• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
हरि रोका
२०८० भदौ ३० शनिबार ०८:१५:००
इतिहास

चिलियन ‘कु’को ५० वर्ष

२०८० भदौ ३० शनिबार ०८:१५:००
हरि रोका

राष्ट्रपति निवासलाई ट्यांकसहित सेनाले घेरेका छन् । एक हुल मानिस निवासभित्र पसेर राष्ट्रपति साल्भाडोर अलेन्डेलाई राष्ट्रपति पदबाट राजीनामा दिइहाल्न धम्क्याउँछन् । वामपन्थीहरूको युनिडाड पपुलर गठबन्धनको तर्फबाट राष्ट्रपति बनेका अलेन्डेले राजीनामा नदिने प्रस्ट्याएपछि राष्ट्रपति भवनमाथि बमवार्डिङ गरिन्छ । राष्ट्रपतिलगायत अधिकांश मानिस मारिन्छन् र थोरै मात्र भाग्न सफल हुन्छन् । दक्षिण अमेरिकी मुलुक चिलेको राजधानी सेन्टियागोमा अवस्थित ला–मोनेदा दरबारमा सेप्टेम्बर ११, १९७३ मा घटाइएको घटना थियो यो । 


समाजवाद स्थापनाको लक्ष्य राखेर खुला र प्रतिस्पर्धी निर्वाचनमार्फत विश्वमै पहिलो सिंगो मुलुकमै सरकार बनाउन पुगेका अलेन्डेलाई एक कार्यकाल पूरा हुनै नदिई अपदस्थ गरेर हत्या गरिएको थियो । बीसौँ शताब्दीमा यो कु–देतालाई भयानक क्रूर घटनाको रूपमा गणना गरिन्छ । 


अलेन्डेको सत्तारोहरण समाजवादी/माक्र्सवादी आन्दोलनको एक ऐतिहासिक मिसाल थियो । यो लोकतान्त्रिक पद्धतिअनुरूप दक्षिण तथा मध्यपन्थी पार्टीहरूसँग चुनावी मुकाबिला गरेर सत्तारुढ हुन पुगेको थियो । रुसमा सन् १९१७ मा भएको बोल्सेभिक क्रान्ति, सन् १९४९ मा भएको चिनियाँ क्रान्ति र सन् १९५९ मा भएको क्युबाली क्रान्तिभन्दा पृथक् थियो । भारतको केरलामा सन् १९५७ मै कम्युनिस्ट पार्टीले चुनाव जितेको भए पनि चिलेमा अलेन्डेको नेतृत्वमा जितेको यो जित एउटा प्रान्तमा नभएर सिंगो देशको विजय भएकाले राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमै यसको ठूलो महत्व थियो । किनकि यो भौगोलिक रूपमा संयुक्त राज्य अमेरिकाभन्दा टाढा थिएन, जसले क्युबाको क्रान्तिलाई ध्वस्त पार्नका लागि पटक–पटक आर्थिक प्रतिबन्ध तथा सैन्य गतिविधिमार्फत प्रयत्न गरेको कुरा विश्वसामु लुकेको थिएन ।

 

अक्सफोर्ड बु्रक्स बिजनेस स्कुलको इमिरेट्स प्रोफेसर प्रितम सिंहका अनुसार अमेरिका चिलेको अलेन्डे सरकारलाई पाँचवटा कारणले क्युबाभन्दा पनि ठूलो खतरा महसुुस गर्थे । पहिलो, ल्याटिन अमेरिकामा सबैभन्दा खनिज स्रोतसाधन भएकाले दक्षिण अमेरिकामा ठूलो अर्थतन्त्र भएको मुलुकमा गनिन्थ्यो चिले, अहिले पनि संसारको सबैभन्दा बढी तामाखानी त्यहीँ छ । दोस्रो, क्युबासँग मिलेर अमेरिकी प्रभाव कम गर्न नयाँ गठबन्धन सुरु गर्न सक्छ । तेस्रो, सम्पूर्ण ल्याटिन अमेरिकाभरि चिलेले अंगीकार गरेको लोकतान्त्रिक निर्वाचनमार्फत सत्तामा पुग्ने खेल चम्किने पो हो कि ? जसले क्युबाको हतियारबन्द युद्धलाई इन्कार गरेको थियो । चौथो, अमेरिकी बहुराष्ट्रिय निगमहरू, जसले चिलेमा खानी तथा खनिजमाथि सम्पत्ति तथा विश्व शक्तिको बलमा कब्जा जमाएर नाफा कमाइरहेका थिए, ती सबैलाई राष्ट्रियकरण गर्ने पो हुन कि ? र, पाँचौँ तत्कालीन विश्वशक्ति सोभियत संघको पक्षमा लाइन लाग्ने पो हो कि (‘रिमेम्बरिङ साल्भाडोर अलेन्डेज सोसिलिस्ट चिले, फिप्टी इयर्स अन, दि वायर’ सेप्टेम्बर ११, २०२३) ।


