
हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण हिमालको आधार शिविर पुग्न सहज बनेपछि अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो छ । हिमाल आरोहणका लागि विदेशी पर्यटक यस आधार शिविर पुग्ने गर्छन् भने आन्तरिक पर्यटक मनोरम प्राकृतिक सुन्दरतामा रमाउन पुग्छन् ।
पर्यटकीय सम्भावनाले भरिपूर्ण छ, नर्थ अन्नपूर्ण आधार शिविर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा विश्वको दसौँ र नेपालको आठौँ अग्लो अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्न नारच्याङ गाउँदेखि मौरिस हर्जोगसम्म पदमार्ग सञ्चालनमा छ । सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथममा पहिलो मानव पाइला परेको थियो । फ्रान्सेली हिमाल आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथममा पहिलो आरोहण गरेर इतिहास रचेका थिए । उक्त आरोहण दलको नेतृत्व मौरिस हर्जोगले गरेका कारण नारच्याङदेखि नर्थ अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गको नाम ‘मौरिस हर्जोग’ नामकरण गरिएको छ ।
हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको मार्गलाई वि.सं. ०६८ मा पहिचान गरी ‘मौरिज हर्जोग पदमार्ग’ नामकरण गरिएको थियो । यो पदमार्ग मनोरम दृश्य र प्राकृतिक छटाहरूले भरिपूर्ण छ । आँखै अगाडि ठोक्किन आउने हिमाल, अग्ला पहाडबाट छङछङ गर्दै झरेका झरना, मनै लोभ्याउने हिमताल र हिमालको फेदीबाट बग्ने मिस्त्री खोलाको रमणीय दृश्य यस पदमार्गका प्रमुख आकर्षण हुन् । जब आधार शिविर पुगिन्छ, मन फुरुंग हुन्छ, उत्साह र उमंगको दियो बल्छ । पदमार्गको थकानलाई यहाँको रमणीय दृश्यले भुलाइदिन्छ ।
प्रवर्द्धनमा जुट्यो गाउँपालिका
अन्नपूर्ण आधार शिविरको प्रवर्द्धनमा अन्नपूर्ण गाउँपालिका जुटेको छ । साहसिक पर्यटकीय क्षेत्रको रूपमा परिचित यस क्षेत्रमा पर्यटन भिœयाउन पूर्वाधार निर्माण, सामुदायिक लज निर्माण, प्रचार प्रसार र प्रवर्द्धनको क्षेत्रमा पहल थालिएको अन्नपूर्ण गाउँपालिका अध्यक्ष भरतकुमार पुनले बताए । गुरुयोजना नै बनाएर पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न लागिएको उनको भनाइ छ । गाउँपालिकाले यसअघि अन्नपूर्ण आधार शिविरमा सरोकारवालाहरूको स्थलगत अवलोकन भ्रमण र उच्च स्थानमा उचाइ खेलकुद प्रतियोगितासमेत सम्पन्न गरिसकेको छ । प्रसारका लागि वि.सं. ०७६ मा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरेको यस गाउँपालिकाले पूर्वाधार निर्माण पनि गरिरहेको छ । अन्नपूर्ण आधार शिविर क्षेत्रलाई प्रवर्द्धन गरी मुलुककै प्रमुख पर्यटकीय गन्तव्य बनाउने अभियानमा लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी बताउँछन् ।
नर्थ अन्नपूर्ण हिमालको मुख्य आधार शिविर चार हजार ३०५ मिटर उचाइमा पर्छ । हिमालले घेरिएको समथर फाँटबाट दर्जनौँ हिमशृंखलाको अवलोकन गर्न पाउँदा पर्यटकहरू प्रफुल्लित हुने गर्छन् । अन्नपूर्ण, अन्नपूर्ण फ्रेन्क, तिलिचो पिक, वराहशिखर र नीलगिरि साउथ हिमालबाट घेरिएर बनेको आधार शिविरको उपत्यका निकै मनोरम छ । आधार शिविरको दृश्यले धर्तीको स्वर्गकै अनुभूति दिलाउँछ ।
विशाल पञ्चकुण्ड ताल यहाँको थप आकर्षण हो । यो ताल करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । तालले पर्यटकलाई मोहनी नै लगाउँछ । हिउँदमा चिसोले जम्ने यो ताल गर्मीमा पाँच भागमा बाँडिन्छ । आधार शिविरमा आरोहीहरू टेन्ट टाँगेर बस्छन् । पदमार्गअन्तर्गत छोटेपा, हुमखोला, सन्धिखर्क, गुफाफाँट, भुसकेटमेला, धरमढुंगा र आधार शिविरमा समेत आश्रयस्थल निर्माण भएपछि पर्यटकहरूलाई आकस्मिक आश्रयका लागि राहत भएको छ । ठाउँ–ठाउँमा खोला वारपार गर्न झोलुंगे पुल निर्माण भएको छ ।
