• वि.सं २०८२ बैशाख २९ आइतबार
  • Sunday, 11 May, 2025
झलनाथ खनाल
२०८० भदौ ३० शनिबार ०९:०७:००
सम्झना

मेरा बालसखा सुवास : सुवास कमरेडको त्यो सहयोग म कहिल्यै बिर्सन सक्दिनँ

२०८० भदौ ३० शनिबार ०९:०७:००
झलनाथ खनाल

पूर्वप्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल र संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङ स्कुल र कलेजका सहपाठी मात्रै होइनन्, राजनीतिको एउटै डुंगामा सवार इलामबाट उदाएका नेता पनि हुन् । बालसखा खनाल र नेम्वाङले एउटै पार्टीमा झन्डै ५० वर्ष राजनीतिक सहयात्रा गरे । नेम्वाङको निधनपछि विभाजित पार्टी एकताको कार्यभार पूरा गर्ने सल्लाह अधुरै रहेको खनाल बताउँछन् । नेम्वाङसँगका स्मृति खनालले शुरोजंग पाण्डेसँग यसरी सम्झिए :

 

मेरा बालसखा सुवास
कमरेड सुवास र म इलाम जिल्लादेखिकै बालसखा हौँ । साँखेजुङ मिडिल स्कुलमा ६ कक्षा उत्तीर्णपछि म जिल्ला सदरमुकामको आदर्श माविमा माथिल्लो कक्षामा भर्ना हुन आएँ, जहाँ सुवासजी पनि भर्खरै सात कक्षामा भर्ना हुनुभएको रहेछ । पहिलो कक्षाअघि प्रधानाध्यापकलाई भेट्न कार्यकक्षतिर जाँदै गर्दा सुवासजी बीचैमा भेटिनुभयो । चिनजान थिएन, तर मैले उहाँलाई सोधेँ,‘हेडसरको अफिस कता हो ?’ उहाँले भन्नुभयो, ‘तपाईं कहाँबाट आउनुभाको ?’ उहाँको प्रश्न खस्न नपाउँदै मैले आफ्नो परिचय दिएँ । उहाँले पनि आफ्नो परिचय दिनुभयो । त्यही दिनदेखि हामी साथीसाथी भयौँ । मलाई प्रस्ट सम्झना छ, पहिलो भेटमा उहाँ पातलो ज्यानको फुच्चे देखिनुहुन्थ्यो । दुवैजना हेडसरको अफिस गयौँ । त्यसपछि हामी एउटै कक्षाका साथी भयौँ । पछि हामी दुवैले त्यही स्कुलबाट एसएलसी उत्तीर्ण गर्‍यौँ ।


सुवासजी इमानदार, अध्ययनशील र नियमित स्कुल आउने विद्यार्थी हुनुहुन्थ्यो । म कक्षाको कहिले फस्ट त कहिले सेकेन्ड हुने विद्यार्थी थिएँ । जसले गर्दा कक्षामा मनिटरको भूमिका पनि निभाउँथे । ६५ वर्षअघिका दिनलाई फर्किएर हेर्दा हाइस्कुलमा हामीले जुन जीवन बितायौँ, त्यस हिसाबले उहाँ एकजना मिलनसार, अध्ययनशील, अनुशासित विद्यार्थी मात्र होइन, खेलकुदमा पनि रुचि राख्ने विद्यार्थी हुनुहुन्थ्यो । सुरुका दिनमा क्यारेमबोर्ड खेल्न रुचाउने सुवासजी पछि फुटबल खेलाडीका रूपमा पनि अगाडि बढ्नुभयो । अध्ययनमा औसत भए पनि सुवासजी त्यतिवेलैदेखि लगनशील हुनुहुन्थ्यो । सानो कदको भएकाले होला, सबै साथीहरूले अलि ‘फुच्चे’ ठानेर उहाँलाई माया गर्थे ।


