
बौद्ध अध्ययन र समाज अध्ययनका शोधकर्ताहरूले यो एउटै पुस्तकबाट सापेक्षिक ज्ञान आर्जन गर्न सक्ने देखिन्छ
बुद्धको जीवन वर्णनातित छ । बुद्धको जीवन रहस्योद्गार गर्दा बुद्धकालीन समाजको अवस्थिति एवं चरित्रहरूको सापेक्ष अध्ययन जरुरत छ । त्यसैगरी, समाज अध्ययन आफैँमा बहुविधागत विषय हो, जसअन्तर्गत इतिहासदेखि भूगोल, राजनीतिदेखि विज्ञान एवं सामाजिक विज्ञानदेखि जीवनदर्शनलगायतको एकीकृत अध्ययन हुन्छ । यस दृष्टिकोणमा सबै आयामको सन्तुलित उपयोग र विश्लेषण गरेर मात्र बुद्धकालीन समाजको अध्ययनको पूर्णता प्राप्त गर्न सकिन्छ ।
हालसालै समाज अध्ययनको दृष्टान्तको रूपमा लेखक उमाकान्त पौड्यालको पुस्तक ‘बुद्धकालीन समाज’लाई फाइनप्रिन्टले प्रकाशनमा ल्याएको छ । पाली त्रिपिटकको साक्ष्यमा प्रस्तुत पुस्तकले तत्कालीन राज्यहरू, राज्यव्यवस्था, संस्कृति, भूगोल र अर्थविज्ञानसहितका सामाजिक आयाम समेटेको छ । उल्लेखित आयामको वर्णन र विश्लेषणमा केन्द्रित पुस्तकमा समाजको नैतिक मूल्य, मनोविज्ञान, दर्शन, मानवीय चेतना, कला र परम्पराजस्ता समाजका चरित्र एवं तत्वमा लेखकीय टिप्पणीसमेत भेटिन्छ ।
समाज अध्ययनको विधामा बौद्ध दर्शन र इतिहासको पाटोलाई एउटै अन्तर्विषय अर्थात् ‘इन्टरडिसिप्लिनरी’को प्रारूपमा पुस्तक प्रस्तुत भएको छ, जुन प्रयोगलाई समाज अध्ययनको नुतन प्रारूप भन्दा फरक पर्दैन । पुस्तकमा सोध र अनुसन्धानको मात्रा र विधालाई पनि भरपुर उपयोग गरिएको छ । समाजका चरित्र निरन्तर परिवर्तनशील छन्, अर्थात् सबै अनित्य छ, तर पनि सोध र अनुसन्धानमार्फत २६ सय वर्षअगाडिको समाजलाई स्पर्श गर्न सक्ने स्थितिमा लेखक पुगेका छन् ।
मूल खण्डका रूपमा १० अध्याय र अतिरिक्त परिशिष्टांकसहित दुई सय ९६ पानामा पुस्तक सजिएको छ । प्रसंगसँगै सन्दर्भसूचीलाई यथास्थानमा प्रस्तुत गरिएको छ, जसले कथनी र भाष्यको गहिरो पडताल गर्न चाहने अध्येतालाई सजिलो हुने देखिन्छ । साथै, सन्दर्भ–सूचीलाई पुनर्संग्रह गरी प्रस्तुत गरिएको छ, र परिशिष्टांकमा कठिन शब्दहरूको भावार्थ राखिएको छ । यस अर्थमा लेखक आफैँ पाठकको सहजताका लागि सचेत देखिएका छन्, र बौद्ध दर्शनको मूल्य र मान्यतालाई सामान्य पाठकसम्म पुर्याउने चेष्टा गरेका छन् ।
लेखकको यो चेतना प्रशंसनीय छ, किनकि समाजको तल्लो वर्गलाईसमेत न्याय हुने दृष्टिकोण उपयोग भएको छ । कताकति समाजको अतिरिक्त बुद्धको जीवन र जगत्को हितअनुकूल बुद्ध उपदेश र वचनलाई उजागर गर्ने कोसिस पनि गरिएको छ ।
समाज अध्ययनमा तत्कालीन राज्य र त्यसको विकासक्रम, राज्यव्यवस्थाका परिणति, भूगोल र समाजका संयन्त्रका बारेमा उल्लेख हुनु आवश्यक थियो । बुद्धका जीवनसँग अन्तर्सम्बन्धित र बुद्धको आगमनपछि समाजले अंगीकार गरेको मूल्य र मान्यतालाई समाजको चरित्रका रूपमा रहनु सापेक्ष नै हुन्छ । साथै, समाज परिवर्तनको छनक र बुद्धविचार प्रभावका बारेमा पनि अध्येताहरू सुसूचित हुनुपर्दछ । अर्थात्, सारमा बुद्धकालीन समाजको पनि अवस्थिति एवं चरित्रको अध्ययनविना बुद्धको जीवनीको अध्ययन कतिपय सन्दर्भमा अपूर्ण हुने देखिन्छ ।
