• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
स्टिफन बार्थोलोमेउज
२०८० भदौ ३० शनिबार ०६:३६:००
विज्ञान प्रविधि

वासिङ्टनमा तरंग ल्याइरहेको एउटा चिनियाँ फोन

चीनले हुवावेको नयाँ फोनमार्फत अमेरिकालाई चिप युद्धमा पराजित गरेको हो ?

२०८० भदौ ३० शनिबार ०६:३६:००
स्टिफन बार्थोलोमेउज

चीनको सेन्झेनस्थित प्रविधि कम्पनी हुवावेले दुई साताअघि (अगस्ट ३० मा) अनलाइनमार्फत उसको नयाँ स्मार्टफोन ‘मेट ६० प्रो’ सार्वजनिक गर्‍यो । विगतमा भन्दा सामान्य रूपमा सार्वजनिक भएको सो मोबाइल फोनले अमेरिकामा भने असामान्य हलचल निम्त्यायो । हलचलको कारण थियो हुवावेको मेट ६० प्रोमा प्रयोग भएको ‘किरिन ९०००’ नाम दिइएको चिप्स ।

क्यानडाको ओटावामा मुख्यालय रहेको टेकइन्साइटले फोनमा राखिएको सो चिप्समा उन्नत सात नानोमिटर रहेको पुष्टि गरेको छ । ‘यसले चीनको सेमिकन्डक्टर उद्योगले इयुभी मेसिनविनै प्राविधिक उपलब्धि हासिल गरेको देखाउँछ । यो उपलब्धि हासिल गर्न उसले पार गरेको अवरोधले चीनको प्रविधि सबलतालाई पनि दर्साउँछ,’ टेकइनसाइटका विश्लेषक ड्यान हचचेसनले रोयर्टसलाई बताए । ‘इयुभी’को पूरा अर्थ ‘एक्ट्रिम अल्ट्राभाइलेट लिथोग्राफी’ हो जसको प्रयोग सात नानोमिटर र त्योभन्दा साना चिप्स बनाउन प्रयोग गरिन्छ । 

हुवावेका लागि किरिन ९००० सिरिजका चिप्स चीनको सबैभन्दा ठूलो सेमिकन्डक्टर निर्माता कम्पनीसेमिकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेसनल कर्पाेरेसन (एसएमआइसी)ले बनाएको हो । अमेरिकाले एसएमआइसीलाई डच कम्पनीले बनाउने इयुभी मेसिन हासिल गर्न प्रतिबन्ध लगाउनुअघि सो सेमिकन्डक्टर कम्पनीले १४ नानोमिटर आकारको चिप्स मात्र बनाइरहेको थियो । छोटो समयमै एसएमआइसीले गरेको यस उपलब्धिलाई केही उत्साही प्रविधि विश्लेषकले चिप युद्धमा चीनले अमेरिकालाई पछारेको रूपमा व्याख्या गरे । यस्तो निष्कर्षमा पुग्ने मुख्यतः चिनियाँ सरकारी मिडिया धेरै छन् ।

अमेरिकाले एसएमआइसीलाई डच कम्पनीले बनाउने इयुभी मेसिन हासिल गर्न प्रतिबन्ध लगाउनुअघि सो सेमिकन्डक्टर कम्पनीले १४ नानोमिटर आकारको चिप्स मात्र बनाइरहेको थियो । छोटो समयमै एसएमआइसीले गरेको यस उपलब्धिलाई केही उत्साही प्रविधि विश्लेषकले चिप युद्धमा चीनले अमेरिकालाई पछारेको रूपमा व्याख्या गरे ।

 

हुवावेले अमेरिकी वाणिज्यमन्त्री जिना रेमान्डोको चीन भ्रमणका अवसरमा केही हतार गरेर उसको नयाँ फोन सार्वजनिक गरेको थियो । (जब कि उसले पहिले नै फोन सार्वजनिक गर्ने अर्कै मिति तय गरेको थियो, जुन केही पछाडि थियो ।) यो हुवावेको तर्फबाट अमेरिकालाई एकप्रकारको सन्देश थियो । रेमान्डोले सम्हालेको मन्त्रालयले चीनका प्रविधि कम्पनीमाथि लागू अमेरिकी प्रतिबन्धका कार्यान्वयन गर्ने गर्छ । सन् २०१९ मा अमेरिकाले हुवावेलाई उन्नत चिप बेच्न प्रतिबन्ध लगाएपछि उसले सार्वजनिक गरेको पहिलो फ्ल्यागसिप फोन हो, ‘मेट ६० प्रो’ ।