इलाम फर्किएर सभापति 
एसएलसीपछि हामीले साइन्स पढ्ने विचार गर्‍यौँ । सुवास नेम्वाङ, म, सुधीर सिवाकोटी, मानबहादुर खड्गीलगायतका साथीहरू साइन्स पढ्ने उद्देश्यले काठमाडौं आयौँ । अमृत साइन्स क्याम्पस पढ्न चाहेका थियौँ, तर त्यता सिट फुल भइसकेकाले हामीले भर्नाको विकल्प त्रिचन्द्र क्याम्पस रोज्यौँ । त्यहाँ पनि सिट फुल भएपछि के गर्ने समस्या भयो । त्यसपछि नयाँ सिट माग गर्दै आन्दोलन सुरु गर्‍यौँ । पढ्न नपाउने साथीहरूलाई गोलबन्द गरेर निकै दिनको आन्दोलन चर्काएपछि क्याम्पस प्रमुख वार्तामा बस्न बाध्य भए । हाम्रो आन्दोलनले क्याम्पस प्रशासन करिब साँढे तीन सय सिट थप्न बाध्य बन्यो । पढ्न चाहने करिब दुई हजार विद्यार्थीमध्येबाट सीमित त्यही सिटमा प्रतिस्पर्धा गरेर सुवासजीसहित हामी आइएसई भर्ना भयौँ । यद्यपि, सुवासजी आन्दोलनमा भने सरिक हुनुभएको थिएन । 


आठ कक्षा पढ्दादेखि नै वामपन्थी विचारतिर झुकाव राख्ने भएकाले सजिलैसँग म अनेरास्ववियुको राजनीतिमा सामेल भएँ । तर, उहाँ लाग्नुभएन । उहाँलाई आफ्नै पारिवारिक परिवेशले गर्दा विद्यार्थी राजनीतिमा सामेल हुन अप्ठ्यारो भएको हुन सक्छ । खासमा उहाँको बुबा त्यतिवेलैको नाम चलेको न्यायधीश । अनि सुवासजी राजसभा सदस्य सरस्वती राईको घरमा बस्नुहुन्थ्यो । हामीले ल्याबका समस्या, स्ववियु स्थापनालगायतका अनेक विषयमा संघर्ष गर्‍र्यौँ, कैयौँपटक हडताल गर्‍यौँ, तर उहाँलाई जति प्रयत्न गर्दा पनि सामेल गर्न सकिएन । कहिलेकाहीँ त कतै हाम्रो विरोधी पो हो कि भान पनि हुन्थ्यो । कक्षामा म रुचिपूर्वक सहभागी हुन्थेँ, ध्यान दिएर सुनेको भरमा नोट तयार गर्थे, तर अरू साथीहरूको त्यस्तो स्वभाव थिएन । सुवासजीसहित साथीहरूले नोटबारे छलफल गर्नुहुन्थ्यो । इलामबाट भर्ना भएकामध्ये मैले मात्र आइएसई उत्तीर्ण गरेँ । उहाँ फेल हुनुभयो र शंकाय परिवर्तन गरेर मानविकी पढ्न सुरु गर्नुभयो ।

संसद् विघटनबारे सुवास कमरेडसँग मैले पटकपटक कुरा गरेँ । उहाँले विघटनलाई कहिल्यै समर्थन गर्नुभएन । हामीले जुन ढंगले संविधान बनायौँ, त्यस ढंगले उपयोग गर्न सकेनौँ भन्ने उहाँको अभिमत थियो ।


