• वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
उत्तर कोरियाली नेता किम जोङ उन यही सेप्टेम्बरमा रुस भ्रमणका लागि प्योङयाङबाट प्रस्थान गर्नुअघि रेलबाट अभिवादन गर्दै । तस्बिरः एपी
सुभाष शर्मा
२०८० असोज १३ शनिबार ०६:५०:००
अनुवाद

उत्तर कोरियाली नेता किम किन रेल चढ्न रुचाउँछन् ?

२०८० असोज १३ शनिबार ०६:५०:००
सुभाष शर्मा

यही सेप्टेम्बर १२ मा पहेँलो धर्सा भएको गाढा हरियो रंगको एउटा रेल रुस, चीन र उत्तर कोरियाको सीमामा देखियो । ‘मुभिङ फोर्टेस’ नामको उक्त रेलमा सवार थिए, उत्तर कोरियाका तानाशाह किम जोङ उन । यो त्यही रेल थियो, जुन उत्तर कोरियाली नेता उनले विदेश यात्रा गर्दा प्रयोग गर्छन् । सामान्यतया देशका प्रमुखले विदेश भ्रमण गर्दा विशेष विमान प्रयोग गर्छन् । तर, कोरियाली नेता भने यसको अपवाद छन् । किम जोङ उनका बाबु र हजुरबुबा पनि विदेश भ्रमणका क्रममा अक्सर रेल नै प्रयोग गर्थे । किम बिरलै उत्तर कोरिया छोड्छन् । जब उनले देश छाड्छन्, उनी बिरलै विमान चढ्छन् । उनी बख्तरबन्द रेलमा यात्रा गर्न रुचाउँछन्, जसरी उनका बुबा र हजुरबुबा चढ्थे । 


यसपटक किम रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ताका लागि रुस जाँदै थिए । चार वर्षभन्दा बढी समयको अवधिमा उत्तर कोरियाबाहिर उनको पहिलो ज्ञात भ्रमण थियो । सन् २०११ मा सत्ता सम्हालेदेखि किम जोङ उनले जम्मा पाँच देशको भ्रमण गरेका छन् । तीमध्ये धेरै ठाउँमा उनी रेल चढेरै पुगे । भियतनामको राजधानी हनोईलगायत सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ता गर्न पनि उनी रेल चढेर गए । सन् २०१९ को अप्रिलमा किमले पहिलोपटक पुटिनलाई भेट्न रुसी बन्दरगाह सहर भ्लादिभोस्तोकमा पुग्न रेलबाटै यात्रा गरेका थिए ।


रुसी अधिकारी कोन्स्टान्टिन पुलिकोभस्कीको पुस्तक ‘ओरिएन्ट एक्सप्रेस’मा उत्तर कोरियाली नेताका रेल विलासीपूर्ण भएको उल्लेख छ । सन् २००१ मा रुस भ्रमणको क्रममा किम जोङ इलसँगै रेलमा समय बिताएका पुलिकोभस्कीले कोरियाली नेताको रेलमा ‘रुसी, चिनियाँ, कोरियाली, जापानी र फ्रान्सेली खानाको कुनै पनि परिकार अर्डर गर्न सम्भव भएको’ स्मरण गरेका छन् । उनका अनुसार ताजा समुद्री खानाको उपलब्धता सुनिश्चित गर्न जीवित लोबस्टर (समुद्री जनावर) रेलमा ढुवानी गरिनुका साथै पेरिसबाट रेड वाइन आयात गरिएको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निजी रेलमा पनि ‘किम जोङ इलको रेलमा जस्तो सुविधा नभएको’ उनले उल्लेख गरेका छन् । ‘रुसी, चिनियाँ, कोरियाली, जापानी र फ्रान्सेली खानाको कुनै पनि परिकार अर्डर गर्न सम्भव थियो,’ पुलिकोभस्कीले स्मरण गरेका छन् । 


कत्तिको छिटो गुड्छ ?
उत्तर कोरियाको यातायातबारे दक्षिण कोरियाली विज्ञ आहन ब्युङ–मिनका अनुसार उत्तर कोरियाका नेताहरूलाई वर्षौंदेखि बोकेका सशस्त्र रेलमा प्रत्येकमा १० देखि १५ वटा डिब्बा छन्, जसमध्ये केही डिब्बा विशेष रूपमा किम जोङ उनका लागि आरक्षित छन् । एउटा डिब्बामा निजी शयनकक्ष छ भने अन्य डिब्बाले टोलीका प्रमुख सदस्यहरू (जस्तै सुरक्षा गार्डहरू) बोक्छन् ।

 रेलमा यात्रा गर्ने किम वंशको रुचि उत्तर कोरियाका संस्थापक किम इल सुङसँगै सुरु भएको थियो । सुङलाई सोभियत नेता जोसेफ स्टालिनले एकपटक रेलगाडी नै उपहार दिएका थिए । उनका छोरा, किम जोङ इल पनि विमानमा यात्रा गर्न डराउँथे र रेलमा यात्रा गर्न रुचाउँथे ।
 


