• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
रमेश सुवेदी
२०८० भदौ २३ शनिबार १०:३३:००
खेल

अफ्रिदीको बल नै देखिएन, कोहलीले क्याच छाड्दा खुुसी लाग्यो

‘जसको खेल हेरेर हुर्केका थियौँ, उनीहरूविरुद्ध नै खेल्न पायौँ’

२०८० भदौ २३ शनिबार १०:३३:००
रमेश सुवेदी

 

नेपाली खेलाडीको एसिया कप अनुभव

 

 

दुई दशकअघि नै नेपाली क्रिकेटरले विश्व क्रिकेटकै पावरहाउस मानिने दक्षिण एसियाली राष्ट्रविरुद्ध हुने एसिया कपमा खेल्ने अवसर पाएका थिए । दुर्भाग्यवश भारत र पाकिस्तानबीच आन्तरिक द्वन्द्व चल्दा नेपालले एसिया कप खेल्ने अवसर गुमायो । वर्षौंको प्रयासपछि नेपालले एसिया कपमा स्थान बनायो । पाकिस्तान र श्रीलंकामा आयोजित प्रतियोगिता खेल्दा खेलाडी जति उत्साहित देखिन्थे, त्रिभुवन विमानस्थलमा बुधबार ओर्लंदा उनीहरू सय गुना हर्षित अनुहार लिएर फर्किए । एसिया कपकै माध्यमबाट नेपाली युवा क्रिकेटरले ‘हामी विश्व क्रिकेटमा आउँदै छौँ’ भन्ने सन्देश दिएका छन् । 

 

समूह ‘ए’मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ तथा दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो । तर, खेलमा नेपाली खेलाडीले जुन स्तरको प्रदर्शन गरेका छन्, त्यसले खेलाडीलाई मात्रै होइन, राष्ट्रको क्रिकेटलाई हेर्ने नजर नै फरक भएको छ । विश्व क्रिकेटसामु नेपाल पनि एउटा स्तरीय टोली हो भन्ने सन्देश गएको छ । 

 

एकदिवसीय र टी–२० विश्वकपका पूर्वविजेता भारत र पाकिस्तानसँगै एक समूहमा पर्नु एउटा संयोग मात्र नभएर नेपाली क्रिकेटरले यसलाई ‘गुडलक’कै रूपमा लिएका छन् । सामान्यतः एसोसिएटतर्फका एकदिवसीय टोलीले टेस्ट राष्ट्रसँग खेल्न अवसर थोरै मात्र पाउँछन् । झन् भारत र पाकिस्तानजस्ता विश्व क्रिकेटकै महारथीविरुद्ध एकै प्रतियोगिता भिड्न पाउँदा जोकोही पनि गदगद नहुने कुरै भएन । 

 

अहिले यही मनोभावना नेपाली क्रिकेटरले अनुभव गरेका छन् । उनीहरूले पाकिस्तानको मुल्तान र श्रीलंकाको क्यान्डीमा वर्तमान समयकै उत्कृष्ट ब्याट्सम्यान, बलर र फिल्डरसँग मैदानमै उनीहरूकै बराबरी प्रदर्शन गरी फर्किएका छन् । प्रतियोगितामा भारत र पाकिस्तानी क्रिकेटरसँग मैदानदेखि ड्रेसिङ रुमसम्म सेयर गरेको क्षण अहिले उनीहरूले बाँडिरहेका छन् । कोही भन्छन्, ‘मैले साहिन अफ्रिदीको बल नै देखिनँ ।’ कोही भारतका खेलाडीविरुद्ध छक्का प्रहार गर्दा अति नै रमाइलो लागेको अनुभव सुनाउँछन् ।

 