बिएसई पहिलो वर्षको पढाइ बीचैमा छाडेर म पूर्णकालीन राजनीतिमा लागेँ । जेल परेँ, केही समयपछि इलाम फर्किएर नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी गठन गरेँ । यी घटनाक्रम २०२६ सालतिरको हो । जतिवेला सुवासजी काठमाडौंबाट इलाम फर्किएर महेन्द्ररत्न क्याम्पसमा बिएमा भर्ना हुनुभएको रहेछ । भेट भएपछि सुवास कमरेडसँग घनिभूत कुराकानी हुन थाल्यो, अनि सुवासजी पनि प्रगतिशील धारको राजनीतिमा सामेल हुनुभयो । हामीले पछि उहाँलाई नै त्यस क्याम्पसको स्ववियु सभापति बनायौँ । उहाँले विद्यार्थी आन्दोलन उठाउनेदेखि क्याम्पसमा धेरै राम्रो काम गर्नुभयो । त्यस क्याम्पसमा लगातार चुनाव जित्दै गयौँ । मलाई पनि सुवासजीले बिए अध्ययनका लागि प्रेरित गर्नुभयो । २८ दिन पढेर त्यही क्याम्पसमा बिएको परीक्षा दिएँ र पास भएँ । 


यसरी बन्नुभयो संविधानसभा अध्यक्ष
बिए पास गरेपछि सुवासजी बिएल पढ्न काठमाडौं आउनुभयो । पिताजी न्यायाधीश भएकाले पनि उहाँलाई कानुन पढ्न प्रेरित गर्‍यो । बिएल पूरा गरेर उहाँ कानुनी क्षेत्रमा लाग्नुभयो म भने पूर्णकालीन राजनीतितिरै क्रियाशील भएँ । ‘कोके’(कोअर्डिनेसन केन्द्र)लाई ०३५ मा माले बनायौँ । माले कालमै संयुक्त वाममोर्चा बनाएर कांग्रेससँग पनि कार्यगत एकता गरेर ०४६ को आन्दोलन सफल बनायौँ । त्यतिवेलासम्म हाम्रो पार्टी नेकपा माले भित्रभित्रै देशव्यापी रूपमा फैलिसकेको सुदृढ पार्टी बनिसकेको थियो । अन्तरिमकालपछिको ०४८ को पहिलो निर्वाचनमै हाम्रो पार्टी ६९ सिट जितेर प्रमुख प्रतिपक्षी दल बन्न सफल भयो । त्यसपछि राष्ट्रिय सभा पनि गठन हुने भएपछि हामीले पार्टीमा सुवास कमरेडलाई पठाउने विषयमा छलफल गर्‍यौँ । कानुनी क्षेत्रमा अधिवक्ताका रूपमा क्रियाशील भए पनि त्यतिवेला उहाँले हाम्रै धारबाट त्यस क्षेत्रमा काम गरिरहनुभएको थियो ।

 

०२९ सालदेखि नै उहाँले भूमिगत होइन, जनसंगठनको अग्रमोर्चामा रहेर खुला रूपमा काम गरिरहनुभएको थियो । उहाँलाई राष्ट्रिय सभा सदस्य बनाइयो । दुई कार्यकाल राम्रै काम पनि गर्नुभयो । दल ठूलो भइसकेकाले प्रतिनिधिसभा सभामुखमा उहाँ त्यतिवेला योग्य उम्मेदवार देखिनुभयो । कानुनी क्षेत्रको ज्ञान भएको विद्वान् पनि, वरिष्ठ अधिवक्ता पनि भएकाले उहाँलाई इलामबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार उठाउने कुरा चल्यो । मैले नै उहाँसँग कुराकानी गरेँ । तर, तलबाट जितेर आउन सजिलो हुने हो कि होइन, खर्च पनि धेरै हुने हो कि, संगठनको ज्ञान छैन त्यसैले जितिँदैन कि भन्ने उहाँलाई शंका थियो । तथापि, हामीले कन्भिन्स गर्‍यौँ । मैले इलाम १, उहाँले २ नम्बर क्षेत्रबाट चुनाव जित्यौँ । पछि उहाँलाई पार्टीले सभामुख पनि बनायो । 