रेलका केही डिब्बा नेताको स्थल यातायातका लागि विलासी गाडीहरू बोक्न डिजाइन गरिएका छन् । केही समयअघि उत्तर कोरियाली समाचार संस्था केसिएनएले सार्वजनिक गरेको रेलको भित्री तस्बिरमा किम जोङ उन अन्य यात्रुसँगै गुलाबी रंगको छालाको सोफामा लामो पंक्तिमा बसेको देखाइएको थियो । एउटा भिडियो फुटेजमा गुलाबी सिट, डेस्क र कुर्सीले सजाइएको कार्यालयसहितको डिब्बा र यसको पछाडिको भागमा चीन र कोरियाली प्रायद्वीपको नक्सा देखाइएको थियो ।


कति सुरक्षित छ मुभिङ फोर्टेस ?
वर्तमान नेता किमको ‘मुभिङ फोर्टेस’ यातायातको एक कष्टकर ढिलो शैली हो । सबै अतिरिक्त उपकरणहरूको वजनको कारण रेल केबल ५५ किलोमिटर प्रतिघन्टा (३५ माइल प्रतिघन्टा) मात्र गुड्छ । रेललाई उत्तर कोरियाली सरकारी मिडियाले किम जोङ इलको लागि ‘एक सुन्दर घर र कार्यालय’को रूपमा वर्णन गर्छन् ।


रोयटर्सका अनुसार किम जोङ उनले हालै रुस भ्रमणमा प्रयोग गरेको रेल तानाशाहका दिवंगत बुबा किम जोङ इलले २००१ मा रुस भ्रमण गर्न प्रयोग गरेको रेलकै डिजाइन हो । किम जोङ उनका बुबाले रुस भ्रमण गर्दा तीनपटक रेल प्रयोग गरेका थिए ।


किमसँग प्योङयाङको एउटा कारखानाले बनाएका लगभग उस्तै रेल छन् । दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार ‘मुभिङ फोर्टेस’मा बुलेटप्रुफ झ्याल र विस्फोटक पदार्थबाट जोगाउने भित्ता र भुइँहरू छन् । मन्त्रालयका अनुसार ‘यो रेल आक्रमण हतियार र आपत्कालीन अवस्थामा भाग्नको लागि एउटा हेलिकोप्टरले सुसज्जित छ । विज्ञहरूका अनुसार देशको पुरानो विमानहरूको तुलनामा, बुलेटप्रुफ रेलले ठूलो टोली, सुरक्षा गार्ड र बैठकअघि एजेन्डा छलफल गर्ने ठाउँको लागि सुरक्षित र थप सहज ठाउँ प्रदान गर्दछ ।


विज्ञहरूका अनुसार किमले विमानभन्दा रेल चढ्न सुरक्षित महसुस गर्छन् । विशेषगरी आक्रमणसहित अप्रत्याशित परिस्थितिमा रेलले अधिक लचकता प्रदान गर्छ । ‘किम चढेको विमानमा आक्रमण भयो भने बाँच्ने सम्भावना निकै कम हुन्छ,’ दक्षिण कोरियाको एकीकरण मन्त्रालयलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ । 


रेल चढ्दा उनले आफ्नै घरजस्तो महसुस गर्छन् । ‘रेल चढ्दा उनले जुनसुकै स्थानबाट आफ्नो देशमा आदेश दिन सक्छन् । त्यहाँ उनले फ्याक्स, इमेल र रिपोर्ट प्राप्त गर्न सक्छन् किनभने रेलमा सबै सञ्चार सुविधाहरू उपलब्ध छन् । त्यसैले किम जोङले रेल आफ्नो घरजस्तै सहज महसुस गर्न सक्छन्,’ उत्तर कोरियाका पूर्वअधिकारी यंग ह्वानको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।


२० घन्टा रेलमा
ब्लुमवर्ग न्युजका अनुसार सेप्टेम्बरको दोस्रो सातातिर किमको रेल भ्लादिभोस्तोको उत्तरमा रहेको रुसी सहर उसुरिस्कमा देखिएको थियो । त्यसपछि उनी नयाँ लोकोमोटिभ (रेलवे वहान)मा चढे र ट्रान्स–साइबेरियन रेलवेमा खाबारोभस्कको यात्रा जारी राखे । प्योङयाङदेखि भ्लादिभोस्टोकसम्मको ६८० किलोमिटर (३२० माइल) यात्रा करिब २० घन्टा लाग्छ ।
यसअघि ट्रम्पलाई भेट्न किम ६५ घन्टा लामो रेल यात्रा गरेर भियतनाम पुगेका थिए । कम्युनिस्ट राज्यमा जीर्ण रेल पूर्वाधारका कारण विलासी ट्रेन प्रतिघन्टा २५ माइलको गतिमा मात्र गुड्छ ।