चिलेमा राष्ट्रपति साल्भाडोर अलेन्डेको हत्यापछिको १५ वर्ष (१९७३–१९८८) मिलेटरी जुन्टाका प्रमुख अगस्तो पिनोचेको शासनमा विश्वमै सबैभन्दा ठूलो मानवअधिकारको हनन भएको थियो । मजदुर युनियन, प्राज्ञिक, कानुन व्यवसायी, विद्यार्थी, धेरै गिरफ्तार गरिए र थुनिए, कतिलाई गायब गरियो । राष्ट्रपति अलेन्डेको हत्यालगत्तै दुई हजार १३० को हत्या गरियो, ३० हजारभन्दा बढीलाई कडाभन्दा कडा शारीरिक सजाय दिइयो । 


राष्ट्रपति अलेन्डेका चिफ अफ स्टाफका रूपमा काम गरेका बाल–बाल बाँचेका एरिएल डर्फम्यान लेख्छन्, ‘त्यो देश, जहाँ अघिल्लो दिनसम्म सभा सम्मेलन, भाषण, संगठित हुने र अभिव्यक्तिको निर्बाध स्वतन्त्रता, संसद्मा स्वतन्त्रतापूर्वक बोल्ने र कारबाही गर्ने अधिकार, स्वतन्त्र न्यायपालिका र सेनाले राजनीतिमा कुनै पनि किसिमको हस्तक्षेप गर्न नपाइने संवैधानिक प्रावधान थियो, कु–देताको भोलिपल्टै सबै सकिए । हजारौँहजार तत्काल सेनाका सिकार भए ।

५० वर्षपछि अलेन्डेको एउटा ठूलो सपना भने साकार भएको छ । आज सम्पूर्ण ल्याटिन अमेरिका संयुक्त राज्य अमेरिकाको साम्राज्यवादी हैकमलाई चुनौती दिँदै एक्काइसौँ शताब्दीको समाजवाद हुर्काउन तल्लीन छ, जसलाई आज ‘पिंक कलर मुभमेन्ट’ भनेर पनि चिनिन्छ ।

 

हजारौँलाई अकस्मात नजरबन्द (बन्दी बनाइयो) गरियो । लाखौँ शरणार्थीका रूपमा विदेश लखेटिए, लाखौँलाई थुनामा राखेर यातना दिइयो, हजारौँ बेपत्ता बनाइयो । हजारौँले जागिरबाट हात धुनुपर्‍यो । सामान्य यी मानिसको यसमा के गल्ती थियो ? राष्ट्रपति अलेन्डेको लगभग हजार दिनको शासनमा नागरिक भएर श्वासप्रश्वास लिएबापत ?, प्राकृतिक स्रोत साधनमाथि राष्ट्रको अधिकार भएबापत ?, आममानिसको हकमा स्वास्थ्य र शिक्षामाथिको हक कायम गरिँदै लगेको विषयलाई समर्थन गरेबापत ?, भूमिसुधारमार्फत सामाजिक न्याय तथा श्रम–उत्पाकत्व बृद्धि गरेबापत ?, बैंक तथा वित्तीय संस्थामा आममानिसको पहुँच स्थापना गर्दै लगिएको कुरालाई समर्थन गरेबापत ? (‘फिप्टी इयर्स आफ्टर दि अदर नाइन एलेभेन :  रेमेम्बरिङ दि चिलियन कु’ दि नेसन, सेप्टेम्बर ११, २०२३) । सन् १९७३–१९८८ सम्मको जर्नेल अगस्तो पिनोचेको कार्यकालमा दुई हजार १३० व्यक्ति मारिएका थिए, ३० हजारलाई थुनामा राखेर टर्चर दिइएको थियो । 