सभामुख बनेर प्रतिनिधिसभा सञ्चालन गर्ने कुरामा, सञ्चालन गर्ने नियमावली बनाउने, ऐन, कानुन पास गर्ने कुरामा उहाँले निकै राम्रो भूमिका खेल्नुभयो । त्यस हिसाबले उहाँ एक कुशल सभामुख हुनुहुन्थ्यो । राष्ट्रिय सभामा हुँदा पनि उहाँले एउटा राम्रो जनप्रतिनिधिका रूपमा भूमिका खेलिसक्नुभएको थियो । देशमा एकातिर माओवादीको नेतृत्वमा देशव्यापी हिंसात्मक गतिविधि फैलियो, अर्कोतर्फ दरबार हत्याकाण्ड भएर राजा ज्ञानेन्द्र तानाशाही गतिविधिसहित जथाभावी संविधान कुल्चिएर हिँड्न थालेँ । यी दुई उग्र प्रवृत्तिको भिडन्तमा १९ माघको घटना भयो । सम्पूर्ण सत्ता हातमा लिएर ज्ञानेन्द्रले जनतालाई अधिकारबाट वञ्चित गरे । संसद् विघटन गरेर उनले घोर तानाशाही कुचक्र सुरु गरे । हामी सबै मिलेर कुचक्रविरुद्ध आन्दोलन सुरु गर्‍यौँ । सुवासजी पनि जनआन्दोलनमा सक्रिय रूपमा सहभागी हुनुभयो । 

खर्च नभएका कारण उपचार गरौँ कि नगरौँ दोधारमा परेँ । नगरौँ रोग रहेछ भने बर्बाद हुने भयो, गरौँ खर्च छैन । त्यतिवेला जागिर केही थिएन । पार्टी बनाउँछु भनेर पूर्णकालीन भएर हिँडेको थिएँ । मेरो समस्या सुवासजीले बुझ्नुभयो । उहाँ हुनेखाने परिवारकै मान्छे । तराईतिर पनि जमिन भएको, पहाडमा हुनेखाने परिवारको न्यायाधीशको छोरा भएकाले उहाँले भन्नुभयो, ‘ठीक छ म सहयोग गर्छु ।’


पुनस्र्थापित संसद्मा पनि कांग्रेस र हाम्रोबीचमा संविधानसभाको निर्वाचनतर्फ जानुपर्ने भएकाले कानुनको जानकार भएको, राम्रो भूमिका खेल्न सक्ने व्यक्ति सुवासजीलाई नै सभामुख बनाउँदा उपयुक्त हुने गरी छलफल चल्यो र अरू पार्टीले पनि त्यसलाई समर्थन गरे । संविधानसभाको पहिलो निर्वाचनमा माओवादी पहिलो पार्टीका रूपमा आयो । हामीले माओवादीप्रतिको सेन्टिमेन्ट चिर्न सकेनौँ । केपी ओली, माधव नेपालले चुनाव हार्नुभयो, मैले मात्रै चुनाव जितेँ । त्यसपछि फेरि पनि सुवासजीको शालीनता, तर्क शक्ति, संवैधानिक विज्ञतालाई ध्यानमा राखेर उहाँको नाममा सबै दलमा एकमत बन्यो र उहाँ संविधानसभा अध्यक्ष बन्नुभयो । संविधान निर्माण र शान्ति प्रक्रिया टुंग्याउनुपर्ने महत्वपूर्ण कार्यभार थियो ।

 

संविधान निर्माणको कार्यभार निकै कठिन थियो । कोही पृथ्वीनारायण शाहको एकीकरण प्रक्रिया नै बेठिक हो, उपनिवेशवाद हो त्यसैले सबै जातिको राज्य बन्नुपर्छ भन्ने धारणा राख्थे । अर्कोथरी, यो देशलाई सिंगो मधेस एउटै प्रदेश र पहाडलाई जति बाँडे पनि अर्को प्रदेश हुनुपर्छ भन्ने मान्छे थिए । अर्कोथरी देशलाई संघीयतामा होइन, हिन्दूराज्य बनाउनुपर्छ, कोही संसदीय लोकतन्त्रको विकल्पै छैन भन्ने थिए । हामीचाहिँ परिवर्तनका क्रममा समाजवादतर्फ जाने कुरालाई प्राथमिकता दिनुपर्छ भन्ने शक्ति थियौँ ।

