• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
नारायण शिवाकोटी
२०८० भदौ २३ शनिबार ०९:३८:००
अनुवाद

‘सफाया’ अभियान चलाइरहेको युक्रेन

२०८० भदौ २३ शनिबार ०९:३८:००
नारायण शिवाकोटी

 

युक्रेनका एजेन्टहरू घातक बदलामा निपुण छन् । चिन्ता के भने स्पष्ट रणनीतिको अभाव छ ।

 

यो अप्रेसन एक महिनादेखि चलिरहेको थियो । खार्किभ क्षेत्रको भेलिकी बुर्लुकका मेयर यभेन युनाकोभलाई रुसीहरूसँग मिलेको रुसी सुराकीको रूपमा पहिचान गरियो । विशेष बलका कमान्डर ‘कउकेसस’ र स्थानीय अधिकारीको एक समूहलाई उनको सफायाको जिम्मेवारी सुम्पिएको थियो । समूहका मानिसले थुप्रै दिनसम्म आफ्नो लक्ष्य किनमेल गर्न कहिले निस्कन्छ, कहिले–कहिले र कहाँ–कहाँ जान्छ, उसको सुरक्षाको बन्दोबस्त कस्तो छ  इत्यादि कुराको एकदमै सतर्क निगरानी गरिरहेका थिए । युनाकोभमाथि टाढैबाट बम विस्फोट गराएलगतै उनीहरू रुस नियन्त्रित क्षेत्रभित्रका सुरक्षित ठेगानामा बेपत्ता भए । यो समूह त्यो सहर रुसी नियन्त्रणबाट मुक्त भएको केही हप्तापछि मात्रै युक्रेन नियन्त्रित इलाकामा फर्किन्छ । युनाकोभको शव अहिलेसम्म फेला परेको छैन ।

 

१८ महिनाको युद्धका दौरान ‘सफाया अप्रेसन’अन्तर्गत युनाकोभजस्ता दर्जनौँ मानिसलाई रुस नियन्त्रित युक्रेन र रुसभित्रै समेत निसाना बनाइएको छ । उनीहरूलाई गोली हानिएको छ । बमले उडाइएको छ, झुन्ड्याइएको छ र केही अवसरमा विष मिलाइएको ब्रान्डी खुवाएर मारिएको छ । तर, युक्रेनले यी हत्यामा आफ्नो संलग्नताबारे चुप्पी साँधेर बसेको छ । केहीले भने यसलाई युक्रेनी सुरक्षा बलहरू बढ्दो रूपले प्रतिस्पर्धी बन्दै गएको संकेतका रूपमा लिन्छन् । युक्रेनी एजेन्सीहरू स्वयंले पनि यसका संकेतहरू दिएका छन् । युक्रेनको सैन्य गुप्तचर संस्था ‘हुर’का अधिकारी एन्ड्री चेर्नियाक भन्छन्, ‘कुनै पनि व्यक्ति, जसले युक्रेनलाई धोका दिन्छ, युक्रेनीमाथि गोली दाग्छ वा युक्रेनीमाथि क्षेप्यास्त्र प्रहार गर्छ, त्यो व्यक्तिले बुझ्नुपर्छ कि उनीहरूमाथि निगरानी भइरहेको छ र एक दिन उनीहरूलाई न्यायको कठघरामा खडा गरिनेछ ।’ जुलाईको एक अन्तर्वार्तामा उनका हाकिम जनरल किरिलो बुडानोभले अझ अगाडि बढेर भनेका थिए, ‘यदि तपाईं मोसादको संस्करण खडा गर्ने कुराबारे सोध्दै हुनुहुन्छ भने... हामीलाई त्यसको आवश्यकता छैन । किनकि यो पहिले नै खडा छ ।’

 

इजरायली जासुसी एजेन्सी ‘मोसाद’को उल्लेखले युक्रेनीहरूलाई उत्साहित पार्छ । उनीहरू न्यायका लागि आतुर छन् । वास्तवमा, यस राजनीतिक हत्या शृंखलाको उत्पत्ति उसको आफ्नै छिमेक अझ स्वदेशी भूमिमा भएको हो । मोसादले आफ्नो अधिकतर कला सोभियत–युगको गुप्त पुलिस र त्यसका संस्थापक पावेल सुडोप्लातोभबाट सिकेको थियो, जो अहिलेको रुस नियन्त्रित दक्षिणी युक्रेनको मेलिटोपोलमा जन्मेका थिए । इतिहासको विचित्रता कस्तो भने सन् १९३० को दशक सुडोप्लातोभले युक्रेनी राष्ट्रवादी समूहमा घुसपैठ गरेर बिताएका थिए । तिनका एक नेतालाई आफैंले चकलेटको बक्समा बम राखेर उडाएका थिए । (सन् १९४० मा लियोन ट्रोट्स्कीको हत्याको योजनाका रचनाकार पनि उनै थिए ।)

 

