवस्था मिलाएका छौँ । त्यसैले, यस महोत्सवका विभिन्न सेसनमा बसेर बढीभन्दा बढी लाभान्वित हुने युवापुस्ताको उपस्थिति रहने हाम्रो अपेक्षा छ । 

 

महोत्सवमा कस्ता–कस्ता सेसन समावेश गर्नुभएको छ ? वक्ता र सहजकर्ता कसरी चयन गर्नुभएको छ ?
बिपी कोइरालाको व्यक्तित्व जसरी बहुआयामिक छ, यो महोत्सवमा त्यसैगरी बहुआमायिक क्रियाकलाप आयोजना गरिनेछ । बिहान ६ बजेदेखि पार्टी कार्यालयसँगै रहेको बिपी स्मृति पार्कमा खेलकुद र रक्तदान कार्यक्रम आयोजना हुनेछ । यसको संयोजन लोकतान्त्रिक खेलकुद संघले गर्दै छ । त्यसपछि हामीले वृत्तचित्र (हाइज्याकिङ फर डेमोक्रेसी) तथा बिपी र लोकतन्त्रसित जोडिएका दुइटा चलचित्र (वीर गणेशमान र तीन घुम्ती) प्रदर्शन गर्नेछौँ । कार्यक्रमको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्नुहुनेछ । पहिलो दिन प्राध्यापक अभि सुवेदीले ‘बिपीको साहित्य सिर्जना र जीवन दर्शन’ शीर्षकमा आफ्नो सम्भाषण प्रस्तुत गर्नुहुनेछ । दोस्रो दिन प्राध्यापक आनन्द कुमारको ‘माक्र्स, गान्धी एन्ड बिपी, क्वेस्ट फर डेमोक्रेटिक सोसलिज्म टुडे’ शीर्षकमा सम्भाषण प्रस्तुत हुनेछ । तेस्रो तथा अन्तिम दिन प्राध्यापक केदारभक्त माथेमाले बिपीको समाजमावादमा शिक्षा कस्तो हुन्थ्यो होला ? शीर्षकमा आफ्नो सम्भाषण प्रस्तुत गर्नुहुनेछ । 

 

पहिलो दिनमा ‘बिपीका दृष्टिमा बिपी’, ‘बिपीका आख्यानमा मनोविश्लेषण’, ‘साहित्यमा पर्यावरण’, ‘नेपालको मातृभाषा साहित्य’लगायत शीर्षकमा फरक–फरक सेसन सञ्चालन हुनेछन् । पहिलो दिनको अन्त्यमा २० जना कविहरूको कविता साँझ हुनेछ । दोस्रो दिन ‘बिपीले नपाएका १५ वर्ष’, ‘बिपीका आख्यानमा मधेस’, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी’, ‘युवा स्रष्टामा बिपी पठन’ शीर्षकमा सेसन सञ्चालन हुनेछ । अन्तिममा ३० जना गजलकारको गजल साँझ प्रस्तुत हुनेछ । तेस्रो तथा अन्तिम दिन ‘समावेशिता, सामाजिक रूपान्तरण र बिपी’, ‘समय र सवाल्र्टन’, ‘बिपीका आख्यानमा नारी’, ‘परिवारले बुझेका बिपी’ शीर्षकमा विभिन्न सेसन आयोजना हुनेछन् र अन्त्यमा कुटुम्ब ब्यान्डको सांगीतिक साँझ प्रस्तुत हुनेछ । यी सम्पूर्ण सेसनमा डा. बाबुराम भट्टराई, प्रदीप ज्ञवाली, कृष्ण खनाल, भुवन ढुंगाना, सिके लाल, तीर्थबहादुर श्रेष्ठ, साधना प्रतीक्षा, संगीता रायमाझी, चन्द्र किशोर, हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले, सनत रेग्मी, नयनराज पाण्डे, मञ्चला झा, प्रा. सञ्चिता बर्मा, बुद्धिसागर, सरस्वती प्रतीक्षा, आहूति, मोहना अन्सारी, चित्रलेखा यादव, तारालाल श्रेष्ठ, शेखर कोइराला, सुजाता कोइराला, शशांक कोइरालालगायत वक्ता रहनुहुनेछ । पार्टीका दुवै महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा तथा पत्रकार सुधीर शर्मा, जगत् नेपाललगायत सहजकर्ता रहनुहुनेछ ।