• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
पोष्टराज अधिकारी
२०८० कार्तिक ४ शनिबार १०:१३:००
रिपाेर्ट

पुग्नैपर्ने हेटौँडाको स्मारक

२०८० कार्तिक ४ शनिबार १०:१३:००
पोष्टराज अधिकारी

 

बागमती प्रदेशको राजधानी हेटौँडा आफैँमा ऐतिहासिक, धार्मिक र सामरिक महत्व राख्ने ठाउँ हो । हेटौँडालाई चिनाउन हेटौँडा औद्योगिक क्षेत्र, भुटनदेवी मन्दिर, १०८ धारा त्रिवेणी धाम, दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरिया सुरुङमार्गलगायत पर्याप्त छन् ।

 

यी र यस्ता अन्य थुप्रै पहिचानहरूको बीचमा विगत केही वर्षयता हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा रहेको सहिद स्मारकले हेटौँडालाई छुट्टै र थप पहिचान दिएको छ । स्मारकले आन्तरिक एवं बाह्य पर्यटकलाई आपूmतर्फ नियमित आकर्षण गर्न सफल भइरहेको छ । 

 

हेटौँडा बजारबाट सात किलोमिटरको दूरीमा रहेको स्मारक ०५१ माघ १७ गते तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गरेका थिए । इतिहासका विविध कालखण्डमा आफ्नो जीवनको आहुति दिएका १२ जना सहिदहरूको मुखाकृति एउटै ढुंगामा कुँदेर स्थापना गरिएको सहिद स्मारकले अहिले पर्यटकलाई आकर्षित गरिरहेको छ । 

 

२५ टनको एउटै विशाल पत्थरमा भक्ति थापा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, भीमदत्त पन्त र २०१७ सालपछि पञ्चायती निरंकुशताविरुद्धको जनसंघर्षमा वीरगति प्राप्त गरेका रत्नकुमार वान्तबा, यज्ञबहादुर थापा, दुर्गानन्द झा, वीरेन्द्र राजवंशी, मुनेश्वरी यादव र प्रभाकर पौडेलको आकृति कुँदिएका छन् । यति मात्र होइन, स्मारकको स्तरोन्नति गर्ने क्रममा हालै निर्माण सम्पन्न भई उद्घाटनसमेत भएको प्रजातान्त्रिक पार्कमा नेपालको राजनीतिमा विशिष्ट स्थान राख्ने बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, मदन भण्डारी, मनमोहन अधिकारीजस्ता व्यक्तिहरूलाई पूर्णकदको सालिकमा देख्न सकिन्छ । 

 

नवलपुर सरस्वती सामुदायिक वनभित्रको ३० हेक्टर क्षेत्रफलमा स्मारक फैलिएको छ । यहाँ विभिन्न प्रजातिका फूल र बगैँचासमेत छन् । २९ वर्षको अवधिमा पर्यटकहरूलाई आकर्षण गर्न सहिदहरूका स्तम्भ मात्र होइन, विभिन्न खालका पूर्वाधारहरू पनि निर्माण भएका छन्, थप निर्माण कार्यसमेत चलिरहेको छ । 

 

स्मारकमा मकवानपुर जिल्लाको पर्यटकीय सूचना केन्द्र, सहिद ग्यालरी, आकर्षक सहिद स्तम्भ, दार्शनिक एवं राजनीतिज्ञ रूपचन्द्र विष्टद्वारा प्रतिपादित थाहाको ‘थाहा स्तम्भ’, आकर्षक उद्यान, दृश्यावलोकन टावर, नमुना चिडियाघर, मदनवाटिका, प्रजातान्त्रिक पार्क, बालउद्यान, स्विमिङपुललगायतका थुप्रै पूर्वाधारहरू निर्माण भएका छन् । सहिदका बारेमा अध्ययन–अनुसन्धान एवं खोज गर्न चाहनेहरूका लागि अनुसन्धान केन्द्रको रूपमा सहिद ग्यालरी निर्माण गरिएको छ, जहाँ सहिदका बारेमा प्रकाशित पुस्तक, लेख, रचना, फोटो आदि संग्रहित छन् । स्मारकको अर्को आकर्षणको केन्द्र भनेको सहिदहरूको सम्झनामा बनाइएको सहिदस्तम्भ पनि हो । १९ मिटर गोलाइमा ६५ फिट अग्लो उक्त स्तम्भ स्मारकको सबैभन्दा माथिल्लो भागमा निर्माण गरिएको छ । 

 

नमुना चिडियाघरले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ । नमुना चिडियाघरमा जरायो, मृग, चितुवा, बाँदर, डेडु, घडियाल गोही, अस्ट्रिच चरा, मयुरलगायतका चराचुरुंगी र जनावर छन् । सहिद स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले सहीद स्मारक भ्रमणका लागि प्रत्येक वर्ष पाँच लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको जानकारी दिए । उनले विशेषगरी, शनिबार र सार्वजनिक बिदाको दिन स्मारक परिसर भरिभराउ हुने बताए । 

 

प्रमुख न्यौपानेका अनुसार स्मारकमा पिकनिक मनाउन, घुमफिर गर्न, अध्ययन–अनुसन्धान र अवलोकन गर्न देशका विभिन्न जिल्ला र भारतको विभिन्न ठाउँबाट समेत पर्यटक आउने गरेका छन् । उनले स्मारक प्रवेशका नेपाली पर्यटकलाई ५०, विद्यार्थीलाई ३०, विदेशी पर्यटकलाई १५० र सार्क राष्ट्रबाट आउने पर्यटकहरूलाई १०० रुपैयाँ शुल्क लाग्ने पनि जानकारी दिए ।

 

नेपाल तथा भारतका विभिन्न स्थानबाट घुम्न आउने पर्यटकहरूले सहिद स्मारकको दृश्यावलोकनपछि मन खोलेर प्रशंसा गर्ने गरेको उनको भनाइ छ । प्रमुख न्यौपानेले कात्तिक, मंसिर र पुस महिना तथा नेपाली र अंग्रेजी नयाँ वर्षमा पर्यटकहरूको विशेष भिड लाग्ने जानकारी दिए ।