
२०१४–१५ सालमा तत्कालीन चर्चित दैनिक ‘हालखबर’मा आबद्ध भएसँगै दाताराम शर्मा (सम्पादक) सँग मेरो घनिष्ठ सम्बन्ध हुन थाल्यो । शर्मा हालखबरमा ‘हाँस्नु हुन्छ’ भने शीर्षकमा कडा व्यंग्य लेख्थे । सायद, शर्माका त्यस्ता व्यंग्य लेखबाट प्रभावित भएर होला, भैरवजी ‘हालखबर’को कार्यालयमा शर्मालाई भेट्न आए । त्यसपछि भैरवजी भोलिपल्ट, पर्सिपल्ट नियमित ‘हालखबर’को कार्यालय आएको मलाई थाहा छ । अर्यालजीको अक्षर निकै राम्रो, सम्पादकलाई चिठी र केही हास्यव्यंग्य सामग्री लिएर उनी आउँथे । एकपटक उनले लेखेको हास्यव्यंग्य र सम्पादकलाई चिठी ‘हालखबर’को एकै अंकमा छापियो । अन्ततः दातारामजीको सिफारिसमा अर्यालजीको जागिर ‘हालखबर’मा पक्का भएपछि उनले विद्यालयको मास्टरको जागिर छाडे ।
शर्मा र अर्यालजी दुवै प्रखर हास्यव्यंग्य लेखक भएकाले घनिष्ठ मित्रता स्वाभाविक नै थियो । शर्माले नै भैरवसँग मेरो औपचारिक परिचय गराएका हुन् । म परेँ काँठे (भक्तपुर) भैरव पनि काँठ (गोकर्ण) क्षेत्रकै । सुरुमा त मैले उनलाई गन्दै गनिनँ, उनले पनि मलाई खासै वास्ता गरेजस्तो लागेन । भैरवजीले पनि ‘हालखबर’मा व्यंग्य साहित्य लेख्न थालेपछि अखबारको बिक्री नै ह्वात्तै बढ्यो । नढाँटी भन्नुपर्दा मैले त सुरुमा उनको व्यंग्य साहित्य नै बुझिनँ । तर, सम्पादक शर्मा भने व्यंग्यको भाव बुझ्ने मात्र होइन, आफैँ चोटिलो व्यंग्य लेख्थे ।
भैरवजीको क्षमता देखेर म प्रभावित हुन थालेँ र क्रमशः हामी दुई ‘काँठे’ आत्मीय मित्र हुन थाल्यौँ । तीक्ष्ण दिमागका भैरवजीको सम्पादन कला बेजोड थियो । हामी दुवैजना निम्न आय भएका परिवारबाट आएकाले अलग–अलग डेरामा बस्न आर्थिक रूपमा कठिन थियो । सुरुमा त भैरवजी ‘भान्छे बाजे’ भएर आफन्तको कोठामा बसेका थिए । तर, उनी त्यति धेरै रमाएका थिएनन् । भाडा तिर्न पनि सजिलो हुने भएकाले भैरवजी र मैले डिल्लीबजारमा संयुक्त डेरा लियौँ । मेरो भाइ पुरु पनि हामीसँगै डेरामा बस्न थाल्यो । डेरामा हाम्रो तीन कोठा थियो । एउटा भान्छा, एउटा लामो कोठा र सोही कोठा भएर जानुपर्ने अर्को कोठा । हाम्रो भान्छाकोठामा दाउराबाट भुसे चुल्हो हुँदै गोल चुल्होमा भात पाक्न थाल्यो । म अलि अल्छी प्रकृतिको मान्छे । त्यसैले डेरामा पकाउने काम भैरवजी र पुरुले नै गर्थे । भैरवजी बेलुकाभन्दा पनि बिहान अबेरसम्म लेख्न रुचाउँथे । भात पकाउने, भाँडा माँझ्नेलगायत कुरामा कहिलेकाहीँ हाम्रो सामान्य ठाकठुक त हुन्थ्यो, तर फेरि लगत्तै सहोदर दाजुभाइझैँ हामी एकाकार हुन्थ्यौँ ।
