
समीक्षा
दिन्यू योर्करको फेब्रुअरी २०१६ को अंकमा जोर्ज प्याकरको ‘ह्वाई लेफ्टिस्ट गो राइट’ शीर्षकमा एउटा लेख प्रकाशित भएको थियो । त्यो लेख अनलाइन अंकको लिंक मलाई क्यानडामा बसिरहेका मेरा मित्र अनिल भट्टराईले पठाइदिएका थिए । लेखको सुरुमै उनले रुजवेल्टको ‘न्यु–डिल प्रोग्राम’ को उल्लेख गरेका छन्, जुन अहिले पनि अमेरिकी उदार राजनीतिमा अत्यन्त प्रभावशाली प्रगतिशील कार्यक्रम मानिन्छ । त्यो न्यु डिल कार्यक्रमको विरोध त्यतिवेलाका जानेमानेका केही अमेरिकी विद्वान्ले गरेका थिए । जो विगतमा वामपन्थी पृष्ठभूमि बोकेका थिए । १९६०/७० को दशकमा पनि वामपन्थी भनेर कहलिएका एलिजावेथ वारेन, ग्यारी विल्स, जोन डिदोएन केभिन फिलिप्सले अत्यन्त दक्षिणपन्थी सोच भएका राष्ट्रपति निक्सन र पछि रोनाल्ड रेगनलाई सघाउन पुगेका थिए । राजनीतिज्ञत्रय चर्चिल, क्लमेन्स र लियोद जर्जले भनेको भनेर, ‘कोही मान्छे बीस–बाइसे उमेरमा समाजवादी भएन भने उसको हृदय छैन, र कोही चालीस नाघेर पनि समाजवादी भइरह्यो भने उसको दिमाग छैन’ भन्ने फ्रेज पनि उनले उक्त लेखमा उल्लेख गरेका छन्।
वास्तवमा चर्चिललगायत पण्डितहरूले बनाएको फ्रेजलाई नेपालका मूलधारका वामपन्थीले फेल गराएका छन् । प्याकरको विश्लेषण त वामपन्थ छोडेर दक्षिणपन्थ हुने वा दक्षिणपन्थ छोडेर वामपन्थ हुने प्रक्रियामा सीमित थियो । तर नेपाली मूलधारको वामपन्थ त एकातर्फ वामपन्थ अर्थात् कम्युनिस्ट पार्टीको लोगो पनि भिरिरहने, अर्कोतर्फ त्यही नाममा सरकारमा बसेर घोर दक्षिणपन्थी पुँजीवादी कार्यक्रम पनि लागू गरिरहने भएका छन् । यस्तो सडेल क्रियाकलापलाई तिनले नेपालमा देख्न पाएको भए कस्तो फ्रेज तयार पार्थे भन्न सकिन्न । किनकि अहिले नेपाली कम्युनिस्ट आन्दोलनको मूलधार मानिएका नेकपा एमाले र नेकपा (माओवादी)मा क्रियाशील नेतृत्व वर्ग कम्युनिस्ट पार्टी नाम लिएरै गैरकम्युनिस्ट मात्र होइन, निक्रिष्ट पुँजीवादी (ब्याड क्यापिटालिजम) अभ्यास गरिरहेछन्, (द्रष्टव्य : सन् २००७ मा प्रकाशित विलियम जे बौमोल, रोवर्ट ई लिटान र कार्लजे स्कार्म लिखित ‘गुड क्यापिटालिजम, ब्याड क्यापिटालिजम एन्ड दि इकोनोमिक ग्रोथ एन्ड प्रस्परिटी’बाट यो ब्याड क्यापिटालिजम शब्द सापट लिइएको हो) । सन् १९९० को दशकमा संसारभरिको वामपन्थ र कम्युनिस्ट आन्दोलन किन ओह्रालो लाग्यो, के–कस्ता कमजोरी रहे भन्नेबारे प्रशस्तै विवेचना