०००
राष्ट्रपति अलेन्डे भुइँ/जमिन टेकेका नेता थिए । उनी पेसाले मेडिकल डाक्टर थिए । उनी पेसागत रूपमा चिकित्सक हुँदा ‘चिलियन हेल्थ कियर’ शीर्षकमा एउटा किताब नै लेखेका थिए । उनी चिलियन कम्युनिस्ट पार्टीको सदस्य नरहे पनि त्यसको उनी भरपर्दो मित्र थिए र चिलियन श्रमजीवी मजदुरहरूको पक्षपोषण गर्थे । तर, सन् १९३० तिरै केही साथीहरू मिलेर चिलियन समाजवादी पार्टी गठन गरेका थिए । पार्टी गठन गरेपछि उनी बन्दरगाह सहर भलपराइसोको स्थानीय नेता बने । सिटी पार्लियामेन्टमा स्वास्थ्यमन्त्रीका रूपमा काम गरे । उनी करिस्म्याटिक नेता थिए, अत्यन्त ऊर्जावान्, आत्मविश्वासले भरिएका, अनुशासित आमजनतासँग भिजेका कुशल राजनीतिज्ञ थिए ।

 

उनी १९६० को दशकमा चिलेको सिनेटमा सदस्य चुनिए र त्यसको सभापति पनि भए । संसद्मा धेरैपटक चुनाव जिते । १९७० सम्मै संसद् सदस्य भइरहे । वामपन्थीहरूको गठबन्धनको नेताको हैसियतमा सन् १९५२, १९५८ तथा १९६४ मा राष्ट्रपतिमा चुनाव लडे, पछिल्लोपटक उनी थोरै मतले पराजित हुन पुगेका थिए । उनी यी हारहरूलाई सम्झिँदै आफैँमाथि जोक बनाएर भन्ने गर्थे, ‘भविष्यको चिलेको राष्ट्रपति यता पल्टेको छ ।’ नभन्दै उनले सन् १९७० को निर्वाचनमा राष्ट्रपतिको चुनाव जिते । वास्तवमा उनी यस्ता राजनीतिक नेता थिए, जोे हाम्रा नेताजस्तो आश्वासनको धरहरा मात्र खडा गर्दैनथे, वास्तविक रूपमै जनतासँग गरेका वाचा पूरा गर्न त्यसलाई असाध्य क्रियाशील बनेर योजनाबद्ध आकार दिन्थे ।

 

उदाहरणका लागि चिलेमा रहेका तमाम तामाखानीलाई राज्यको अधिकार क्षेत्रभित्र पार्न चिलेको संसद्मा एकमत बनाएर राष्ट्रियकरण गरेका थिए । शिक्षा र स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउन यी दुवै क्षेत्रलाई राज्यको दायित्वभित्र ल्याए । भूमिसुधार गरेर सर्वसाधारण गरिब किसानको हातमा जमिनको पहुँच पुर्‍याए (भिक्टर फिगेरुवा ९.११.२०२३, ‘हाफ सेन्चुरी आफ्टर हिज डेथ, साल्भाडोर अलेन्डेज इज स्टिल प्रेजेन्ट अमोङ अस’, ज्याकोविन) ।

तीन वर्षभित्र अलेन्डे सरकारले सबैभन्दा पहिला भूमिसुधार लागू गर्‍यो । मुख्य ठूला उद्योग, खानी र खनिजहरूको राष्ट्रियकरण गर्‍यो र सर्वसाधारण जनताका लागि आवास (घर) बनाउने काम अगाडि बढायो । माथि उल्लेख गरिएझैँ शिक्षा र स्वास्थ्यको दायित्व राज्यले आफ्नो काँधमा लियो । बालबच्चा र महिलाको हक–अधिकार विशेष रूपमा स्थापित ग¥यो ।