समकालीन युक्रेनमा सफायाको यो नयाँ शृंखला सन् २०१५ देखि सुरु भएको हो । रुसले क्रिमिया र पूर्वी डोनबास क्षेत्र कब्जामा लिएपछि युक्रेनको घरेलु सुरक्षा सेवा (एसबियू)ले सन् २०१५ मा एउटा नयाँ निकाय गठन गर्‍यो । रुसी आक्रमणको जवाफमा पाँचौँ प्रतिगुप्तचरी निर्देशनालयले एउटा ‘अन्तरध्वंस युनिट’का रूपमा पनि काम गर्न थाल्यो । पछि उसले ‘सफाया (वेट वर्क)’मा मात्र ध्यान केन्द्रित गर्न थाल्यो ।

 

त्यस बखत एसबियूको नेतृत्व गरेका भ्यालेन्टिन नालिभायचेन्कोका अनुसार युक्रेनका तत्कालीन नेताले जासुस वा देशघातीलाई कैद गर्ने नीति पर्याप्त नभएको निर्णय गरेपछि मात्रै यो एकाइ सफायामा लागेको थियो । उनले भने, ‘कारागारहरू भरिभराउ थिए, तर कमै मात्र हच्किरहेका थिए । त्यसैले हामी अनिच्छापूर्वक आतंकवादीहरूलाई समाप्त नै पार्नुपर्छ भन्ने निष्कर्षमा पुगेका हौँ ।’ निर्देशनालयका एक पूर्वअधिकारी पनि यही लाइनमा वर्णन गर्छन्, ‘युद्धलाई हामीले उनीहरूकोमा लैजान आवश्यक थियो ।’ सन् ०१५ र ०१६ मा यो निर्देशनालय डोनबासका रुस समर्थित महत्वपूर्ण कमान्डरहरूको हत्यासँग जोडियो । मिखाइल तोल्स्टिाख उर्फ ‘गिभी’ रकेट आक्रमणमा मारिए । आर्सेन पावलोव उर्फ ‘मोटोरोला’लाई लिफ्टमा बमले उडाइयो । अलेक्जेन्डर जाखरचेन्कोलाई एउटा रेस्टुरेन्टमा उडाइयो ।

 

गुप्तचर निकायका जानकारहरू रुसविरुद्धको प्रतिकारबाहीमा एसबियूको पाँचौँ निर्देशनालयले केन्द्रीय भूमिका खेलिरहेको बताउँछन् । एसबियूको आकार र बजेट ‘हुर’को भन्दा पाँच गुणा ठूलो छ । यही कारण यो अत्यन्त कठिन काम फत्ते गर्न सक्षम भएको छ । उदाहरणका लागि, सन् ०२२ को अक्टोबरमा रुसलाई क्रिमियासँग जोड्ने रणनीतिक महत्वको ‘खेर्च’ पुलमाथिको बमबारीलाई लिन सकिन्छ । तर, अरूचाहिँ भूमिगत सञ्जाल र युद्धमा सघन उपस्थितिका कारण उसको भूमिकालाई जोड दिन्छन् । ‘हामीमध्ये प्रायः ह्वाइट–कलर (पेसाकर्मी) युवा हौँ,’ एसबियूका एक खबरी भन्छन् । रुस नियन्त्रित युक्रेनमा अर्काे बढ्दो रूपले महत्वपूर्ण खेलाडी भएको छ, स्पेसल अप्रेसन्स फोर्स (एसएसओ) । यो अपेक्षाकृत नयाँ समूह हो, जसले युक्रेन पक्षधर ‘रुख ओपोरु (प्रतिरोध आन्दोलन)’को समन्वय गरिरहेको छ । खार्किभमा गरिएको अप्रेसन एसएसओले नै गरेको थियो । एसएसओका अधिकारी डेनिस यारोस्लाब्स्कीका अनुसार यो सेवाले अब रुसभित्रै ‘अप्रेसन’हरू फत्ते गर्न थप शक्ति लगाइरहेको छ । 

 

युक्रेनका राष्ट्रपतिले अन्य निर्णयका अधिकार प्रत्यायोजित गरेका भए पनि यस्ता विवादास्पद कार्यलाई भने उनैले अधिकृत गर्ने गरेको बताइन्छ । यसबारे जानकारी राख्ने एक उच्चस्तरीय सरकारी स्रोतले विस्तृत विवरण दिन इन्कार गर्‍यो, ‘यस्ता अप्रेसनबारे टिप्पणी गर्नु वा धेरै कुरा गर्नु उचित हुँदैन ।’ तर, उनी भ्लोदोमिर जेलेन्स्कीले गैरसैन्य नागरिकलाई क्षतिबाट बचाउन स्पष्ट आदेश जारी गरेको बताउँछन्, ‘राष्ट्रपतिले यो निर्देशन औपचारिक रूपमा नै दिनुभएको छ । केही अवसरमा चिच्याइ–चिच्याई पनि सुनाउनुभएको छ ।’ उनी युक्रेनले सावधानीपूर्वक आफ्नो लक्ष्य छनोट गर्नुपथ्र्याे, तर यसो गरिरहेको छैन भन्छन् । 