सार्वजनिक गर्दा कम्पनीले सो मोबाइलको प्राविधिक विशिष्टतासमेत खुलाएको थिएन । तथापि, चिनियाँ सरकारी मिडियाले भने हुवावेको पछिल्लो फोन चीनले चिप निर्माणमा गरेको प्रगतिको दस्तावेज हुने बताउन थालेका थिए । फोन बजारमा पाउन थालेपछि प्राविधिकहरूबीच त्यसलाई खोलेर हेर्ने क्रम चल्यो । जाँचमा फोनमा उन्नत ७ नानोमिटरको चिप नै प्रयोग भएको पाइयो । सो चिपमार्फत मेट ६० प्रोले केही काम पछिल्लो एप्पलकै हाराहारी काम गरेको पाइयो । जब कि पछिल्लो आइफोनमा विश्वको प्रमुख चिप निर्माता कम्पनी ‘ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ’ (टिएसएमसी)ले बनाएको थप उन्नत ४ नानोमिटरको चिप प्रयोग भएको छ । (सो कम्पनीले सन् २०२५ सम्म २ नानोमिटरको चिप बनाउने लक्ष्य लिएर काम गरिरहेको छ ।) नानोमिटर चिपको आरका नाप्ने एकाइ हो र चिपको आकार जति सानो भयो, त्यो त्यति नै उन्नत हुन्छ । 


चिप्सको उन्नतिको खबरले अमेरिकामा एक तरंग आयो । पश्चिमी प्रविधिविज्ञहरूमाझ कठोर प्रतिबन्धका बाबजुद आखिर चीनले कसरी यति छिट्टै असम्भव ठानिएको उन्नत चिप बनाउन सक्यो भन्ने विषयमा विभिन्न अनुमान गरिन थाले । केहीले चीनले प्राविधिक चोरीमार्फत सफलता हासिल गरेको अनुमान गरे । अर्काथरी, हुवावेले उसमाथि प्रतिबन्ध लागू हुनुअघि उसले टिएमएमसीबाट किनेर भण्डार गरेको चिप्स प्रयोग गरेको भनिरहेका छन् । मेट ६० प्रोको पहिलो लट बजारमा आएको छोटो समयमै सकिएको समाचारलाई आधार बनाउँदै तिनले हुवावेले चार वर्षअघि आफूमाथि प्रतिबन्ध लाग्नुअघि टिएमएससी र अन्य विदेशी आपूर्तिकर्ताबाट सकेसम्म धेरै उन्नत चिपहरू भण्डारण गरेको र अहिले त्यही चिप प्रयोग गरेको हुन सक्ने आशंका पनि गरेका छन् । तर, केही विश्वसनीय प्राविधिकहरू भने एसआइएमसीले उससँग भएको पुराना मेसिन र उपकरण प्रयोग गरेर सात नानोमिटरको चिप बनाएको निष्कर्षमा पुगेका छन् । यसको मतलब हो, चीनले अमेरिका र उसका मित्र शक्तिको प्रविधिमा कुनै पहुँचविना नै तुलनात्मक उन्नत चिप पूर्ण रूपमा डिजाइन र उत्पादन गर्न सफल भएको हुन सक्छ ।


अमेरिकाले चीनका कैयौँ क्षेत्रका उद्योगलाई चिप आपूर्ति रोकेपछि बेइजिङले देशभित्रका सेमिकन्डक्टर उद्योगलाई सबल र सक्षम बनाउन १५० अर्ब डलर विनियोजित गरेको छ । यसै परियोजनाअन्तर्गत चिनियाँ सरकारले गत वर्ष हुवावेलाई २.५ अर्ब डलरको अनुदान उपलब्ध गराएको थियो । केहीले यस लगानीले प्रतिफल दिएको विश्वास गरेका छन् । सन् २०१९ मा ट्रम्पले केही चुनिएका चिनियाँ कम्पनीलाई मात्र सेमिकन्डक्टर आपूर्ति रोकेकोमा बाइडेनले लगभग सबैजसो चिनियाँ कम्पनीलाई उन्नत चिप बिक्रीमा रोक लगाएका छन् । बाइडेन प्रशासनले प्रतिबन्धलाई थप विस्तार र कठोर बनायो । उनको सरकारले गत वर्ष अक्टोबरदेखि ‘अमेरिकाको सानो मात्रै सहयोग रहेको कुनै पनि प्रकारको चिप बनाउने उपकरणहरू’ चीन निर्यात गर्न प्रतिबन्ध लागू गरेको छ । चिपको आपूर्ति शृंखलाका कुनै न कुनै बिन्दुमा अमेरिकाको संलग्नता रहेकाले चीनले जापान र दक्षिण कोरियाजस्ता चिपका प्रमुख केन्द्रलगायत लगभग सबै उन्नत सेमिकन्डक्टरमा पहुँच गुमाएको छ । अर्थात् विद्यमान चिपमाथि चीनको पहुँच प्रभावकारी रूपमा कटौती गरिएको छ । 


