• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
मुकुन्दराज शर्मा
२०८० भदौ ३० शनिबार ०७:५०:००
सम्झना

होर्ता

हेर्नेलाई दर्शक, सुन्नेलाई श्रोता । हेर्ने र सुन्ने दुवै भूमिका सँगै निर्वाह गर्नेको नाउँ अझै बनेको छैन । ‘होर्ता’ भन्दा हुन्थ्यो ।

२०८० भदौ ३० शनिबार ०७:५०:००
मुकुन्दराज शर्मा

 

एउटा ठूलो सभाहल । राम्रो छ । सजाइएको छ । खर्चिलो देखिन्छ । प्रकाशले भरिभराउ छ । झलमल्ल बलेका छन् बत्ती । म तल छु, जहाँ मजस्ता सामान्य व्यक्तिहरू बस्छन् । तिनको नाउँ हो दर्शक । श्रोता पनि हो । हेर्नेलाई दर्शक, सुन्नेलाई श्रोता । हेर्ने र सुन्ने दुवै भूमिका सँगै निर्वाह गर्नेको नाउँ अझै बनेको छैन । ‘होर्ता’ भन्दा हुन्थ्यो । स्वीकार्य हुँदैन । आफ्नै डम्फु ठूला छन् सबैका । म दर्शक बस्ने ठाउँमा छु, दर्शककै माझमा । ‘होर्ता’ हुँ म । मैले तीनवटा भूमिकाका लागि आफ्नो खटन गरेको छु– हेर्ने, सुन्ने र ताली पड्काउने । 


अर्को एउटा महत् भूमिका पनि छ– बुझ्ने र मनन गर्ने । तर, यो ऐच्छिक हो, नगर्दा पनि हुने । परीक्षामा अल्छी विद्यार्थीलाई जस्तै सुविधा छ । बफे डिनरमा मन पर्ने परिकार रोजेजस्तै । दुईथरीका अचार, सलाद भनिने काँक्रा, गाजर, मुला, टर्निप, अनि एउटा पापड, दुई धर्सा नुडल्स, एक छिटा दाल मखानी, एकचौथाई टुक्रा नान, चिकेन र फिसका एकएक टुक्रा, फलपूmल अनि आइसक्रिम, लालमोहन, जलेबी... छानीछानी । अथवा, गोलो टेबलको छेउमा बसेको अपरिचित मित्रको प्लेटजस्तै । बिरालोले उफ्रेर नाघ्न नसक्ने । भातको धौलागिरी र त्यसका उपर मासुको विशाल छानो । डिलबाट रस बगेर रसातल जाने बाटो खोज्दै छ । तलबाट उधिनेर खानुपर्ने । कतै पहिरो पो जाला कि ? 


यस तरहले विधा र विषय छान्ने सुविधा छ । धेरैले एक–दुईवटा भूमिकामै टार्छन् आफूलाई । कुरैपिच्छे कति ताली बजाइरहनु ? हजम नहुने कुरामा कसरी रमाउनु ? मन नपरी, घत नलागी ताली बजाउनु पनि सुन्दर सजाय हो– व्यर्थैमा वाहवाही गरेको । देउसुरे देउसुरे । कसैको बानी हुन्छ बेस्सरी ताली ठोक्ने । माझमा ओखर राखिदिए फुट्लाजत्तिकै । कोही औपचारिकता निभाउँछन् पिटीपिटी गरेर, माखो बल्लतल्ल उड्ने गरी । यस्ता भद्र व्यक्तिहरू प्रायः अग्रपंक्तिमा विराजमान हुन्छन्, क्यामेराकै सामुन्ने । कोही दायाँबायाँका ताली सुनेर ‘पावर न्याप’बाट जुरुक्क ब्युँझिन्छन् र ताली ठोक्न थाल्छन्, अशिष्ट भइएला कि भनेर । 


