• वि.सं २०८२ बैशाख २९ आइतबार
  • Sunday, 11 May, 2025
प्रेम गौतम
२०८० असोज ६ शनिबार ०८:५५:००
समाज

ज्ञवाली दाजुभाइको राजनीतिक यात्रा : पार्टीमा दुईतिर, भूगोलमा तीनतिर

२०८० असोज ६ शनिबार ०८:५५:००
प्रेम गौतम

गुल्मीका पण्डित खुमानन्द ज्ञवाली कांग्रेस पृष्ठभूमिका थिए । बालबच्चालाई पढाउनुपर्छ भन्ने चेत उनमा थियो । जेठो छोरा भक्तिराम ज्ञवालीले जन्मथलोमा प्राथमिक शिक्षा पूरा गरे । त्यसपछि थप अध्ययनका लागि गुल्मीबाट दाङ झरे । दाङमा पढाउँदै पढ्दै गर्न थाले । 


भक्तिरामले पढ्दै पठाउँदै दाङमा भाइहरूलाई पनि अध्ययन गर्ने वातावरण बनाए । समाजमा हुने अन्याय, अत्याचार, थिचोमिचो, शोषण, दमन, उत्पीडन, सामाजिक विभेदले हद नाघेको थियो । भक्तिराम विद्यार्थी अवस्थाबाटै वामपन्थी आन्दोलनमा जोडिए । नेपाल राष्ट्रिय शिक्षक संगठनको पहिलो दाङ जिल्ला अध्यक्ष भए उनी । संस्कृति माध्यमिक विद्यालयमा पठाउँथे । मोहन वैद्य पनि भक्तिरामका शिष्य थिए ।


वामपन्थी आन्दोलनमा लागेपछि सोही अनुसारका किताब, पत्रपत्रिका पढ्नु स्वाभाविकै भयो । अन्य भाइहरूलाई दाङमा पढ्ने वातावरण बनाए । भक्तिरामले शिक्षण पेसा र भूमिगत राजनीतिलाई एकसाथ अगाडि बढाए । दाजुको वामपन्थी झुकाव र समाजको चरित्रले भाइहरू पनि वामपन्थी आन्दोलनमा लाग्ने वातावरण बन्यो । दाइले ल्याएका किताब र पत्रपत्रिका पढेर कलिलो दिमागमा क्रान्तिकारीपनले डेरा जमाउँदै गयो । कांग्रेस पुष्ठभूमिका खुमानन्दको पूरै परिवार वामपन्थी बन्यो । खुमानन्दलाई घत लाग्ने किताबहरू पढ्ने वातावरण छोराहरूले तयार पारेका थिए । अध्ययन गर्दैगर्दै कम्युनिस्ट मन पर्न थाल्यो । खुमानन्दका परिवार मात्रै होइन, नातागोता पनि सबै कम्युनिस्ट बने । खुमानन्दको माइलो छोरो गोविन्दको पनि वामपन्थीतिरै झुकाव थियो । उनको पढ्दापढ्दैै दाङमा ०१८ सालमा निधन भयो । 


शोषण, अन्याय र विभेदले कम्युनिस्ट
दाङमा विशेषगरी थारू समुदायमाथि ठूलो शोषण थियो । किसानले भोगेको पीडा, असमानता, शोषण, अन्याय, विभेद गलत हो, यसको विपक्षमा उभिनुपर्छ भन्ने भावना भाइ युवराज ज्ञवालीमा जाग्यो । दाजु भक्तिरामले ल्याएका किताब र पत्रपत्रिका पढ्दापढ्दै युवराज पनि कम्युनिस्ट विचारबाट प्रभावित भए । युवराजलाई कम्युनिस्ट पार्टी ठिक हो भन्ने कुरा ०२४ सालमा आठ कक्षामा पढ्दादेखि नै लागेको थियो । ‘अच्छा कम्युनिस्ट कैसे बने ?’, यो किताब आठ कक्षा पढ्दा नै युवराजले पढे । ‘जेठो दाइले किताब ल्याउने भएकाले अध्ययनको वातावरण बन्यो । स्कुलमा पनि एक विषय हिन्दीमा पढाइ हुने भएकाले हिन्दी राम्ररी बुझ्थेँ । अन्य विभिन्न हाते पुस्तिका र पत्रपत्रिका पनि पढ्ने वातावरण थियो । कक्षा १० सम्म दाङमा पढ्दा कम्युनिस्टका धेरै किताब र पत्रपत्रिका पढेँ । स्कुलमा पनि कम्युनिस्ट र कांग्रेस भन्ने हुन्थ्यो । कम्युनिस्ट साथीहरू बनाउने क्रम बढ्दै गयो । जसले कालान्तरमा भूमिगत राजनीतिसम्म पु¥यायो,’ युवराज स्मरण गर्छन् ।


