• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
जीवन लामा
२०८० असोज ६ शनिबार ०८:०९:००
यात्रा

ढुंगा र काठको संग्रहालय नियाल्दा

२०८० असोज ६ शनिबार ०८:०९:००
जीवन लामा

चीनले विकासमा छलाङ मारेको धेरैचोटि सुनेको, पढेको थिएँ । कोभिड–१९ को समयमा एकै रातमा दश हजार कोभिड संक्रमित अटाउने हस्पिटल बनाएको खबरले झनै उत्साहित भएको थिएँ, चीनको विकासबारे बुझ्न । कतिपय विकासको कुरा सुन्दा अपत्यारिलो लाग्थ्यो । तर, २१ दिने चीनको यात्रा गर्ने अवसरले त्यहाँको विकासलाई नजिकबाट नियाल्ने मौका दियो । 


चीनतर्फ उड्नुअघि धेरै योजना बुनेँ । हुन त मेरो विषय खनिज स्रोतको बारेमा थियो । २१ दिनसम्म पढाइ मात्र हुन्छ होला भन्ने लाग्यो सुरुमा । तर, चीनको हरेक कुरा फरक रहेछ । २१ दिनको अवधिमा ११ दिनजति विषयअनुसार अध्ययन, अवलोकन तालिका थियो । जियांसी प्रान्तको नानचाङ प्रख्यात र फरक विशेषता बोकेको सहर थियो । सहर सहरबीच पनि प्रतिस्पर्धा हुँदो रहेछ चीनमा ।

 

झन् प्रान्त–प्रान्तबीच त प्रतिस्पर्धा नहुने कुरै भएन । प्रतिस्पर्धा पनि स्वच्छ र सकारात्मक खालका । अध्ययन, अवलोकनका क्रममा नानचाङ, गन्जाओ, हन्जाओ र सांघाईको विभिन्न संग्रहालयमा पुगेँ । त्यहाँको संग्रहालयले मलाई पटक–पटक झस्कायो । भएका कुरालाई संरक्षण गर्ने त छँदै छ, नभएका, नपाएका र सुनेका वस्तुलाई समेत समुद्रमुनिबाट हुन्छ कि, पहरा फोरेर हुन्छ कि, कृत्रिम बनाएर हुन्छ कि जस्ताको तस्तै देखिने गरी संग्राहलयमा राखेका रहेछन् । कतिपय संग्रहालयमा त पुराना सलाई, चुरोटका ठुटादेखि ढुंगासमेत सजाएर राखेका थिए । अवलोकन गरिरहँदा लाग्यो, चिनियाँहरू आफ्नो देशलाई शक्तिशाली र प्रभावशाली देखाउन सभ्यता र मान्यता दुवैलाई संरक्षण गरिरहेका छन् । 


चीनको दक्षिणपूर्वी भागमा अवस्थित जियांसी प्रान्त आफ्नो मनमोहक प्राकृतिक परिदृश्यका लागि मात्र प्रसिद्ध छैन, हजारौँ वर्ष पुरानो सांस्कृतिक सम्पदाले पनि प्रसिद्ध छ । विविध सांस्कृतिक खजाना संग्रहालयमा देखिए । जियांसीको विगत झल्किने गरी पुरातन सभ्यतादेखि शाही राजवंशसम्मका हरेक वस्तु संग्रहालयमा राखिएको पाइयो । संग्रह र प्रदर्शनीबाट जियांसी प्रान्तले संरक्षित सांस्कृतिक विरासतको व्यापक लक्ष्य राखेको रहेछ । 


जियांसी एक लाख ६६ हजार ९०० वर्गकिलोमिटर (६४ हजार ४०० वर्ग माइल) मा फैलिएको छ । यो प्रान्तको उत्तरी भागबाट यांगत्जे नदी बग्छ । यो अनुपम परिदृश्यले प्रान्तलाई मात्र नभई देशकै सांस्कृतिक विकासमा पनि प्रभाव पारेको छ । जियांसी प्रान्तको इतिहास र संग्रहालयभित्र लुकेका रत्न अवलोकन गर्न पाउँदा धेरै खुसी भएँ । संग्रहित वस्तु हेर्दा विश्वको ठूलो राष्ट्र यही घरभित्र, कोठाभित्र देखेझैँ लाग्यो । 

चीनमा देखेका अधिकांश सामान हाम्रै गाउँघरमा पाइनेजस्ता थिए । साथीहरू अवतारसिंह लामा र पासाङ शेर्पाले पनि मैलेजस्तै आफ्ना गाउँघरका पुराना सामान सम्झिए । हामी एउटै निष्कर्षमा पुगेका थियौँ–कथित आधुनिक भनिएका नयाँ–नयाँ सामान प्रयोग गरी हामी हाम्रो सभ्यता नै नष्ट गर्दै छौँ ।


