• वि.सं २०८२ असार २३ आइतबार
  • Sunday, 06 July, 2025
श्रीलोचन राजोपाध्याय
२०८० असोज २७ शनिबार ०६:५३:००
सम्झना

हाङझाउ एसियाड : आधुनिकता र हरियालीको सन्देश

प्रदूषणरहित, स्वच्छ र हरियाली सहरको ‘कन्सेप्ट’का लागि हाङझाउ एउटा राम्रो उदाहरण हो

२०८० असोज २७ शनिबार ०६:५३:००
श्रीलोचन राजोपाध्याय

 

‘अब यस्तो एसियाड हुन सक्छ ?,’ इरानका पत्रकार मोहमद अहमेदले भनिरहेका थिए । १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)को समापनपछि अहमेदले भनेका थिए, ‘वास्तवमा चीनले अहिलेसम्मकै उत्कृष्ट एसियाडको आयोजना गर्‍यो । अब जापानलाई चुनौती छ ।’ चीनले तेस्रोपटक एसियाड आयोजना गर्ने अवसर पाउँदा कुनै पनि पक्षमा कमजोरी देखाएन । सबैलाई खुसी बनाउँदै बिदा गर्‍यो । हाङझाउबाट फर्किएकाहरूले यसपटकको आयोजनाबारे बयान नगरी बस्नै सकेनन् । निर्धारित समयभन्दा एक वर्षपछि आयोजना भएको एसियाडमा चीनले सन् २०१८ को जकार्ताभन्दा धेरै राम्रो गर्‍यो । 


कोभिड– १९ को महामारीका कारण चीनले २०२२ मा गर्नुपर्ने एसियाड २०२३ मात्र गरेको हो । यसले गर्दा चीनलाई प्रतियोगिता थप उत्कृष्ट बनाउन र कमीकमजोरी पत्ता लगाउन समय पायो । चीनले यो प्रतियोगिता आयोजना गर्न ४१ बिलियन अमेरिकन डलर खर्चियो । आयोजक चीनले ५६ कम्पिटिसन भेन्यु, ३१ प्रशिक्षण भेन्यु, एउटा एसियन गेम्स भिलेज तथा चारवटा एसियन गेम्स सब भिलेजको निर्माण गरेको थियो । यी सबै बनाउन चीनले थप १०.१९ बिलियन अमेरिकी डलर खर्च गर्‍यो ।

 

चार वर्षअघिको आयोजक जर्काताले २७ बिलियन अमेरिकन डलर खर्चिएको थियो । १९औँ एसियाड आयोजना गर्ने अवसर पाएपछि नै चीनले हाङझाउलाई एक आधुनिक सहरका रूपमा विकास गरेको थियो । धेरैजसोले चीनको पछिल्लो विकसित सहर हेर्न हाङझाउ नै रिफर गरेको पाइन्छ । सहरको मुख्य सडकतिर गननचुम्बी घर तथा भित्री क्षेत्रमा पुराना घर देखिन्छन् । सहरलाई हरियाली बनाएको छ । धुवाँधुलो कतै छैन । साथै तत्कालै ओलम्पिक खेलकुद प्रतियोगिता आयोजना गर्न मिल्ने गरी चीनले अति नै सुविधासम्पन्न रंगशाला निर्माण गरेको छ । एसियाडको आयोजनासँगै अब एसियनलगायत अन्य राष्ट्रले चीनको हाङझाउ सहर चिन्नेछन् । धेरैजसोले विश्व प्रसिद्ध चिनियाँ कम्पनी अलिबाबाको हेड क्वार्टर पनि हाङझाउमै रहेको थाहा पाएका छन् । 


चीनको पूर्वी सहर हाङझाउमा १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)को रिपोर्टिङ क्रममा ‘निहाउ र सिसी’ अर्थात् स्वागतम् र धन्यवाद दुई शब्द सिकियो । हाङझाउमा दुई हप्ताको बसाइमा यी मीठा दुई शब्दसँग अभ्यस्तझँै भएँ । नेपालबाट समाचार संकलन गर्न गएका हामी डेढ दर्जन नेपाली खेल पत्रकारसमेत ख्यालठट्टामा ‘निहाउ र सिसी’ भन्थे । करिब १७ दिनको चीन बसाइको प्रभाव हामीमाथि यस्तो पर्‍यो कि एसियाडको रिपोर्टिङपछि फर्कँदा अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा एकआपसमा ‘गुड बाई’ नभनी ‘सिसी’ भनी फर्किएका थियौँ । 

१९औँ एसियाड आयोजना गर्ने अवसर पाएपछि नै चीनले हाङझाउलाई एक आधुनिक सहरका रूपमा विकास गरेको थियो । सहरको मुख्य सडकतिर गननचुम्बी महल तथा भित्री क्षेत्रमा पुराना घर देखिन्छन् । सहरमा हरियाली छ । धुवाँधुलो कतै छैन ।


