• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
सन्जोग लाफा मगर
२०८० भदौ ३० शनिबार ०६:२०:००
सम्झना

जो कविता सुनाउँदा पक्राउ परे

२०८० भदौ ३० शनिबार ०६:२०:००
सन्जोग लाफा मगर

गर्मीको समय । धुलोले फुंग बनेको घोराही बजारको एउटा सभास्थल । साठी जिल्ला र विदेशबाट आएका मगर प्रतिनिधि जम्मा भएका थिए । हजारौँ मगरको जुलुस परिक्रमापछि २०५१ फागुन २७ गते नेपाल मगर संघको पाँचाैँ राष्ट्रिय महाधिवेशन उद्घाटन भयो । सोही महाधिवेशनमा तीसौँ वर्षदेखि घरपरिवार र समुदायदेखि सम्पर्कविहीन भएका जितबहादुर सिंजाली मगर र रेखबहादुर थापा मगरलाई संयुक्त रूपमा मगर आदिकवि घोषणा गरिएको थियो । 


त्यहाँ उनीहरूका घरपरिवार, आफन्त कोही थिएनन् । आदिकवि जितबहादुर सिंजाली मगरले सभास्थलमै गोरेबहादुर खपांगी मगरको प्रभावशाली भाषण सुने । उनको हुलिया र बाँचेको जीवन देख्दा कसैले विश्वास गर्दैनथे, आदिकवि उही हो भनेर । आफ्नो  परिचय नदिईकनै लुसुक्क हिँडेछन् । जब उनीबारे वृत्तचित्र निर्माण गरियो, तब रहस्यको पन्तुराहरू खुले । 


यो आलेख आदिकवि रेखबहादुर थापा मगर कसरी भेटिए ? भन्ने विषयमा केन्द्रित रहनेछ । देउखुरीको खङ्रानाका बसोवास गरे पनि रेखबहादुर असली पहिचान लुकाएर दुई हजार परिवारको सुकुमबासी नेता भने । उनलाई कुचो बाजे, मास्टरजी भनेर पनि चिनिँदो रहेछ । संसदीय चुनावमा खुमबहादुर खड्काविरुद्ध निर्वाचन लडेका रहेछन् । 


सन् १९१४ मा ब्रिटिस भारतीय सेनाको सातवर्षे सैनिक जीवन बिट मार्दै रेखबहादुरका बुबा नरबहादुर सारू मगरले गाउँघरमा गल्लावालको काम गरे । बन्दीपुर तनहुँमा नेपाल प्रहरीको आठवर्षे जागिरेबाट राजीनामा दिएर २००७ सालको जनक्रान्तिमा पनि होमिए । क्रान्ति सफल भएपछि राजा, राणा र नेपाली कांगेसको त्रिपक्षीय सम्झौताको विरोध गरेकाले उनीमाथि पटक–पटक सांघातिक हमला भयो । देशद्रोहीको आरोपमा प्रहरीले पक्रेर बन्दीपुर जेलमा थुनी चरम यातना दियो । उनको चलअचल सम्पत्ति सबै हरण गरियो । जेलमुक्त भएपछि आफ्नो नाम राखे वीरबहादुर सारू मगर । त्यसपछि भूमिगत रूपमा सपरिवार बुटवलमै जीविकोपार्जनका लागि पसल थापेर बसे । मानसिक समस्याका कारण उनको दुःखद निधन भयो । 


दश कक्षा पढ्दै गरेका कलिला युवा रेखबहादुर २०१६ सालतिर बुटवलबाटै भारतीय सेनामा भर्ती भए । सन् १९६२ मा सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पासँग पर्वतारोहणसम्बन्धी प्रशिक्षण लिए । सन् १९६८ मा सगरमाथा आरोहणमा २५ हजार फिट माथि पुगेर प्रतिकूल मौसमका कारण टोलीहरूसँगै फर्किए । आरोहण गर्नुअघि उनी सन् १९६२ मा भारत–चीन युद्धमा सहभागी भएका थिए । त्यस्तै सन् १९६५ मा भारत–पाकिस्तान युद्ध र पुनः १९७१ को भारत–पाकिस्तान युद्ध पनि उनले लडेका थिए । फुटबल, बक्सिङ, हक्कीको राम्रो खेलाडी भएकाले पुरस्कारहरू र मेडलको चाङले उनी सुसज्जित थिए । सैनिक जीवनमै भारतको देहरादुनबाट आइए उत्तीर्ण गरे । २८ वर्ष भारतीय सैनिक जीवनबाट सुबेदार पदमा सन् १९८८ (२०४५) जनवरीमा निवृत्तिभरण भएपछि श्रीमती, एक छोरी लक्ष्मी थापा मगर र एक छोरा शिवकुमार थापा मगरको साथमा उनी पोखरा आई बस्न थाले । पोखराबाट माकरबस्ती नवलपरासीमा बसाइँ सरे । 


