• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
कल्पना चिलुवाल
२०८० भदौ ३० शनिबार ०८:३७:००
साहित्य

लासले सन्तान कुर्ने देश

२०८० भदौ ३० शनिबार ०८:३७:००
कल्पना चिलुवाल

कहिले
आमाबाबाको लासले
परदेशिएको सन्तान कुर्छ

 

कहिले 
परदेशिएको सन्तानको लास
आमाबाबुले कुर्छन्

 

लाग्छ, लास कुर्ने प्रतिस्पर्धामा
दौडिरहेछ मेरो देश

 

कतै रहरले
कतै सोखले
कतैै बाध्यताले
कतै देखासेखीले
बग्दैबग्दै गइरहेछन्
होनाहार छोराछोरीहरू

 

सन्ताप छ
आमाबाबाको मनमा
सन्ताप छ
छोराछोरीको मनमा

 

बाँचुन्जेल मनले कुर्छ सन्तान
मरेपछि लासले कुर्छ सन्तान

 

सन्तान छन् उच्चपदस्थहरूका विदेशमा
सन्तान छन् मध्यम वर्गका विदेशमा
सन्तान छन् निम्नवर्गका विदेशमा

 

सबका सन्तान बढारेर लगिरहेछ
कतै सुविधाको कुचोले
कतै कमाइने दुई–चार पैसाले

यो कस्तो सिस्टम हो देश को ?

 

विदेशमा छन् सन्तान
स्वदेशमा आमाबाबु
कहिले सासले सन्तान कुर्छन्
कहिले लासले सन्तान कुर्छन् ।