वामपन्थी खेमाका फ्रान्सेली दर्शनशास्त्री, पत्रकार र प्राज्ञ जुलिएस रेगिस देब्रेले साल्भाडोर अलेन्डेसँग राष्ट्रपति निर्वाचन भएलगत्तै एउटा अन्तर्वार्ता लिएका थिए । स्पेनिस र फ्रेन्च भाषामा छापिएको उक्त अन्तर्वार्ता सन् १९७१ मा ‘न्यु लेफ्ट बुक’मा छापिएको थियो । सन्दर्भ पारेर ज्याकोविनले यसपटक साभार गरेको छ । वास्तवमा उनी आफ्नो विश्वासप्रति अटल थिए, जनताप्रति उनको कस्तो प्रतिबद्धता थियो भन्ने सुरुकै वार्तामा देखिन्छ । जस्तो एउटा उदाहरण हेरौँ :


रेगिस देव्रे : कमरेड प्रेसिडेन्ट, शक्तिमा पुगेपछि मान्छे बदलिँदो रहेछ ?


साल्भाडोर अलेन्डे : अच्छा रेगिस, जनताले मलाई पहिला ‘कमरेड अलेन्डे’ भनेर सम्बोधन गर्थे । अहिले कमरेड प्रेसिडेन्ट भन्छन् । वास्तमा म मेरो जिम्मेवारीप्रति अत्यन्त सजग छु ।


रेगिस : राज्यको प्रमुख बनेपछि एउटा संघर्षशील समाजवादी बदलिँदो रहेछ ?


अलेन्डे : होइन, एउटा समाजवादी राज्यको प्रमुख (हेड अफ स्टेट) हुँदा पनि समाजवादी नै रहन्छ, तर उसको काम वास्तविकतासँग मेल खाने र समन्वयकारी भने अवश्य हुन जरुरी हुन्छ ।


रेगिसले आफ्नो अन्तर्वार्ताका क्रममा उनको सैद्धान्तिक वैचारिक आधारबारे पनि प्रश्न गरेका छन् । जस्तो, रेगिस देव्रेले सोधे, ‘कम्युनिस्ट नभएर तपाईं किन समाजवादी ?’


साल्भाडोर अलेन्डेले भने, ‘हामीले जब समाजवादी गठन गर्‍यौँ, त्योभन्दा अगावै कम्युनिस्ट पार्टी अस्थित्वमा आइसकेको थियो । तर, हामीले चिलेको अवस्थाबारे विश्लेषण गर्‍यौँ, हामीलाई लाग्यो एउटा छुट्टै समाजवादी पार्टीको आवश्यकता छ । दर्शन र सिद्धान्तमा हामी कम्युनिस्ट दर्शन र सिद्धान्तभन्दा बाहिर छैनौँ । दुवैले माक्र्सवादी ऐतिहासिक व्याख्यालाई नै पछ्याउने हो । तर, यसको प्रकृति संकुचित भएर होइन, अन्तर्राष्ट्रिय रूपमा स्वतन्त्र हुन आवश्यक छ । त्यसको अर्थ अन्तर्राष्ट्रिय सर्वहारवादवाट अलग भन्ने कदापि होइन... ।’


रेगिस : मैले के बुझेँ भने कुनै एक समय कुनै हदसम्म सेक्टरियनिजम हुन्छ भन्न खोजेको हो... ?’


