• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
हरिशरण खनाल
२०८० भदौ ३० शनिबार ०७:४३:००
साहित्य

देशदर्शन गराउने पुस्तक

२०८० भदौ ३० शनिबार ०७:४३:००
हरिशरण खनाल

देशको माया सुनेर हैन, देखेर जागिन्छ
अरूले हैन, आफैँले हेरी यो कुरा बुझिन्छ ।


नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक तथा कवि हिकमत सिंह ऐरले माथिका पंक्तिमा भनेजस्तै जबसम्म हामी आफैँ मेचीदेखि महाकालीसम्मका गाउँबस्तीसम्म पुग्न सक्दैनौँ तबसम्म हामीले हाम्रो देश कस्तो छ भन्ने कल्पना पनि गर्न सक्दैनौँ । हुन पनि हो, कसैले लेखेको पुस्तक र कसैले खिचेका तस्बिर या सिनेमा हेरेर वा पढेर सजिलै देश कहाँ बुझ्न सकिन्छ र ? यसका लागि हामीले समय र पैसा खर्च गरेर र देश बुझ्ने अनि नजिकबाट चिन्ने हुटहुटी मनभरि बोकेर आफैँ देश दौडाहामा निस्किनुपर्छ । तर, यसका लागि हामीसित न पर्याप्त समय नै छ, न त पैसा नै । हो, हामीजस्ता आफ्नै देश घुम्न समय र पैसा दुवै खर्चिन नसक्नेहरूका लागि कवि हिकमतको भर्खरै सार्वजनिक भएको कवितासंग्रह ‘कञ्चनपुरदेखि कञ्जनजंघा, कवितामय फन्को देशको’ भित्र संकलित कविता र साथमा प्रकाशित मनोरम तस्बिर आंशिक रूपमा सहयोगी सिद्ध हुन सक्छन् । 


कवितासंग्रहमा कवि हिकमतले यो देशलाई एउटा सप्तरंगी इन्द्रेनीका रूपमा परिकल्पना गरेका छन् । प्रत्येक सात प्रदेशलाई इन्द्रेनीका अलगअलग रङ, रूप र बान्कीका रूपमा चिनाइएको छ । कोसी प्रदेशअन्तर्गतको ‘त्यतिकै हैन नम्बर एक’ शीर्षकको कविता पढ्दा कोसी प्रदेशका प्रत्येक १४ जिल्लामा पालैपालो पुगेको अनुभूति हुन्छ । साथमा छापिएका तस्बिर, नक्सा र त्यहाँ उल्लेख भएका प्रदेशभित्रका प्रमुख पर्यटकीयस्थलको नक्सांकनबाट सामान्य ज्ञानको पनि झल्को मेटिन्छ । कविताले स्थानीय परिकार र स्वादको पनि परिचय दिएको छ । यसले कोसी प्रदेशका जिल्लाहरूको आन्तरिक पर्यटनमा निस्कन चाहनेलाई ‘गाइड’को काम पनि गर्नेछ । 


यहाँको पहाडमा पाइन्छ गुराँसको
सर्बतसँगै छुर्पी र चिजको डल्लो । 
तरुलको खाजासँगै फापर 
र डल्ले खुर्सानी खाइन्छ । 
किराँती गाउँमा लोकल कुखुराको वाचिपासँगै
भटमासको किनिमा पनि पाइन्छ । 


मधेस प्रदेशअन्तर्गत यहाँका आठ जिल्ला र तिनका विशेषतालाई ‘मभित्रको देश, मिथिला मधेस’ शीर्षकको कविताले झल्काएको छ । प्रदेशभित्रका पर्यटकीयस्थल, यहाँका मूर्त तथा अमूर्त कला, संस्कृति र परम्परालाई कवि हिकमतले मीठा शब्दमा उनेका छन् । 


मेरो वेशभूषा र रङ रूपले नझुक्किनु है सबै
यसै देशको माटोमा जन्मेर हुर्केको हुँ सदैव 
मलाई बुझ्न हेर्नुपर्छ मभित्रको देश, मिथिला मधेस ।