 

६ सय १ सदस्यीय सभा, यस्तो विविधतापूर्ण विचारबीच सहमति गर्दै अगाडि बढ्नुपर्ने राजनीतिक परिस्थितिमा सुवासजीले अध्यक्षको हैसियतमा समदूरीको सम्बन्ध कायम राखेर गोलबन्द गरेर, समझदारी निर्माण गर्दै संविधान निर्माण प्रक्रिया बढाउनुपर्ने अवस्था थियो । त्यस काममा उहाँले कुशलतापूर्वक भूमिका खेल्नुभयो । यद्यपि, बढी नै उदार भएर एक–दुईजनाले संविधानसभामा अवरोध गर्न थाल्यो । सभा सूचना टाँसेर स्थगित गर्ने उहाँको शैलीको आलोचना नभएको पनि होइन । तर, पछि हामीले छोटो समयसीमा छ, राजनीतिक अवरोध त एक–दुईजना सांसदले जहिले पनि गर्न सक्छन्, त्यसलाई नै आधार बनाएर स्थगित गर्ने हो भने संविधान बनाउन सकिँदैन, तपाईं कडिकडाउ हुनुहोस् भन्ने ध्यानाकर्षण गरेपछि उहाँ त्यही सुझावअनुसार अगाडि बढ्नुभयो । पहिलो संविधानसभामै हामीले कस्तो संविधान बनाउने सैद्दान्तिक आधार तयार ग¥यौं र मतभदहरूको अलग्गै सूची बनायौँ । तर कोसिस गर्दागर्दै समय नपुगेपछि पहिलो संविधानसभा विघटित भयो । 


०००
पहिलो संविधानसभा विघटनपछि दोस्रो संविधानसभा निर्वाचनका लागि प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद् अध्यक्ष बनाएर सरकार बनायौँ । दोस्रो संविधानसभापछि हामीले छोटो समयमै संविधान बनायौँ । संविधान घोषणा गर्ने बिन्दुसम्म पुर्‍याउन सबै पार्टीबीच समझदारी निर्माण गर्न, टकरावमा रहेका दलहरूबीच पनि सहजीकरणको भूमिका खेल्ने र साझा आधार तयार पार्दै अघि बढ्ने सन्दर्भमा सुवास नेम्वाङले धेरै कुशलतापूर्वक नेतृत्व गर्नुभयो । उहाँको त्यही कुशल नेतृत्वले संविधान निर्माण भयो । आज फर्किएर हेर्दा अलिअलि उबडखाबड त देखिन्छ नै, तर पनि संविधान सापेक्षतामा हेर्दा राम्रो बन्यो । 


संसद् विघटनको विपक्षमा
संविधान घोषणापछिको ०७४ को पहिलो निर्वाचनमा वामपन्थी शक्तिहरूले आशातीत सफलता प्राप्त गरे र संसद्मा करिब दुईतिहाइ बहुमत प्राप्त भयो । कमरेड केपी ओलीको नेतृत्वमा सरकार बन्यो, तर मुलुकलाई समाजवादको दिशामा लैजानेभन्दा भिन्न ढंगले काम हुन थाल्यो । भूमिसुधार, कृषि क्रान्ति, राष्ट्रिय औद्यगीकरणलगायतका आवश्यक कामतिर सरकार अगाडि बढेन । शिक्षा, स्वास्थ्यलाई राज्यले जिम्मा लिने गरी काम भएन, गरिबी उन्मूलनको काम त झन् कथामै सीमित भयो । यसले पार्टीभित्र विवाद सिर्जना गर्‍यो । त्यतिवेला म मात्रै होइन, सुवास कमरेड पनि सरकारको कामप्रति असन्तुष्ट नै हुनुहुथ्यो । तर, गलत कार्यशैली सच्याउनेभन्दा पनि कमरेड केपी ओली संसद् विघटन गर्ने तहमा पुग्नुभयो । संसद् विघटनबारे सुवास कमरेडसँग मैले पटकपटक कुरा गरेँ । उहाँले विघटनलाई कहिल्यै समर्थन गर्नुभएन । हामीले जुन ढंगले संविधान बनायौँ, त्यस ढंगले उपयोग गर्न सकेनौँ भन्ने उहाँको अभिमत थियो । यद्यपि, उहाँ पार्टी विभाजनपछि देशका विभिन्न ठाउँमा पुगेर भाषण गर्दा विघटनको कदम बेठिक छ भन्नचाहिँ सक्नुभएन । उहाँ अझै बोल्ड भइदिएको भए देशलाई ठूलो फाइदा पुग्थ्यो भन्ने मलाई लाग्छ । 


