• वि.सं २०८१ असोज २१ सोमबार
  • Monday, 07 October, 2024
२०८० कार्तिक १८ शनिबार ०६:१९:००
सम्झना

परदेशीको दसैँ

२०८० कार्तिक १८ शनिबार ०६:१९:००

महान् पर्व दसैँ परदेशमा बस्ने नेपालीले पनि आ–आफ्नै तरिकाले मनाएका छन् । बिदा नपाएर घर जान नपाए पनि कतारमा नै जमघट भई नेपाली श्रमिकले दसैँ मनाएका छन् । कतारमा रहेका श्रमिक सम्भव भएसम्म दोहास्थित नेपाली दूतावासमा नै पुगेर टीका लगाउने चलन छ । गैरआवासीय नेपाली संघले दूतावासको समन्वयमा टीका लगाउने कार्यक्रम राख्ने गरेको छ । दूतावास जान सम्भव नहुने श्रमिकले डिउटीपछि खुल्ला ठाउँमा जमघट भएर पनि मनाउने गरेका छन् । कतिपय श्रमिकले नजिकको शुक्रबारको दिन टीका लगाउनेसमेत गरेका छन् । 


मोरङका सन्दीप ढुंगेल कतार आएको १० दिन भयो । कम्पनीको आइडी कार्ड बनिनसकेकाले उनको डिउटी सुरु भएको छैन । २२ वर्षीय सन्दीपले वैदेशिक रोजगारीका लागि युरोपका विभिन्न मुलुकमा प्रयास गरे, तर भिसा लागेन । एकैपटक कतारको भिसा भने लाग्यो । दसैँको मुखैमा घरपरिवार छाडेर कतार आउने मन त थिएन, तर भिसा आइहाल्यो । ‘म भाग्यमानी कि अभाव थाहा छैन,’ उनले भने । अन्त धेरै कोसिस गरेँ, तर भिसा लागेन । कतारमा भने दसैँको मुखैमा भिसा आयो । 


कतारको सनैयामा भेटिएका सन्दीप नेपाली दिदीसँग टीका लगाउन आएका थिए । ‘आज बिहानदेखि नराम्रो लागिरह्यो । मैले बिहानैदेखि आज मोबाइल पनि हेरेको छैन । जता पनि घरपरिवारको टीका लगाएको फोटो छ । त्यसैले मैले मोबाइल नै अफ गरिदिएँ,’ उनले भने । नेपाली दिदीले टीका लगाउने भनेपछि उनी खुसी भएका थिए । 


झापाकी सुजता पोखरेल पनि कतार आएको एक वर्ष भयो । तर, उनका श्रीमान् दिलीप निरौला भने कतारमा आएको ६ वर्ष भयो । सुजताले श्रीमान् दिलीपको हातको टीका नलगाएको पाँच वर्ष भयो । यसपटक भने उनीहरूले कतारमा नै दसँै मनाए । सनैयामा बेलुका ७ बजेतिर सुजता र दिलीप भेटिए । सुजताले प्लास्टिकमा अबिर र चामल पोको पारेर ल्याएकी थिइन् । दुवैजनाले चौरमा बसेर टीका बनाए । मुस्किलले पाँचवटा जमरा थियो । साथमा उनले सेल, चिउरा, मासु, अचार बनाएर पनि ल्याएकी थिइन् । उनीहरू दुवैजना कतारमा भए पनि एकैसाथ छैनन् । दुवैजना आ–आफ्नै कम्पनीको क्याम्पमा छन् । 


दसँैको दिन डिउटी सकिएपछि बेलुका मात्रै उनीहरूको भेट भएको हो । चौरमा नै बसेर दिलीपले सुजतालाई टीका लगाइदिए । लामो समयपछि श्रीमान्को हातको टीका लगाउँदा सुजता खुसी थिइन् । तर, परिवारबाट टाढा हुँदा भने दुःखी थिइन् । टीका बनाउँदै गर्दा उनले परिवारलाई सम्झँदै रोइन् । 


‘बिहान घरमा भिडियो कल गरेँ । सबैजनालाई देखेर मन नै थामिएन,’ उनले भावुक हुँदै भनिन् । महोत्तरीका सुरेश साह दसैँमा घर जान नपाएको १५ वर्ष भइसक्यो । वैदेशिक रोजगारीका लागि भारत हुँदै अहिले कतार आएका सुरेशलाई दसैँमा घर जाने मौका भने मिलेको छैन । साहको घरमा दुई छोरा र श्रीमती छन् । प्रत्येक दसैँमा घरका परिवारले उनी आउने आस गर्छन् । तर, कम्पनीले भनेको समयमा बिदा नदिँदा उनी घर जान पाएका छैनन् । दसँैको दिन बिहान दोहास्थित नेपाली दूतावासमा भेटिएका साहले परिवारलाई सम्झँदै भने, ‘दसैँमा घर जाने मन कसको नहोला र ? तर, हामी परदेशीको जीवन यस्तै रहेछ ।’ 