गरिएका छन् । विश्वविख्यात विद्वानहरु तारिक अलीदेखि अलान बैदुसम्म, एरिक ओलिन राइटदेखि यानिस भारुफाकिससम्म, वेन्डी ब्राउनदेखि स्लाभो झिझेकसम्म, सयौँ लेखक तथा समीक्षकका पुस्तक बजारमा उपलब्ध छन् । तर, नेपालको वामपन्थी आन्दोलन र यसका उतार–चढावबारे किताबकै रूपमा रचनाहरू छैनन् भन्दा हुन्छ । यस्तो अवस्थामा समग्र वामपन्थी आन्दोलनलाई धेरै नजिकबाट हेरेर, आन्दोलनलाई व्यहोरेर र भोगेर आएकाहरूबाट गम्भीर समीक्षा आओस् भनेर नेपाली वाम आन्दोलनलाई नजिकबाट माया र सद्भाव राख्नेहरूको सधैँ प्रतीक्षा हुँदै आएको छ ।
नेपालको मूलधारको वामपन्थ र कम्युनिस्ट आन्दोलन गम्भीर विचलनबाट गुज्रिरहेको छ । सच्याउन सक्ने गुन्जायस क्षीण हुँदै गएको छ । यदि अर्को कुनै नवोदित ढंगले वाम आन्दोलन उठ्न सकेन भने अहिलेसम्म वामपन्थीहरूले गरेको बलिदान खेर जाने मात्र होइन, भयानक दक्षिणपन्थी फासीवादको उदय हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न । यस्तो अवस्थामा नेपाली कम्युनिस्ट वामपन्थको समीक्षात्मक विवेचना गरिएको कामरेड राम कार्की ‘पार्थ’को नयाँ पुस्तक ‘विकल्प, समता, समाजवाद र मुक्त दुनियाँ’ बुकहिल प्रकाशनले बजारमा ल्याएको छ ।
००० ०००
कामरेड राम कार्की (पार्थ)को यो पुस्तकमा ३१ वटा लामाछोटा आलेख र दुईवटा दस्ताबेज (फरक मत) सामेल छन् । आलेखमध्ये केही नयाँ छन् र केही पुराना प्रकाशित भइसकेका लेखहरू समेटिएका छन् । गम्भीर पाठकले यो पुस्तक दुई–तीन बसाइमा पढ्न सक्नेछन् । गम्भीर अध्येताका लागि अलि बढी समय लाग्न सक्छ । राम कार्की विद्यार्थी हुँदा (पञ्चायत कालमा) भाषण सुनेकाहरूले उहाँका यी आलेख पढ्दा त्यत्तिकै स्वाद प्राप्त गर्न सक्नेछन् । उहाँको भाषा उत्कृष्ट छ र कथनी गर्ने शैली रोमाञ्चक । त्यसैले किताब समातेर पहिलै पृष्ठ पढ्नासाथ पूर्णपाठका लागि जबर्जस्त आकर्षण पैदा हुन सक्छ ।
कामरेड कार्कीले पूर्वकथनमै नेपालका राजनीतिक पार्टीबारे धेरै कुरा भन्न खोज्नुभएको छ । जस्तो उहाँ लेख्नुहुन्छ :
‘दलमध्ये अधिकांशसँग कुनै राजनीतिक लक्ष्य, रणनीति, कार्यक्रम र कार्यतालिका नै छैनन् । आउँदो बीस वर्षमा सामाजिक जीवनको कुन क्षेत्रमा कति र कस्ता जनशक्ति चाहिने हो, त्यसको लेखाजोखा गर्ने अभिरुचि कुनै पनि पार्टी र नेतामा देखिँदैन । ‘समृद्धि ल्याइन्छ’ राम्रो गरिन्छ भन्ने अमूर्त नारा फलाकेर निजी स्वार्थप्रेरित गतिविधिमा रमिरहनु राजनीतिक पार्टीको चरित्र र आचरण बनेको छ । उनीहरूका काम र काम गराइमा ‘जे परिआउँछ’ त्यही मात्र गर्दै जाने सहज वृत्ति स्पष्टै देखिन्छ । सिद्धान्तको आलोकविनै अँध्यारामा गरिने यात्रा यस्तै हुन्छ’ (पृष्ठ अ ) ।