त्यो अन्तिम भेट
विघटनकै कारण पार्टी विभाजन भयो र कम्युनिस्ट आन्दोलन ठूलो विभाजन र निराशातिर अगाडि बढेको छ । विभाजनपछि हामी दुवैले ०७९ को निर्वाचनमा इलामबाट लड्यौँ, तर हाम्रो क्षेत्र फरक थियो । चुनावको सिलसिलामा आमसभा गर्दा व्यक्तिव्यक्तिलाई भड्काउने ढंगले कुराकानी गर्नुभएन । चुनावका विषयमा मसँग बडा समझदारीपूर्ण नै कुराकानी हुन्थ्यो ।

 

पार्टी विभाजन दुर्भाग्य हो, अब पनि हामी मिलेरै अगाडि जानुपर्छ भन्ने नै कुराकानी हुन्थ्यो । १०–१५ दिनअगाडि हाम्राबीचमा एउटा कार्यक्रममा अन्तिम भेट भएको थियो । कम्युनिस्ट आन्दोलन विर्सजनतिर गएको छ, विभाजनले बुर्जुवा प्रतिक्रियावादीबाहेक हामी कसैलाई फाइदा गरेको छैन, त्यसकारण अब फेरि कसरी विभाजित समूहलाई निकट ल्याउन सकिन्छ, अहिलेलाई पार्टी एकीकरण गर्न सकिँदैन भने पनि स्वस्थ मिलेर लागौँ भनेर हामी दुवैलाई अनुभूति भएको थियो । उहाँ पनि त्यसैगरी कुराकानी गर्नुहुन्थ्यो, एमालेका अरू दोस्रो, तेस्रो तहका साथीहरू अहिले पनि त्यो धारणा राख्नुहुन्छ । उहाँ बाँचेको भए त्यस कुराका लागि साक्षी हुनुहुन्थ्यो, तर असामयिक ढंगले हामीले उहाँलाई गुमाउन पुगेका छौँ । यो कम्युनिस्ट आन्दोलनका लागि ठूलो क्षति हो । 


इलामको विकासका सन्दर्भमा कतिपय फोरमहरूले बोलाउँदा उहाँ र मैले राखेका कुरामा धेरै भिन्नता हुँदैनथ्यो । जिल्लाका संयुक्त बैठकमा विकास रणनीति, प्राथमिकता, बजेट धेरै ल्याउन के गर्ने विषयमा छलफल हुन्थ्यो । त्यस्ता छलफल हाम्रा लागि फलदायी नै थिए । पार्टी विभाजनपछि इलामको विकासबारे थप छलफल हुन सकेन । सम्पर्क र भेटघाट हुँदा खाली यो पार्टी कसरी मिलाउने ? वामपन्थीहरूलाई कसरी निकट ल्याउने विषयमै बढी छलफल हुन्थ्यो । 


