• वि.सं २०८१ माघ २ बुधबार
  • Wednesday, 15 January, 2025
विश्व सिग्देल
२०८० भदौ ३० शनिबार १०:१३:००
साहित्य

प्रेम–मध्याह्न

२०८० भदौ ३० शनिबार १०:१३:००
विश्व सिग्देल

मैले
तिमीलाई हेर्दा पनि विचार पुर्‍याउनुपर्ने छ
तिमीलाई नहेर्दा पनि विचार पुर्‍याउनुपर्ने छ ।

 

जसरी मैले
मेरो यौवनको प्रथम प्रहरमा
दिएको थिएँ तिमीलाई नाम
कुनै बहुमूल्य पत्थरको, कुनै मनोहर नक्षत्रको
कुनै सुगन्धित फूल÷लता वा सङ्लो प्रपात भनेर
अनि बनाएको थिएँ आँखाको नानी
आज..
जीवनको यो घर्कँदो मध्याह्नमा
मैले विचार पुर्‍याउनुपर्ने छ
मैले दिएका नामहरू, रोजिदिएका उपमाहरू
नबनून् ती तिम्रा पाउजु नबनून्
बरु तिम्रा जुत्ता बन्न सकून् ।

 

तिम्रो जीवनलाई बीसौँ वर्षपछाडि फर्काउन खोज्दा
मैले विचार पुर्‍याउनुपर्ने छ
कि मेरो स्पर्शको झोक्काले
तिम्रो – तिमी हुनुको अस्तित्वको परिधि नहल्लियोस्
र त्यो हत्केलाको गहिरा/खस्रा धर्साहरूमा
एउटा उत्सवको तरंग सुरु होस्
उडून् एक एक तोप चराहरू
चाउरीले बुनिएका गुँडहरूबाट
हजारौँ सपना र सम्भावनालाई वास दिएको
तिम्रो काखको न्यानोपनमा समाहित हुन पाओस्
मेरो हजारौँ कोसको थकान...
फुल्दै गरेका केशको वसन्तले
थपिदेओस् हाम्रो जीवनमा अर्को नयाँ रङ ।

 

यी यावत् कुराहरू
विचार पुर्‍याएर गरिएको मेरो प्रेम
तिमीलाई मन पर्ला/नपर्ला
योधरि मैले विचार पुर्‍याउनुपर्नेछ ।