
हो,
हामी साझा फूलबारीका फूल हौँ ।
तिमी लालीगुराँस
तपाईं सयपत्री
उहाँ गोदावरी
ऊ गुलाब
त्यो बाबरी
यो मखमली
तँ सुनाखरी
तिनीहरू चमेली, इन्द्रकमल, लालुपाते
उनीहरू पारिजात, प्रेमलता, बेगमबेली
र म हुँ लिम्चिङबुङ ।
हो,
हामी फुलिरहेका छौँ
सदियौँदेखि सँगै एउटै फूलबारीमा
र छरिरहेका छौँ– हरर बासना
तर प्रश्न छ यहाँ,
म किन मालामा गुथिएको छैन ?
मन्दिरको थालीमा किन भइनँ म ?
किन प्रेमिल स्पर्श छैन ममाथि ?
मालीदाइ किन आकार हेरेर गर्नुहुन्छ गोडमेल ?
मालीदाइ किन रङ हेरेर गर्नुहुन्छ मलजल ?
मालीदाइ किन ठाउँ हेरेर गर्नुहुन्छ रेखदेख ?
म लिम्चिङबुङ,
म आदिम फूल हुँ
मेरो आफ्नै बास्ना छ
आफ्नै रङ छ
विशिष्टता छ
छुट्टै विशेषता छ मेरो
म पनि अरू फूलजत्तिकै मौलिक छु
तर सवाल छ यहाँ–
किन स्विकार्दैन मालीदाइ मेरो सौन्दर्य ?