यसरी भयौँ हामी राष्ट्रपतिको उम्मेदवार
म आफू राष्ट्रपति बन्नैपर्छ भनेर धेरै ठूलो आकांक्षा राखेको थिइनँ । किनकि राष्ट्रपति बनेपछि विशुद्ध गैरराजनीतिक र प्राज्ञिक व्यक्तित्व जसरी चल्नुपथ्र्यो । हामी त व्यापक जनता र कार्यकर्ताका बीचबाट आएकाले उनीहरूसँगको निरन्तर भेटघाट, छलफल, अन्तर्क्रिया  मात्रै रुचाउँछौँ । त्यसैले म कहिल्यै त्यसका लागि उत्साही भइनँ । नवौँ महाधिवेशनअघि मलाई प्रस्ताव गर्दा पनि जान्न भनेर अस्वीकार गरेको हुँ । तर, दोस्रोपटकचाहिँ केन्द्रीय कमिटीका धेरै साथीहरूले, वर्गीय संगठनका साथीहरूले राष्ट्रपति बन्नुपर्छ भन्दै धेरै आग्रह गर्नुभएको थियो ।

 

धेरैले भनेका कारण मेरो दिमागमा बन्नुपर्छ कि भन्ने धारणा बन्यो । ०७४ को चुनावपछि ठिक छ, म तयार छु भनेको थिएँ । तर, त्यतिवेला नेतृत्वमा रहेका साथीले यो कुरालाई गम्भीरतापूर्वक लिनुभएन । मलाई त्यतिवेला राष्ट्रपति बनाएको भए म एमालेको फुट र विग्रह हुन दिन्नथेँ भनेर ग्यारेन्टीका साथ भन्छु । स्थायी समिति बैठकमै चाहिँ मैले आफ्नो आकांक्षा राखेको होइन, तर निकै साथीले बैठकमा मेरै नाम लिएर उम्मेदवार बनाऊ भन्ने ढंगको तर्क निकाल्नुभएको थियो । त्यसबीचमा सुवास कमरेडले पनि निजी ढंगले आकांक्षा राख्नुभयो । निकै छलफल चलेपछि म यसप्रकारको गलफत्ती गर्ने पक्षमा छैन, विद्याजीलाई नै दोहो¥याउने हो भने अर्को उम्मेदवारका रूपमा म यहाँ कुनै प्रतिस्पर्धा गर्ने मुडमा छैन, तपाईंहरूको खुसी गर्नुस् भनेपछि विद्याजीलाई नै बनाउने निर्णय भएको हो । यदि म राष्ट्रपति भइदिएको भएँ म संसद् विघटन हुन दिन थिइनँ । 


सुवासजीको त्यो सहयोग 
०२९ सालमा इलाममा एउटा बिएमएनटी भन्ने ब्रिटिस क्लिनिक थियो । ट्युबर क्लोसिस उन्मूलनका लागि देशका विभिन्न भागमा क्लब बनेको थियो । सुवासजीसहित जिल्लाभरिका शिक्षकहरू बिहीबारे हाटमा आउनुभएको थियो । हामी बजार घुम्दै जाँदा बिएनएमटीका सामु पुग्यौँ । त्यहाँ पुगेपछि शिक्षक साथीहरूले हामी पनि एकपटक टिबी जाँच गरौँ भनेपछि जचाउन थाल्यौँ । म सबैभन्दा अन्तिममा बसेँ । सुवासजीसहित कसैलाई टिबी देखिएन । अन्तिममा मैले जचाएँ । डाक्टर टमले तपाईंमा चाहिँ टिबीको शंका देखियो भने । त्यसकारण स्पुटम (खकार) परीक्षण गर्नुपर्छ भनियो । मैले खकार परीक्षण गराएँ । त्यसपछि डाक्टरले औषधि सिफारिस गरेँ । त्यसपछि मैले थियाजिना ट्याबलेड भन्ने १८ महिना खानुपर्ने भयो । त्यतिवेला टिबीको इन्जेक्सन स्टेपमाइजेसन भन्ने थियो । त्यो ६० वटा लगाउनुपर्नेरहेछ । त्यति धेरै इन्जेक्सन लगाउनुपर्ने, खानपिन बार्नुपर्ने, डाइट राम्रो खाएर आराम गर्नुपर्ने भएपछि मसँग त्यतिवेला खर्च थिएन ।