एसिया कपमा सहभागी हुनुअघि नै प्रशिक्षकदेखि खेलाडीहरूले प्रत्येक क्षणमा जेजस्तो भए पनि स्मरणीय बनाउने प्रण गरेका थिए । पाकिस्तान र भारतसँगको प्रतिस्पर्धामा नतिजा आफ्नो पक्षमा नआए पनि खेलाडीले यस्तै अनुभव बटुलेका छन् । नेपालका ओपनर कुशल भुर्तेलले वर्तमान समयकै उत्कृष्ट बायाँहाते फास्टबलर साहिन साह अफ्रिदीविरुद्धको सामना गरे । अफ्रिदीविरुद्ध कसरी सामना गर्ने उनले कुनै योजना नै बनाएका थिएनन् । केवल स्ट्राइक लिने र सही टाइमिङमा स्ट्रोक लगाउने उनको गेम प्लान थियो । प्रतिघन्टा १५० को स्पिडले बलिङ गर्ने साहिनले फ्याँकेको पहिलो बल र दोस्रो बलमै भुर्तेलले चौका ठोके । वास्तवमा भुर्तेलले साहिनको बल नै देखेका थिएनन् । उनले केवल टाइमिङ मात्र मिलाएका थिए । उनी भन्छन्, ‘मैले उनको बलै देखिनँ, केवल टाइमिङ मात्र मिलाएँ ।’ पहिलो ओभरमै उनी साहिनबाटै आउट भएका थिए । 

 

भारतविरुद्ध अर्धशतकीय इनिङ्स खेलेका ओपनर आसिफ शेख एउटै पक्षमा चुकचुकाएका छन् । भारतीय ओपनर लोकेश राहुललाई मैदानमा प्रत्यक्ष देख्न उनले पाएनन् । टेलिभिजनमा राहुलको ब्याटिङ हेरेर सिकेका शेखले एसिया कपमा आफ्नो आइडलविरुद्ध प्रतिस्पर्धा गर्न नपाउँदा खल्लो मानेका थिए । पाकिस्तानभन्दा भारतविरुद्ध खेल्न सजिलो भएको उनको अनुभव रह्यो । 

 

स्पिनर ललितनारायण राजवंशीले वर्तमान समयकै उत्कृष्ट ब्याट्सम्यान पाकिस्तानी बाबर आजम र भारतका रोहित शर्माविरुद्ध बलिङ गर्न पाउनु नै अविस्मरणीय क्षण सम्झेका छन् । 

 

आइसिसीले एसिया कपमा सहभागी प्रत्येक राष्ट्रका एकजना खेलाडीलाई प्रभाव पार्न सक्ने रूपमा राख्दा नेपालका गुल्सन झा पनि परे । आइसिसीको नजरमा रहेका कारण गुल्सनलाई प्रतियोगितामा राम्रो गर्नुपर्ने दबाब थियो । तर, उनले दबाब लिएनन् । विश्व प्रसिद्ध ब्याट्सम्यान र बलरले भरिएका दुवै राष्ट्रविरुद्ध राम्रै बलिङ गरेको उनको बुझाइ छ ।

 

सोमपाल कामी (अलराउन्डर)

 

भारतविरुद्ध २६० योगफल बनाउने लक्ष्य थियो । क्यान्डीको मैदानमा पानी पर्ने थाहा थियो । यसकारण पनि स्कोरबोर्डमा चुनौतीपूर्ण योगफल खडा गर्ने योजनासहित ब्याटिङ गर्‍यौँ । मैले दिइएको भूमिका अनुसार खेलेँ । मोन्टी सरले टिकेर खेल्नु भन्नुभएको थियो । नतिजा हाम्रो पक्षमा नआए पनि भारतसँग सोचेभन्दा राम्रो प्रदर्शन भयो । पाकिस्तानको बलिङ असाध्यै राम्रो थियो । रमाइलो पक्ष के छ भने दिल्ली एयरपोर्टमा जाँदा नेपालले पनि क्रिकेट खेल्छ भन्ने गाइँगुइँ सुनेको थिएँ । अब, भारतका समर्थकले पनि थाहा पाए कि हामी राम्रो क्रिकेट खेल्छौँ । नेपालले कहीँ न कहीँ भारतलाई राम्रो दबाब दिएको थियो । अर्कोपटक भारतसँग खेल्दा नतिजा निकाल्न सक्ने हिम्मत बढेको छ । तीव्रगतिका बलरमा गाह्रो छैन । 