जियांसी प्रान्तले ठूलो ऐतिहासिक महत्व राखेको रहेछ । यो प्रान्तलाई चिनियाँ सभ्यताको चिनारीमध्ये एक मानिँदो रहेछ । यही ठाउँमा चिनियाँ कम्युनिस्ट पार्टीको रेड आर्मीले सन् १९३० को लङ मार्चमा आफ्नो महत्वपूर्ण अडान राखेको रहेछ । जियांसी इतिहासभरि कलात्मक र बौद्धिक आन्दोलनको केन्द्र पनि रहेछ, जसले प्रख्यात विद्वान्, चित्रकार र कविहरूको विकासलाई बढावा दिएको रहेछ । 


प्राचीन भाँडा र काष्ठकला 
यस प्रान्तका संग्रहालयमा हजारौँ वर्ष पुरानो कलाकृतिहरूको विशाल भण्डार छ । जियांसीको प्राचीन सभ्यताको पुरातन भाँडा र कांस्य कलाकृतिहरूको संरक्षण यहाँ पाइन्छ । ती प्राचीन भाँडा हेरिरहँदा जियांसीको प्राचीन दैनिकी, विश्वास र उनीहरूले त्यसवेला गर्ने अनुष्ठानहरूको झलक दिन्छ । संग्रहालय अवलोकनकै क्रममा काठको संग्रहालयमा पुगेँ । त्यहाँ हजार वर्ष पुरानो काठहरू सजाएर राखिएका रहेछन् । करोडौँ मूल्य पर्ने टेबल, कुर्सी, दराज त्यहाँ सजाएर राखिएका थिए । राजा–महाराजा बस्ने कुर्सीहरू र काठमा कुँदिएका देवीदेवताका मूर्ति पनि त्यहाँ देखिन्थे । ती काष्ठकलाले जियांसीमा निकै निपूण काठका शिल्पकार थिए भन्ने देखाउँछ । 


कतिपय काठका मूर्ति धपक्क बलेका थिए । भगवान्का मूर्ति बोलिहाल्छन् कि भन्ने लाग्थ्यो । यस्ता मनमोहक संग्रहालय घुमिरहँदा मेरो देशको लाखौँ टन काठ त्यत्तिकै कुहिएर खेर गइरहेको सम्झेँ । ढुंगैढुंगाको संग्रहालय नियाल्दा आफ्नै गाउँघर सम्झेँ । संग्रहालयमा संग्रहित ढुंगाको प्रकार हेर्दा नेपालका पाखा–पखेरी सबै ‘ओपन स्टोन म्युजियम’जस्तो लाग्यो । अनि नेपालीहरूको घर नै एकप्रकारले संग्रहालय रहेछ भन्ने पनि लाग्यो । ०७२ सालको भूकम्पबाट नेपालका धेरै पुराना मोडलका घर ध्वस्त भए । नयाँ उपकरण र घरको मोडलले हाम्रा पुराना घर नासिँदै गए ।

 

भूकम्पले पुराना भाँडाकुँडा र सामान पनि ध्वस्त बनायो । अहिले सहरबाट प्लास्टिक र स्टिलका भाँडाकुँडा र नयाँ सामान गाउँघरमा पुगेका छन् । जसले गर्दा गाउँघरमा रहेका केही पुराना सामग्री नासिँदै र लोप हुँदै जाने अवस्था छ । चीनमा देखेका अधिकांश सामान हाम्रै गाउँघरमा पाइनेजस्ता थिए । साथीहरू अवतारसिंह लामा र पासाङ शेर्पाले पनि मैलेजस्तै आफ्नो गाउँघरका पुराना सामान सम्झिए । हामी एउटै निष्कर्षमा पुगेका थियौँ–कथित आधुनिक भनिएका नयाँ–नयाँ सामान प्रयोग गरी हामी हाम्रो सभ्यता नै नष्ट गर्दै छौँ ।’ 


सिरेमिक संग्रहालय चीनको पहिलो र ठूलो कला संग्रहालय मानिन्छ । यो आधिकारिक रूपमा सन् १९५४ जनवरीमा स्थापना भएको रहेछ । यसले चार हजार ५०० वर्गमिटरभन्दा बढी क्षेत्रफल ओगटेको रहेछ । संग्राहलयमा ‘नियोलिथिक एज’देखि मुख्यतया हान र ताङ राजवंश र अन्य राजवंशका २० हजारभन्दा बढी महŒवपूर्ण सामग्री संग्रहित गरी राखिएका रहेछन् । त्यहाँ ५०० भन्दा बढी बहुमूल्य सांस्कृतिक अवशेषका साथै कचौरा, प्लेट, कप, ससर, जग, बोतल, जार र मूर्तिकला राखिएका रहेछन् । 


चीनमा धेरै संग्रहालय फरक–फरक विशेषता र उद्देश्य बोकेर स्थापना भएका छन् । कुनमा नयाँ र फरक सामग्री छन् भन्ने प्रतिस्पर्धाले पनि संग्रहालयप्रति आममानिसको विशेष चासो पाएँ । हाम्रोतिर अहिले पनि बजारका नयाँ–नयाँ सामान बोकेर गाउँमा साट्न जान लागेका व्यापारी देख्छु । यसबारे न जनप्रतिनिधिको ध्यान गएको छ, न सरोकारवाला निकायकै । पुराना सामान संरक्षण गरेर राख्न सके भावी पुस्तालाई इतिहास बन्थ्यो । खोइ त यसबारे चासो र चिन्ता ?