अमेरिकाले युरोपेली आयोगको सहयोगमा सबैभन्दा उन्नत चिप्स उत्पादन गर्ने इयुभी मेसिन चीनलाई निर्यात रोक्न बाध्य बनायो । विश्वमा अहिले नेदरल्यान्डको ‘एडभान्स सेमिकन्डक्टर म्याटेरियल लिथोग्राफी (एएसएमएल)’ ले मात्र यस्तो मेसिन बनाउन सक्छ । यी सम्पूर्ण अवरोधका बाबजुद यदि चीनले सात नानोमिटरको चिप पूर्ण रूपमा देशभित्रै डिजाइन गरेर उत्पादन गर्न सक्षम भएको हो भने, त्यो ठूलो सफलता भएको विज्ञको निष्कर्ष छ । भलै चीनको यो चिप्स हाल विश्वमा प्रचलनमा रहेको चिप्सभन्दा करिब पाँच वर्षपछाडि नै किन नहोस् । र त्यसको निर्माणमा सिलिकन वेफर्सलाई एकपटकको साटो धेरैपटक प्रकाशको साक्षात्कार गराउने धेरै महँगो र समय लाग्ने गर्ने बहुप्याटर्निङ प्रविधि नै प्रयोग किन नभएको होस् । ‘महँगो निर्माण खर्चले चीन चिप्स युद्धमा पछाडि नपर्न कतिसम्म दृढ छ भनेर देखाउँछ । हुवावेको विशाल वित्तीय स्रोत र सरकारको उदार अनुदानले मात्र यो फोन आमबजार मूल्यमा बेच्न सकिने भएको हो,’ गभेकाल ड्रागोनोमिक्सका विश्लेषक टिली झाङले भने । 


चिनियाँ मिडियाले हुवावेको नयाँ फोन सार्वजनिक भएसँगै चीनविरुद्ध लागू अमेरिकी प्रतिबन्धले आफ्नो देशको प्राविधिक विकासलाई रोक्न असफल भएको कुरामा जोड दिइरहेका छन् । ‘चीनको चरम दमन असफल भएको छ र यसले अमेरिका–चीन प्राविधिक युद्धको समग्र चित्र र त्यसको अन्तिम परिणामको प्रतिनिधित्व गर्छ,’ ग्लोबल टाइम्सको दाबी छ । हुवावे आफैँले पनि ‘प्रतिबन्धका बाबजुद हासिल भएको उपलब्धि’का रूपमा व्याख्या गरेको छ । अमेरिकाले प्रतिबन्ध लगाउनुअघि हुवावे केही समयका लागि विश्वको अग्रणी मोबाइल निर्माता बन्न सफल भएको थियो । तर, प्रतिबन्धपछि यसको मोबाइल शाखा लगभग ध्वस्त भएको थियो, जसको कारण कम्पनीको समग्र राजस्व नै आधामा झर्‍यो । हुवावेको विश्वव्यापी बजार हिस्सा अहिले एकल अंकमा सीमित छ भने देशभित्रै पनि यसको बजार अंश १० प्रतिशतभन्दा तल छ । कम्पनीले ‘मेट ६० प्रो’लाई पर्याप्त परिणाममा उत्पादन गर्न सक्यो भने पनि सम्भवतः उसको पुरानो उचाइ पुनः हासिल गर्न सक्ने छैन । तथापि, यस मोबाइलको सहयोगले उसले घरेलु बजारको ठूलो हिस्सा नजित्ला भन्न सकिँदैन ।