म यस्तै जमातको माझमा ‘होर्ता’ बनेर बसेको छु । मञ्च अलि टाढै छ । अग्लोमा छ । देखिन्छ । सुनिन्छ पनि ठुलाठुला यन्त्रहरू जो लगाएका छन् । सुन्नुपर्ने विषय र वाचक दुवैको आगमन हुन बाँकी छ । स्वागत भव्य होलाजस्तो छनक देखिन्छ । केही एकैरूपको पहिरन भिरेका मानिसहरूको फुर्तीफार्ती, दौडधुप, व्यस्तता हेर्दा त्यस्तो अनुमान गर्न सकिन्छ । म मनमनै शुभकामना व्यक्त गर्दै बसिरहेको छु– ‘चार आनाको मासु, बाह्र आनाको मसला’जस्तो नहोस् कार्यक्रम कतै । 

म तबसम्म हाँसोलाई हाँसो मान्दिनँ जबसम्म त्यो प्रफुल्ल मनबाट घतपूर्वक उम्लिएर बाहिर नआओस् । मन थाम्नै नसक्ने गरी पेटका लाम्टा दोब्रिउन्जेल, आँखाबाट आँसु चुहिन्जेल रमाएर हाँस्नु पो हाँस्नु । अडिन नसकेर धुलोमा पसारिँदै, मडारिँदै हाँस्नु पो हाँस्नु । सुतेको बालक ब्युँझिने गरी खित्का छोडीछोडी हाँस्नु पो हाँस्नु ।


आज मञ्चबाट पस्किने मेनु मेरो मगजमा घुसेकै छैन । भोक्ताअनुसारको भोजन हुनुपर्ने हो । मेरावरिपरिका मान्छेहरू आधीसरो मेरो उमेरभन्दा अलि धेरै माथिकै, आधीसरो तन्नेरी वयका । अधकल्चो मैमात्रै जस्तो । घोषणा भयो । महान् चिन्तक, दार्शनिक, अति विद्वान्, परोपकारी... आजका नायक... । मञ्चमा प्रवेश गर्नुभो । पररर ताली बज्यो । मञ्चतिर तेजिला नजर लगाउँदै सबैजना आसनबाट उठे...म पनि । मभन्दा माथिल्लो वयका, मभन्दा तल्लो वयका । यद्यपि, जरुरी थिएन । तथापि, चमर बोकेका सेवकहरूको लर्को छ अघिअघि पछिपछि (स्त्रीलिंग पुलिंग अन्य लिंग सबै) । सभाकक्ष वातानुकूलित नै थियो । यतिन्जेल मैले केही फरक सोचेछु । आफ्नो भरोसासँग मेल नखाने जुनसुकै कुरालाई आडम्बर ठान्नु मूर्ख हुनुको प्रमाण हो । प्रसिद्ध नाटककार विजय मल्ल एक दिन मेरो डेरामा (त्यसवेला) आएका बखत अर्को एउटा सन्दर्भमा भन्नुभएको सम्झिन्छु, “आइदर यु प्रुभ इट अर यु विलिभ इट ।” कि होइन भनेर प्रमाणित गर्न सक्नुप¥यो, नत्र विश्वास गर्नुप¥यो । मैले त्यो पनि सोचिभ्याएछु ।


अहिले म फेरि अधकल्चो अवस्थामा छु ।म आफ्नै खटनमा ‘होर्ता’ बनेर यहाँ आएको हुँ । तीनवटा भूमिकाका लागि मञ्जुरी दिएर । त्यसैले विमति हुनुपर्ने मसँग कुनै कारण छैन । निकैबेरदेखि कर्णप्रिय धुन बजिरहेछ । म शान्त मनले बसिरहेको छु । हेर्ने र सुन्ने वेला हुँदै छ । त्यसपछि ताली बजाउने पालो । मानिस कतिन्जेल धैर्य गरेर सुन्न सक्छन्, सुनेको कति स्मृत भएर बस्छ र बसेको कति व्यवहारमा प्रतिबिम्बित हुन्छ ? त्यो तपसिलमा राखिदिऊँ । तर, यस्ता प्रवचनप्रधान कार्यक्रममा वक्ताको तार्किक वाक्कलाले नै सबैलाई मोहित पार्छ । अझ कोयलकण्ठ बोली होस्, सम्प्रेषण शैली बिछट्टै रमणीय होस्, भोजनमा घिउ र गुन्द्रुकको पीरो अचार जोडेजत्तिकै हुन्छ ।