 

पाकिस्तानका अफ्रिदीको रिभर स्विङ खेल्न गाह्रो भएको थियो । वास्तवमा मैले पहिलो चार बल देखिनँ । पाकिस्तानी योर्कर फ्याँक्न माहिर छन् । त्यो खेलमा हामीले सर्ट बल राम्रो खेल्यौँ । कुशल, आसिफ र अरिफले राम्रो गर्न सक्थे । अब, हामी पाँच खेल पाकिस्तानसँग खेल्दा तीन सय रन हान्छौँ । 

 

विराट कोहलीले क्याच छाड्दा खुसी लाग्यो । भारतसँगको खेलमा आसिफले राम्रो गर्‍यो । ब्याड लक मध्यक्रममा राम्रो भएन । हामी युवा छौँ, सबैले सिकिरहेका छौँ । इशान र पान्ड्याका खेल हेरेर हामीले अनुभव लियौँ । 

 

कोहलीसँग भेट्ने इच्छा थियो । उसका अगाडि १० मिनेट उभिएपछि कुरा गरेँ । एकदमै नर्भस भएँ । त्यसवेला मलाई थाहा भयो, फ्यानहरू किन खेलाडीसँग हात मिलाउँदा काप्छन् भन्ने । कोहलीसँग एक समर्थकका रूपमा हात मिलाउँदा मेरो हात कापेको थियो । मैले बच्चैदेखि उसलाई फलो गरेको थिएँ । मलाई एकजना फ्यानले अस्ट्रेलियाबाट जुत्ता ल्याइदिएका छन् । यो जुत्ता स्पेशल थियो । स्पेशल बनाउन विराट कोहलीको अटोग्राफ लिएँ । यो बहुमूल्य जुत्ता कसैलाई पनि दिन्नँ । तर, भावनामा बगेका कारण कोहलीसँग टिसर्ट माग्नै बिर्सिएँ । यो सपना भने अधुरै रह्यो । 

 

रोहितकुमार पौडेल (कप्तान, ब्याटर) 

 

भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भएको छ । सबैले अनुभव राम्रो बटुले । सबैजना खुसी छौँ । हामीसँग पहिलो खेलमा पाकिस्तानका विश्व नम्बर एक खेलाडी थिए । दोस्रो खेलमा कुशल र आसिफले राम्रो गरे । मध्यक्रममा झनै राम्रो गर्न सक्थ्यौँ । लिग २ खेल्नुभन्दा पछि धेरै राम्रो भयो । यस्तो कसैले पनि सोचेको थिएन होला । हामी सबैले राम्रो गर्न सक्यौँ । यो वर्ष धेरै राम्रो भएको छ । भारतविरुद्ध ब्याटिङ गर्दा हाम्रो आत्मविश्वास राम्रो थियो । कुशलले धेरै सर्ट बलमा राम्रो खेले । त्यसले सबैलाई राम्रो गर्न मद्दत पुगेको थियो । जसको खेल हेरेर हुर्केका थियौँ, उनीहरूविरुद्ध नै खेल्न पायौँ, हामी खुसी छौँ । मेरो आइडल रोहित शर्मासँग खेल्दा खुसी लागिरहेको थियो । बाबर आजमजस्तो हामीले पनि राम्रो गर्न सक्नुपथ्र्याे । टी–२० मा जे पनि हुन सक्छ । करणले बलिङ गरेको हेर्दा रोहित आउट हुन्छ भन्ने थियो । तर, भएन । अब सरकारले हेर्नुपर्छ । आर्थिक पक्ष बलियो भयो भने सबैको राम्रो हुन्छ । खेलाडीले खेलिरहने वातावरण बन्नुपर्छ । 

 