अमेरिकाभित्र भने यो फोन सार्वजनिक भएपछि चीनविरुद्ध लागू प्रतिबन्धको प्रभावकारिताको समीक्षा गर्नुपर्ने आवाज बलियो बनेको छ । चीनलाई उन्नत प्रविधिमाथि पहुँच नदिने प्रयासले उल्टो असर गरेको हो कि (विशेषत चीनलाई जुन मूल्यमा पनि ती प्रविधि विकास गरिछाड्ने भावना उत्प्रेरित गरेर) भन्ने डर एक तप्कामा देखिन्छ । अमेरिकाले चिप्स प्रतिबन्ध लगाएर चीनको हातमा उन्नत चिप्स नपुगोस् र २१औँ शताब्दीमा आफ्नो प्रमुख प्रतिस्पर्धी हुने सो मुलुकभन्दा आफूअगाडि रहने उद्देश्य राखेको छ । आखिर चिप्स आजको विश्वको व्यावसायिक, एआई (आर्टिफिसियल इन्टिलिजेन्स)जस्ता प्रविधि तथा सैन्य क्षेत्रमा अग्रता हासिल गर्न अत्यावश्यक नै देखिन्छ । तर, प्रतिबन्ध डिजाइन गर्दा अमेरिकाले चीनको प्राविधिक स्वतन्त्रताको दृढ संकल्प र नयाँ प्रविधि हासिल गर्न अर्बौँ डलर खर्च गर्न सक्ने क्षमतालाई कम आकलन गरेको हुन सक्छ । अथवा हुन सक्छ, अमेरिकाले चिनियाँ प्रविधि क्षेत्रमाथि लगाएको प्रतिबन्ध विगत चार वर्षमा विभिन्न चरणमा लागू गरेकाले पूर्ण प्रभाव अझै महसुस हुन पो बाँकी छ कि । 


हुवावेको फोन बजारमा गएको केही दिनमा स्टक सकिएकाले केहीले एसएमआइसीको सफलता सीमित रहेको पनि आकलन गरिँदै छ । यस्तो आकलन अमेरिकी नीति–निर्माताले भने चीनले थप उपलब्धि हासिल गर्नुअघि नै प्रतिबन्ध अझै कठोर बनाउनुपर्ने वकालत गर्न थालेका छन् । यस्तो तर्क गर्नेहरूले एसएमआइसीले पर्याप्त मात्रामा सात न्यानोमिटर चिप्स उत्पादन गरेकै भए पनि त्यो टिएसएमसीले उत्पादन गर्ने चार न्यानोमिटरभन्दा केही पुस्तापछि रहेकाले पनि प्रतिबन्ध कठोर बनाउनुपर्ने बताइरहेका छन् । र, डच कम्पनी एएसएमएलको उन्नत चिप बनाउने मेसिनविना सात न्यानोमिटरभन्दा सानो चिप्स बनाउन निकै कठिन साबित हुनेछ नै । विशेषतः अमेरिकाको वित्त मन्त्रालयअन्र्तगतको उद्योग तथा सुरक्षा ब्युरोले यस विषयमा अनुसन्धान गरेर अमेरिकाको प्रतिबन्धलाई थप कडा बनाउने सम्भावना रहेको विश्लेषकहरूले बताए छन् । जसले गर्दा चीनको नयाँ चिप्सले ‘चिप्स युद्ध’ मत्थर गर्नुको साटो थप गर्माउने सम्भावना छ ।


तथापि अहिलेका लागि, चीनका घरेलु चिप निर्माताहरूले आफूसँग भएको स्रोतको अधितकम प्रयोग गर्दै पुरानो उपकरणबाट परिमार्जित सेमिकन्डक्टर बनाउन सफल भएका छन् । अब चीनको वास्तविक परीक्षण अहिलेको भन्दा उन्नत चिप्स बनाउन उसले देखाउने सफलतामा निर्भर हुनेछ । विश्व, त्यसमाथि पनि अमेरिकाको यसमाथि विशेष चासो हुने निश्चित छ । 

 

(द बिजनेस स्पेक्टर नामक वेबसाइटका संस्थापक तथा कार्यकारी सम्पादक स्टिफन अस्ट्रेलियाका प्रतिष्ठितमध्येका एक बिजनेस स्तम्भकार हुन् । ‘द सिड्नी मर्निङ हेराल्ड’मा प्रकाशित यो लेख श्रवण उपे्रतीले अनुवाद गरेका हुन् ।)