
भो कवि तिमी कविता नलेख
दिनदहाडै साना जामा च्यातेर
कलिला कोपिलाको घाँटी छिनालेर
अँध्यारो गुफामा आराधना गर्ने
भ्रमको पर्दा टाँगेर
न्यायको कविता डकार्दै हिँड्ने
ए कवि तिमी कविता नलेख
कुल्चेर सपनाको धपधपाउँदो पिठ्यूँ
कौडीको भाउमा कोमल शरीरको दलाली गर्ने
फिँजाएर नाङ्लोभरि भ्रमको बिस्कुन
रहरको उडान भराउने
चोक, गल्ली, बजारमा कहलिएको
ओ नामुद कवि
भो तिमी कविता नलेख
शक्तिको पुजारी
कहिले तारे झन्डामुनि
कहिले हँसिया–हथौडा झन्डामुनि
तिमी होनहार प्रगतिशील कवि
तिमी सत्ताको दलाल कवि
ओ तिमी कविता लेख्दै नलेख
प्रत्येक रात लर्खराउँदै
ढोकाको चुकुल भत्काएर
सिन्दुरको बस्ती लुछ्ने
प्रत्येक दिन ढकमक्क फुलेका
गुलाफहरूको नशा पिएर
कफीको कपमा कविता मिसाउने
निरीह पोतेको आँसु टेकेर
न्यायको कविता ओकल्दै हिँड्ने
ए कवि
भो तिमी उदारताको कविता लेख्दै नलेख
एक नालायक लोग्ने
एक नालायक बाबु
एक नालायक सन्तान
एक नालायक व्यक्ति
कसरी हुन सक्छ यो समाजको होनहार मान्छे ?
तिम्रो कवितामा वाहवाह आउला
ताली बज्ला
तर
एउटा अँध्यारो छोपेर
लेखेको उज्यालोको कविताको अर्थ के रहन्छ हँ ?
दलालहरूको टाङमुनि छिरेर
लेखेको क्रान्तिकारी कविताले महत्व के बोक्छ हँ ?
त्यसैले ओ कवि तिमी कविता लेख्दै नलेख
नलेख भोकाहरूको गीत
नलेख नांगाहरूको कविता
नलेख उत्पीडितहरूको विरह
भो नगाऊ लय हालीहाली दुखिया भाका
ए दलाल
ए हत्यारा
ए हिंस्रक
तिमी हुनै सक्दैनौ न्यायको पक्षधर
तिमी बोल्नै सक्दैनौ भुइँमान्छेको आवाज
तिमी बुझ्नै सक्दैनौ उत्पीडितहरूको प्रताडना
तिमी टिप्नै सक्दैनौ दुःखको लय
तब तिमी किन लेख्छौ समानताको कविता
किन लेख्छौ न्यायको कविता
किन लेख्छौ विद्रोहको कविता
ओ छद्म कवि
तिमी कविता लेख्दै नलेख
ओ कवि तिमी कविता नलेख ।