युवराजको खास राजनीति पाल्पा आएपछि सुरु भयो । पश्चिम भेगमा बिएसम्म पढ्ने कलेज तानसेनमा मात्रै थियो । त्यहाँ पढ्दा आधा विद्यार्थी, आधा पार्टी कार्यकर्ताको रूपमा काम गरे । स्कुलहरूमा जाने, कमिटी गठन गर्ने, प्रशिक्षण दिने काम गरे । पर्चा बाँड्ने, आन्दोलन, जुलुस, प्रदर्शन, साहित्यिक, सांस्कृतिक कार्यक्रम आदि धेरै गरे । भैरहवामा दीपक बोहराको नेतृत्वमा मण्डले सक्रिय थियो । तानसेनमा भने पुष्पलाल नेतृत्वको पार्टीको विद्यार्थी संगठन धेरै बलियो थियो ।


०२५ सालमा पुष्पलालको पार्टी गठन भएपछि ०२६ सालदेखि गुल्मी जिल्लामा संगठनात्मक काम व्यापक हुन थाल्यो । गुल्मीमा पार्टीका नेताहरूले साइलो दाजु फणिन्द्रसँग सम्पर्क बढाएका थिए । घरमा आएर बस्ने, संगठन बढाउने काम भइरहेको थियो । नेत्रलाल अभावी, शिवराज गौतम, मोहन वैद्यलगायत नेताहरू पटक–पटक आइरहन्थे । त्यही क्रममा युवराजको नेताहरूसँग सम्पर्क भयो । नेताहरूको संगत र दाङको सामन्ती शोषणलाई हटाउने पार्टी कम्युनिस्ट नै हो भन्ने ठानेर युवराज भूमिगत राजनीतिमा संगठित भए ।

एमाले उपाध्यक्ष युवराज ज्ञवाली, एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य रामकुमार ज्ञवाली र एमाले केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली सहोदर दाजुभाइ हुन् । राष्ट्रिय नेताको छवि बनाएका युवराज एकपटक मन्त्री भइसकेका छन् । पोलिटब्युरो सदस्य रामकुमार र केन्द्रीय सदस्य लक्ष्मण पनि राजनीतिमा अगाडि बढिरहेका छन् ।


युवराजले ०२८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिए । कम्युनिस्ट पार्टीको सदस्यता लिन अग्नि परीक्षा नै पार गर्नुपथ्र्यो । लुम्बिनी अञ्चल कमिटी सदस्य देवी पाण्डे ‘आनन्द’ले युवराजलाई कम्युनिस्ट पार्टीको सदस्यता दिए । त्यसपछि उनी पूर्णकालीन राजनीतिमा होमिए । दाङमा पुष्पलालको पार्टी खोल्ने काम युवराजहरूकै सक्रियतामा भयो । रामकुमार र लक्ष्मणले स्वतः कम्युनिस्ट आन्दोलनलाई पछ्याए । लक्ष्मणले पनि विद्यार्थी जीवनदेखि नै राजनीति सुरु गरेका हुन् । तर, लक्ष्मणले लामो समय जेलजीवन बिताए । युवराज गणतान्त्रिक आन्दोलनका क्रममा एक महिना जेल परे ।

 

त्यसबाहेक शान्तिपूर्ण आन्दोलनको क्रममा थुप्रैपटक गिरफ्तारीमा परेका छन् । रामकुमार पनि धेरैपटक गिरफ्तार भए, तर, लामो जेलजीवन उनले बिताउनुपरेन । ‘पार्टीले नै बच्ने र संगठन विस्तार गर्ने निर्देशन दिन्थ्यो । थुप्रै आरोहअवरोह पार गरेर भूमिगत कालमा संगठन निर्माण गरियो । रोजेको ठाउँमा भन्दा पार्टीले खटाएको ठाउँमा गएर संगठन विस्तार गर्नुप¥यो,’ रामकुमार सम्झिन्छन् । त्यही क्रममा आफू कञ्चनपुर पुगेको उनी बताउँछन् । सिंगो परिवार पुष्पलालको पार्टी, मुक्तिमोर्चा, को–अर्डिनेसन केन्द्र माले हुँदै एमाले भयो । पार्टी विभाजनका वेला लक्ष्मण मालेमा लागे भने रामकुमार एकीकृत समाजवादीमा ।