के किम कहिल्यै उडेका छन् ?
३९ वर्षीय किमले यसअघि विभिन्न देशको भ्रमण गरिसकेका छन् । चारपटक चीन, दुईपटक रुस र एक–एकपटक भियतनाम र सिंगापुर पुगेका छन् । भियतनाम र सिंगापुरमा भएका दुई भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्ताका लागि थिए । उनी दुईपटक दक्षिण कोरिया पनि पुगेका छन् । ती यात्राहरूमा उनले प्रायः रेल नै प्रयोग गरे । आफ्ना बुबाजस्तो उनी विमान उड्न डराउँदैनन् । सातमध्ये तीनवटा यात्रामा उनले विमान प्रयोग गरेका थिए, दुईपटक चीन र एकपटक सिंगापुर जाँदा । सन् २०१४ मा सरकारी मिडिया फुटेजमा पनि उनलाई विमानको इन्जिननजिक देखाइएको थियो ।


उनको निजी विमान चाम्मे—१ (जसमा चढेर उनी सन् २०१८ मा चीन पुगे)लाई उत्तर कोरियाको राष्ट्रिय चरा पनि भनिन्छ । शीतयुद्धकालीन यो विमान रुसी निर्मित हो । पुरानो र सम्भावित मर्मतसम्भार समस्याका कारण यसको विश्वसनीयतामाथि विश्लेषकहरूले प्रश्न उठाएका छन् ।


विमान चढ्न डराउँथे किम जोङ इल
रेलमा यात्रा गर्ने किम वंशको रुचि उत्तर कोरियाका संस्थापक किम इल सुङसँगै सुरु भएको थियो । सुङलाई सोभियत नेता जोसेफ स्टालिनले एकपटक रेलगाडी नै उपहार दिएका थिए । उनका छोरा, किम जोङ इल पनि विमानमा यात्रा गर्न डराउँथे र रेलमा यात्रा गर्न रुचाउँथे । सन् २०१० मा उनका पूर्वअंगरक्षकले दक्षिण कोरियाली मिडियालाई भने कि उत्तर कोरियाली नेताले विमानबाट यात्रा गरेमा शत्रुहरूले गोली हानेर मारिने डर थियो ।


दक्षिण कोरियाली पत्रिका चोसन इबोेको रिपोर्टअनुसार वर्तमान नेता उनका बाबु किम जोङ इलको रेलमा सम्मेलन कक्ष, श्रोता कक्ष र शयनकक्ष थिए । इललाई जानकारी दिन र आदेश जारी गर्न सकून् भनेर स्याटेलाइट फोन र फ्ल्याट स्क्रिन टिभी जडान गरिएका थिए । ‘महिला कन्डक्टर’ भनेर चिनिएका युवतीहरूको एउटा समूहले रेलभित्र गीत गाएर रमाइलो प्रदान गर्थे ।


‘किमको बाबुको रेलमा एउटा आवासीय गाडी, ‘हेडक्वार्टर’ वहान, एउटा रेस्टुरेन्ट, दुइटा बख्तरबन्द, मर्सिडीजसहितका धेरै कार ढुवानी क्यारियज थिए,’ पूर्वरुसी कूटनीतिज्ञ जर्जी टोलोरायाले उत्तर कोरियाको विशेष आउटलेट एनके न्युजमा किमको सन् २००१ को भ्रमणको स्मरण गर्दै लेखेका छन् । सन् २०११ को अन्तमा रेलमा यात्राकै क्रममा हृदयघातको कारण इलको मृत्यु भयो । किम जोङ इलको शव रहेको प्योङयाङको बाहिरी भागमा रहेको समाधिस्थलमा रेलको एउटा डिब्बा स्थायी प्रदर्शनमा छ ।


उत्तर कोरियाका संस्थापक नेता किम इल सुङ (वर्तमान नेताका हजुरबुबा) आफ्नो शासनकालमा नियमित रूपमा रेलबाट अन्तर्राष्ट्रिय यात्राहरू गर्थे । उनले सन् १९८४ मा रेलद्वारा मस्को हुँदै पूर्वी युरोपको म्याराथन यात्रा पनि पूरा गरेका थिए ।


उत्तर कोरियाली नेताहरू आफ्नै देशभित्र यात्रा गर्दा कति रेल प्रयोग गर्छन्, यो स्पष्ट छैन । तर, उत्तर कोरियाली यातायातबारे दक्षिण कोरियाली विशेषज्ञ आन ब्युङ–मिनले सुरक्षाका कारणले धेरै रेलहरू आवश्यक भएको बताउँछन् । ‘यो ढिलो भए पनि, उत्तर कोरियाली नेताको लागि ट्रेन सुरक्षित र अधिक आरामदायी छ,’ आनले भने ।
(एजेन्सीहरूको सहयोगमा सुभाष शर्मा )