 

सुवासजीले पनि यी सबै कुरा थाहा पाउनुभयो । साथीहरूबीच सल्लाह हुँदा एकजना जयप्रकाशनारायण सिंह भन्ने क्याम्पस प्रमुखले हामीलाई बोलाएर यो त ब्रिटिस साम्राज्यवादको डाक्टर हो, त्यसैले के हो, के हो, त्यत्तिकै शंका गरेर औषधि खुवाउँदै छ कि, तपाईं होसियार हुनुपर्छ । बरु खस्र्याङ सेनेटोरियममा गएर परीक्षण गरेर आउनुस्, यथार्थ सबै थाहा हुन सक्छ भन्नुभयो । त्यसपछि खस्र्याङ जानैपर्ने भयो । मलाई आपत पर्‍यो । खर्च नभएका कारण उपचार गरौँ कि नगरौँ दोधारमा परेँ । नगरौँ रोग रहेछ भने बर्बाद हुने भयो, गरौँ खर्च छैन । त्यतिवेला जागिर केही थिएन । पार्टी बनाउँछु भनेर पूर्णकालीन भएर हिँडेको थिएँ । मेरो समस्या सुवासजीले बुझ्नुभयो । उहाँ हुनेखाने परिवारकै मान्छे । तराईतिर पनि जमिन भएको, पहाडमा हुनेखाने परिवारको न्यायाधीशको छोरा भएकाले उहाँले भन्नुभयो, ‘ठिक छ म सहयोग गर्छु ।’

 

उहाँले नै अरू साथीहरूसँग पनि सल्लाह गरेर केही सहयोग उठाउनुभयो, आफैँले पनि हालेर खर्च जुटाएर मलाई उपचारका लागि दुई हजार रुपैयाँ दिनुभयो । त्यही पैसा लिएर खस्र्याङको सेनेटोरियममा गएर जचाएँ । डाक्टरले तपाईंलाई बच्चा वेलामा खोक्दा फोक्सोमा स्पेस बनेको हुन सक्छ, त्यसले पनि असर परेको हुन सक्छ । तर, अहिले हेर्दा तपाईंलाई भर्खर टिबीले छोएको छ । औषधि गर्नुस्, अर्को पल्मोकोड भन्ने लिक्विड औषधि दिइयो । त्यतिवेलासम्म इन्जेक्सन लगाउन सुरु गरिसकेको थिएँ । औषधि खान सुरु गरेपछि शरीरको सन्तुलन बिग्रेजस्तो अनुभूति हुन थाल्यो ।

 

हिँड्दा हल्लिने भयो । केही दिनमै जेल परेँ, मलाई सेलमा राखियो । डाक्टर टमले ६० वटा इन्जेक्सन लगाउनुपर्छ भनेको थियो । सधैँ साथमा नर्स लिएर हिँड्न सक्ने कुरा पनि भएन, नजान्नेहरूलाई इन्जेक्सन लगाउन लगाउने कुरा पनि भएन । डाक्टर टमको सल्लाह आयो,‘सबभन्दा राम्रो उपाय आफैँ तालिम लिनुस् ।’ मैले तालिम लिएँ । आफैँ इन्जेक्सन दिन थालेँ । ६० मध्ये केही इन्जेक्सनबीचमा लिएको थिएँ । औषधि उपचार गर्दैगर्दा जेल परेपछि साँघुरो कोठा सेलमा मलाई राखियो । नियमित औषधिले साइड इफेक्ट गरेछ । शरीरको सबै मुभमेन्ट नियन्त्रण गर्ने कानभित्र भेस्टिबुल्ला निष्क्रिय बनाइदिएछ । साइडइफेक्टकै कारण त्यो इन्जेक्सन अहिले पनि संसारभरि प्रतिबन्धित छ । यसरी मलाई उपचारको सिलसिलामा सुवास नेम्वाङले गरेको सहयोग कहिल्यै बिर्सिन्न ।