
नेपाली कांग्रेसले इतिहासमै पहिलोपटक बहुदिवसीय बिपी साहित्य महोत्सव सम्पन्न गर्यो । यस महोत्सवले थुप्रै थाती रहेका गम्भीर विषय सतहमा ल्याइदिएको छ । विमर्शका क्रममा विश्व राजनीति, नेपाली समाज र बहुल संस्कृतिबारे विविध कोणबाट बिपीको सामथ्र्य र सीमाको सन्दर्भसहित नेतृत्वमाथि मूल्यांकन गर्ने आधार उजागर भएको थियो । बिपीको निर्वयक्तिक र निजत्वका अन्तरद्वन्द्वले आफ्नै स्वअवलोकनको आवश्यकता बोध गराउँथ्यो । यस आलेखमा सबाल्टर्न अध्ययन दृष्टिकोणबाट बिपी साहित्य महोत्सवको वैयक्तिक अनुभव अनुभूतिसहित विवेचना गर्ने चेष्टा गरेको छु ।
कस्तो बिपी ? कसको बिपी ?
महोत्सवको पहिलो दिन नेपाली कांग्रेस केन्द्रीय कार्यालय सभाहल भरिभराउ थियो । उभिएरै एक घन्टा वृत्तचित्र ‘प्रजातन्त्रका लागि अपहरण’ हेर्नुपर्यो । तीस लाख भारु लुट्नका लागि विराटनगरबाट नेपाल वायुसेवा निगमको हवाईजहाज फारबेसगन्ज भारत पुर्याइएको दृश्यले नेपाली राजनीतिक मात्रै नभई सामाजिक इतिहास बोध गरायो ।
अपहरणकारी, विमान चालक, सहचालक, यात्री र प्रत्यक्ष सरोकारवालाको विचारसँगै अपहरित हवाईजहाज उडिरहेको दृश्य अनौठो देखिन्थ्यो । जब सभापति शेरबहादुर देउवाको उपस्थितिमा डकुमेन्ट्री प्रदर्शनी सम्पन्न भयो, तब अपहरणकारीमध्येका एक वसन्त भट्टराईले भने, ‘हामीले आफू पटक–पटक मन्त्री, प्रधानमन्त्री बन्न हवाईजहाज अपहरण गरेका थिएनौँ । यस्तो कष्टले निर्माण भएको पार्टी अहिले कसैलाई कमाई खाने भाँडो भयो । गाउँघरतिर जाँदा कांग्रेसी भन्दा कान थुन्नुपर्ने अवस्था किन आयो ? के बिपीले यस्तै देख्न चाहेका थिए ? ती जनतालाई खुसी पार्ने काम गर्नुस्, हामीलाई केही चाहिँदैन ।’ भरिभराउ सभाहल तालीले तिर्मिरायो ।
यस महोत्सवको सबैभन्दा सुन्दर पक्ष थियो, समाजवाद र बिपीबारे स्वतन्त्र बहस । आलोचनात्मक अभिव्यक्तिले तीन दिनभर स्थान पाइरह्यो । महामानव बिपी बिम्बले बढी ताली पायो, तर आलोचनात्मक अभिव्यक्तिले गाली खाएनन् ।
सभापतिको बाहुलीबाट बिपीको जन्मदिवसको बिम्बस्वरूप ११० बेलुन उडाइयो । मंगलधुनसहित शक्ति अबउप्रान्त सीमान्तकृत सबाल्टर्नको पोल्टामा पुर्याउने उद्घोष भयो । इतिहास सच्याइने, आत्मशुद्धीकरण र आत्मानुशासन स्थापित गर्ने विचार व्यक्त भयो । भावुकताको गहिराइबाट बिपीको मूर्तिमा माल्यार्पणपछि गमलामा मलसिञ्चनसहित साहित्य सम्मेलनको भव्य समुद्घाटन भयो । अभि सुवेदीको साहित्यिक सम्भाषण, बीच–बीचमा झाँकीहरू र प्यानल बहसले साहित्य महोत्सवमा रौनकता थपिँदै गयो । विदेश काम खोज्न हिँडिरहेका झुत्रेझाम्रे जनताको लुगा राणाशासकलाई पठाउने परिवारमा जन्मिएर बाल्यकालमै निर्वासित जीवन भोगेका बिपी । मर्यो भने कात्रो पठाउन तयार तर विद्रोह नरोक्ने अठोट बोकेकी आमाका छोरा । विधवा बिहेलाई स्विकार्ने प्रगतिशील व्यक्ति । महामानव बिपी । अनेक शब्दबिम्बले बिपीको महिमागान भयो । यद्यपि,मार्क्सवादी कि गान्धीवादी, क्रान्तिकारी कि विद्रोही बिपी ? बिपीको विविध स्वरूपको बिम्बमाथि प्रश्न पनि उठ्दै गए ।