हामी दुवैको नाम ‘भैरव’ भएकाले आजसम्म पनि धेरैले मलाई भैरव अर्याल नै ठान्ने गरेको पाएको छु । उनी बित्दा पनि धेरैले मै बितेको ठानेका रहेछन् । उनले पुरस्कार थाप्दा बधाई मैले पाउँथेँ । यी र यस्ता अनगिन्ती सम्झना छन्, आत्मीय मित्र भैरवजीसँग जोडिएका ।
झन्डै डेढ–दुई वर्ष एउटै ताउलोमा पकाएको भात, एउटै दिउरीमा पकाएको तरकारी र एउटै खलमा बनाएको स्वादिलो अचार खायौँ । हाम्रो डेरामा भैरवजीका काका बलराम वेलाबखत आउँथे । आफन्त आएपछि केही खुवाउन परिगो, त्यसैले म भित्री रूपमा आर्थिकदृष्टिले हामी धेरै कमजोर भएको त्यस बखत डेरामा समेत केही नआइदिए पनि हुन्थ्यो भन्ने सोच्थेँ । ती अभावका दिन सम्झिँदा पनि आज आनन्द आउँछ ।
मेरो सोचाइविपरीत भैरवजीका अति घनिष्ठ एवं विद्वान् मित्र डाक्टर नवराज चालिसे पनि कहिलेकाहीँ डेरामा आउन थाले । भैरवजीले नै मलाई पछि साहित्यकार रमेश विकल, साहित्यिक पत्रकार रोचक घिमिरेलगायतसँग परिचय गराइदिए । मेरो विवाह फागुन ७, २०१६ मा हुने भएपछि भैरवजी केही परको घरमा सरे । तर, लामो समयसम्म हाम्रो भान्छा भने एकै थियो । पछि हामी नयाँ सडकनजिक डेरा सरेपछि भैरवजी पनि हाम्रै नजिक सरे । हाम्रो पानी लिन जाने धारो एउटै थियो । पछि भैरव दम्पतीसँग हामी दम्पतीको सम्बन्ध अत्यन्त सुमधुर थियो ।
०१८ सालमा म तथ्यांक अधिकृत भएर डोटीतर्फ लागेपछि डेरामा भैरवजी र पुरु मात्र बस्न थाले । मेरै आग्रहबमोजिम भैरवजीले पुरुको रेखदेख गर्न थाले । भैरवजीजस्तो पढेलेखेको बौद्धिक व्यक्तिको जिम्मा लगाउन पाएपछि पुरुको भविष्यलाई लिएर म ढुक्क भएँ । भौतिक रूपमा टाढिए पनि भैरवजी र मबीच चिठी आदानप्रदान भइरहन्थ्यो । मेरी श्रीमतीसँग पनि भैरवको राम्रो चिनजान भएकाले उनी हामी दुवैजनालाई सम्बोधन गरी चिठीपत्रहरू पठाउँथे । ०१७–१९ को अवधिमा भैरवजीले म र हामी दम्पतीलाई करिब १३ वटा चिठी पठाए । चिठीमा व्यंग्यात्मक शैलीमा सञ्चो, विसञ्चोको औपचारिकतासँगै कार्यालयको प्रगति, पुरुको आनिबानीलगायत कुरा हुन्थे । मलाई लाग्छ, हास्यरस मिसिएको त्यो तहको चिठी कसैले पनि किमार्थ लेख्न सक्दैन । ती सबै चिठी अहिले पनि मसँग सुरक्षित नै छ । ०२० मा काठमाडौं फर्केपछि न्युरोडआसपास फेरि हाम्रो भेट हुन थाल्यो । हामीबीच समसामयिक कुरासँगै नितान्त व्यक्तिगत कुरा
पनि हुन्थ्यो ।