उहाँले सुरुमै निकाल्नुभएको उल्लिखित निचोडको अर्थ हो, अस्तित्वमा रहेका नेपाली राजनीतिक दलसँग निर्धारित लक्ष्य छैन । लक्ष्य नभएपछि नीति र कार्यक्रम हुने कुरै भएन । नीति र कार्यक्रम नभएपछि कार्यक्रम कार्यान्वयनमा लैजानका निम्ति नयाँ संस्थाको जरुरी हुने कुरा भएन । छोटकरीमा भन्दा राजनीतिक दलहरू राजनीतिक दल हुनुको गहन अर्थ र भूमिका ग्रहण गर्न अक्षम छन् ।
उहाँले ०७६ मा लेखिएको आलेखलाई, ‘वर्तमान संक्रमण : समाजवाद या सत्यानाश’ पहिलो अध्याय बनाउनुभएको छ । उहाँले आन्तोनियो ग्राम्सीको प्रसिद्ध भनाइ, ‘पुरानो मर्दै जानु तर नयाँ जन्मन नसक्नु नै संकटको मूल कारण हो’बाट सुरु गर्नुभएको छ ।
विभिन्न समयमा छापिएका ३३ आलेखलाई तीन भागमा विभक्त गर्न सकिन्छ । पहिलो, विश्व कम्युनिस्ट आन्दोलन र समाजवादको उतारचढाव, सांगठनिक तथा सैद्धान्तिक विश्लेषण । दोस्रो, वामपन्थी दलहरू, खासगरी एमाले र माओवादी पार्टीको सिद्धान्तहीनताबारे विश्लेषण र तेस्रो नेपाली वाम आन्दोलन सैद्धान्तिक वैचारिक तथा सांगठनिक विचलनबारे समीक्षा ।
मार्क्सवादमाथि चर्चा : मार्क्सकै सम्मान र सम्झनामा मार्क्सवाद र लेनिनवादबारे राम कार्कीको आफ्नो किसिमको व्याख्या छ । अलिक नवीन र नयाँ ढंगले नै उहाँले यसलाई प्रस्तुत गर्नुभएको छ । अन्य लेखजस्तो समाजवाद वा सत्यानाश, अक्टोबर क्रान्ति..., समाजवाद : स्वतन्त्र दुनियाँ बनाउने अभियान, सिद्धान्तको प्रकाशविना सामाजिक संसार बुझ्न असम्भव, समाजवादको बाटो नै मूल बाटो, केन्द्रमा राखौँ समाजवादको राजनीति, मार्क्सवादमाथि नयाँ बहस आदि उहाँको उल्लिखित प्रस्तुतिसँग मिल्दाजुल्दा नै छन् । कतिपय सैद्धान्तिक वैचारिक कुरा दोहोरिन्छन् पनि ।
मार्क्सवादका आधुनिक व्याख्याता (खासगरी जोडी डिन, अलान बैदु, स्लाभो झिझेक, विन्डी ब्राउन, भारुफाकिस तथा माइकल अलवर्ट आदि) जस्तै राम कार्कीले पनि उन्नत गर्नुपर्ने वैचारिक सैद्धान्तिक प्रश्नबारे कुरा उठाउनुभएको छ । मार्क्सवाद जडसूत्र होइन । मार्क्सवाद भनेको बनीबनाउ कार्यक्रम पनि होइन । मार्क्सवाद समयसापेक्ष तथा देशको आर्थिक सामाजिक वस्तुस्थितिलाई