गुगल ट्रान्सलेसन
आयोजक चीनले हाङझाउ सहरको विभिन्न क्षेत्रमा इभेन्ट्स राखेको थियो । अधिकांश खेल भेन्युमा खेलाडी, अफिसियल तथा अन्तर्राष्ट्रिय जर्नालिस्टहरूलाई समस्या नहोस् भनी १० हजारको हाराहारीमा स्वयंसेवक परिचालित थिए । स्वयंसेवकहरू विश्वविद्यालयका विद्यार्थी थिए । उनीहरूले यसलाई पार्टटाइम जबका रूपमा भरपूर प्रयोग गरे । ४४ राष्ट्रबाट हाङझाउमा पुग्नुअघि एउटा प्रश्न थियो, चीनमा उनीहरूको भाषाबाहेक अन्य बोलिँदैन । अनि कसरी कम्युनिकेसन गर्ने ? पक्कै भाषाको समस्या आउने भयो । तर, १२ हजार पाँच सयजना खेलाडी तथा दशौँ हजार अन्य पाहुनाहरूले यस्तो खासै समस्या झेलेको देखिनँ । आयोजकले खेलस्थल, मिडिया सेन्टर र अन्तर्राष्ट्रिय विमानस्थलमा परिचालन गरेका स्वयंसेवक कोही अति नै राम्रोसँग इंग्लिस बोल्न सक्ने थिए । कोही सामान्य अंग्रेजी बोल्थे ।


बिस्तारै बोल्दा चिनियाँहरू सहजै इंग्लिस बुझ्छन् । त्यसमा अलि गाह्रो शब्द प्रयोग हुँदा उनीहरू तत्कालै आफ्नो मोबाइलमा ‘गुगल ट्रान्सलेसन’ गर्न आग्रह गर्छन् । उनीहरू यस्तो भन्छन्, ‘वो टिङग वु डोङ क्विन फायनी’ अर्थात् तपाईको कुरा मैले बुझ्न सकिनँ । कृपया गुगल ट्रान्सलेसन प्रयोग गर्नुहुन्छ ?’ हामी मात्र नभएर अन्य विदेशीले पनि आफ्नो मोबाइलमा ट्रान्सलेसन गरी समस्या समाधान गर्थे । पाहुनाको समस्या समाधान नहुँदासम्म उनीहरू स्ट्यान्डबाई हुन्थे । 


मेट्रो टे«नमा मोबाइल कल्चर
हाम्रोतिर आरएनएसी, रत्नपार्क, चाबहिल, गोंगबु, कलंकी र लगनखेबाट नै अधिकांश क्षेत्रमा जाने लोकल गाडी गुड्छन् । जहाँ जानु परे पनि यीमध्ये एक स्थानलाई रोज्नुपर्ने बाध्यता छ । तर, सिंगो हाङझाउ सहरमा सीमित लोकल गाडी मात्र गुडेको देखेँ । ८० लाख ४५ हजार जनसंख्या मध्ये ९० प्रतिशत हाङझाउका स्थानीयको दैनिक यात्रा मेट्रो ट्रेन हो । बिहान ६ देखि बेलुकाको ११ः३० बजेसम्म मेट्रो ट्रेन चल्छ । फेरि मेट्रो ट्रेनको ट्र्याक यति विशाल छ । यो मेट्रो ट्रेन सिंगो सहरमुनि निर्माण भएको छ । प्र्रत्येक स्टेसनमा लाइन हुन्छ । थोरै क्षेत्र मात्र एउटै लेनमा पर्छ । एकबाट अर्को स्थानसम्म पुग्न लेन परिवर्तन गरिराख्नु पर्छ । पहिलोपटक यहाँ पुगेका विदेशीले आफ्नो लेन बिर्सँदा कहाँ पुगेको पत्तो नै हुँदैन । 


प्रत्येक स्टेसनमा दुईदेखि आठ मिनेटको अन्तरमा मेट्रो ट्रेन आउने र जाने हुन्छ । टाइम टेबलअनुसार चल्ने भएकाले उनीहरू आफ्नो समयकै मेट्रो पक्रन्छन् । मेट्रो मिस गर्न चाहँदैनन् । यसैकारण, हामीले उनीहरूलाई जतिवेला पनि हतारमै रहेको पायौँ । मेट्रोभित्र प्रवेशदेखि बाहिर आउँदासम्म स्थानीय यात्रुहरू सुरुमा सिट नै खोज्छन् । नेपालमा केही वर्षअगाडि मात्र सुरु भएको आरक्षण सिटजस्तै हाङझाउको मेट्रोभित्र विशेष सिटको व्यवस्था छ । त्यसमा लेखिएको छ, ‘यो विशेष सिट हो, यदि कसैले यसलाई अफर गर्दा छाड्नुपर्छ ।’