अलेन्डे :  हो, वास्तवमा कम्युनिस्ट पार्टी चरित्रगत हिसाबले संकुचित थियो, आफैँभित्र मात्र केलाउने जस्तो, र हामी उही विचार हुँदाहुँदै पनि बढी फराकिलो हुन चाहन्थ्यौँ, कसैको करकाप होइन, स्वतन्त्र हुन चाहन्थ्यौँ, हामी चिलेको समस्यालाई चिलिएयन आँखाबाट हेर्ने र त्यसअनुसार स्वतन्त्र ढंगले योजनाबद्ध कार्यान्वयन गर्न चाहन्थ्यौँ । कुनै अन्तर्राष्ट्रिय शक्ति वा उनीहरूले निर्धारण गरेको क्राइटेरियाभन्दा स्वतन्त्र हुन चाहन्थ्यौँ र अहिले पनि चाहन्छौँ ।’ उनले अन्तर्वार्ताका क्रममा लेनिनको भनाइ दोहोर्‍याउँदै भनेका थिए, ‘क्रान्तिकारी विचार नभईकन क्रान्तिकारी क्रियाकलाप हुन सक्दैन । तर, म वास्तवमै काममा विश्वास गर्ने मान्छे हुँ ।’ त्यो अन्तर्वार्तामा उनको प्रतिबद्धता र उनको कम्युनिस्ट पार्टीसँगको सैद्धान्तिक वैचारिक भिन्नता कति थियो ? र, उनको पछिल्लो भनाइ कता लक्षित थियो भन्ने कुरा त राजनीतिको कखरा बुझ्नेले सहजै बुझ्छ, रेगिस देव्रेले नबुझ्ने त कुरै थिएन । 


०००
तीन वर्षभित्र अलेन्डे सरकारले सबैभन्दा पहिला भूमिसुधार लागू गर्‍यो । मुख्य ठूला उद्योग, खानी र खनिजहरूको राष्ट्रियकरण गर्‍यो र सर्वसाधारण जनताका लागि आवास (घर) बनाउने काम अगाडि बढायो । माथि उल्लेख गरिएझैँ शिक्षा र स्वास्थ्यको दायित्व राज्यले आफ्नो काँधमा लियो । बालबच्चा र महिलाको हकअधिकार विशेष रूपमा स्थापित गर्‍यो । योजना निर्माण तथा कार्यान्वयनमा आमसहभागिता बढायो । असंलग्न परराष्ट्र नीति अवलम्बन गर्‍यो र दक्षिण अमेरिकन राज्यबीच आपसी सहयोग र सद्भाव बढाउने, एक–अर्कामा अहस्तक्षेप नीतिलाई जोड दिने घोषणा गर्‍यो । तर, दुर्भाग्यवश भन्नुपर्छ, सिनेटमा यी विषयमा सहमति जुट्न सकेन र समाज धु्रवीकृत हुन पुग्यो । वासिंगटन डिसीबाट विचार र दाम पाएका विपक्षीहरूले आफ्ना कुरामा टसमस नहुने गरी हिंस्रक घटना बढाउँदै लान थाले (ज्याम्स दाउवेक (सेप्टेम्बर १०, २०२३), दि युएसस सेट दि स्टेज फर अ कुप इन चिले, इट ह्याड अनइन्टेन्डेड कन्सिक्वन्सेज एट होम, एन.पी.आर) । 

अलेन्डे राष्ट्रपति निर्वाचित भएकोमा अमेरिका खुसी थिएन । उनीहरूले अलेन्डेलाई बधाई पनि दिएनन् । अलेन्डे राष्ट्रपतिको कुर्सीमा बस्नुअघि नै अमेरिका उनलाई अपदस्थ गर्न चाहन्थ्यो । चुनावअघि नै सक्रिय रहेको सिआइएले पूर्वजर्नेल रोबर्टो भियाक्समार्फत कु गराउन पनि खोज्यो, तर त्यो बहालवाला जनरल रेनेस नाइडरका कारण कु असफल भयो ।


वास्तवमा राष्ट्रपति अलेन्डेले सेप्टेम्बर १० कै दिन फौजी जुन्टा शक्ति हत्याउन लागिपरेको छ भन्ने कुरा थाहा पाएका थिए । किनकि चिलेका मुख्य बन्दरगाहमा जल सेनाले कब्जा गरिसकेको समाचार आइसकेको थियो । आवधिक रूपमा निर्वाचित सरकारलाई भविष्यमा हुने अर्को आवधिक निर्वाचनबाहेक कानुनतः राष्ट्रपतिलाई हटाउन सक्ने कुनै वैधानिक प्रावधान थिएन । तर, राष्ट्रपति अलेन्डे साम्राज्यवाद र फासीवादीहरू फौजी जुन्टालाई माध्मम बनाएर सत्ता हत्याउन उद्यत हुन सक्छन् भन्नेमा पनि सजग नै थिए ।


