• वि.सं २०८१ पौष १५ सोमबार
  • Monday, 30 December, 2024
रोहितराज पराजुली
२०८० कार्तिक ४ शनिबार १०:२८:००
यात्रा

यी हुन् पोखरा आसपासका गन्तव्य 

२०८० कार्तिक ४ शनिबार १०:२८:००
रोहितराज पराजुली

 

हाल नयाँ पदमार्गका रूपमा विकास गरेको अर्को मार्ग हो, माछापुच्छ्रे गाउँपालिकास्थित सारिपाखा हुँदै खुमैडाँडा र कोरचाङसम्मको पदमार्ग । यो पदमार्गमा हाल पर्यटकको चहलपहल बढ्दै गएको छ । 

 

पोखरा आफैँमा सुन्दर छ । सुन्दरसँगै पोखरा मनमोहक र शान्त पनि छ । त्यसैले बर्सेनि लाखौँ आन्तरिक एवं बाह्य पर्यटक पोखरा घुम्न आउँछन् । पोखराको प्रमुख आकर्षणको केन्द्र फेवाताल हो । फेवासँगै पोखरामा वेगनास, रूपालगायत अन्य तालसमेत छन् । संसारको आठ हजार मिटरभन्दा अग्ला १४ हिमशृंखलामध्ये पोखराबाट अन्नपूर्ण, धौलागिरि र मनास्लु देख्न सकिन्छ । योसँगै तालबाराही मन्दिर, विश्व शान्ति स्तूपा, पातले छाँगा, महेन्द्र गुफा, चमेरे गुफा, सराङकोटबाट उड्ने प्याराग्लाइडिङ, हट बेलुन पोखराका थप आकर्षणका केन्द्र हुन् । 

 

यसैगरी पोखरामा रहेका अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, पृथ्वीनारायण क्याम्पसस्थित संग्रहालय, गोरखा स्मारक संग्रहालय, पोखरा नयाँ बजारको क्षेत्रीय संग्रहालय, विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेव गुफा, अकला मन्दिरसमेत पोखरामा पर्यटक पुग्ने मुख्य स्थान हुन् । पदयात्रामा रमाउन चाहनेका लागि अन्नपूर्ण राउन्ड पदयात्रा पनि छ । पर्यकीय गाउँहरू घान्दु्रक, धम्पुस, लान्द्रुक, ताङतिङ, याङजाकोट, सिक्लेससमेत पर्यटकको आकर्षणमा पर्ने गरेका छन् ।

 

यीसँगै पोखरा र आसपासमा केही नयाँ पर्यटकीय गन्तव्यसमेत थपिएका छन् । पछिल्लो समय पोखरानजिकै पुम्दीकोटमा बनेको ५२ फिट अग्लो महादेवको मूर्ति नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गइरहेको छ । त्यहाँ दिनमा हजारौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् । पुम्दीकोटमा रहेको महादेवको मूर्तिसँगै निर्माण गरिएको १०८ शिवलिंग, १०८ स्वर्गद्वारी सिँढी, बसाहा, डमरुलगायत अन्य संरचनाका कारण पनि पर्यटक पुग्ने गर्छन् । पुम्दीकोटबाट पोखरा सहर, फेवाताल, शान्तिस्तूपा र विभिन्न हिमशृंखलाहरू अति नै सुन्दर देखिने भएकाले पर्यटक निकै पुग्ने गरेको ‘पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन प्रवर्द्धन समिति’का अध्यक्ष चन्द्रकान्त बरालले बताए । ०७३ सालमा महायज्ञ लगाएर निर्माण सुरु गरिएकोमा हालसम्म ४० करोडको हाराहारीमा खर्च भएको उनले जानकारी दिए । पोखराको पर्यटन प्राकृतिक सुन्दरताले मात्रै धान्दै आएको छ । अब मानव निर्मित सांस्कृतिक धार्मिक पर्यटकीय गन्तव्यका रूपमा पुम्दीकोट विकास हुँदै गएको उनको भनाइ छ । 

 