 

न्युयोर्क टाइम्सले गत अक्टोबरमा रुसी राष्ट्रवादी चिन्तक अलेक्जेन्डर दुगिनकी छोरी दारिया दुगिनाको हत्या भएको कार बम विस्फोटनका लागि अमेरिकी सरकारले युक्रेनलाई दोषी ठहर्‍याएको कुरा छापेपछि युक्रेनको नेतृत्व विशेष निगरानीमा आयो । यसले युक्रेनी गुप्तचरी निकायभित्र पहिलेदेखि नै जीवन्त आन्तरिक बहसलाई तीव्र बनायो । केही रिपोर्टका अनुसार बुबा चढ्नुपर्ने कारमा उनी चढेकी थिइन् । तर, मध्यमस्तरका दुष्प्रचारकलाई लक्षित गरेर थालिएको यस लगत्तैका अप्रेसनमा एउटा समानता देखिन्छ । 

 

एसबियूको प्रतिजासुसीको एक स्रोत यसो भन्छ, ‘यी व्यक्तिको सफायाले फाइदा हुँदैन । यसले मलाई असहज बनाउँछ ।’ एसबियूको पाँचौँ निर्देशनालयका यी पूर्वअधिकारीका अनुसार यी अप्रेसनहरू राष्ट्रपतिलाई खुसी पार्न डिजाइन गरिएका थिए, न कि युक्रेनको जित नजिक्याउन । उनी भन्छन्, ‘जोकर, लोलुप र टपरटुइयाँहरू रुसी सरकारको वरिपरि सधैँ हुन्छन् । एउटालाई मार्नुस् उसको ठाउँमा अर्काे देखा परिहाल्छ ।’

 

यी पूर्वजासुस युक्रेनको सफाया अभियान तर्कभन्दा पनि आवेगबाट प्रेरित भएकोमा आफू चिन्तित रहेको बताउँछन् । उनका अनुसार युद्ध अपराधको लागत र साधारण युक्रेनीहरूको आत्मबल बढाउन केही हत्याको मनोवैज्ञानिक भूमिका उपयोगी रहेको छ । सन् ०२२ को जुलाईमा भिन्निट्सियामा ३८ युक्रेनी नागरिकको ज्यान जाने गरी क्षेप्यास्त्र प्रहार गरेको विश्वास गरिएका पूर्वपनडुब्बी कमान्डर स्टानिस्लाभ रेजित्स्कीको हकमा यही लागू भयो । त्यस घटनाको एक वर्षपछि रुसको क्रास्नोदारको एक पार्कमा व्यायाम गर्दै गरेको समयमा रेजित्स्कीलाई गोली हानी हत्या गरिएको थियो । तर, अन्य अप्रेसनमा भने रणनीतिको अभाव देखिन्छ । ‘तिनले आफ्ना स्रोत, विधि र रुसमा कुन हदमा युक्रेनी घुसपैठ छ भन्ने कुराको उजागर गर्ने जोखिम मोलेका छन् । हाम्रो सुरक्षा सेवाहरूले गर्न सकिन्छ भनेर जुनसुकै काम गर्नु हुँदैन,’ उनी तर्क गर्छन् । 

 

युक्रेनको सैन्य गुप्तचरीका प्रवक्ता एन्द्रीय युसोभ युक्रेन यो ‘अन्धो आतंक’बाट टाढै रहेको दाबी गर्छन् । उनी भन्छन्, ‘हाम्रो उद्देश्य शत्रुलाई तर्साउनु होइन, उनीहरूलाई युक्रेनी भूमिबाटै लखेट्नु हो । तर, युक्रेनका जासुसले रुसी मनोविज्ञान र कमजोरीको पहिचान गरेर जहाँ–जहाँ सकिन्छ, फाइदा लिने कार्य जारी राख्नुपर्छ ।’ 

 

निःसन्देह, यसविपरीत पनि यही सत्य हो । रुसी एजेन्टहरूद्वारा युक्रेनी सुरक्षा सेवामा घुसपैठ एउटा ठूलो मुद्दा बनेको छ । जानकारका अनुसार, यो नै युक्रेनी मोसाद खडा गर्ने प्रयासका निम्ति सबैभन्दा ठूलो र एक मात्र अवरोध हो । एसबियूको आन्तरिक सुरक्षा विभागका पूर्वप्रमुख रुसी घुसपैठियाको शंकाबीच युक्रेनबाट भागेका छन् । उनीमाथि राजद्रोहको आरोपमा अनुसन्धान चलिरहेको छ । विश्वासको अभाव यो सेवाको एउटा मुद्दा बनेको छ । यहीकारण कमभन्दा कम संवेदनशील अप्रेसन पनि स–साना समूहबाट फत्ते गर्नु परिरहेको छ । ‘सधैँ मानिसहरू नै हाम्रो सबैभन्दा कमजोर कडी हुन्,’ एसबियूका यी जासुस भन्छन् । 

 

(द इकोनोमिस्टबाट नारायण शिवाकोटीको अनुवाद)