बुद्धवचनमा उल्लेख छ, ‘दुःख अनित्य छ, र त्यो नारी चरित्रमा झन् अतिरिक्त छ । जन्मघरको त्याग, मासिक धर्म, गर्भाधान र प्रसव पीडा र ममताको वात्सल्यको रूपमा रहेको थप दायित्वले दुःख निर्विघ्न छ ।’ अर्थात्, तत्कालीन समाजका कतिपय भेद सामान्य व्यक्तिका लागि रहस्यमय नै छन्, र त्यसको खोजी गरेर सरल भाषामा प्रस्तुत गर्नु आवश्यक थियो । यी समग्र विषयहरूको कार्य वा कारण खोज्न पुस्तक सफल भएको छ, र पुस्तकको तयारी नै कार्यकारण सिद्धान्तबाटै प्रेरित थियो भन्दा फरक पर्दैन ।इतिहास कसैको बर्खिलाप हुनुहुँदैन र इतिहास लेखन विभेदमुक्त हुनुपर्छ भन्ने मान्यतालाई सँगसँगै भरपुर उपयोग गरिएको छ । प्रसंगमा यस्तो भेटिन्छ–
उत्सव र रमाइलो धन हुनेहरूका लागि मात्रै थियो । हातमुख जोर्न कठिन हुने गरिबका लागि उत्सवको खासै महत्व हुँदैनथ्यो । एक त धन नभई उत्सव र रमाइलोको अनुभूति गर्न सकिँदैन्थ्यो । दोस्रो, उत्सव हेर्न थाल्दा मुखमा माड लाग्दैनथ्यो । यसैले ज्याला–मजदुरी गरेर पेट पाल्नेहरू उत्सव हेर्नुको सट्टा गोरु लिएर खेत जोत्न जान रुचाउँथे । (पेज नं. १९५)
लेखकको यो चेतना प्रशंसनीय छ, किनकि समाजको तल्लो वर्गलाईसमेत न्याय हुने दृष्टिकोण उपयोग भएको छ ।कताकति समाजको अतिरिक्त बुद्धको जीवन र जगत्को हितअनुकूल बुद्ध उपदेश र वचनलाई उजागर गर्ने कोसिस गरिएको छ । बुद्ध परम्परादेखि बुद्धसम्मका प्रसंगको घनत्वले समाज अध्ययनका अतिरिक्त विषयमा पनि लेखक प्रवेश गरेको अनुभूति हुन्छ । तर, बुद्धको जीवनमा घटित घटनाहरू र त्यसको सामाजिक प्रतिक्रियाबारेका बहसमा बुद्ध परम्परादेखि बुद्धसम्मका प्रसंग उद्गारित भएकाले त्यो पक्ष पनि प्रस्तुतिमा आवश्यक देखिन्छ । लेखकले त्यो पक्षसमेत जति आवश्यक छ, तौलिएर त्यति नै मात्रामा पस्केका छन् भन्दा अत्युक्ति हुँदैन ।
लेखकको पनि तर्क छ, घटना र त्यसको सामाजिक प्रतिक्रियाको समीक्षागत प्रस्तुतिले विषयको विवेकपूर्वक सत्यता परीक्षण गर्दछ, र त्यो आवश्यक हुन्छ । प्रामाणिकताको खोजीमा तथ्यको पटक–पटकको परीक्षणले विषयको अन्तिम निचोड फेला पार्ने हो, र त्यो पद्धतिलाई प्राज्ञिक क्षेत्र र तहमा समेत स्वीकार हुने गर्दछ । यस अर्थमा पुस्तकलेखनले त्यो बाटो रोज्नु सराहनीय छ । समाज अध्ययनको विधाले समग्र समाजको तात्कालिक मूल्य र मान्यताको पृष्ठपोषण गर्ने काम गर्दछ, र जसको ध्येय विचार र तर्कहरूको विकास गर्न सहयोगसिद्ध होस् भन्ने पनि हो । यस अर्थमा पनि पुस्तकको समग्र प्रस्तुति दरिलो र खँदिलो छ ।
पुस्तक समाज अध्ययनको अतिरिक्त बुद्धको जीवन र जगत् अनुगृहित उपदेश सारलाई समेत लोकभावानामा अंकुरित गराउने कोसिस गरेको छ । एउटा युगको समाजलाई नै केन्द्रमा राखेर त्रिपिटकको साक्ष्यमा लेखिएका परिघटनाहरूको सम्बन्ध समाज चरित्र र विषयसँग सम्बन्धित हुने नै भयो, तर सामाजिक अर्थबोध र वर्तमानलाई समेत दिशाबोध हुने गरी लेखिनुले पनि समग्र लेखनी औचित्यपूर्ण हुने देखिन्छ । यस अर्थमा बुद्ध परम्परा हुँदै बुद्धसंघका प्रसंगको घनत्वसमेतका विषयले बौद्ध अध्ययन र समाज अध्ययनका सोधकर्ताहरूले एउटै पुस्तकबाट सापेक्षिक ज्ञान आर्जन गर्न सक्ने देखिन्छ ।