• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
निर्मल अर्याल
२०८० भदौ २३ शनिबार ०९:५५:००
साहित्य

प्रेम र विछोडका अनुपम गाथा

२०८० भदौ २३ शनिबार ०९:५५:००
निर्मल अर्याल

 

केही कथामार्फत घुमाउरो शैलीमा तामाङ समुदायमाथि राज्यबाट वर्षौँदेखि दमन भइरहेको व्यथा कथाकारले उजागर गरेका छन् । प्रत्येक कथाको अन्त्यमा तामाङ भाषामा प्रयोग हुने शब्दहरूको सरल रूपमा व्याख्या गरिएकाले सबै भाषाभाषीका पाठकका लागि कृति पठनीय बन्न पुगेको छ । 

 

हतारको साहित्य अर्थात् पत्रकारितामा स्थापित भइसकेका भक्त स्याङ्तानको अन्ततः वास्तविक साहित्यमा पनि जबर्जस्त प्रवेश भएको छ । हालै सार्वजनिक पहिलो कृति ‘डम्फुको आत्मलाप’मा स्याङ्तानले प्राञ्जल शैलीमा आफ्नै परिवेशका कथाहरू प्रस्तुत गरी गतिलो कथाकारको छनक दिएका छन् । तामाङ समुदायको मौलिक परम्परा तथा संस्कृति वर्णित यस कृतिका कथाले प्रेम र विछोडका अनुपम गाथा चित्रण गरेका छन् । केही कथामार्फत घुमाउरो शैलीमा आफ्नो समुदाय (तामाङ)माथि राज्यबाट वर्षौँअघिदेखि दमन भइरहेको व्यथा कथाकारले उजागर गरेका छन् । प्रत्येक कथाको अन्त्यमा तामाङ भाषामा प्रयोग हुने शब्दहरूको सरल रूपमा व्याख्या गरिएकाले सबै भाषाभाषिका पाठकका लागि कृति पठनीय बन्न पुगेको छ । 

 

सबै कथामा सरल भाषाको प्रयोग गरिएको छ । शुद्धाशुद्धीमा विशेष ध्यान दिइएको छ । मानवीय संवेदनाले भरिएका वियोगान्त कथाका केही हरफहरूले पाठकलाई रुवाउनेसम्मको ल्याकत राखेको छ । त्यसैले होला साहित्यकार खगेन्द्र संग्रौलाले कृतिको अन्त्यमा लेखेका छन्, ‘वियोगान्तको विषादले पाठकको मानसमा पैदा गर्ने मार्मिक अनुभूतिमा यी कथाहरू स्मरणीय रहनेछन्’ । कथाकार स्याङ्तानले कथाको रहस्योद्घाटनका लागि प्रायः सबैजसो कथामा चिठीको प्रयोग गरेका छन् जुन किञ्चित अस्वाभाविक लाग्दैन । ‘फ्ल्यास ब्याक’को प्रस्तुतिले कथाहरूलाई थप रोचक बनाएका छन् । एकैपटकको पढाइमा कथाको सबै सिलसिलाबद्ध कहानी याद नहुन पनि सक्छ । त्यसैले पाठक एउटै कथा पटकपटक पढ्न बाध्य हुन सक्छन् । पाठकलाई यसरी पटकपटक कथा सम्झन बाध्य पार्नु नै कथाकार स्याङ्तानको सफलता हो । 

 

पहिलो कथा ‘लुङदर’मा दावा र डोल्मुको वियोगान्त प्रेमकथालाई सजीव चित्रण गरिएको छ । दोस्रो कथा ‘छ्योर्तेन’का मुख्य पात्र हुन् बुबा रिचेन दोर्जे र छोरा साङ्गे । साङ्गेको सपना साकार पार्न श्रीमती  (चिरिमाया)को निधनपछि उनको स्मृतिमा बनाएको ‘छ्योर्तेन’ रहेको जमिनसमेत रिचेनले बेच्छन् । एउटा छोराका लागि बुबाले कतिसम्म त्याग गर्न सक्छ भन्ने तथ्यको ज्वलन्त उदाहरण हुन् रिचेन दोर्जे । तेस्रो कथा ‘न्होरला’ अर्थात् सम्पन्नताकी देवी । यस कथामा सम्बन्धविच्छेद गर्ने जोडी सोनिया र रामबहादुरको पुनर्मिलनका लागि छोरी न्होरलाले गरेको प्रयासबारे वर्णन गरिएको छ । 

 

चौथो कथा छेदिङमो‘ (आयुकी देवी) मा काभ्रेमा रहेको बौद्ध धर्मावलम्बीहरूको प्रमुख गन्तव्य नमोबुद्धको विविध पाटोबारे व्याख्या गरिएको छ । पाँचौँ कथा ‘जलजला’ अमर र जलजलाको अव्यक्त प्रेमगाथा हो । अमर डिभी चिट्ठा परेर अमेरिका उडेलगत्तै चिठीमार्फत जलजलाको प्रेमबारे जानकार हुन्छन् र तड्पन थाल्छन् । जलजलासँगको प्रत्येक भेटको सम्झनाले उनलाई स्तब्ध बनाउँछ । वैभवशाली अमेरिकामा पनि उनी रमाउन सक्दैनन् र जलजलाको खोजीमा स्वदेश फर्कन्छन् । छैटौँ कथा ‘म्लाङ्गैको आपा’का मुख्य पात्र सुर्जेमान र उनकै छोरा म्लाङ्गै हुन् । चरम गरिबीमा जीवन निर्वाह गर्ने मजदुर परिवारको कहानी यहाँ वर्णित छ । कथामा सुर्जेमान छोराका लागि बुबाले गर्ने त्याग–तपस्याको अनुपम उदाहरण बनेका छन् । राजधानीमा संघर्षपछि गरिबले देख्ने सपनाको अंश पनि यहाँ छ । आन्दोलनको समयमा निहत्थामाथि हुने दमनको सिकार बुबा सुर्जेमान हुँदा छोरा म्लाङ्गैमाथि पर्ने बज्रपात नै कथाको मुख्य चुरो हो । 