०४६ को जनआन्दोलनमा सक्रिय श्रीमती गीता गुरुङको परिवार कांग्रेस पार्टीमा आबद्ध थियो । गीताकै जोडबलले ०४७ मा रेखबहादुरले नेपाली कांगे्रसको सदस्यता लिए । त्यसपछि कांग्रेसको भातृ संगठन नेपाल भूतपूर्व सैनिक संघ नवलपरासीको अध्यक्ष भए । भूतपूर्व सैनिकहरूको हकहितका लागि संगठन विस्तारमा अहोरात्र खटिए ।

घरपरिवारप्रतिको उत्तरदायित्वले बीचमा सम्पर्कविहीन बने । त्यसवेलाका चर्चित नेता गोरेबहादुर खपाङ्गी मगरको प्रभावशाली भाषण सुनेपछि उनी नेपाली कांगे्रस परित्याग गरी ०५० मा राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरे । कांगे्रस पार्टी छोडेपछि २०२० सालमा प्रेमविवाह गरेका दम्पतीबीच मनमुटाव सुरु भयो । पार्टी छोड्न एक–अर्काले दबाब दिन थाले । छोरा शिवकुमार थापा मगर सम्झन्छन्, ‘आमा कडा स्वभावको, बुबा सोझो र इमानदार । दुवैको बोलिचाली भए पनि सम्बन्ध राम्रो भएन । नमिले पनि सम्बन्धविच्छेदचाहिँ गर्नुभएन ।’ 

पञ्चायती व्यवस्थामा भाषा र जातिको कुरा गरे साम्प्रदायिकताको आरोपमा सीधै जेल जानुपथ्र्यो । जो पायो त्यहीलाई किताब बेच्न डर, कविता सुनाउन झन् डर । डरैडर बोकेर दुई–चारजना मगर जमघट भएको ठाउँमा पुस्तक बाँड्ने र कविता सुनाउँदै हिँड्ने क्रममा उनीहरूलाई पुलिसले पक्रेर लगेछ ।


मगर भाषामा गीत गाउन पोख्त थिए, रेखबहादुर । कविता, मुक्तक लेखिरहने उनलाई मगर साहित्य लेख्न प्रेरित गर्ने व्यक्ति थिए उनका बोई (बुबा) । ०१५ सालमा जितबहादुर सिंजाली मगरसँग बुटवलमा उनकै बोई (बुबा) ले पहिलोपटक चिनजान गराएका थिए । त्यतिवेला उनी त्यहाँ आउजाउ गरिरहन्थे । वीरबहादुरको पसलमा वास बस्थे । रेखबहादुरले मामा साइनो लगाएका थिए । मगर भाषामा गीत, कविता लेखेर कहिले बोई (बुबा)सँग कहिले छोरासँग एकापसमा छलफल गर्थे । त्यसवेला नेपाल भाषाको साहित्य चर्चामा थियो । नेपाल भाषाको गीत, कविता लेखेजस्तै हामीले पनि लेख्नुपर्छ भनेर सिंजाली र सारू मगर लागे । प्रेसमा छाप्नका लागि त्यसवेला सिडिओ वा स्थानीय नेताको सिफारिस चाहिन्थ्यो । उनीहरूले भारतको गोरखपुरबाट भूमिगत रूपमा पुस्तक छापेर ल्याएका रहेछन् । पञ्चायती व्यवस्थामा भाषा र जातिको कुरा गरे मात्रै साम्प्रदायिकताको आरोपमा सीधै जेल जानुपथ्र्यो । जो पायो त्यहीलाई किताब बेच्न डर, कविता सुनाउन झन् डर । डरैडर बोकेर दुई–चारजना मगर जमघट भएको ठाउँमा पुस्तक बाँड्ने कविता सुनाउने क्रममा एकपटक खस्यौली (हाल बुटवल) दाउरे टोलमा सोठी (अदुवा) बेच्ने ढाक्रेहरू वास बसेको ठाउँमा किताब बेच्दै गर्दा पुलिसले दुवैजनालाई पक्रेर लगेछन् । एक हप्ता तारेख धाउने सर्तमा छोडिदियो । त्यसपछि जितबहादुरसँग ०२७ सालमा छुट्टीमा घर आउँदा अन्तिमपटक भेट भएको रेखबहादुरको त्यसपछि कहिल्यै भेट भएन । 