ध्यानमा राखेर हाम्रो आफ्नो अर्थमा कसरी समाजवाद लागू गर्न सकिन्छ भन्ने सन्दर्भमा आफैँले कार्यक्रम तय गर्दै जानुपर्छ भन्ने कुरामा विश्लेषण पस्कनुभएको छ । यस्तो कामका लागि सांगठनिक राजनीतिक दललाई भ्याङ्गार्ड पार्टी बनाए पनि जनवर्गीय संगठनहरूको स्वयं संगठन निर्माणका लागि छुट दिनुपर्ने भन्ने रोजाको लाइनमा उहाँले सहमति राख्नुभएको छ । मार्क्सवाद सामाजिक न्याय र वास्तविक प्रजातन्त्र प्राप्तिका लागि हो । समाजवाद ‘इकोनोमिजम’ मात्र होइन । समाजवादलाई राजनीतिले नै गाइड गरिनुपर्छ । राजनीतिले नेतृत्व गर्न नसक्दा कम्युनिस्ट आन्दोलनमा नयाँ आविष्कार, नयाँ खोज तथा अनुसन्धान अवरुद्ध हुन पुगे र दलभित्र एक प्रकारको तानाशाही व्यक्तिहरूको हालीमुहाली हुन पुग्यो भन्ने विषयमा उहाँको समर्थन र व्याख्या देखिन्छन् ।
००० ०००
नेपाली कम्युनिस्ट आन्दोलन खासगरी आफूलाई मूलधारका कम्युनिस्ट पार्टी भन्ने एमाले र माओवादीमाथि उहाँका केही आलेख छन् । ‘एमालेलाई केही जवाफ केही प्रश्न’, सिद्धान्तच्यूत राजनीति एक गम्भीर समस्या, माओवादीमा कार्यदिशागत अन्तर्संघर्ष, ‘नियत, नीति र नेतृत्वको क्रान्तिकारी निकास’, ‘संकटमा नेपाली कम्युनिस्ट आन्दोलन : कारण, निदान र समाधान,’ कहाँ चुक्यौँ हामी ? ‘कहाँ चुक्यो माओवादी ?’ लगायत झन्डै आधा दर्जनभन्दा बढी आलेख एमाले र माओवादी पार्टीको सैद्धान्तिक, वैचारिक तथा सांगठनिक अवधारणामाथि केन्द्रित छन् । केही एमाले, माओवादी र संयुक्त रूपमा नेकपा सरकारमा हुँदा या सामेल हुँदा के गरे ? भन्ने जवाफ दिने प्रयत्न यी आलेखमा गरिएका छन् ।
नेपाली कम्युनिस्ट आन्दोलनमा सैद्धान्तिक, वैचारिक बहस छैन, यी पार्टीमा पारदर्शिताको अभाव छ, यी दलमा नैतिकता निरन्तर रूपमा स्खलन भइरहेछ, कम्युनिस्ट पार्टीहरूले आफ्नै नयाँ संस्कार र संस्कृतिको विकास गर्न सकेनन् र अन्तमा आफूले भट्याएका नाराहरूलाई व्यवहारमा उतार्ने जमर्को कहिल्यै गरेनन् भन्ने राम कार्कीले सभ्य भाषामा सहजै बताउनुभएको छ ।
नेपालका मूलधारका कम्युनिस्ट पार्टीहरूले, ‘पुँजीवादी संसद् अवसरवाद कोरल्ने मुहान हो’ भन्ने रोजाको भनाइलाई बुझ्न नसकेको वा विश्लेषण गर्न नरुचाएको भन्नेमा राम कार्की सहमत देखिनुभएको छ । पुँजीवाद केवल राजनीतिक प्रणाली मात्र होइन, सामाजिक र आर्थिक प्रणाली पनि हो । पुँजीवाद जसले बेरोजगारी, अभाव, अन्याय, युद्ध, उत्पीडन, हिंसा