 

‘पेम्बाको कथा’ शीर्षकको सातौँ कथाका मुख्य पात्र हुन्– बम्जन थेवा, उनका छोरा पेम्बा र पेम्बाको प्रिय मित्र सोनाम । दैनिक जीवन गुजारा गर्न तामाङ समुदायले गर्नुपरेको मिहिनेत पढेर जोकोहीको आँखा रसाउँछ । बाल मनोविज्ञान पनि हाबी भएको यस कथामा पेम्बालाई विद्यालयमा ‘मजाकको पात्र’ बनाइँदा त्यसले निम्त्याएको परिणाम, अन्त्यमा शिक्षकमा हुने आत्मग्लानिसँगै पेम्बा र सोनामको असल मित्रता बयान गरिएको छ । 

 

आठौँ कथा ‘दलुचा’ केही भिन्न परिवेशको छ । यहाँ विदेशीका सन्तानको पर्खाइमा रहेका राजधानीमा बस्ने वृद्ध नेवारदम्पतीको व्यथा उल्लेख गरिएको छ । न्हुच्छेमान र मतिना अमेरिकामा रहेका छोरा मनीष र अस्ट्रेलियामा रहेकी छोरी मनीषालाई कुरिरहन्छन् । छोराछोरीले नै वर्षौँपछि मातातीर्थ औँसीको दिन स्वदेश फर्कने आश्वासन त दिन्छन्, तर त्यो आश्वासनमै सीमित रहन्छ । भौतिक उपस्थितिको बदलामा छोराछोरीले मातातीर्थ औँसीको दिन केक पठाएपछि न्हुच्छेमान र मतिनाको घरमा कहिल्यै पनि दलुचा बल्दैन । यस अर्थमा वृद्ध बुबाआमाको मनोविज्ञानमाथि कुठाराघात गर्ने सन्ततिको कथा हो दलुचा । 

 

कृतिकै नामाकरण गरिएको नवौँ कथा ‘डम्फुको आत्मालाप’मा डम्फु पात्रलाई केन्द्रमा राखिएको छ । यहाँ साम्तेन म्हेम्हे र छ्योइसाङ मामको प्रेमको प्रतीकको रूपमा डम्फुलाई वर्णन गरिएको छ । कथामा च्याङ्बा र डेभिड पनि छन् । उनीहरू तामाङ समुदायका नयाँ पुस्ताका प्रतिनिधि पात्र हुन् । ‘डम्फु’ पात्र निर्जीव भए पनि लेखकले सजीव बनाइदिएका छन् । बेचिएपछि सम्तेन म्हेम्हेलाई सम्झिँदै डम्फुले गरेको स्मरणले तामाङ समुदायको संस्कृति प्रतिबिम्बित गरेको छ । तामाङहरूको जीवनमा डम्फुको विशेष महŒव छ । उनीहरू जन्मदेखि मृत्युसम्मै डम्फुको साथमा हुन्छन् । यति विशेष डम्फुको भने आफ्नै विरक्त लाग्दो कहानी छ । त्यही कहानीलाई कथाकारले ‘डम्फुको आत्मलाप’मार्फत व्यक्त गरेका हुन् । कथाकारकै शब्दमा यहाँ प्रतीकात्मक रूपमा डम्फु तामाङ समुदाय आफैँ हो, जसलाई सबैले प्रयोग मात्र गर्दै आएका छन्, उपादेयता पनि बुझेकै छैनन् । 

 

दशौँ कथा ‘याम्बुमा लाक्पाको संघर्ष’को मुख्य पात्र लाक्पा र पाराङ हुन् । समय र परिवेशले एउटा सामान्य व्यक्तिलाई कसरी गलत कित्तामा उभ्याइदिन्छ भन्ने कहानी यहाँ छ ।अन्तिम तथा एघारौँ कथा ‘बुट्टे गलबन्दी’मा मुख्य पात्र कारसाङ र पाल्मोको प्रेमकथा चित्रित गरिएको छ । पाल्मोले कारसाङका लागि बुट्टे गलबन्दी बुनेकी हुन्छिन् । तर, बुट्टे गलबन्दी कारसाङलाई उपहार दिने पाल्मोको सपना अधुरै रहन्छ । त्यसैले कारसाङलाई सम्बोधन गरिएको चिठीमा पाल्मो लेख्छिन्, ‘गोठालो जाँदा तिमीले मेरो चुल्ठोमा सिउरिदिएको उही गुराँसको रातो रङ सापटी लिएर गलबन्दी बुनिदिएको छु । जाडो हुँदा लगाउन नबिर्स । यो अधुरो गलबन्दीजस्तै यो जुनीमा हाम्रो माया पनि अधुरो नै रह्यो ।’ (पृष्ठ २१६)निचोडमा ‘डम्फु’ बजाउँदै नेपाली साहित्यमा प्रवेश गरेका कथाकार स्याङ्तानको साहित्यिक भविष्य उज्ज्वल छ । उनीबाट नेपाली साहित्यले अझ धेरै अपेक्षा गर्नु स्वाभाविक नै हो ।