मगर जातिबारे ०४९ देखि प्रकाशित भएको ‘लाफा’ पत्रिका उनीहरूले नियमित पढे । त्यतिवेलासम्म मगर भाषाको आदिकवि को हुन् भन्ने पत्ता लागेको थिएन । जितबहादुर सिंजाली मगर र रेखबहादुर थापा मगरले संयुक्त रूपमा लेखेको ‘मगर भाषाङ ल्हिङ ड टुक्कावौ किताब’ को आधारमा उनीहरूलाई मगर आदिकविको पदवी दिएर सम्मानित गरियो । 
रेखबहादुरको पुर्खा तनहुँ जिल्लाको दक्षिणी भेग तत्कालीन भिरकोट गाविस–८, अर्चल्दी (हाल ऋषिङ गाउँपालिका–३, अर्चल्दी) मा बसोवास गरेका थिए । बुबा नरबहादुर सारू मगर (वीरबहादुर) र आमा डिल्लीसरा थापा मगरको कोखबाट २००१ भदौ २८ गते रेखबहादुर सारू थापा मगरको जन्म भएको थियो । तीन दाजुभाइमा बमबहादुर थापा मगर जेठा, जंगबहादुर थापा मगर कान्छा, एक दिदी हिरासरा थापा मगरमध्ये उनी माइला भाइ हुन् । छोरा र छोरीसँगै बस्दै आएका आदिकवि जाति र पार्टी काममा अहोरात्र खटिरहँदा स्वास्थ्य जाँच ढिलाइले उच्च रक्तचाप एक्कासि बढेर मस्तिष्क पक्षघातले कोठामै ढलेका थिए । खाटमुनि ढलिरहेका बुबालाई छोरी लक्ष्मीले देखेपछि हतारहतार स्थानीय अस्पताल पु¥याइन् । उपचार सम्भव नभएकाले काठमाडौं वीर अस्पतालमा लगिएको थियो । सघन कक्षमा उपचार गराउँदा–गराउँदै ०६१ असार २९ गते मगर आदिकवि थापाको निधन भयो । 


नेपाल मगर संघमा भाषा, संस्कृति, धर्म र साहित्यबारे जनपैरवी गरिरहन्थे उनी । जस्तोसुकै व्यक्तिसँग पाँच–छ घन्टासम्म छलफल गरी आफूतिर आकर्षित गर्न सक्ने खुबी थियो उनको । सामाजिक भावनाका धनी, कलाका अब्बल प्रतिभा रेखबहादुरलाई मगर आदिकवि जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानले ०६० सालमा सम्मान गरेको थियो । विविध संघसंस्थाले पनि भव्य सम्मान गरेका थिए । उनको योगदानलाई सम्मान गर्दै मगर आदिकवि रेखबहादुर थापा मगर स्मृति प्रतिष्ठान, तनहुँ र नवलपरासीमा स्थापना गरिएको छ । गत वर्षदेखि मगर आदिकविद्वयको जन्मजयन्ती नेपाल प्रज्ञा प्रतिष्ठानले सहकार्यमा मनाउने परम्पराको सुरुवात गरेको छ । मगर भाषा साहित्यका धरोहर स्रष्टाले ०५१ सालमा प्रकाशन गरेको मगर कविता संग्रह फुन्चठलके (जन्मभूमिलाई) भित्रको अति नै चर्चित कविताका हरफ यहाँ प्रस्तुत छ :

 

सराडे जाट्के पन्डीटके पाच
इला ड आलाक ङा गिन्म ह्वाच्च
काट भोरमिङ डेआ होटेलाङ नुङ्मे
पोस्टाक ड झोला टालुङ बुमे
सढै न राहाम हान रक्सी गाले
होसे च कानुङ पण्डितजी आले ।

 

श्राद्ध गर्न पण्डितलाई खोजेको
यता र उति सबैलाई सोधेको
एउटाले भन्यो होटलमा गा’छ
रक्सीसँग पाडाको सेकुवा खा’छ
सधैँ आएर जाँडरक्सी पिउँछ
उनी त हाम्रो पण्डितजी जो छ ।