पछिल्लो समय चल्तीमा आएको अर्को पदमार्ग हो, माछापुच्छे गाउँपालिकास्थित मार्दी हिमाल पदमार्ग । आन्तरिक एंव बाह्य पर्यटकको रोजाइमा परेको यो मार्ग छोटो र नजिकबाट हिमाल हेर्न सकिने मार्गको रूपमा चिनिन्छ । प्राकृतिक सुन्दरताले भरिएको मार्गमा गुराँस, वनजंगल, चराचुरुंगीको आवाजसँगै माछापुच्छे«, मार्दी, अन्नपूर्ण साउथ, गंगापूर्णलगायत हिमाललाई एकैसाथ नजिकबाट अवलोकन गर्न सकिने स्थानीय पर्यटन व्यवसायी कविता गुरुङ बताउँछिन् । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित काँडेबाट जाँदा अस्ट्रेलियन क्याम्प, पोथना, प्रितम देउराली, फोरेस्ट क्याम्प, लो क्याम्प, बादलडाँडा हुँदै चार हजार पाँच सय ५० मिटर उचाइमा रहेको मर्दी हाइक्याम्पमा पुग्न सकिन्छ । जान–आउन तीन दिन लाग्छ भने माछापुच्छ्रे गाउँपालिकास्थित सिदिङबाट भेन्जु, भेडीखर्क, तागादी हुँदै लो क्याम्पबाट हाईक्याम्प जाँदा हिँड्न सक्नेहरू दुई दिनमा आउजाउ गर्न सक्ने व्यवसायी गुरुङ बताउँछिन् । पोखराबाट जाँदा कम समयमा नजिकै पुगेर हिमशृंखला दृश्यावलोकन गर्न सकिने स्थानको रूपमा यो मार्ग चिनिँदै आएको छ ।

 

मोटरबाटोले पदयात्रा छोटिँदै गएपछि अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र स्थानीयवासीको सक्रियतामा घान्द्रुकदेखि टाडापानी, वनठाँटी, देउराली, दोबाटो, पोढे, तिरुभु, छोम्रोङसम्मको नयाँ पदमार्गसमेत बनेको छ । एक साता अवधिको यो पदमार्गमा पर्यटकले भिर, पहरा, झरना, वनजंगल, जंगली जनावर, चराचुरुंगी, नदी, फूल, ताल र स्थानीय परम्परागत संस्कृतिको अवलोकन गर्न पाउनेछन् । साथै अन्नपूर्ण, धवलागिरि, माछापुच्छ्रे, मनास्लु हिमशृंखलासँगै समशीतोष्ण वन, मिश्रित पतझर वन, कोणधारी वन, उच्च घाँसे मैदान र सयौँ प्रजातिका फूल अवलोकन गर्न पाउँछन् । ‘अन्नपूर्ण सेन्चुरी पर्यटन समिति घान्द्रुक’का अध्यक्ष ललित गुरुङले स्थानीय कला, संस्कृति र प्राकृतिक सम्पदाले भरिपूर्ण त्यस क्षेत्रको मौलिक संस्कृति र सम्पदाको संरक्षण र विकासका लागि स्थानीय व्यवसायीहरू जुटेको जानकारी दिए । 

 

हाल नयाँ पदमार्गको रूपमा विकास गरेको अर्को मार्ग हो, माछापुच्छ्रे गाउँपालिकास्थित सारिपाखा हुँदै खुमैडाँडा र कोरचाङसम्मको पदमार्ग । यो पदमार्गमा हाल पर्यटकको चहलपहल बढ्दै गएको छ । समुद्री सतहबाट तीन हजार दुई सय ४५ मिटर उचाइमा रहेको खुमाइडाँडाबाट अर्को गन्तव्य कोरर्चाङमा पुग्न सकिन्छ, जुन तीन हजार ६ सय ८२ मिटर उचाइमा छ ।

 

पोखराको हेम्जा हुँदै पाँचदेखि सात घन्टाको हिँडाइमा खुमैडाँडा र त्यहाँबाट तीन घन्टाको हिँडाइपछि कोरचाङ पुग्न सकिन्छ । पदयात्रीहरू कोरचाङबाट एक दिनमा पोखरा फर्कन सक्नेछन् । त्यस स्थानको पर्यटन प्रवर्द्धनका लागि गत वर्ष गाउँपालिकाको कार्यपालिका बैठकसमेत खुमैडाँडामा बसेको थियो । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएपछि बैठकले सारीपाखा–खुमाई–कोर्चा रुटलाई पदमार्ग घोषणा गरी आवश्यक पूर्वाधार निर्माण गर्ने निर्णयसमेत गरेको थियो ।