 

कुनै यात्रु त्यस विशेष सिटमा बसिरहँदा दोस्रो व्यक्तिले त्यहाँ बस्न खोज्दा अघिल्लो यात्रुले छाड्नुपर्छ । मेट्रो ट्रेनभित्रको एउटा रमाइलो दृश्य देखियो । यात्रा गरेका शतप्रतिशत मानिस मोबाइलमा औँला  चलाइरहेका थिए । अति नै भिडभाड र खुट्टा नै राख्ने स्थिति नहुँदा पनि उनीहरू मोबाइल चलाएर बस्थे । स्टेसन आएपछि दायाँबायाँ नहेरी मोबाइल चलाउँदै बाहिरिन्थे । ‘यात्राको क्रममा मोबाइल चलाउने कल्चरजस्तै हो, हामीलाई दायाँबायाँको बसेका छन्, मतलव नै हुँदैन,’ क्विनजिन सेन्चुरी सिटीका ३२ वर्षीय युवा ली छाङ भन्छन्, ‘हामीलाई सिट नहुँदा उभिएर मोबाइल चलाउने बानी परिसक्यो ।’ 


इलेक्ट्रोनिक बाइक र गाडी
प्रदूषणरहित, स्वच्छ र हरियाली सहरको ‘कन्सेप्ट’का लागि हाङझाउ एउटा उदाहरण हो । ८० लाख जनसंख्या भएको सहरमा धुवाँरहित बनाउन स्थानीय सरकारले नै इलेक्ट्रोनिक गाडीलाई पहिलो प्राथमिकता राखेको छ । हाङझाउमा विश्वकै महँगो ब्रान्डिङका मर्सिडिजबेन्ज, हुन्डाई, बिएमडब्लु र भक्सवागन आदि सवारीसाधन इलेक्ट्रोनिक्सका नै छन् । यद्यपि, डिजेल र पेट्रोलबाट नचल्ने गाडी नभएका होइनन् । तर, यो भनेको एक प्रतिशत पनि छैन । ९९ प्रतिशत इलेक्ट्रोनिक्सकै गाडी छन् । 


नेपालमा साइकल र मोटरसाइकल लेन छुट्याइएको छ । यो खासै पालना भएको छैन । १९औँ एसियाड आयोजना गरेको सहरले यी दुवै लेनलाई शतप्रतिशत पालना गराएको छ । हेर्दा अच्चम नै लाग्छ, साइकल र मोटरसाइकलसमेत इलेक्ट्रोनिक्स । फेरि सडकपेटीमा कसैलाई बाधा नपुर्‍याउने गरी लहरै यी दुवै दैनिक प्रयोगमा आउने साधन बिसाउने स्टेसनको व्यवस्था छ । मोबाइलले स्क्यान गरी साइकल वा मोटरसाइकलको लक खोल्नुपर्छ । अबेर रातिसम्म पनि त्यत्तिकै सडकपेटीमा राख्दा कसैले चोर्ने हिम्मत गर्दैनन् । बाइक र साइकलवालाहरू सडकका दायाँ वा बायाँतर्फको सर्भिस लेनमा सवार हुन्छन् । यसबाहेक मुख्य सडकको बीचमा आफूखुसी चलाउन मिल्दैन ।

 

कसैले चलाए सडकमा राखिएको सिसिक्यामेराले तस्बिर कैद गर्छ । नियम तोडेअनुसार जरिवाना तिराउँछ । इलेक्ट्रोनिक बाइक यहाँको पठाउजस्तै हो । सामान डेलिभरी गर्ने र मानिस ओसार्ने काम यसैबाट गरिन्छ । ‘एसियन गेम्सको आयोजना गर्ने अवसर पाएदेखि नै हाङझाउलाई प्रदूषणरहित सहरको घोषणा भएको थियो,’ जेझाङका ४१ वर्षीय सिङ लोले भने, ‘यो अभियानलाई हामी सबैले साथ दिएका छौँ ।’


सहरलाई प्रदूषणरहित बनाउन सरकारले सवारीसाधन मात्र होइन, सिंगो सहरलाई नै हरियाली बनाएको छ । सडकको दायाँबायाँ, बीचको खण्ड बोटबिरुवा, विभिन्न रंगका फूल र दुबोले सजाइएको छ । प्रत्येक एक घन्टामा सडकलाई पानीले सफा गर्ने, बोटबिरुवामा पानी छर्कने, बाटोमा सामान्य फोहोरसमेत टिप्ने कर्मचारीहरू बसेका हुन्थे । ती कर्मचारी हाङझाउलाई हरियाली बनाउन २४सै घन्टा व्यस्त देखिन्थे । 