आफ्ना अभिन्न अंग बनाएर नाफा आर्जन गर्छ, त्यसविरुद्ध लड्न, भिड्न र आमजनतालाई मुक्ति दिलाउन हिँडेका कम्युनिस्टहरू त्यसैको तरफदारी र पुँजीवादप्रति बफादार भएर हिँडेकोमा कार्कीजीले दुःख मनाउ गर्नु भएको छ । र, दर्जनौँ ठाउँमा नेपाली कम्युनिस्ट आन्दोलन विनाशतर्फ उन्मुख भएको जनाउ दिनुभएको छ । हाम्रा पार्टी प्रभावशाली रूपमा देखिए पनि विचार, कला र चेतनाका अर्का शाखामा सिर्जनात्मक काम, प्राथमिकतामा पर्न छोडेका छन् । कम्युनिस्टहरू आमजनताको पक्षपोषण गरेर हिँड्नेभन्दा पनि कसरी राष्ट्रिय स्रोतसाधनको दुरुपयोग गर्ने, कसरी व्यक्ति र परिवार, आफन्ती (क्रोनिजहरू) लाई पक्षपोषण गर्ने र राष्ट्रिय ढुकुटीको नाश गर्नेमा जुटेका छन् भन्ने कुरालाई घुमाउरो पाराले उजागर गर्न चुक्नुभएको छैन । वास्तवमा मूलधारका कम्युनिस्ट पार्टी अहिले एक किसिमका बुर्जुवाहरूले कब्जा गरेका छन् जहाँ सिद्धान्त, विचार र कार्यक्रम मरिसकेको छ । उनीहरू कम्युनिस्ट आदर्श बेचेर आफू र परिवारको भरणपोषण र नाफा आर्जनमा तल्लीन देखिन्छन् ।
००० ०००
सिद्धान्त, विचार र कार्यक्रम नभएपछि अहिले नेपालमा कम्युनिस्ट, कांग्रेस, राप्रपा, रास्वपा एकै ड्याङका सब्जी खेतीजस्ता देखिएका छन् । जहाँ कुनै भिन्न फसल उब्जँदैन । राजनीतिक पार्टीमा आउने शक्ति पनि एउटै वर्ग र एकै संस्कृति तथा आचरणको हुनु पनि अस्वाभाविक हुँदैन । कार्कीजीले आफ्नो पुस्तकका धेरै ठाउँमा किसानका, मजदुरका, विद्यार्थीका वा श्रमजीवीका अन्य पेसागत हकहितका मुद्दा नउठ्ने गरेको, आन्दोलन हुन नसक्नुको कारण खोतल्ने प्रयत्न गर्नुभएको देखिन्छ । सैद्धान्तिक आवरणमा रुसमा सेल्फ अर्गनाइजेसन र भेनगार्डको कन्सेप्ट कसरी नाश भयो भन्ने जान्दाजान्दै पनि नेपालको कम्युनिस्ट आन्दोलन जोगाउन नसकिएको महसुस उहाँले गर्नुभएको देखिन्छ ।
यथार्थमा अहिले मूलधारका कम्युनिस्ट पार्टीहरू सत्ताको पछि दौडिएका छन् । सत्ताले दिने सुखभोग क्षणिक हो भन्ने कुरा बिर्सिएका छन् । अहिले संसद्वादको आहालमा डुबुल्की मारिरहेका यी पार्टी यति लाख उति लाख सदस्य रहेका दाबा गरिरहेका छन् । यथार्थमा ती वास्तविक कम्युनिस्ट पार्टीका क्रान्तिकारी दस्ता हुँदै होइनन् । उनीहरूसँग कुनै पनि किसिमको जुझारुपन नै छैन । उनीहरूसँग नयाँ समतामूलक न्यायपूर्ण समाज निर्माणको कुनै खाका छैन, नयाँ परिवर्तनको जहाँ समाजप्रति जिम्मेवारी बोधको