कृष्ण खनालको तर्कले धेरैलाई तान्यो । बिपीलाई बिपी के कुराले बनायो ? समय चेतना र चिन्तनले अनि सामान्य जीवनशैली र भद्रताले बिपीलाई महान् बनायो । तर, त्यसैको अहिले बडो खडेरी देखिएको छ । बिपी दर्शन कुन कांग्रेसी सुन्न चाहन्छ, बोध गरेर व्यवहारमा लागू गर्न चाहन्छ ? अहिलेको नेतृत्वभित्र अहंकार मात्रै बाँकी छ । म ठूलो नेता भन्ने घमण्ड छ, जुन बिपीको विचारसँग पटक्कै मेल खाँदैन । बिपीले ठूलो होइन, असल नेता खोजेका थिए । त्यस्तो चरित्रविनाको रूप मात्रै नेतृत्वमा बाँकी रहेको अभिव्यक्तिले समारोह गुञ्जियो ।
कुनै पार्टीको केन्द्रीय कार्यालयमा यतिसम्म सहजै आलोचना पोख्न सक्नु लोकतन्त्रकै देन होला । महिला, जनजाति, दलित, मधेसीले उकुसमुकुस पोख्न पाए । इन्द्रेणी आवाज अलिकता अटायो ।
रंगीन समारोहस्थल क्रमशः प्रतिरोधी चेतना प्रवाहले थप रातोपिरो हुँदै गयो । बिपीलाई महामानव मान्नेहरू छन्, नमान्नेहरू छन् । गान्धीको प्रभावले महान् मान्नेहरू छन् । गान्धीको प्रभावले बर्बाद बनायो भन्नेहरू पनि भेटिन्छन् । समकालीन अम्बेडकरबारे किन बिपीले केही बोलेनन्, लेखेनन् ? बरु कामुका बारेमा बोलेका छन् । यौन मनोविज्ञानमा डुबेका देखिन्छन् । आँखैअघिको जातप्रथाबारे किन मौन छन् ? बिपीले जातपातसहितकै समाजवाद चाहेका थिए ? क्षेत्रीय तथा अन्य उत्पीडनबारे पनि बिपी मौन बसे ? अरुन्धती रोयले अम्बेडकर पढेपछि गान्धीप्रति आलोचक बनेकी थिइन् । महात्मा गान्धीलाई माहाआख्यानबाट बाहिर र अम्बेडकरलाई भित्र पसाउनुपर्ने बोध गरेकी थिइन् । बिपीबारे खोज गरिन् भने रोयले के भन्लान् भन्ने भान भयो । बिपीलाई महामानवको चुचुरोमा राख्ने होइन, अहिलेको बढ्दो जातीय क्षत्रीय द्वन्द्वात्मक जमिनमै टेकाउनु उचित हुन्छ भन्ने लाग्यो । बिपीले नसोचेको गणतन्त्र देशमा आयो । सबाल्टर्न जनताले के पायो? प्रश्नहरू धेरै सलबलाए ।
केदारभक्त माथेमाको सम्भाषणले शिक्षालय पनि कसरी कुलीनकै कब्जामा छ भन्ने छर्लंगै देखाइदियो । शिक्षा निजी होइन, सार्वजनिक हुनुपर्छ । सबै तह र तप्काका छोराछोरी एउटै छानामुनि अन्तरघुलित भएर पढ्नुपर्छ । स्वास्थ्य सुविधा पनि सबैका लागि समान हुनुपर्छ । संसद् भवनमा प्रतिनिधित्व सबैको समान हुनुपर्छ । यी भन्ने कुरा मात्रै भए । शिक्षा, स्वास्थ्य, सार्वजनिक क्षेत्र सबै वस्तुकरण गरिएको छ । अनि बिपीको समाजवाद संकटमुक्त कसरी रहन सक्छ ?