अलेन्डे राष्ट्रपति निर्वाचित भएकोमा अमेरिका खुसी थिएन । उनीहरूले अलेन्डेलाई बधाई पनि दिएनन् । अलेन्डे राष्ट्रपतिको कुर्सीमा बस्नुअघि नै अमेरिका उनलाई अपदस्थ गर्न चाहन्थ्यो । चुनावअघि नै सक्रिय रहेको सिआइएले पूर्वजर्नेल रोबर्टो भियाक्समार्फत कु गराउन पनि खोजे, तर त्यो बहालवाला जनरल रेनेस नाइडरका कारण कु असफल भयो । तर, उनी गम्भीर रूपमा घाइते हुन पुगे । यसरी कुको सम्भावना टरेपछि अक्टोबर २४ मा नवनिर्वाचित राष्ट्रपतिलाई सिनेटले राष्ट्रपति पदमा १५३ का विरुद्ध ३५ मतले स्वीकार गर्‍यो । २५ तारिकको न्युयोर्क टाइम्सले पहिलो पृष्ठमै असन्तुष्टि जनाउँदै एउटा रिपोर्ट छाप्यो, जसको सार थियो– प्रेसिडेन्ट इलेक्टलर, उसको गठबन्धनले खानी र मुख्य उद्योगहरूको राष्ट्रियकरण गर्नेछ, बैंक तथा इन्स्योरेन्स कम्पनी र वैदेशिक व्यापारको जिम्मा राज्यलाई दिइनेछ, ...र निजी व्यक्ति र कम्पनीको अधीनस्थलाई भूमिसुधारका नाममा वितरण गर्नेछ । 


राष्ट्रपतिमा इन्डोर्स पाएको भोलिपल्टै घाइते कमान्डर इनचिफ रेनेस नाइडरको देहावसान हुन पुग्यो । यसरी सुरुदेखि नै अमेरिका सत्तापलटका लागि तम्तयार भएको थियो । किन भन्ने तत्कालीन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनका नेसनल सेक्युरिटी एड्भाइजर रहेको हेनरी किसिन्जरले आफ्नो डायरी (जो पछि प्रकाशित भयो) मा यसरी उद्धृत गरेका छन्, ‘अलेन्डे निर्वाचित भएपछि अमेरिकाको राष्ट्रिय हितमा चुनौती थपिएको छ । यो चाँडै क्युबा जस्तै भएर निस्कनेछ र चाँडै सोभियत संघसँग सम्बन्ध बनाउन अघि सर्नेछ (सेवेस्टायन एडवार्ड, सेप्टेम्बर ८, २०२३, ‘चिलेज नाइन एलेभेन फिप्टी इयर्स लेटर, प्रोजेक्स सिन्डिकेट’) ।’ तर, किसिन्जर र निक्सन दुवै गलत थिए भन्ने कुरा रेगिस देव्रेसँगको वार्ताले पनि पुष्टि गर्छ ।

 

अलेन्डे वास्तवमा चिले र सम्पूर्ण ल्याटिन अमेरिकी स्वतन्त्रताको पक्षपोषणमा खडा भएका थिए । त्यो हिसाबले उनी वासिंटन वा मस्को के रोज्ने भन्ने पक्षमै थिएनन् । उनी चिलेका आमजनता खासगरी महिला र बालबालिकाको पक्षमा सामाजिक, राजनीतिक सांस्कृतिक पहुँच विस्तार गरेर संसारमा चिलेको नाम रोशन गर्न चाहन्थे । त्यसका लागि चिले राजनीतिक र आर्थिक रूपमा सार्वभौम हुन जरुरी थियो (थोमस प्याले, सेप्टेम्बर ११, २०२३, मन्थ्ली रिभ्यु) । 


