• वि.सं २०८१ पौष १८ बिहीबार
  • Thursday, 02 January, 2025
ऐतिहासिक भैरवी मन्दिर
अर्जुन श्रेष्ठ
२०८० कार्तिक ४ शनिबार १०:३५:००
इतिहास

टाकुरामा ऐतिहासिक ठाउँ 

२०८० कार्तिक ४ शनिबार १०:३५:००
अर्जुन श्रेष्ठ

 

धादिङको भैरवी मन्दिरको इतिहास नेपालको एकीकरणसँग पनि जोडिएको छ । पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न नसकेपछि भैरवी मन्दिरमा वास बसी भाकल गरेका थिए । भाकलपछि उनले नुवाकोट जिते ।

 

दुईतिर कहाली लाग्दो भिर, भिरको बीचमा मन्दिर प्रवेश गर्ने सिँढी । माछीकाँडे भौगोलिक बनोवटको टुप्पोमा बन्दै गरेको नयाँ मन्दिर । यो दृश्य धादिङको हो । पहाडको चुचुरोमा रहेको यो ऐतिहासिक भैरवी मन्दिर अहिले आकर्षणको केन्द्र बनेको छ । 

 

धादिङको नीलकण्ठ नगरपालिका– ६ सुनौलाबजारमा रहेको धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको भैरवी मन्दिर आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनेको छ । गणेश हिमाल, मनास्लु, माछापुच्छ्रे, मानापाथीलगायत आधा दर्जनभन्दा बढी हिमालहरूको दृश्यावलोकन गर्न सकिने यो मन्दिरमा शनिबार दर्शनार्थीको निकै ठूलो घुइँचो लाग्ने गर्छ ।

 

पौराणिक भनाइअनुसार भगवान् भैरवको श्रीमती भैरवीलाई सुत्केरी भएको अवस्थामा मासु खान मन लाग्यो । बाघको रूप धारण गरेर भैरव मासु लिन जंगल गए । सुँगुरको सिकार गरेर फर्किए । सुँगुर भन्ने थाहा पाएपछि भैरवी डराएर त्यहीँ घोप्टो परेर बसिन् । भैरवलाई भित्र पस्न दिएनन् । प्रसव पीडाको अवस्थामा भैरवीलाई छाडेर भैरव पनि टाढा जान नसकेपछि नजिकै तल्लोपट्टि बसे । त्यसैले भैरवी र भैरव दुईवटा मन्दिर बनेको किंवदन्ती यस क्षेत्रमा प्रचलित छ ।

 

‘राम शाहले विसं १६६६ मा स्थापना गरेको आठ शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो । उनले स्थापना गरेको कुरा लालमोहरमा लेखिएको छ । तर, स्पष्ट बुझिने गरी छैन’, भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्णबहादुर श्रेष्ठले भने । भैरवी मन्दिरको इतिहास नेपालको एकीकरणसँग पनि जोडिएको श्रेष्ठले बताए । पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न नसकेपछि भैरवी मन्दिरमा वास बसी भाकल गरेका थिए । श्रेष्ठले भने, ‘भाकलपछि नुवाकोट जिते । पुजारी र बाजा बजाउनेलाई शाहले गुठीको नाममा ९० रोपनी ११ आना २ पैसा जग्गा व्यवस्थापन गरिदिएका हुन् । पूजा सञ्चालनका लागि पनि रकम दिने गरेका थिए । अहिले पनि जिल्ला प्रशासन कार्यालयबाट पूजा सञ्चालनका लागि हरेक वर्ष ६ हजार सात सय ३२ रुपैयाँ ५० पैसा आउने गर्छ ।’ 

 

‘मन्दिरमा पूजासहित बडादसैँ र चैतेदसैँमा विशेष मेला लाग्छ । मन्दिरमा विशेष पूजा, भाकल तथा बली चढाउने परम्परा रहिआएको छ । वडादसैँको नवमीका दिन सु्ँगुरको बली दिँदै आएको छ,’ श्रेष्ठले भने, ‘मन्दिर आइपुग्न सदरमुकामबाट १३ किमि पिच र ५ किमि कच्ची गरी १८ किलोमिटरको यात्रापछि भैरवी मन्दिर पुगिन्छ । सवारीसाधनबाट मात्र भई हाइकिङ गर्नेहरू पनि भैरवी मन्दिर आइपुग्ने गरेका छन् ।’

 

२०७२ को भूकम्पले मन्दिर भत्किएपछि अहिले पुनर्निर्माण भइरहेको छ । २०७६ साल फागुन २३ गते मन्दिरको शिलान्यास गरिएको हो । १३ करोडको डिपिआर गरेर निर्माण कार्य सुरु गरिएको मन्दिरको चार करोडबराबर खर्चले पुनर्निमार्ण भइरहेको भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष धु्रव श्रेष्ठले बताए । मन्दिरमा खानेपानी, शौचालयको राम्रो व्यवस्था छ । सिसिक्यामेरा र इन्टरनेट पनि जडान गरिएको छ । मन्दिर आइपुग्नेहरू धार्मिक महत्वका साथै प्राकृतिक सुन्दरताले पनि लोभिने गरेको उनले बताए ।