शिक्षण पृष्ठभूमि
युवराज दाङमा पढ्दापढ्दै पाल्पामा प्रअ भएर गए । रामकुमार पनि अनेरास्ववियु एकताको पाँचौँमा जोडिए । पाँचौँको अध्यक्ष टंक कार्की थिए भने सुदूरपश्चिमको अध्यक्ष रामकुमार थिए । ०३६/०३८ को राप्ती, भेरी, कर्णाली, सेती, महाकाली सुदूरपश्चिममा पथ्र्यो । झलनाथ खनाल मालेको महासचिव हुँदा नेत्रलाल केन्द्रीय सदस्य थिए । उनै नेत्रलालले रामकुमार र लक्ष्मणलाई पार्टी सदस्यता दिलाएका हुन् ।युवराज र रामकुमारले पढाए । लक्ष्मण भने जेलमा परे । चौधरी थारू र राना थारू भाषाको ज्ञान रामकुमारसँग छ । थारू भाषाबारे युवराज र लक्ष्मण पनि जानकार छन् । 


०३७ सालमा युवराज भूमिगत भए । पारिवारिक उल्झन भयो । ०३८ सालमा लक्ष्मण दाङमा जेल परे । रामकुमारलाई पारिवारिक रूपमा जोगिनुपर्ने अवस्था आयो । तत्कालीन नेतृत्वले सुदूरपश्चिममा जाने, रिजर्भ भएर बस्ने, सेल्टरसम्म बनाउने निर्देशन दियो । पार्टी निर्देशन मान्दै रामकुमार सुदूरपश्चिम हानिए । ०३८ सालदेखि रामकुमार सुदूरपश्चिममै छन् । ०३९ सालदेखि रामकुमारले कञ्चनपुरमा शिक्षक पेसा अँगाले । राजनीतिलाई पनि सँगै अघि बढाए । गाउँघर जाने, चिनजान गर्ने, सेल्टर बनाउने काम पञ्चायतकालमा गरे । रामकुमार ०४२ सालको मालेको पार्टी सदस्य हुन् । पार्टीको शिक्षक फ्याक्सनमा थिए उनी । 


‘पार्टी सदस्यता लिन निकै गाह्रो थियो । फारम भरेपछि पनि सबै कुरा बुझेर मात्रै पार्टीले सदस्यता दिन्थ्यो । भूमिगत कालमा लौह अनुशासन हुन्थ्यो,’ रामकुमारले स्मरण गरे । ०४२ सालमै युवराज सुदूरपश्चिम गएका थिए । पैदल हिँड्नुपथ्र्यो । सेल्टरमा नेतालाई पुर्‍याउने, चिठी ओसारप्रसार गर्ने, दस्ताबेजहरू पुर्‍याउने, अध्ययन मण्डल बनाउनेलगायत काम भूमिगत कालमा खुब हुन्थे । 


राजनीतिमा ज्ञवाली दाजुभाइ
एमाले उपाध्यक्ष युवराज ज्ञवाली, एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य रामकुमार ज्ञवाली र एमाले केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली सहोदर दाजुभाइ हुन् । राष्ट्रिय नेताको छवि बनाएका युवराज एकपटक मन्त्री भइसकेका छन् । पोलिटब्युरो सदस्य रामकुमार र केन्द्रीय सदस्य लक्ष्मण पनि राजनीतिमा अगाडि बढिरहेका छन् । पुर्खौली घर गुल्मी भए पनि अहिले ज्ञवाली दाजुभाइ तीनतिर छन् ।

 

भूमिगत राजनीतिमा पार्टीले खटाएको क्षेत्रमा राजनीतिक अभियान चलाउने क्रममा नै ज्ञवाली दाजुभाइ तीनतिर भएका हुन् । युवराज दाङ, रामकुमार कञ्चनपुर र लक्ष्मण बर्दियाबाट राजनीति गर्छन् । रामकुमार एकीकृत समाजवादीको सुदूरपश्चिमको सह–इन्चार्ज छन् भने लक्ष्मण एमालेका बर्दिया इन्चार्ज छन् ।