भैरवजीका पिता (नारायण गुरु) त्यतिवेलाका श्रेष्ठ भागवतवाचक थिए । ललितपुरमा जगन्नाथ घिमिरेको घरमा उनले भागवत भनेको सुनेपछि म उनको ठूलो प्रशंसक भएको थिएँ । हाम्रो चिनजान राम्रो थियो । छोरा भैरवको मित्र भन्ने थाहा पाएपछि उनीसँग अझ बढी नजिक भएँ । पछि मेरै सिफारिसमा नारायण गुरुले हाँडीगाउँस्थित केसी थरका मेरा जजमानका भागवत भने । त्यहाँ पनि नारायण गुरुको भागवत् वाचनकलाको ठूलै चर्चा भयो । त्यहाँ हाम्रो दम्पतीले पूजा पनि ग¥यो । आफूले सिफारिस गरेको गुरुको महिमा गाइएपछि म पनि दंग परेँ । विद्वान् मित्र भैरवका पिता पनि विद्वान्, म मनमनै सोच्थेँ ।
भैरवजीले आफूलाई परेको समस्याबारे उनका निकटस्थ वासुदेव लुइँटेल, रोचक घिमिरे, डाक्टर नवराज चालिसे, रमेश विकललगायतसँग दिल खोलेर कुरा गर्थें । मसँग पनि यदाकदा निराशाजनक कुरा राख्थेँ । म भन्थेँ, ‘जिन्दगी भनेकै यस्तै यो भैरवजी, सुखदुःखको संगम, दुःख आइलाग्यो भन्दैमा डराउने बिलकुल होइन, डटेर सामना गर्ने पो हो त’ । घाँटीको समस्याले उनलाई लामो समयअघिदेखि नै पिरोलेको थियो । निम्न आयस्रोत भएको अवस्थामा आठजना (६ छोराछोरी र दम्पती) को परिवार पाल्न पनि उनलाई कठिन नै थियो । वेलैमा परिवार नियोजनका लागि भैरव दम्पतीलाई सल्लाह दिँदा उनीहरू डराएर हो या असमझदारीले हो, मेरो र सुशीलाको प्रयास सफल भएन । मैले थाहा पाएअनुसार भैरवजीले २०३३ को सुरुवाततिर वासुदेव लुइँटेलसँग आत्महत्या गर्ने प्रसंगसमेत झिकेका थिए । रसिक स्वभावका लुइँटेलले ठट्यौली पारामा ‘आत्महत्या गर्नु के ठूलो कुरा हो र तिम्रो घरनजिकको बागमतीमा हाम फाले भैहाल्यो नि’ भनेर भन्थे भन्ने मैले सुनेको हुँ । दैवको नियति नै भनौँ, भैरवजीले ०३३ असोजमा गोकर्णको पुलबाट बागमती नदीमा हाम फालेर आफूलाई सधैँका लागि समाप्त गरिदिए ।
भैरवजीको निधनको समाचारले हामी रिसाल परिवार नै स्तब्ध भयौँ । उनीसँगको आत्मीय सम्बन्ध भुलेर भुल्न सकिने खालेको कदापि थिएन । हामी दुवैको नाम ‘भैरव’ भएकाले आजसम्म पनि धेरैले मलाई भैरव अर्याल नै ठान्ने गरेको पाएको छु । उनी ‘बित्दा’ पनि धेरैले मै बितेको ठानेका रहेछन् । उनले पुरस्कार थाप्दा बधाई मैले पाउँथेँ । यी र यस्ता अनगिन्ती सम्झना छन्, आत्मीय मित्र भैरवजीसँग जोडिएका । त्यसो त बेथिति र खराब कामविरुद्ध हास्यव्यंग्य विधामार्फत गतिलो थप्पड हान्ने भैरव अर्यालजीसँगै मलाई जोडेको पाउँदा मलाई अति गर्व लाग्छ । प्रिय भैरवजीलाई समर्पित गरेर मैले ‘नेपाली वाङ्मयका तीन तारा’ शीर्षकको पुस्तक पनि प्रकाशित गरेको छु । नेपाली रम्य रचनाका आजसम्मकै सबैभन्दा विराट् प्रतिभा (सायद भविष्यमा अरूले उछिन्न गाह्रै पर्ला) मित्र भैरवको आत्मा परलोकमा पनि अनन्त कालसम्म रमाइरहोस् ।
अर्यालदम्पतीले रिसालदम्पतीलाई पठाएको चिठी
२०१८–०४–०६
स्मरणीय प्रिय दम्पती
मेचीदेखि महाकालीजति लामो सम्झना !