देशका १३ जिल्ला समेटिएको संघीय राजधानीसमेत रहेको बागमती प्रदेशलाई चिनाउन कवि हिकमतले ‘बागमती, तिम्रो वरिपरि जिन्दगीको यात्रा सधैँभरि’ शीर्षकको कविता प्रस्तुत गरेका छन् । कवितामा कविले यस प्रदेशका १३ वटै जिल्लाका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सम्पदालाई चिनाउने प्रयास गरेका छन् । यस प्रदेशका मूर्त तथा अमूर्त अमूल्य कलालाई चिनाउने उनको प्रयास स्तुत्य छ । बागमती प्रदेश र विशेष गरी संघीय राजधानी काठमाडौं धेरै नेपालीको सपनाको संसार पनि हो । यहाँ कैयौँका सपनाले मूर्तरूप लिएका छन् भने कैयौँका सपना यहाँका घना बस्ती, साँघुरा गल्ली, फराकिला सडक, कोलाहलमय बजार अनि होचाअग्ला अमिल्दा कंक्रिटको जंगलभित्र पुरिएका छन्, धूलीसात् भएका छन् । त्यसैले त कवि हिकमत भन्छन्— 


हरेक व्यक्ति यहाँ सपना खोज्दै आइरहेछ 
सपनामा रमाइरहेछ, केही पूरा केही अधुरा ।


‘सबैको ढुकढुकी, मेरो प्यारो गण्डकी’ शीर्षकको कवितामा कविले पाठकलाई गण्डकी प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा पु¥याउने कोसिस गरेका छन् । विशेष गरी उनले यहाँका पर्यटकीय गन्तव्य, यहाँका स्थानीय उत्पादन, पर्व, जात्रा, संस्कृति, हिमाल, ताल, नदीनाला, झरना आदिलाई कवितात्मक शब्दचित्रमा उनेका छन् । 


जीवन्त संस्कृति र प्रकृतिले भरिपूर्ण
आँखाभरि हेर्न र मुटुभरि पाइन्छ माया र सत्कार
त्यसैले त सबैको ढुकढुकी मेरो प्यारो गण्डकी ।


१२ जिल्लालाई आफूभित्र समेटेर फैलिएको लुम्बिनी प्रदेश चिनाउन कवि हिकमतले ‘खोज्दै छु बुद्ध, बुद्धको देशमा’ शीर्षकको कविता प्रस्तुत गरेका छन् । कवितामा कविले बुद्ध जन्मस्थल लुम्बिनीदेखि प्रदेशका कुनै पनि गन्तव्यलाई छुटाएका छैनन् । 


खोज्दै छु बुद्ध बुद्धको देशमा 
गर्नु छ मैले ढोगेर मनबुद्धि शुद्ध ।


मनोरम पहाडी संसारभित्रका १० जिल्ला समेटिएको कर्णाली प्रदेश चिनाउन कविले ‘कर्णालीभित्र लुकेको कर्णाली’ शीर्षकको कविता पस्केका छन् । कविता पढ्दै जाँदा राज्यबाट सदैव उपेक्षित रहँदै आएको कर्णाली कला, संस्कृति, भूगोल, प्रकृति, जडीबुटी, नदीनालालगायतमा कति समृद्ध छ, उसमा देशलाई नै समृद्ध बनाउन सक्ने शक्ति कति छ भन्ने तथ्यलाई कविले प्रस्तुत गरेका छन् ।


कर्णालीका अनेकौँ छन् कथा, सुख, दुःखका व्यथा
त्यहाँभित्र आफ्नै छ संसार अद्भूत छ प्राकृतिक छटा ।


देशको पश्चिमी कुनाका नौ जिल्ला समेटिएको सुदूरपश्चिम प्रदेश आफैँमा मनोरम प्रकृति, अद्भूत संस्कृति, विकट भूगोल र धार्मिक आस्था र धरोहरको मीठो संगमस्थल हो । यसलाई कवि हिकमतले ‘सुदूरको सुन्दर पश्चिम हुँ म’ शीर्षकको कवितामा समेटेका छन् । 