एक अंश पनि छैन, नैतिकता र हृदयाशीलता छैन । त्यस्ता पार्टी सदस्य लाखौँको संख्या पुगेर के हुन्छ ? साह्रोगाह्रोमा त ती हुन्नन् । जस्तो– करोडभन्दा माथि सदस्य भएको सोभियत संघ ढल्यो । हाम्रो पार्टी ढल्यो, जनताको सत्ता ढल्यो उठाऊँ भनेर सडकमा आएनन् । राजाको पञ्चायत ढल्यो । पञ्चहरू पञ्चायत बचाउन आएनन् । हिजो बंगालको कम्युनिस्ट पार्टी ढल्यो । अधिकांश सदस्य घोर दक्षिणपन्थी ठानिएको भारतीय जनता पार्टीतर्फ कुदे । अहिले सिपिएम वृद्धहरूको आश्रम बन्न पुगेको छ । अहिले नेपालका मूलधारका कम्युनिष्ट पार्टीहरु यस्तै अराजनीतिक, मौकापरस्त चम्चाहरूको क्रिडास्थल बन्न पुगेको छ र ऐन मौकामा उनीहरूको पलायन निश्चित छ । पार्टीलाई सत्ताले जोगाउँदैन । कार्कीजीले ठिकै ठम्याउनुभएको छ । सिद्धान्त, कार्यक्रम र आदर्शले मात्र पार्टी र आन्दोलन जोगाउँछ ।
००० ०००
‘मार्क्सवाद’ धार्मिक ग्रन्थ होइन । यो समाजमा आउने परिवर्तनलाई अलि तेज थप्ने, डिरेल हुन नदिने विज्ञान हो । यो कहीँको पनि क्रान्तिको कपी हुन सक्दैन । संसारमा जति पनि कम्युनिस्ट क्रान्ति भए ती सबै एकभन्दा अर्का भिन्न ढंगले भए । रुसको जस्तो चीनमा, चीनमा जस्तो क्युवामा र क्युवामा जस्तो अन्य ल्याटिन अमेरिकी मुलुकमा भएनन् । त्यसैले नेपालले आफ्नो परिवर्तन आफ्नै लय र परिवेशमा गर्नुपर्छ र त्यो अनिवार्य सर्त हो । कम्युनिस्ट विचारधाराले समय र परिवेशअनुसार अनवरत अभ्यासको माग गर्छ । जुन कुरा नेपालमा कम्युनिस्ट नामधारी पार्टीले सत्तामा हुँदा अभ्यास गरेनन् । राम कार्कीले आफ्नो किताबमा औँल्याएझैँ नेपाली कम्युनिस्टहरूले सत्ताको विभिन्न अंगहरू, जस्तो– संघ, प्रदेश, गाउँ/नगर र वडा सरकारमा हुँदा कुनै पनि किसिमको जनवादी अभ्यास गरेनन् । अहिले पनि गरिरहेका छैनन् । गाउँ होस् या नगर कम्युनिस्ट पार्टीले असाध्य राम्रो सर्भिस डेलिभरी जनतालाई पुर्याएको छ भनेर ब्रान्ड खडा गरेको वा उद्धरण पेस गरेको देखिएको छैन । तर, किताबमा धेरै सैद्धान्तिक वैचारिक आचरणका कुरा भए पनि व्यवहारमा कहीँ कतै कुनै पार्टीले पनि अभ्यास गरेका छैनन् ।
००० ०००
