• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
प्रकाश आङ्देम्बे
२०८० भदौ २३ शनिबार १०:१२:००
यात्रा

नर्वेको  हिमालमा शेर्पासिँढी

२०८० भदौ २३ शनिबार १०:१२:००
प्रकाश आङ्देम्बे

 

नर्वेमा सन् २००५ देखि वर्षा ऋतुको समयमा नेपालबाट सिजनल कामदारका रूपमा शेर्पाहरू आउन थालेका रहेछन्, भनौँ शेर्पाहरूको अगुवाइमा कामदार आउन सुरु गरेका रहेछन् । उनीहरूसँगै मिसिएर अन्य जातिका मानिस पनि आउँछन्, तर नर्वेजियनले चाहिँ सगोलमा शेर्पा भन्दा रहेछन् ।

 

अगस्टको चौथो साता । दक्षिणी क्षितिजमा आँखा मिच्दै ब्युँझियो कलिलो घाम । घामको लाली उत्तरी आकाशतिर बसाइँ सर्‍यो क्रमशः । घाम पूर्वबाट उदाउँछ भनेर यो उमेरसम्म रटान दिने म अब घाम दक्षिणबाट पनि उदाउँछ भन्ने भएको छु । नर्वेमा यो समयदेखि हिउँदभरि घाम दक्षिण दिशाबाट झुल्कन्छ । अदृश्य बतास रुखहरूको मार्ग भएर मर्निङवाकमा निस्किरहेको थियो । जसलाई साधनारत रंगकर्मीझैँ रुखका हाँगा, पातहरूले साथ दिइरहेका थिए । पहाडी खोंचमा वास बसेका परदेशी बादल हस्याङफस्याङ गर्दै बाँकी गन्तव्यतिर लम्किरहेछ । पूर्वतर्फ फाल्कुम नदी ओरालो बगिरहेछ । सानो गाडीमा हामी (श्रीमती सानु, चन्द्रहाङ बोखिम दाइ र म) उत्तर उकालो गुडिरहेछौँ । सियन गुल्सेटबाट नोर्दागुटु, सुन्दे, ह्युकसेबु, नोत्तोदेन, हेड्डाल, सउलन्द, टुड्डाल हुँदै लगभग अढाइ घन्टाको समयमा ११२ किमि पार गरेर पुग्यौँ ‘गउस्ता’ । हामीलाई जानु थियो ‘तप्पेन’ । तब मात्र यात्रा पूरा हुन्थ्यो, गउस्तातप्पेनको । 

 

 

गउस्तातप्पेन
दक्षिणीपूर्वी नर्वेस्थित भेस्टफल्ड र ठेलमार्क राज्यमा अवस्थित छ, गउस्तातप्पेन हिमाल । लगभग ६० किमि क्षेत्रफल ओगटेर रहेको यो हिमाल यस क्षेत्रको सबैभन्दा अग्लो हो । समुद्री सतहदेखि १८८३ मिटर अग्लो यो क्षेत्र विशेषतः हिउँदमा ओरालो ‘स्की’ खेल्नका लागि विश्वमै नामुद क्षेत्र मानिन्छ । हिमालका प्रायः भूभाग ह्यार्टल नगरपालिका रहे पनि चुचुरो भने ठिक नगरपालिका पर्छ । ‘गउस्ता’ हिमालमुनि फैलिएको समथर क्षेत्रको नाम हो । जसको सतहदेखि अन्तिम चुचुरा, जसलाई नर्वेजियन भाषामा टप भनिन्छ । 

 

गाडी यतै पार्किङ गरेर अब पैदलयात्रा सुरु हुनेछ हाम्रो । सियनतिर न्यानो भए नि यता चिसो छिप्पिएछ । उसै पनि यहाँको केही भूभागमा बाह्रैमास हिउँ रहिरहन्छ । धन्न सानुजीलाई हावापानीको पूर्वअन्दाज भएकाले केही कपडा बोकिछन् । दाइ र मेरो त पहिलोपटक थियो । सामान्य आउटर मात्र लगाएर आएको मैले डिकी खोलेर भित्री हाइनेक लगाए । चन्द्र दाइ त झन् हाफपेन्टमा हुनुहुन्थ्यो । उहाँलाई पनि एक्स्ट्रा टाउजर दियौँ । घरबाटै लिएर आएको ब्रेड र कफी खायौँ । 

 