०५५ सालदेखि स्थायी कमिटी सदस्य भएका युवराज दुईपटक एमालेको उपाध्यक्ष, सचिव भए । युवराज र रामकुमारले तीसको दशकबाटै राजनीतिक जीवन सुरु गरेका हुन् । पढ्दै, पठाउँदै भूमिगत राजनीतिमा सक्रिय भएका युवराज र रामकुमार संगठन विस्तार र प्रशिक्षणमा अब्बल छन् । साइँला फणिन्द्र र युवराजको पार्टीमा संलग्नता सँगसँगै हो, मुक्तिमोर्चामार्फत । हाल जेठा भक्तिराज र साइँला फणिन्द्र राजनीतिमा सक्रिय छैनन् । 


लक्ष्मण ५० सालदेखि निरन्तर बर्दियाको भूगोलमा छन् । लक्ष्मण लामो समय बर्दिया जिल्ला कमिटी सचिव भए । बर्दिया र बाँकेको इन्चार्ज भए । केही वर्ष कर्णालीको इन्चार्ज पनि भए । हुम्ला, मुगु, कालिकोट, जाजरकोट, जुम्लामा लक्ष्मणकै अग्रसरतामा जिल्ला कमिटी बने । 


पार्टी विभाजन हुँदा लक्ष्मण मालेमा लागे, रामकुमार एकीकृत समाजवादीमा । ‘जता लागे पनि पारिवारिक सम्बन्ध, आवतजावत राम्रै छ । कुराकानी भइरहन्छ । पार्टी फुटाएर जानु हुँदैन भनेर आग्रह गरेँ, तर जबर्जस्ती गरिनँ,’ युवराज भन्छन् ।  


मन्त्री बन्दा जुरेको सामूहिक जमघट
तीनतिर राजनीतिक क्षेत्र बनाएका ज्ञवाली दाजुभाइबीच पारिवारिक भेटघाट र राजनीतिक कुराकानी न्यून मात्रामा हुन्छ । युवराज मन्त्री भएका वेला पाँच दाजुभाइ र दुई दिदीबहिनीबाट संयुक्त भेट भएकोबाहेक सामूहिक जमघट भएको स्मरण लक्ष्मणसँग छैन । ‘पारिवारिक भेटघाटमा राजनीतिक कुराकानी हुन्छ । तर, विवादित कुरा हुँदैन’ युवराज सम्झन्छन्, ‘हाम्रा धेरै एजेन्डा मिल्छन् । यही नै गर्नुपर्छ भनेर एकले अर्कालाई फोर्स गर्दैनौँ ।’ 


‘राजनीतिक गफ त्यस्तो हुँदैन । कहिलेकाहीँ राजनीतिक गफ गर्न खोजेपछि राजनीतिक कुरा नगरौँ भन्छु,’ रामकुमार भन्छन्, ‘राजनीतिमा बाउ जहाँ लागेको छ, त्यहीँ छोरो लाग्नुपर्ने, दाइ जहाँ लागेको छ, त्यहीँ भाइ लाग्नुपर्ने भन्ने बाध्यता होइन । आफ्नो इच्छा हो । गुल्मीमा जन्मेँ, दाङमा पढेँ, कञ्चनपुरमा राजनीति गरिरहेको छु ।’ 


गुल्मीमा प्राथमिक तह पढेपछि थप शिक्षाका लागि रामकुमार पनि दाङ गए । रामकुमार भित्रभित्रै राजनीतिमा लागेका थिए । युवराजले चिठीपत्र र दस्ताबेज नेताहरूसम्म पुर्‍याउन वेलावेला रामकुमारलाई लगाउँथे । ‘नेतालाई भेट्न गइन्थ्यो । फलानो सेल्टरमा गएर डकुमेन्ट दिनू भन्ने हुन्थ्यो । म बच्चा थिएँ, खुरुखुरु जान्थेँ, कसैले शंका पनि गर्दैनथ्यो,’ रामकुमार भन्छन् । 


सुदूरपश्चिममा चर्चित नेता स्व. प्रेमसिंह धामी र युवराजको भेट रामकुमारले नै ०४५ सालमा बेलौरी सेल्टरमा गराएका थिए । युवराजसँग एक–दुई घन्टा छलफल गरेपछि प्रेमसिंह माले हुन राजी भएका थिए । प्रेमसिंह सांसद र मन्त्री पनि भए । 