संरक्षणको भावना
नेपालमा हे¥यौँ भने २५ सय वर्षअगाडिका पुरातात्विक क्षेत्र छन् । अझ देशकै राजधानी काठमाडौंमा लिच्छविकालीनदेखिका अवशेषहरू अलपत्र रूपमा छरिएका छन् । यसको उचित संरक्षण भएको देखिँदैन । सम्बन्धित निकाय र हामीले वस्तुको महत्वलाई अझसम्म बुझेका छैनौँ । चीनले भने आफ्ना ऐतिहासिकस्थल, भवनहरू, पोखरी तथा प्राचीन बस्तीहरूको उत्कृष्ट ढंगले संरक्षण गरेको छ । यसैलाई आधार मानेर वार्षिक रूपमा उनीहरूले करोडौँ विदेशी नागरिक भित्र्याउने गरेका छन् । हाङझाउको सबैभन्दा प्रख्यात ताल ‘वेस्ट लेक’ हो । यो तालमा साना र ठूला डुंगामा सवार गर्न वार्षिक रूपमा लाखौँ आन्तरिक पयर्टक आउने गर्छन् । वास्तवमा योभन्दा निकै राम्रा तालहरू नेपालमा छन् । तर, यहाँ उचित संरक्षण, प्रवद्र्धन र प्रचार–प्रसार नहुँदा अलपत्रजस्तै अवस्थामा छन् । 


हाङझाउले गर्व गर्ने ‘द ग्रेट क्यानल’ एक हो । यो क्यानल बेइजिङबाट बगेको छ । एक किसिमले यसलाई नहर भनिएको छ । क्यानलमा मोटरबोट, डुंगा, पानीजहाजको सुविधा छ । ११औँ शताब्दीको सोङ शासकको दरबार देखाएर आन्तरिक पयर्टक भिœयाएको छ । सिसी राष्ट्रिय निकुञ्जलाई उत्तिकै आकर्षक बनाइएको छ । नवौँ शताब्दीमा बनेको ताङजिन सहरलाई संरक्षण गरेको छ । चियाको वेगन भिलेजसमेतले आन्तरिक र बाह्य पर्यटकलाई आर्कषित गरिरहेको छ । चीनले भविष्यका युवा पुस्तालाई आफ्नो पुर्खाको इतिहास चिनाउने उद्देश्यले सबैथोक संरक्षण गरेको देखिन्छ । यद्यपि, हाङझाउमा भन्दा अति नै पुराना क्षेत्रहरू नेपालमा छन् । 


बच्चादेखि वृद्धसम्म समर्थक
चीनको खेलकुद विकास हुनुको पछाडि समर्थकको ठूलो योगदान छ । यसपटक कीर्तिमान रच्दै चीनले दुई सय स्वर्ण पदक जित्यो । इतिहासमै पहिलोपटक सहभागी राष्ट्रले दुई सय भन्दामाथि स्वर्ण जितेको यो नै पहिलोपटक हो । जब एक खेलाडीले मैदानमा आफूलाई हजारौँ दर्शकले समर्थन गरेको देख्छ, त्यसवेला उसको प्रदर्शन एक्कासी उत्कृष्ट हुने गर्छ । यस्तै, भावना चिनियाँ खेलाडीले अनुभव गरेका छन् ।

 

चीनको प्रत्येक खेलको भेन्यु फुलहाउस नै हुन्थ्यो । दुई वर्षका बच्चादेखि ९० वर्षमाथिका वृद्धवृद्धासम्म आफ्ना खेलाडीलाई हौसला बढाउन रंगशालासम्म दिनदिनै पुगे । मेट्रो ट्रेनमा ९० वर्षीया हजुरआमा जसको नाम सोङ मिन उल हो, उनी चीनको एथलेटिक्स खेल हेरी छोरी र नातिनीसँग फर्किएकी थिइन् । ‘चीनको खेलमा राष्ट्रिय भावना जागृत हुन्छ, एसियाडजस्तो खेलमा समर्थन नगर्ने कुरै भएन,’ उनले भनिन् । उनकी नातिनीका अनुसार हजुरआमा खेल भनेपछि हुरुक्कै हुन्छिन् । उनी आफ्नो समयमा जिम्न्यास्टिक खेलाडी थिइन् । यसैकारण नै उल एसियाड खेल चलिरहँदा रंगशालामै पुगिन् । अक्सर चीनको खेल रातिको समयमा हुँदा मेट्रो टे«नमा पाइला राख्ने ठाउँ हुँदैनथ्यो । 
(हाङझाउबाट फर्किएपछि)