आफ्नै जीवनजस्तो यो साउन महिना, दिनभर घाममा पोलियो, साँझ पानीमा रुझ्यो, अनि रातभर लामखुट्टे र उडुसलाई रगत चुसाएर पसारियो । यसवेला रातको नौ बजिरहेछ, सिमसिम पानी परिरहेछ, कुकुर भुकिरहेछन् । अखबारवाले तैपनि कराउँदै छ । कोठामा म एक्लै कुनै टाढा पुगेका मित्रका जोडीलाई सम्झँदै चारपाटे लमतन्न परेर केही लेखिरहेछु । पल्ला घरको रेडियोमा लता मङ्गेसकर गाउँदै छिन् :
‘ओ वसन्ती पवन पागल, नाजा रे नाजा रोको कोही’
तर, उसले जति कराए पनि, तपाईं–हाम्रा पागल हृदयका सुस्केराहरूलाई रोक्ने यहाँ को छ र ! न त हाम्रा वेदना रोकिन्छन्, न सम्झना ।
यसवेला तपाईंहरू पनि शयनागारमा पस्ने तरखर गर्दै हुनुहोला । अब चिठी त लेख्ने तर सुरु गर्ने के कुराबाट अझै ठम्याउन सकिएन । कुरा अनन्त छन्, तर पनि उल्लेखनीय केही छैनन् । यो थोत्रो जीवनमा नौलो र मिठो कुरा विरलाकोटी मात्र देखा पर्छन्, त्यही पनि देखिनासाथ थोत्रिन्छन् ।
थोत्रैथोत्रा कुरा पोको पारेर डोटीमा आफैँ थोत्रिरहेका साथीहरूलाई के भेट्न जानु भनेर मेरो चिठी पटक्क अघि सर्दैन, तैपनि घचेट्दै छु, आइपुग्ने हो वा बीचबाटै कतै सुइँकुच्चा ठोक्ने हो ।
अब भन्नोस् शुभसमाचार केही सुना न त
त साथी, मेरो परिवारको, मेरो देशको, मेरो विश्वको तपार्इंको, तपार्इंको परिवारको, तपार्इंका देशको, तपाईंको विश्वको कसैको पनि कुनै शुभसमाचार छैन । कोही मरी–मरी बाँचिरहेछन्, कोही बाँची–बाँची मरिरहेछन्, कुरा यत्ति हो । यो सुन्दा तपाईंहरू फेरि के–के न भएछ हँ भनेर शंका झिक्नुहोला, तर केही भएको भए त नयाँ कुरा त्यही भइहाल्थ्यो नि, मेरो चिठी किन यति गन्थन गरिरहन्थ्यो ।
सुशीलाजीलाई आउँ परेको छ भन्ने सुन्दा मलाई उत्तिको दुःख लागेन । किनभने, ०१८ सालको वेलामा दुनियाँमा एटम र हाइड्रोजन बम कुन पट्का पड्किएर ब्रह्माजी बुढाको सृष्टि नै खरानी पारिदिऊँ भनिरहेका वेलामा हाम्री सुशीला भाउजूलाई आउँ पर्यो त के पर्यो ! त्यसो त कसैलाई जुम्रा पर्छन्, चुर्ना पर्छन् । तैपनि के भो, कसो भो भनेर खुल्दुली चाहिँ नलागी नछाडेकाले मैले सोधेको मात्र हुँ ।
(बत्तीले झन्डै चिठी यहीँ टुंग्याइदिएको, तर बल्यो ) अँ तपाईंहरूको स्नेहपूर्ण सम्झनापत्र मैले हिजो पाएँ । धेरै दिनको प्रतीक्षापछि । फसाद त के पर्यो भने तपाईंहरूले पनि दम्पतीले दम्पतीलाई लेखेको चिठी म एक्लैले कसरी पढूँ । मेरी दम् यहाँ थिइनन् । पुगेँ घर, गाला जोडेर पढौँला भनेर । तर... ‘तरको मतलब के भने संक्रान्ति खान माइत गएकी मेरी दम्लाई संक्रान्तिले नै चपाएर हो कि किन हो, मेरो सानो वाल्मीकिको गुफाजस्तो कोठा निदाउँरो मुख लाएर एक्लै टोलाइरहेको रहेछ । अनि आफैँलाई अर्याल सम्झेँ, आफैँलाई शोभा सम्झेँ, तब दोहोर्याई–दोहोर्याई पढेँ ।
अर्यालजी तथा शोभा जी
प्रस्तुति : निर्मल अर्याल