मलाई जुनसुकै कुराले धीरतापूर्वक बस्ने बनाउन कठिन छ । जीउभरि जुम्रा उम्रिएर म्याराथन प्रतियोगिता गर्न थाल्छन् । आज म धैर्यपूर्वक बसेको छु, सुन्दै छु, हेर्दै पनि छु । ताली बजेकै छैन, मै मात्र किन बजाऊँ निरोको बाँसुरी ? एक्कासि मेरा कान टनक्क टन्किएर दुख्लान्झैँ गर्न थाले । अनुहार रापिलो हुँदै आयो । आँखाका गेडी फैलिएर आँखाभित्र नअटाउलान्जत्रा भए । आँखीभौँ बटारिएर खरको जिउरोझैँ भए । 


मञ्चासीन नायकको महावाणी आयो– हाँसिरहनुस्, सुख बढिरहन्छ । सुख बढ्नु घट्नुतिर मलाई खासै आकर्षण रहेन । थियो । अब छैन । किनकि धेरै परिभाषामध्ये अत्यन्त दुर्बल र दरिद्र तवरले परिभाषित छ– सुख । अति बहुरूपी, छलकपटमा पोख्त, अस्थिर विषय । हिमाञ्चलका थुम्कातिरको कुइरोजस्तै । उड्ने र बस्ने टुंगो नभएको । परिभाषाले कुनै निश्चित गुण वा दुर्गुणलाई टेक्छ । सुख ऐना हो । अरूले प्रकाश नदिएसम्म छाया बनाउन सक्दैन । यो पनि म कसरी भनुँ ? सुख सबैले आ–आफ्ना तवरले भोगचलन गर्ने निजी सम्पत्ति हो । यसको सर्वमान्य सिद्धान्त नै छैन ।


यहाँ मलाई ‘हाँसिरहनुस्’ भन्ने शब्दले घोच्यो । श्रोता भएकाले सुन्नेबित्तिकै कानमा घोच्यो । र त कान टन्कियो । दर्शक भएकाले आँखामा घोच्यो र आँखाका गेडी सुन्निएर बाहिर निस्किए । कान र आँखाको ‘हेडक्वाटर्स’ मन हो । मन बर्बरायो र जीउको राप बढ्यो ।

किन ? हाँसिरहन को सक्छ ? हाँस्नलाई विषय चाहिन्छ । व्यर्थमा हाँस्दा कविजीलाई झैँ राँची पुर्‍याइदिने डर हुन्छ । हिजो म घरभित्रको झ्यालनेर एक्लै उभिएर खुबै हाँसेँ । बाहिर सडक किनारामा एकजना मानिस चिप्लिएर लड्यो । बल्ड्याङ खायो । उठ्न खोज्दा फेरि चिप्लियो । फेरि लड्यो । ऊ चिप्लिँदा, बल्ड्याङ खाँदा म खुब हाँसे । किनकि म मान्छे हुँ । यस्ता ईष्र्या, क्रोध र कुण्ठामा हाँस्ने विषय कति छन् कति । छरछिमेकमा । समाजमा । देशमा । सर्वत्र । 