हिमाली भूबनोट, वनस्पति, जडीबुटी र जीवजन्तुको समेत अवलोकन गर्न सकिने नर्थ अन्नपूर्ण आधार शिविर पुग्ने यस पदमार्गको अर्को मुख्य आकर्षण फुतफुते झरना पनि हो । आधार शिविरकै पञ्चकुण्ड तालको पानी बगेर आउने मिस्त्रीखोलाको पानीले पहाडलाई काटेर झर्ने भएकाले फुतफुते झरना मनमोहक देखिन्छ । यस पदमार्गमा पञ्च झरना, रातो झरनासँगै पहाड नै प्वाल परेकोजस्तो देखिने आकासे गुफाले समेत पर्यटकलाई मोहित बनाउने गर्छ । नेपालमा मात्रै पाइने रैथाने गुराँसको नामले परिचित रोडोडेन्ड्रन कोवानियम र रोडोडेन्ड्रन लोन्डेसी प्रजातिको गुराँसको फूल पनि यसै पदमार्गमा फुल्ने गर्दछ । लौठ सल्ला, भोजपत्रका हिमाली रुख बिरुवासँगै यार्सागुम्बालगायत जडीबुटी, नाउर, झारल, मृग, हिउँचितुवा, पुच्छर नभएको लिँडे मुसा, डाँफे, मुनाललगायत वन्यजन्तु र पक्षीहरूलाई समेत अवलोकन गर्न सकिन्छ ।
नर्थ अन्नपूर्ण आधार शिविरको यात्रा छोटिएको छ । पहिले पाँच दिन लामो पदयात्रा गर्नुपर्ने बाध्यता थियो । अहिले दुई दिनमै आधार शिविर पुग्न सकिन्छ । नारच्याङदेखि कुल ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ । हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरीमा पदमार्ग निर्माण भएको छ । सडक र पदमार्गका पूर्वाधार बनेसँगै गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि नारच्याङ हुँदै आधार शिविरसम्म दुई दिनमा पुग्न सकिन्छ । उचाइमा हिँडडुल गर्न बानी परेका पर्यटक एकैदिनमै आधार शिविर पुग्न सक्छन् ।
हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण हिमालको आधार शिविर पुग्न भने सबैभन्दा सहज बनेपछि अहिले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन बढ्दो छ । हिमाल आरोहणका लागि विदेशी पर्यटक यस आधार शिविर पुग्ने गर्छन् भने आन्तरिक पर्यटक मनोरम प्राकृतिक सुन्दरतामा रमाउन पुग्ने गरेको नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङ बताउँछन् । शान्त र मनोरम वातावरण, हिमाली हावापानी र हिमालसँगको सामीप्यले यहाँ पुग्ने पर्यटकलाई डाकिरहन्छ ।
नारच्याङमा मगर समुदायको बाहुल्य छ । त्यहाँको मौलिक कला र संस्कृतिले समेत नर्थ अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकलाई आनन्द प्रदान गर्छ । पर्यटकहरूको आगमनलाई थप वृद्धि गर्दै पर्यटन विकासका लागि अन्नपूर्ण गाउँपालिकाले पदमार्गलाई थप स्तरीकृत गर्ने, सञ्चार, खानेपानीलगायत सुविधाहरूको पहुँच विस्तार गर्ने योजना अघि सारेको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताइन् । समथर फाँटमा रहेको आधार शिविर पदमार्गको सुविधाले सुरक्षित, साहसिक र उत्कृष्ट गन्तव्यको रूपमा नर्थ अन्नपूर्ण आधार शिविर चिनिन थालेको उनको भनाई छ ।
पदयात्रामा तयारी
यस पदमार्गको हुमखोलासम्म सामान्य होटेल रहे पनि त्यहाँदेखि आधार शिविरसम्मको क्षेत्रमा कुनै पनि होटेल सुविधा छैन । होटल नहुँदा आरोहण र भ्रमणमा जाने पर्यटकहरूले खाना र बसोवासको बन्दोबस्तका सामग्री आफैँ बोकेर लैजानुपर्छ । हुमखोलादेखि आधार शिविर क्षेत्रसम्मको करिब दुई दिनको पदयात्राको क्षेत्र सञ्चार पहुँचबाहिर छ । सञ्चारको पहुँच नपुगेका कारण पदयात्रा सकभर सामूहिक रूपमा गर्दा उपयुक्त हुन्छ । यस क्षेत्रमा उचाइका कारण स्वास्थ्य समस्या आउन सक्ने हुनाले सम्भावित औषधि र सावधानी अपनाउनुपर्छ ।