शार्पात्राप
हामी ‘गउस्ता’बाट तप्पेनतिर अघि बढ्यौँ । ‘हामी नेपालीहरूका लागि यहाँको हिमाल त डाँडाजस्तै हो नि !’ भनेर नर्वेजियन साथीहरूलाई गफ लगाएको कुरा अब निस्किएलाजस्तो भयो । मेला भर्न निस्किएका झुन्डझैँ कपास–बादल शिरमाथि फुलेका छन् । बाटो उकालो लागिरहँदा दायाँबायाँ रहेका हेडर्सभान, अक्सलउभान, फियलसन, मिकलेसतउभानलगायत पचासौँ साना–ठूला तालहरूले होस्टेमा हैंसे मिलाउँछन् । पाइला उक्लिँदै बढ्यो । आकाश ओरालिँदै झर्‍यो । उचाइ बढ्दै गयो । श्वास घट्दै गयो । मनसँगै आँखाहरू दूरसम्म पुग्दा टाढाका दृश्यहरू लजाएर छलिए । पार्किङ एरियाबाट जानलाई तीनवटा मार्ग रहेछन् । तेर्सो उकालो, ठाडो उकालो र केबुलकारमार्फत । हामीले तेर्सो उकालो चुन्यौँ । यो अलिक लामो दूरी भएको मार्ग पनि हो । जाँदा–जाँदै बाटोमा साइनबोर्ड देखा पर्‍यो । जहाँ यो स्थानको बारेमा भएजति जानकारीको फेहरिस्त छ । त्यसपछि हामी सानो गोरेटो बाटो पछ्याएर उक्लियौँ । बायाँपट्टि बाटोसँगै जोडिएको खोल्सीमा पानी कललल गीत आउँदै ओरालो लागिरहेथ्यो । उसको स्वर सुन्दै हामी उक्लिरह्याँै । एउटा, दुइटा, तीनवटा घुम्तीहरू छोडिँदै गए । बाटामा देउरालीमा झैँ ढुंगाको रास देख्यौँ । हामीले पनि ढुुंगा चढायौँ । अरूले पनि त्यसैगरी चढाउँदा रहेछन् । कहीँ सानो–सानो माने देख्यौँ । नेपालमा विश्वास, आस्था जोडेर देउरालीमा ढुंगा फाल्छौँ । यहाँचाहिँ सम्भवतः सबैले गरेको देखेर अरूले पनि गर्दै गए होलान् । अथवा डाँडा उक्लनलाई दिशानिर्देश गर्न चिनोझैँ राखे होलान् । सायद केही नर्वेजियन नेपाल घुम्न आउँदा यो देख्यो होला र नर्वे फर्किएपछि हिमाल उक्लिँदा सुरु गरे होलान् । या शेर्पाहरू काम गर्न आउँदा–जाँदा यसरी ढुंगा चढाउन थाले होलान् । एक दिन, दुई दिन, तीन दिन गर्दै देउराली बन्यो होला । यो मेरो अनुमान मात्र हो । 

 

 

हामीसँग त डाँडा, चुली, पहाड, महाभारत पहाड, हिमाल हुन्छन् । नर्वेमा मात्र हिमाल । होचो होस् या अग्लो सबै हिमाल । उसो त हिउँदमा डाँडाकाँडा सबै छोपेर सेतै बनाउँछ हिउँले, त्यसर्थ हिमालभन्दा अत्युक्ति नहोला । लगभग दुई किमि तेर्सो उकालो हिँडेपछि सुरु हुन्छ ठाडो उकालो । जहाँ यात्रुको सहजताका लागि ठुल्ठूला चट्टान काटेर मज्जाले सिँढी बनाइएको छ । जसलाई स्थानीय भाषामा ‘शार्पात्राप’ भनिन्छ । ‘शार्पा’को अर्थ शेर्पा र ‘त्राप’को अर्थ सिँढी हुन्छ । यहीँ सिँढी नर्वेमा शेर्पासिँढीको नामले लोकप्रिय छ । एक घन्टाको उकालो पनि छिचोलेर हामी ‘तप्पेन’ अथवा टाकुरामा पुग्यौँ । जहाँ उनीहरूले काम गर्दा खोपेको उनीहरूको नाम देख्यौँ । थर देख्यौँ । भूगोलको अर्को कुनामा आफ्नो देशका जातिको नाम, थर देख्दा खुसी लाग्ने रहेछ । त्योभन्दा बढी खुसी त्यतिवेला लाग्यो, जब हामीले ‘नेपाल’देशको नाम देख्यौँ । खोक्रो राष्ट्रियता र खोक्रो देशभक्तिजस्ता अतिवादी भावनाबाट हमेसा टाढा मलाई पनि देशप्रेमले सुम्सुमायो । विभिन्न बहानामा देशभित्र देशले नछोएको मलाई यो सुदूरउत्तरी गोलाद्र्धको हिमाली बाटोमा बिछ्याइएको ढुंगामा खोपेको अक्षरको देशले अनौठो प्रेम जगायो । 