युवराज ०१०, रामकुमार ०१४ र लक्ष्मण ०१६ सालमा जन्मिएका हुन् । युवराज विद्यार्थी, शिक्षक हुँदै पार्टीमा लागे । रामकुमार विद्यार्थी राजनीतिमा बढी लागे । लक्ष्मण सुरुदेखि नै पार्टीमा लागे । लक्ष्मण गम्भीर स्वभावका छन् । प्रशिक्षणमा तीनै नेता अब्बल मानिन्छन् । युवराज त लेखपढमै बढी समय बिताउँछन् । पार्टी केन्द्रको स्कुल र संगठन विभागसमेत युवराजले चलाए । जनसंगठन सञ्चालन गर्नमा रामकुमार अब्बल मानिन्छन् । रामकुमार १५ वर्ष एमालेको अञ्चल सचिवसमेत भए । 


संसदीय अनुभव
पद, प्रतिष्ठा र फाइदाका लागि राजनीतिमा लागेको होइन भन्ने मान्यता ज्ञवाली दाजुभाइको छ । कतिपय अवस्थामा पाएको जिम्मेवारी पनि अन्य योद्धालाई दिएको सम्झना उनीहरूसँग ताजै छ । युवराज ०५४ सालमा राष्ट्रिय सभाको सांसद भए । ०५६ मा विपक्षी दलको नेता भए । ०६० सालमा स्थानीय विकास मन्त्री भए । ०७० सालमा संविधान सभा सदस्य भए । ०४८ सालमा दाङबाट निर्वाचन लडे, तर खुमबहादुर खड्कासँग पराजित भए । ०६४ को निर्वाचन पनि युवराज पराजित भए ।


०४८ मा रामकुमार कञ्चनपुरबाटै निर्वाचन लडे । तर, जित्न सकेनन् । ०५१ मा रामकुमारले कञ्चनपुरबाट निर्वाचन जिते । ०५६ मा पनि निर्वाचन लडे, तर पार्टी विभाजनको असर पर्‍यो, जित्न सकेनन् । ०६४ मा दाङबाट युवराज, कञ्चनपुरबाट रामकुमार र बर्दियाबाट लक्ष्मण उम्मेदवार थिए । संयोग, तीनैजना पराजित भए । 


लक्ष्मण ०६४ को संविधानसभा निर्वाचनमा बर्दियाबाट उम्मेदवार बने । माओवादीको लहर थियो, लक्ष्मण निर्वाचित भएनन् । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाटै उम्मेदवार थिए । उनी फेरि पराजित भए । तारतम्य मिलाउन सकेको भए निर्वाचित भइन्थ्यो भन्ने लक्ष्मणको विश्लेषण छ । निर्वाचन नजिते पनि उनी बर्दियाकै भूगोलमा क्रियाशील छन् । 


अध्यापन र जेलजीवन
युवराजले पाल्पाका हाइस्कुलमा पढाए । प्रअ भएपनि ज्ञवाली भूमिगत काममा निकै सक्रिय थिए । प्रअको जागिर छाडेर ०३८ साल भदौमा युवराज भूमिगत भए । ०३८ सालमै युवराज गुल्मी जिल्ला सचिव भए । त्यसपछि पार्टीले खटाएको जिल्ला र अञ्चलमा उनी सक्रिय भए । गुल्मी, रुपन्देही, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेतलगायत जिल्लामा पार्टी निर्माण गर्दै हिँडे । लुम्बिनी, सेती, महाकाली अञ्चलसम्म भूमिगत रूपमा संगठन विस्तार गरे । रामकुमार र लक्ष्मण पनि सँगसँगै आ–आफ्नो ठाउँमा विद्यार्थी र पार्टी राजनीतिमा सक्रिय भए । रामकुमार कञ्चनपुरको हाइस्कुलमा पठाउँथे । भूमिगत राजनीतिमा संगठन विस्तारमा रामकुमारको पनि ठूलो योगदान छ । ०५१ सालको निर्वाचनमा शिक्षकबाट राजीनामा गरेर निर्वाचन लडे । 


लक्ष्मण पनि सात कक्षा पास गरेपछि थप अध्ययनका लागि दाङ आए । मोहनविक्रमसँग विद्रोह गरेका नेता नेत्रलाल अभागीको सन्देश समूहको सम्पर्कमा पुगे । दाइहरूलाई जस्तै समाजमा हुने शोषण, अन्यायले वामपन्थी पार्टीप्रति आकर्षित ग¥यो । ‘राजनीतिक परिवार भएकाले छलफल÷बहस हुन्थ्यो । भूमिगत नेताहरूले सेल्टर लिन्थे । सम्पर्क, सम्बन्ध बढाउने काम गर्थे । त्यो परिवेशले पनि राजनीतिमा लाग्न प्रेरित गर्‍यो,’ लक्ष्मण सम्झिन्छन् । लक्ष्मण ०३७ सालमा पार्टीमा संगठित भए । लक्ष्मणलाई नेत्रलाल अभागीले सदस्यता दिएका हुन् । 