ललितनारायण राजवंशी (बलर)
भारत र पाकिस्तानसँग निकै राम्रो अनुभव रह्यो । हामीले आफ्नो क्षमता देखाएका छौँ । मलाई लाग्छ समग्रमा राम्रो प्रदर्शन गरेका छौँ । विश्व क्रिकेटमा महारथीसँग खेल्दा यतिको प्रदर्शन राम्रो भयो भन्नुपर्छ । बाबर आजम र रोहित शर्मालाई बलिङ गर्नु नै एसिया कपको सर्वाेत्कृष्ट क्षण रह्यो । टेलिभिजनमा देखेकासँग नै खेल्न पाउँदा खुसी नहुने कुरै भएन । को स्ट्राइकरमा थियो, कहिल्यै सोचिनँ, आफ्नो सामान्य खेल नै खेलेँ । मेरो सोच आफ्नो रोलअनुसार खेल्ने थियो । भारतसँगको खेलमा ५० ओभर नै खेल्ने थियो । अन्तिम दुई बल बाँकी हुँदा स्ट्राइक करण दाइलाई दिन्छु भन्ने थियो । करण दाइकोे एक वा दुई स्ट्राइकमा छक्का आउने विश्वास थियो । त्यसपछि थप ४०–५० रन बनाउँछौँ भन्ने थियो । भारतको ड्रेसिङ रुमभित्र गएपछि राहुल द्रविड, रवीन्द्र जडेजासँग गफ भयो । सबैले हामीलाई धाप दिँदै हौसला दिइराख्नुभयो । यसले सकारात्मक ऊर्जा दियो । रोहित शर्मा, जडेजा, राहुल द्रविड, विराट कोहलीको अटोग्राफ लिएँ । राहुल द्रविड नै मेरो आइडल हो । 

 

कुशल भुर्तेल (ओपनर)
टेस्ट राष्ट्र पाकिस्तानसँगको खेलबाट सबैलाई सकारात्मक सन्देश दिने चाहना थियो । उत्साहित भएका हामीले सोचेकोजस्तो खेल खेल्न सकेनौँ । त्योभन्दा राम्रो हुन सक्थ्यो । पाकिस्तानमा सुरक्षा राम्रो थियो । यत्तिको ठूलो सुरक्षाबीच पहिलोपटक खेलेका थियौँ । श्रीलंकामा भारतसँग खेल्न थप उत्साहित थियौँ । टिभीमा भारतलाई हेरेर क्रिकेट खेलेको हुँ । म पाकिस्तानसँग खेल्नजस्तो भारतसँग आतुर थिइनँ । पाकिस्तानसँग खेल्दा नर्मल लाग्यो । मैले अझै २०–३० रन राम्रो गर्न सक्थेँ । हामीले भारतको ड्रेसिङ रुम सेयर गर्‍यौँ । एसिया कपको सबैभन्दा बेष्ट मोमेन्ट थियो यो । भारतलाई हराउँछु भनेर खेलेको थिएँ । दुई तीन महिनाअघि हामी एसिया कप खेल्छौँ भन्ने थाहा थियो । आसिफसँग मैले स्ट्राइक लिँदै आएको छु । पाकिस्तानका साहिन अफ्रिदीबारे राम्रोसँग थाहा थियो । उनले सुरुमा बलिङ गरे । कसरी बल आउँछ भन्ने मेसो नै पाइएन । उनले विश्वका चर्चित ब्याटरलाई आउट गरेका छन् । बल फेस गर्नुअघि उत्साहित थिएँ । पहिलो एक बल सजिलो लाग्यो । खासमा मैले बल नै देखेको थिइनँ । 

 