राम कार्की ‘पार्थ’बाट धेरै अपेक्षा गरिएको थियो । उहाँको किताब निस्किँदै छ भन्दा धुमलिँदै, नासिँदै, बदनाम हुँदै गएको माओवादी आन्दोलनमाथि विहंगम दृष्टिकोणसहितको समीक्षा आउला भन्ने यो पंक्तिकारले कल्पना गरेको थियो । किनकि उहाँ धेरै पहिलादेखि माओवादी आन्दोलन र युद्धमा सामेल भएर राप, ताप, ओह्रालो, उकालो, गाह्रो, अप्ठ्यारो भोग्दै आउनुभएको नेता हुनुहुन्छ । आज माओवादी उग्लेर सुन होइन रहेछ, जलप पनि उग्लियो भनेर कथनी गर्नेे ठाउँमा पुगेको छ । त्यो उग्लाई एकरात, एक दिन वा एक दशकमा अएको होइन । हरेक माओवादी दस्ताबेजमाथि छलफल गर्न भ्याएका, हरेक नेताको आचरण र व्यवहार देखेका भोगेका नाताले कामरेड पार्थले उनीहरूका अप्रकाशित वा प्रकाशित दस्ताबेजमाथि सैद्धान्तिक र सांस्कृतिक त्रुटिहरू केलाएर नयाँ पिँढीलाई नयाँ मार्गदर्शन गर्न सक्नुहुन्थ्यो । त्यो अपेक्षा आशाअनुरूप देखापरेन । यद्यपि उहाँको यो किताब वामपन्थी आन्दोलनलाई गति दिन सहयोग नै पुग्छ । उहाँले अपेक्षा गरेका १२–१५ दर्जनले मात्र होइन, हजारौँले गहनतासाथ अध्ययन गर्नेछन् भन्ने अपेक्षा गर्न सकिन्छ ।
उहाँले प्रश्नहरु उठाउनुभएको छ । केही ठाउँमा बाबुराम, वैद्य र प्रचण्डलाई घोचपेच गर्न पनि पछि पर्नुभएको छैन । प्रणालीगत हिसाबले उहाँहरूको विचार र आचरणमाथि जसले नेपाली माओवादी आन्दोलनलाई धराशायी तुल्याए, तुल्याइरहेछन् प्रश्न उठाउन जरुरीछ । किनकी उनीहरुले नेपालको कम्युनिस्ट आन्दोलनलाई रोमानियाका अन्तिम कम्युनिस्ट तानाशाहकै पथमा धकेलीरहेका छन । जस्ले अहिले हाम्रा नेताले जस्तै शक्तिको केन्द्रिकरण, सत्तालाई भष्ट्रिकरण,र क्रोनिइजमलाई फलाए फूलाएका थिए । दलका नेताहरुको सैद्धान्तिक वैचारिक विचलनमाथि जुन रूपमा जुन प्रकारले खरो ढंगले प्रकाश पारिनु पथ्र्यो र राम कार्कीले पार्न सक्नुहुन्थ्यो तर गर्नुभएको छैन । सायद उहाँमा पुरानो धङधङेले साथ छोडेको छैन ।
नयाँ पुस्ता पुरानै कोखबाट जन्मने हो । हरेक आन्दोलन, परिवर्तन र क्रान्तिको भू्रण आकाशबाट टप्किने होइन । पुरानै समाजमा नयाँ विकसित हुने हो । तर, त्यसका लागि पुरानालाई निषेध गरेर अगाडि बढ्न, नयाँ राजनीतिक संस्कृति सहित नयाँ आँट र नयाँ साहस (सायद दुस्साहस) आवश्यक पर्छ । माओवादीभित्र मात्र होइन, नेपालका अन्य कम्युनिस्ट पार्टीभित्र पनि नयाँ आवश्यकताबारे दुस्साहस गर्न हिम्मत गर्नेहरूको अभाव छ । यसको अर्थ नेपाली वामपन्थमा अझै नयाँ–नयाँ युटोपियामाथि विमर्श हुन बाँकी छ । नयाँ संगठित जमर्को गर्नेहरूको जमात खडा हुन बाँकी छ । राम कार्की पार्थलाई यो सँगालोका लागि हार्दिक धन्यवाद । खास गरेर ‘विकल्प’को भू्रण रोप्न आँट गर्नुभएकोमा।