गौरा र माघीमा देउडा र सखियाले बाँधेको साथ
सदैव बनिरहोस् मेरो अखण्ड सुदूरपश्चिमको यो सान । 


सात प्रदेशका सप्तरंगी चित्रणसँगै कविले ‘कर्णालीको वारि र पारि’, ‘कृषि र पर्यटन बाह्रै मास’, ‘देशमै घुमौँ देशमै रमाऔँ’, ‘हेर्न सकिन्छ हाम्रो भूमि लाप्चलाबाट मानसरोवर कैलाश’, ‘कोसीको तिरैतिर’, ‘म कतै हराउँदै छु कि?’, ‘घुमेर हेरौँ, आफैँमा खोजौँ’, ‘यात्रा मेची कोरिडोरको’, ‘तीन ‘ज’को सुन्तुलन’, ‘सप्तरंगी इन्द्रेणीको मेरो देश’लगायत शीर्षकका कवितामार्फत देशलाई थप चिनाउने जमर्को गरेका छन् । उनका यी कविताले जोकसैमा पनि जीवनमा एक न एकपटक देशका यी मनोरम गन्तव्यमा पुगेरै मात्र विश्राम लिने हुटहुटी जगाउनेमा शंका छैन । 


कवि हिकमतले संग्रहमा ‘वर्तमान समाजको दिशा र अनुभूति’ शीर्षकको खण्डमा ११ अलगअलग शीर्षकका कविता समेटेका छन् । जसमा उनले वर्तमान समाजप्रतिको आफ्नो बुझाइलाई कतै अभिधा, कतै लक्षणा त कतै व्यञ्जनामार्फत प्रस्तुत गरेका छन् । 


यहाँ उड्न आफ्नै पखेटा चाहिन्छ 
अर्काको त उडेको मात्र हेर्न सकिन्छ ।


‘आर्थिक गतिविधि र विकासको गति’ शीर्षकको खण्डमा कवि हिकमतले सात अलगअलग शीर्षकका कविता राखेका छन् । यी कवितामार्फत कविले देश विकासका सम्भावना, सामथ्र्य र हाम्रा कमीकमजोरीलाई उजागर गरेका छन् । कतै हाम्रा कमीकमजोरी र परनिर्भर अर्थतन्त्रमाथि तिखो व्यंग्य गरेका छन् । कतै ‘के छ र यहाँ ?’ भन्नेहरूमाथि कडा प्रश्न गरेका छन् । 


‘भावनात्मक रहरहरू’ शीर्षकको खण्डमा समेटिएका १३ अलगअलग शीर्षकका कविताले सकारात्मक सोच, जीवनका खुसी, सफलता, उल्लास, विफलता र दुःखलाई अभिव्यक्त गरेका छन् । 


जीवन त यस्तै रहेछ 
जेजस्तो पनि चल्दो रहेछ ।
स्मृतिमा मात्र नयाँ पन्ना थपिँदो रहेछ ।


‘समसामयिक विषय’ शीर्षकको संग्रहकै अन्तिम खण्डमा कविले पाँचओटा अलगअलग शीर्षकका कविता प्रस्तुत गरेका छन् । 


स्थापित कविहरूका दृष्टिमा कतिपय कविता कवितै नलाग्न पनि सक्लान् । तर, देश चिनाउने उद्देश्यले लेखिएका उनका कविता आफ्नो लक्ष्यमा खरो उत्रिएका छन् । १०२ पृष्ठमा त्यति नै संख्याका कविता समेटिएको पुस्तकको ६ सय रुपैयाँ मूल्य केही चर्कोजस्तो देखिन सक्छ । तर, कागजको गुणस्तर र पुस्तकको साजसज्जा हेर्दा स्वाभाविकै लाग्छ । यस संग्रहलाई घरको टी–टेबल या कफी सपहरूको टेबलमा राखिदिने हो भने यसबाट जोकोहीले चिया या कफीको चुस्कीसँगै देशदर्शनको मजा लिन सक्छ ।