आसिफ शेख (ओपनर)
ओपनिङमा भारतविरुद्ध राम्रो गर्ने नै सोच थियो । बलियो राष्ट्रविरुद्ध खेल्दा यस्तो सोच बनाउनुपर्छ । अन्तिमसम्म ब्याटिङ गर्दा भारतलाई सहजै दुई सय ६० योगफल दिन सक्थ्यौँ । कुशलले सर्ट बल राम्रो गरे । ब्याटिङ क्रममा कम्तीमा अर्धशतक बनाउने लक्ष्य थियो । कुशल र मबीच पावर प्लेबाट इनिङ्स डिपसम्म लैजाऊँ भन्ने छलफल भएको थियो । सुरुमा हामी दुवैले ४०–५० रन बनाउने योजनासहित स्ट्रोक लगायौँ । यसले पछिका ब्याट्सम्यानलाई सहज हुने थियो । स्पिनर आउँदा हामीलाई गाह्रो हुन्छ र विकेट जान्छ भन्ने थाहा थियो । हामी दुईमध्ये एक अन्तिमसम्म क्रिजमा रहने कुरा पनि थियो । उनीहरूको शारीरिक भाव बुझ्ने प्रयास गरेका थियौँ । मेरो आइडल लोकेश राहुल भारतको टोलीमा थिएन । अलि खल्लो लाग्यो । बच्चैबाट उसको खेल हेरेको हो । कोहलीको खेल हेर्ने चाहना थियो । तर, ब्याटिङ लाइभ हेर्न पाइनँ । भारतसँगको खेलपछि हात मिलाउँदै जाने कुरा भएको थियो । अचानक मोन्टी सरले हामीलाई सरप्राइज दिनुभयो । सीधै भारतको ड्रेसिङ रुममा हामीलाई लानुभयो । ड्रेसिङ रुममा विश्वमा नाम कमाएका खेलाडी के–के गर्छन्, आफ्नो किट्स कसरी राख्छन् भन्ने हेर्ने अवसर पाएँ । विराट कोहलीबाट मेडल लाउने अवसर पाएँ । त्यसवेला नेपालको प्रतिनिधित्व गर्दा गर्व लाग्यो । कोहलीले हाँस्दै भने, ‘एउटा मेडल मलाई पनि दिनू, मैले तिम्रो क्याच छाडेको थिएँ ।’ पाकिस्तानको विकेटभन्दा श्रीलंकामा सहज थियो । अभ्यासमा पनि १४५–१५० माथिको स्पिड खेल्दा सहज भयो ।

 

गुल्सन झा (अलराउन्डर)
भारत र पाकिस्तानसँग खेल्ने सपना थियो । नम्बर एक टिम, अनि टेस्ट टिमसँग खेल्दा खुसी लाग्यो । हाम्रो मनोबल उच्च थियो । हामी अहिले उनीहरूलाई हराउन त सक्दैनौँ । तर, प्रयास गर्ने हो । हामीले दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्‍यौँ । अझै राम्रो हुन सक्थ्यो । बाबर आजम, साहिन शाह अफ्रिदी, रोहित शर्मा, विराट कोहलीअगाडि जो भए पनि आफ्नो खेल खेल्ने कुरा भएको थियो । भारतसँग खेल्दा सबै उत्साहित थियौँ । सबै खेलाडीको ध्यान नै यही खेलमा थियो । सबैले रोहित र विराटलाई हेर्दै आएका छौँ । हार्दिक पान्ड्याजस्ता खेलाडी राम्रो लाग्थ्यो । तर, सबै खेलक्रममा विपक्षी नै हुन्छन् । भारतको ड्रेसिङ रुममा रमाइलो भयो । विराट कोहलीसँग कुरा त भएन, फोटो लिएँ ।

 

कुशल मल्ल (ब्याटर)
भारत र पाकिस्तानसँग खेल्दा रमाइलो भयो । भारत र पाकिस्तानजस्तो टोली भए पनि विपक्षी नै थिए । एसिया कप समग्रमा राम्रो भयो । पाकिस्तानविरुद्ध राम्रो गर्छु भन्ने थियो । तर, मैले आशा गरेअनुसारको प्रदर्शन गर्न सकिनँ । मलाई भारत र पाकिस्तानभन्दा वेस्ट इन्डिजका खेलाडी मन पर्छ ।