०००
अलेन्डेका निमित्त समाजवादको अर्थ आर्थिक तथा राजनीतिक रूपमा सार्वभौम हुनु थियोे । वास्तवमा उनी क्रान्तिकारी प्रजातन्त्रवादी थिए । राजनीतिक प्रजातन्त्रको अर्थ लोकप्रिय आन्दोलनभित्र या बाहिर दुवैमा बहुलवाद हो भन्ने मान्थे । र, लोकप्रिय आन्दोलन समाजवादी, कम्युनिस्ट, प्रजातन्त्रवादी, जन्ड सुधारवादी, क्रान्तिकारी, समाजवादीको भूमिकासहितको प्रजातन्त्र भन्ने उनको ठहर थियो र आर्थिक प्रजातन्त्र भन्नाले लोकतान्त्रिक वितरण थियो र सम्पूर्ण जनताको हितमा मुलुकभित्र रहेका खानी तथा खनिज वा उद्यमको उपयोगमा सबैले फाइदा प्राप्त गर्नुपर्छ भन्ने थियो । जसलाई मुलुकभित्रका सामन्त, नवसामन्त र बहुराष्ट्रिय कम्पनीहरूसँग जोडिएका बिचौलियाहरू मन पराउँदैनथे । साम्राज्यवादी शक्तिहरू कुनै एउटा तेस्रो विश्वको मुलुक आर्थिक र राजनीतिक रूपमा सार्वभौम हुँदा आफ्नो राष्ट्रिय हित हुन्न भन्ने ठान्थे र अहिले पनि ठान्छन् । 


५० वर्षअघि चिलेमा भएको फौजी कु–देतामा राष्ट्रपति अलेन्डे र उनका सहयोगी मित्रहरू मात्र मारिएका थिएनन्, चिलियन जनतालाई मात्र सकस भएको थिएन, अमेरिकाको सिकागो विश्वविद्यालयको मिल्टन फ्राइडमेनको नेतृत्वमा रहेको सिकागो स्कुल अफ इकोनोमिक्सको नवउदारवादी प्रयोगशालाको मूल थलो बनाइएको थियो, अलेन्डे अपदस्थपछिको चिलेलाई । आज संसार त्यसैको सिकार भएको छ । गरिब र धनी देशहरूमाझ मात्र होइन, देशका जनताबीच पुर्नै नसकिने खाडल बनेको छ, जसबाट मुक्ति पाउन अहिले संसारका सबै मुलुक आआफ्नो ठाउँमा भिडिरहेका छन् ।


५० वर्षपछि अलेन्डेको एउटा ठूलो सपना भने साकार भएको छ । आज सम्पूर्ण ल्याटिन अमेरिका संयुक्त राज्य अमेरिकाको साम्राज्यवादी हैकमलाई चुनौती दिँदै एक्काइसौँ शताब्दीको समाजवाद हुर्काउन तल्लीन छ । जसलाई आज ‘पिंक कलर मुभमेन्ट’ भनेर पनि चिनिन्छ । सन् २०१९ को चिलेमा भएको विद्रोहपछि समाजवादउन्मुख समाज निर्माण गर्न र नवउदारवादी पुँजीवादलाई परास्त गर्न ३५ वर्षीय युवा गाब्रियल बोरिकलाई चिलेका जनताले सत्ता सुम्पिएका छन् । उनले सेप्टेम्बर ११, २०२३ मै अलेन्डेको पदचाप पछ्याइरहेको बताएका थिए । 


आर्थिक तथा सामाजिक न्याय, साँचो अर्थमा राजनीतिक स्वतन्त्रता र आर्थिक सामाजिक सार्वभौमिकता प्राप्त गर्न पुँजीवाद, फासीवाद र नाजीवाद तथा साम्राज्यवादका अगाडि घुँडा नटेकेका राष्ट्रपति अलेन्डे र ज्ञात–अज्ञात चिलेका सहिदहरू, लडाकुहरू र शान्तिपूर्ण आन्दोलन र विद्रोहबाट पनि समाजवाद हासिल गर्न सकिन्छ भनेर प्रयत्न गर्नेहरूप्रति हार्दिक श्रद्धासुमन ! प्रतिक्रान्तिको छाया सल्बलाइरहेको वर्तमान नेपालमा आफूलाई क्रान्तिकारी, कम्युनिस्ट, समाजवादी, सामाजिक जनवादी ठान्नेहरूले एकपटक चिले कू–देतापछि स्थापित भएको नवउदारवादी अँध्यारो त्रासदीलाई अध्ययन गर्दा राम्रै होला ।