नेपालमा परिवारसँग मनाएको दसैँ पनि अब त साहले भुल्न लागिसके । ‘०५९ सालमा मेरो विवाह भएको थियो । त्यो वर्ष टीका लगाउन सुसुराली सिन्धुली गएको याद छ,’ उनले भने, ‘परदेशमै धेरै वर्ष बसेकाले अब त पहिले मनाएका दसैँहरू बिर्सन लागिसकेँ ।’ 

कतारको सनैयामा बेलुका ७ बजेतिर सुजता र दिलीप भेटिए । सुजताले प्लास्टिकमा अबिर र चामल पोको पारेर ल्याएकी थिइन् । दुवैजनाले चौरमा बसेर टीका बनाए । मुस्किलले पाँचवटा जमरा थियो । साथमा उनले सेल, चिउरा, मासु, अचार बनाएर पनि ल्याएकी थिइन् ।


कतारमा साहले आफ्नै साथीभाइसँग बसेर देवीको आराधना गर्दै दसैँ मनाउँछन् । पोखराकी सलिना गुरुङ र खोटाङकी कविता तामाङ कतार आएको ६ वर्ष भयो । उनीहरू एउटै कम्पनीमा काम गर्छन् । तर, विगत पाँच महिनादेखि उनीहरूले आफ्नै व्यवसाय सुरु गरेका छन् । सनैयाको सपिङ मलमा भेटिएका उनीहरूले कुर्था र रातो टीका लगाएका थिए । चाडपर्वमा घर जान नपाए पनि दसैँको दिन बिहानै एक–अर्कालाई टीका लगाएर उनीहरूले दसैँ मनाए । ‘कतार आएको सुरु–सुरुमा त दसैँ आउँदा सारै नरमाइलो लाग्थ्यो । अब बानी पर्न थाल्यो,’ सलिनाले भनिन्, ‘दुईजना साथी छौँ, एक–अर्कालाई टीका लगाइदिन्छौँ । रमाउने कोसिस गर्छौं ।’ 


नुवाकोटीकी रिया परियार पनि कतार आएको दुई वर्ष भयो । उनका श्रीमान् भने विगत सात वर्षदेखि कतारमा छन् । केही समयअघिदेखि उनीहरूले कतारमा व्यवसाय पनि सुरु गरेका छन् । दसैँको दिन रियाले पसलमै बसेर टीका लगाएकी छिन् । टीकाको दिन परदेशमा बस्ने कसैको पनि निधार खाली नहोस् भनेर टीका लिएर बसेको उनले बताइन् । ‘हामी परिवारबाट त टाढा छौँ । तर, हाम्रो परम्पराअनुसार निधार खाली राख्नुहुँदैन भनेर पसलमै टीका लिएर बसेकी छु,’ उनले भनिन्, ‘यो बाटो हिँड्ने १० जनाले आएर टीका लगाएर जानुभयो ।’ 


गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारले प्रत्येक वर्ष विजया दशमीको दिन टीका ग्रहण कार्यक्रम आयोजना गर्ने गरेको छ । कतारमा रहेका नेपालीबीचको एकता र संस्कृतिको जगेर्नाका लागि पनि संघले सामूहिक रूपमा टीका लगाउने कार्यक्रम गर्ने गरेको संघका अध्यक्ष रमेश भट्टले बताए । यो वर्ष पनि संघले टीका ग्रहण कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम कतारस्थित नेपाली दूतावासको कार्यक्रम हलमा आयोजना गरिएको थियो । टीका ग्रहण कार्यक्रममा संघका पदाधिकारी तथा अन्य नेपाली श्रमिकको पनि उपस्थिति थियो । तर, श्रमिकको उपस्थिति भने न्यून थियो । श्रमिकहरू डिउटीमै हुने हुँदा दसैँ मनाउन पाउँदैनन् । 


कतारमा रहेका नेपालीले दसैँ मनाउने चलन पहिलेभन्दा अहिले अलिक परिवर्तन भएको श्रमिकहरू बताउँछन् । पहिला टीका लगाएर बाहिर हिँडडुल गर्न कठिन हुन्थ्यो । मुस्लिम मुलुक भएका कारण टीका लगाउँदा उनीहरूको संस्कृतिको विरोध गरेको महसुस गर्ने गरेको एक श्रमिकले बताए । त्यसैले श्रमिकहरूले डिउटीपछि वा शुक्रबार क्याम्पभित्र नै बसेर टीका लगाउँथे । तर, टीका लगाएर बाहिर हिँडडुल भने गर्दैनथे । बाहिर निस्कनुपरे टीका पुस्थे । अहिले भने टीका लगाएर बाहिर निस्किँदा खासै समस्या नहुने उनले बताए । चाडपर्वले परदेशीलाई निकै रुवाउने गरेको छ । चाडपर्वका फोटा सामाजिक सञ्जालमा छरप्रस्ट हुने हुँदा घरपरिवारको यादले झनै विक्षिप्त बनाउने उनीहरूको अनुभव छ ।