सीके लालले भनेझैँ कर्मविनाको आशा, पपुलिजम हाबी हुँदै गएको समयमा प्रश्नलाई सामना गर्ने सामथ्र्य गुमाएका आलोचनात्मक चेतविहीन अभियन्ता आफैँप्रति इमानदार भएनन् । आफ्नो द्विविधा स्पष्ट राख्ने बिपीका चेलाहरू अदृश्य शक्तिसँग उठबस गरिरहेका कुरा उठे, जहाँ विचार शून्य राजनीतिक मैदानमा सत्ता भोका गोरुलाई हरियो घाँस बनेको विमर्श चल्यो । ‘मेरी नहीँ तो किसीकी नहीँ’ पाराले स्वार्थमा लिप्त आजको समाजले बिपी बुझेनन्, बिपीले पनि आजको समाज बुझेनन् ? प्रश्नहरू धेरै उठेका छन् ।
सबाल्टर्नको शक्तिको दुरुपयोग
केदारभक्त माथेमाको सम्भाषणले समाजवादी सपना असमावेशी संस्कारका कारण संकटमा सुस्ताइरहेको स्पष्ट देखाइदियो, विश्वविद्यालयसमेत । आहुतिले त्यही चिराबाट ऐतिहासिक महाभूलको मुस्लो देखाइदिए । बिपी र पुष्पलाल दुवै र दुवैका चेलाहरूले नेपाली समाजको असली चरित्रको अध्ययन विश्लेषण नगरीकन राजनीति गरिरहेको विषय बहसमा आए । बिपी कांग्रेसको चारभञ्जाङमा मात्रै सीमित हुनुहुन्न भन्नेहरू भेटिए । बिपीलाई महामानवको चुचुरोमा चढाउनुहुन्न भन्ने भाष्य जबर्जस्त उठ्यो ।
बिपीको समाजवादको केन्द्रमा सधैँ गाउँ र किसान हुन्थ्यो । ती गाउँ, किसान कहाँ, कस्तो अवस्थामा छन्, अहिले कसैलाई मतलब छैन । जल–जमिन–जंगलसँग नेताहरूको नाता टुटिसकेको छ । सबाल्टर्न दृष्टिकोणबाट साहित्य सम्मेलनलाई अवलोकन गर्दा बिपीको समाजवाद संकटग्रस्त देखियो ।
बिपी मार्क्सवादी थिए, समाजवादी सिद्धान्तबाट प्रभावित । आनन्द कुमारले बिपी गान्धीभन्दा बढी भाग्यमानी बताए (पुष्पलाल पनि) । किनकि भारतमा कुनै आधिकारिक समाजवादी दल अस्तित्वमा आएन, नेपालमा आए । समाजवादी बत्तीमा जसोतसो तेल थप्नेहरू थुप्रै उदाएर समाजवादी दीप निभ्न दिइएको छैन नेपालमा । यो काम संस्थागत रूपमा भारतीय समाजवादी दलले आजसम्म गर्न नसकेको उनको दाबी थियो । यद्यपि, लोकतन्त्र खतरामा परेको छ, किनकि समाजवादी दर्शनअनुरूप एउटा भूमिसुधारसम्म भएको छैन, सबै समृद्धि मात्रै भनिरहेछन् । पुँजीवादले सबै संस्कृति खर्लप्पै खाइसक्यो । सबै सम्पन्नता चाहन्छन्, समता चाहन्नन् । पुँजीवादको हैकमले यही चाहन्छ । समता दलभित्र, समाजमा कतै चाहन्नन् । चुनाव जितेपछि सबै साढे बन्छन् । सत्तामा पुग्नेबित्तिकै समताका मुद्दा छाडिदिन्छन् । सम्पन्नताको मात्रै कुरा गर्छन् । दक्षिण एसियामै समाजवाद संकटग्रस्त रहेको कुमारको तर्क थियो ।
बिपीले समाजवादमा पुग्ने दुईवटै बाटो प्रयोग गर्न खोजे । अपहरणकारी अनुयायी जन्माए । प्रजातान्त्रिक पद्धतिको बाटो अपनाए । दुवै खतरामुक्त देखिएनन् । जननिर्वाचित सरकारसमेत टिक्न सकेन । अहिले निर्वाचनकै कारण लोकतन्त्र सबैभन्दा बढी धरापमा परेको देखिन्छ । धनतन्त्र लोकतान्त्रिक समाजवादको क्यान्सर बनेको छ । सान–सौकातकै औकात देखाएर चुनाव जित्नुपर्ने रोगले सबैलाई नराम्ररी गाँजेको छ । कुमारले भने, ‘पुँजीवादी औषधिले आमा मारिसक्यो, बुबाको उपचारका लागि उही औँषधालय जाने कि नजानेको अवस्थामा समाजवादी फसेका छन् ।