युवराज भने शाही शासनकालमा एक महिना जेल परे । प्रतिगमनविरोधी आन्दोलनमा हिरासतमा दर्जनौँपटक परे । सिंगो परिवार नै राजनीतिमा होमियो । साइँलो दाइ फणिन्द्र दाङमा किसान आन्दोलनमा सक्रिय थिए ।


नेकपा विवादमा तीन नेता
नेकपा विवादमा युवराज, रामकुमार र लक्ष्मण एउटै मोर्चामा थिए । पछि लक्ष्मण ओलीतिर लागे । युवराज र रामकुमार नेपाल पक्षमा खुलेर लागिरहे । उनीहरू एमाले अध्यक्ष केपी ओलीको चर्को आलोचकको रूपमा चिनिन्थे । एमाले विभाजन हुँदा युवराजले नेपाललाई साथ दिएनन् । अन्तिम समयमा उनी ओलीतिर लागे । रामकुमारले भने नेपालको साथ छाडेनन् ।


लक्ष्मण लामो समयदेखि वामदेव गौतम खेमामा थिए । तर, पहिलोपटकको प्रतिनिधिसभा विघटनपछि उनी गौतमलाई छाडेर ओलीतिर लागे । उनी तत्कालीन नेकपाको ओली खेमाको ७ पुसको बैठकमा सहभागी भएका थिए । त्यतिवेला युवराजले लक्ष्मणलाई नेपाल समूहमा लाग्न आग्रह गरेका थिए । तर, लक्ष्मणले मानेनन् । 


१०बुँदे सहमतिपछि युवराज पनि ओलीसँगै पुगे । रामकुुमारलाई पनि एमालेमा राख्न प्रयास गरे । तर, रामकुमारले मानेनन् । त्यसो त, एमालेबाट माले बन्दा लक्ष्मणलाई एमालेमै राख्न युवराजले जोड गरेका थिए । तर, सफल भएनन् । माले विभाजनमा रामकुमारलाई भने युवराजले एमालेमै राखेका थिए । ‘मलाई युवराज दाजुले अहिलेको विभाजनमा पनि ओलीतिरै बस्न अनुरोध गर्नुभएको थियो । मैले हुँदैन भन्दिएँ, त्यसपछि खासै बल गर्नुभएन,’ रामकुमार भन्छन्, ‘युवराज दाजु दाङमा राजनीति गर्नुहुन्छ, म कञ्चनपुरमा राजनीति गर्छु । त्यहाँको वस्तुस्थिति उहाँलाई थाहा छैन ।’ यसअघि ०५४ सालमा एमाले विभाजन हुँदा लक्ष्मणले वामदेव गौतमलाई साथ दिँदै नेकपा मालेमा आबद्ध भएका थिए । युवराज र रामकुमार एमालेमै थिए । 


कतिपय अवस्थामा स्थानीय परिस्थितिले पनि काम गरेको हुन्छ । ०५४ मा महाकाली सन्धिका कुराले लक्ष्मणलाई बढी प्रभाव पार्‍यो । भेरी अञ्चलका साथीहरूसँग छलफल गरेरै माले भएका थिए । ‘त्यतिवेला म जिल्ला कमिटीको सचिव थिएँ । त्यसवेलाको जिल्ला कमिटीमा एकजना साथीले मात्रै नोट अफ डिसेन्ट लेख्नुभएको थियो । हामीले पार्टी नै मालेमा समाहित गरेका हौँ । त्यति हुँदा पनि हामीले पार्टी विभाजन गलत हो भनेर अन्तरसंघर्ष चलाएका थियौँ । अन्ततः मिल्न पुगियो,’ लक्ष्मण भन्छन् । 


माले–एमाले हुँदा पारिवारिक रूपमा केही असहज भएको लक्ष्मणको अनुभव छ । ‘त्यतिवेला सोचाइ पनि साँघुरो थियो, अहिलेजस्तो फराकिलो थिएन । अहिले त्यस्तो हुँदैन । पार्टी कमिटीले गर्ने निर्णयलाई सहज ढंगले लिन्छौँ हामी । वैचारिक रूपमा विश्लेषण गर्दा जे निष्कर्ष निस्कन्छ, त्यसैमा लाग्ने हो ।’