हुन सक्छ हाँस्ने आआफ्नै ‘स्टाइल’ होस् । अभिमानले ढाडिएर निस्किएको खलनायकको कोलाहलपूर्ण हाँसो होस्, वीरता र पराक्रमयुक्त नायकको आत्मविश्वासी हाँसो होस्, घाँटीमा हाड अड्किएझैँ हिक्कहिक्क गर्ने चटकेको हाँसो होस्, मुसुक्क मुस्कुराउने लाजवन्ती हाँसो होस्, अलिकति ओठ ल्याप्राक्क पारेर हाँसेको अभिनय गर्ने कूटनीतिक हाँसो होस् । अथवा कसैलाई पन्छ्याउन च्यापु मात्रै तन्काएर हाँसेको कलात्मक हाँसो होस् ।


म तबसम्म हाँसोलाई हाँसो मान्दिनँ जबसम्म त्यो प्रफुल्ल मनबाट घतपूर्वक उम्लिएर बाहिर नआओस् । मन थाम्नै नसक्ने गरी पेटका लाम्टा दोब्रिउन्जेल, आँखाबाट आसु चुहिन्जेल रमाएर हाँस्नु पो हाँस्नु । अडिन नसकेर धुलोमा पसारिँदै, मडारिँदै हाँस्नु पो हाँस्नु । सुतेको बालक ब्युँझिने गरी खित्का छोडीछोडी हाँस्नु पो हाँस्नु ।रुद्रघन्टीभन्दा माथिबाट सबैजना एउटै लयमा, एकैनासले भर्खरै जसरी यो सभाहलको भित्ता चर्किने गरी हाँसे, त्यो त झुठो अभिनय हो । मिथ्या प्रयास । एउटा अट्टहास ।

मिस्टर महोदय, सुन । यो दुनियाँमा हाँसो हरण गर्ने गान्धारीपुत्र दुःशासनजस्ता दुःखहरू कोटिकोटि छन् । कीटपतंगभन्दा पनि धेरै । जीवन दरिद्र छ । छोरो गँजडी छ । छोरी पोइल गई । श्रीमतीलाई लकवा मारेको छ । पहिरोले बारी लग्यो । खोलाले पाँच मुरी खेत । बाख्राको गोठमा चितुवा पसेछ । लैनुभैँसीलाई थुनेलो भयो । तरकारीको भाउ आएन, सडकमा पोख्नु छ । खाडी जाँदाको ऋण निख्रिएको छैन । रुस–युक्रेन युद्धले भान्सा महँगो भयो । यसपालि पनि वृद्धभत्ता बढेन । सलह किरा उडिसके रे । लामखुट्टेको बिगबिगी छ । कोरोना फर्किन सक्छ भन्छन् । भुइँचालोले चर्किएको भित्तो टाल्न बाँकी छ । 


हाँसो खाद्य पसल, क्युरियो सपमा पाइने वस्तु होइन कि झोलामा थापेर ल्याउने । फार्मेसीबाट किनेर ल्याउने काँसोको ओखती होइन । बिहान एक चम्चा अनि फेरि बेलुकी एक चम्चा । यसको कारखाना हुँदैन । न फल्छ यो रासायनिक मल हालेर । मुठीको पाथी, मानोको मुरी ।निस्तो हाँसोले सुख बढ्दैन । दुखैदुःखको दलदलमा ठडिएर जब एउटा जीवन माथि आउँछ, त्यस दिन हाँसो नै स्वतस्पूmर्त हाँस्न थाल्नेछ ।


मिस्टर प्रवचक, आजका मञ्चाधिपति, तिम्रा खर्चिला शब्दहरूले मेरो मनको रथ टक्क अडियो । मेरो रथ मेरो मन हो । प्रकाशको गतिभन्दा तेज दगुर्न सक्ने रथ यही मात्रै हो । हाललाई तिम्रो हाँसोकथन यही सभाकक्षका भित्ताहरूलाई नासो राख्न दिएर म निस्किँदै छु । फेरि भेटौँला अर्को विमतिमा । आज तिम्रा लागि म ‘होर्ता’ भइदिएकोमा मलाई धन्यवाद ।
इति !