पुँजीवाद असफल भइसक्यो । अब जाने कहाँ, सामन्तवाद तथा साम्राज्यवादमा पक्कै होइन । जाने लोकतान्त्रिक समाजवादमै हो । तर चीन, रुस, युरोपजस्तो हाम्रो समाज होइन, जहाँ जात व्यवस्था छैन । यहाँ जात व्यवस्था छ । जसले दमनको संरचना हुर्काइरहेको छ ।’ क्लास क्यारेक्टर परिवर्तन गर्न सकिएला, तर कास्ट क्यारेक्टर कसरी बदल्ने, जसले सबाल्टर्न उत्पादनको कारखाना निरन्तर चलाइरहेको छ । यसर्थ शान्तिको नारा होइन, सिर्जनात्मक क्रान्ति अपरिहार्य देखिन्छ । साहित्यले त्यस्तो सांस्कृतिक क्रान्तिलाई सघाउन सक्छ । जुन आजसम्म वामपन्थी तथा गैरवामपन्थी दुवै आन्दोलनले बेवास्ता गरिआए । बिपीले क्रान्ति, विद्रोहका कुरा गरे । सांस्कृतिक क्रान्तिको अपरिहार्यतालाई अपनाएनन् । सांस्कृतिक क्रान्ति स्विकार्न सहज थिएन । बहुमत आफ्नै वर्ग समुदाय त्यसका लागि तयार थिएनन् । आज पनि तयार देखिन्नन् ।
समाजवादको सपना–विपना
यस महोत्सवको सबैभन्दा सुन्दर पक्ष थियो, समाजवाद र बिपीबारे स्वतन्त्र बहस । आलोचनात्मक अभिव्यक्तिले तीन दिनभर स्थान पाइरह्यो । महामानव बिपी बिम्बले बढी ताली पायो । आलोचनात्मक अभिव्यक्तिले गाली खाएनन् । बाबुराम भट्टराईले बढी पेचिला प्रश्न पाए । आहुतिले आलोचनात्मक आगो सल्काए । कुनै पार्टीको केन्द्रीय कार्यालयमा यतिसम्म सहजै आलोचना पोख्न सक्नु लोकतन्त्रकै देन होला । महिला, जनजाति, दलित, मधेसीले उकुसमुकुस पोख्न पाए । इन्द्रेणी आवाज अलिकता अटायो । बिपीले १५ वर्ष पाएनन्, तिमीहरूले पाएर पनि के गर्यौ भन्ने प्रश्नको सामना नेताहरूले गरे । प्रजातन्त्रवादी, वामपन्थी तथा स्वतन्त्र समूह एउटै मञ्चमा उपस्थित दृश्य लोभलाग्दो देखिन्थ्यो । एउटै प्यानलमा स्तूतिगानसँगै प्रतिरोधी चेतना प्रस्फुटनले अद्भूत आनन्द दिन्थ्यो ।
साहित्य महोत्सवमा राजनीतिक विषय हाबी देखिन्थ्यो । बिपीको निधनपछि प्रजातन्त्रको पुनस्र्थापना भयो । देशमा गणतन्त्र र संघीयता स्थापना भयो । बिपीले नबोलेका विषयमा बिपी महोत्सवमा विमर्श चर्कियो । बिपीले प्रजातन्त्र (लोकतन्त्र), व्यक्तिगत स्वतन्त्रता भनिरहे, लेखिरहे । लोकतन्त्र हुँदैमा देश बलियो हुँदैन रहेछ । लोकतन्त्र नहुँदैमा पनि देश बलियो थिएन । अहिले देश अरू कमजोर देखिँदै छ । सत्ता राजनीतिको लगाम पार्टीहरूको हातमा छैन । समाजवाद पुँजीपतिको अस्पतालमा उपचाररत देखिन्छ । यसको प्रमुख दोषी सबाल्टर्न समुदाय होइनन् ।
‘मिनिमालिस्ट’ विचार बोकेका बिपी र पुष्पलालका चेलाहरूको जीवनशैली, साइकल चढेर हेर्दा निकै भड्किलो देखिँदै छ । समाजवादका पहरेदार पुँजीवादबाट दमित देखिन्छन् । बिपीको समाजवादको केन्द्रमा सधैँ गाउँ र किसान हुन्थ्यो । ती गाउँ, किसान कहाँ कस्तो अवस्थामा छन् अहिले कसैलाई मतलब छैन । जल–जमिन–जंगलसँग नेताहरूको नाता टुटिसकेको छ । सबाल्टर्न दृष्टिकोणबाट साहित्य सम्मेलनलाई अवलोकन गर्दा बिपीको समाजवाद संकटग्रस्त देखिन्छ । सबाल्टर्न जनता दमित रहुन्जेल समाजवाद बलियो बन्दैन, बनेन । यद्यपि, बिपी, पुष्पलालका चेलाले सामूहिक ढंगले चाहेमा समाजवाद व्यवहारमा लागू गर्न सकिन्छ, किन सकिन्न ?