 

शार्पात्रापमा शेर्पाको यात्रा
नर्वेमा सन् २००५ देखि बर्खाको ऋतुको समयमा नेपालबाट सिजनल कामदारको रूपमा शेर्पाहरू आउन थालेका रहेछन्, भनौँ शेर्पाहरूको अगुवाइमा कामदार आउन सुरु गरेका रहेछन् । उनीहरूसँगै मिसिएर अन्य जातिका मानिस पनि आउँछन्, तर नर्वेजियनले चाहिँ सगोलमा शेर्पा भन्दा रहेछन् । शेर्पालाई नेपालको हिमालयमा बस्ने अत्यन्तै मजबुत ज्यान र सहनशील व्यवहार भएको भनेर जान्दछन् । प्रारम्भदेखि अहिलेसम्म दुई सयभन्दा बढी शार्पात्रापहरू निर्माण भइसकेका छन् । अन्य पनि बनिने क्रम जारी छ । प्राकृतिक हिसाबले नर्वेमा जति पनि लोकप्रिय टाकुरा गन्तव्यहरू छन् (त्रोलटुंगा, बार्गेन, सेराग, प्रेकेसतुलेन आदि) ती सबैमा पुग्नलाई शेर्पात्रापले सहजता दिएको छ । शार्पात्राप उक्लेर टाकुरामा पुगेपछि स्वाभाविक रूपमा चारैतिरको मनमोहक दृश्य देखिन्छ, तर यहाँ कुनै नेपालकोझैँ कथित भ्युटावर नामक गलत संचरना निर्माण भएका छैनन्, कारण टाकुरा आफैँमा सयौँ टावरभन्दा अग्लो स्थान हो । 

 

 

शार्पात्राप ठीक कि बेठीक ?
‘शार्पात्राप’बारे टड्कारो बहस पनि चलिरहेको छ । धेरै नर्वेजियनहरूचाहिँ शार्पात्राप प्राकृतिक प्रकारको हुने भएको र आमपर्यटकलाई टाकुरा उक्लन सहज माध्यम भएकोमा सकारात्मक छन् भने केही वातावरण अभियन्ताहरू ‘सहजताभन्दा महत्वपूर्ण कुरा प्रकृतिलाई नबिगारी÷नछोई संरक्षण गर्नु हो,’ भन्ने आवाज उठाइरहेका छन् । 

 

टाकुरामा अत्यन्तै चिसो थियो । भइपरी आउँदाको अवस्थालाई अन्दाज गरेर एउटा रेस्टुरेन्ट बनाइएको रहेछ । हामी पनि चिसोबाट जोगिन रेस्टुरेन्टभित्र छिर्‍यौँ । कफी र ‘लेप्से’ (नर्वेजियन पारम्परिक रोटी) खायौँ । शरीरमा न्यानोपन फर्किएसँगै रेस्टुरेन्टबाट आधा घन्टापछि निस्कियौँ । बाहिर हल्का र क्षणिक वर्षा बर्सियो । चिसो पानीको थोपाहरूले हामीलाई चंगा बनायो । चिन्तामा सातो हराएको एकोहोरो बिरामीलाई फेदाङमाले स्याउलापानी छर्किंदा झस्किएझैँ भयौं । घर फर्किनलाई हामी शेर्पात्राप हुँदै पुनः ओरालियौँ । पाइलाहरूले, सिँढीहरूले शरीरलाई ओह्रालिरह्यो, तर हाम्रा दाजुभाइले बनाएको बाटो भन्ने एकप्रकारको अपनत्वभावले गर्व र आनन्द पनि दिइरह्यो । त्यो यात्रा साँच्चै गर्वको जादुमयी उकालो उकालिरह्यो ।