• वि.सं २०८१ भदौ २२ शनिबार
  • Saturday, 07 September, 2024
जोनाथन इरा लेवी
२०८० कार्तिक १८ शनिबार ०७:०३:००
समाज

आधुनिक राजनीतिक शक्तिको क्रमिक विकास

२०८० कार्तिक १८ शनिबार ०७:०३:००
जोनाथन इरा लेवी

शक्तिको अवस्थिति कहाँ हुन्छ त्यो सधैँ स्पष्ट हुँदैन । सन् १९९८ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टन विश्वका सबैभन्दा शक्तिशाली व्यक्तिमध्ये एक थिए । शीतयुद्धमा विजय हासिल गरेकाले फ्रान्सका विदेशमन्त्री हुबर्ट भेड्रिनले संयुक्तराज्य अमेरिका ‘हाइपरप्युसेन्स’ अर्थात् कठोर र नरम शक्ति दुवैको हिसाबमा महाशक्ति बनेको बताए । मोनिका लेविन्स्कीकाण्डका बाबजुद अमेरिकाको ‘नयाँ अर्थ व्यवस्था’ गर्जनसहित रफ्तारमा थियो । क्लिन्टन सन् १९९६ को निर्वाचनमा पुनः उत्साहजनक जित हासिल गरेर उत्कर्षमा थिए । अमेरिका नेतृत्वको भूमण्डलीकरण र प्रतिनिधिमूलक लोकतन्त्र दुवै रफ्तारमा थियो ।


वित्तीय पुँजीको सीमापार गतिशीलतामा वृद्धि सन् १९९० को दशकको उत्तराद्र्धमा नवउदारवादी भूमण्डलीकरणको एउटा केन्द्रीय विशेषता थियो । सन् १९९७ मा पूर्वी एसियाका थुप्रै अर्थतन्त्रबाट यस्ता ‘हट मनी (पैसा)’ पलायन हुँदा त्यसले विश्वव्यापी वित्तीय संकट निम्त्यायो । क्लिन्टन जी–७ को बैठक बोलाएर दोस्रो विश्वयुद्धको अन्त्यदेखि नै विश्वको वित्तीय पुँजीको राष्ट्रिय नियमन गरिरहेको अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीलाई सघाउन ‘ब्रिटन वुड्स द्वितीय’को निर्माणबारे विमर्श गर्दै थिए । क्लिन्टन एउटा नयाँ विश्वव्यापी केन्द्रीय बैंक सिर्जनाको सम्भावनासमेत स्वीकार गरिरहेका थिए । 


तर, जब उनले आफ्ना निकटतम आर्थिक सल्लाहकारद्वय आफ्ना वित्तमन्त्री रोबर्ट रुबिन र उनका सहायक लरेन्स एच सुमर्ससँग यी परिवर्तनकामी अवधारणबारे कुरा गरे, उनीहरूले त्यसमा सहमति दिएनन् । इतिहासकार नेल्सन लिचेन्स्टाइन र जुडिथ स्टेनले ‘अ फ्याबुलस फेलियर : द क्लिन्टन प्रेसिडेन्सी एन्ड द ट्रान्सफर्मेसन अफ अमेरिकन क्यापिटालिजम’ नामक पुस्तकमा क्लिन्टनले ‘नयाँ अन्तर्राष्ट्रिय सम्झौताको कुनै पनि संस्करणका लागि कोही पनि समर्थक फेला पारेनन्’ भनेर लेखेका छन् । यो विषय यत्तिकै सेलाएपछि राष्ट्रपतिकोे प्रगतिशील झुकावले अमेरिकाको अर्थ मन्त्रालय र यसका सहयोगीहरूको तर्फबाट परिचालित सम्पूर्ण वैचारिक एवं संगठनात्मक शक्तिलाई नवउदारवाद अघि बढाउने मार्ग खोलिदियो ।


लहरको विपरीत
क्लिन्टनको प्रगतिशील झुकाव सही नै थियो, तर उनी नवउदारवादी ज्वारभाटाविरुद्ध पौडिरहेका थिए । सन् १९९३ मा सत्तामा आएपछि पहिले उनले राज्य सञ्चालित ‘औद्योगिक नीति’ र स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचको वकालत गरे । तर, यी दुवै पहल असफल भएपछि भने विश्वभरका अन्य धेरै नेताहरूलाई सामेल गरेर बजारवाद (मार्केट फन्डामेन्टालिजम)तर्फको दौड अँगाले । यसको अर्थ उद्योगहरू (दूरसञ्चारदेखि वित्तसम्म)लाई नियमनमुक्त गर्नु, कडा कल्याणकारी सुधार लागू गर्नु र खुला बजारका मूल्य मान्यतालाई अँगाल्नु थियो ।


यसका वास्तविक सूत्रधार को थियो त ? के त्यो व्यक्ति गोल्डम्यान स्यासका पूर्वलगानीकर्ता रुबिन थिए वा हार्वर्ड विश्वविद्यालयका पूर्वअर्थशास्त्री सुमर्स ? अथवा सबैलाई युगधाराले पो डो¥याएको थियो कि ? यी प्रश्नहरू ऐतिहासिक चासोका विषय मात्र होइनन् । २०औँ शताब्दीको अन्त्यताका अर्थतन्त्रमाथिको नियन्त्रण त्यागेका संसारभरका सरकारहरू अहिले पुनः नियन्त्रण स्थापना गर्नेतर्फ अभिमुख भइरहेका छन् । यद्यपि, यो परिणतिलाई २५ वर्षअघिको जस्तो सत्तासीन नेताहरूको स्वाभाविक राजनीतिक प्रवृत्ति(झुकाव)मा मात्र सीमित गर्न भने सकिँदैन ।


लिचेन्स्टाइन र स्टेनको पुस्तकले यसलाई कोदालोका रूपमा चित्रण गर्छ, तर हार्वर्डका इतिहासकार चाल्र्स एस. माएरको ‘द प्रोजेक्ट–स्टेट एन्ड इट्स राइभल्स : अ न्यु हिस्ट्री अफ द ट्वान्टिथ एन्ड ट्वान्टी–फस्ट सेन्चुरिज’ले क्लिन्टन–युगको नवउदारवादी भूमण्डलीकरणको उच्च ज्वारभाटापछि के गलत भयो भनेर माथिबाट सर्वेक्षण गर्छ । क्लिन्टनको आशा जगाउने राजनीतिका विपरीत आजको राजनीतिक मनोदशाको जरा डरमा गढेको छ । ‘गर्जँर्दाे ९० को दशक (रोअरिङ नाइन्टिज)’बाट राजनीतिको यो चक्का पपुलिस्ट अधिनायकवाद अर्थात् ‘लोकतन्त्रको क्षयीकरण’ र अहिले सन् २०२०को दशकमा विश्वासको व्यापक संकटतर्फ कसरी यति छिटो मोडियो त ? 


आधुनिक राज्य
यस प्रश्नको जवाफ दिन मायर आफ्नो ‘प्रोजेक्ट–स्टेट’को नवीन अवधारणा प्रस्तुत गर्छन् । उनको यो अवधारणाले एक सार्वभौम एकाइलाई बुझाउँछ, जसले समाजलाई ठूला लक्ष्यहरूको पछाडि परिचालन गर्ने शक्ति राखेको हुन्छ । प्रोजेक्ट–स्टेट क्रान्तिको युग १८औँ शताब्दीदेखि नै देखापरेको हो, तर विश्वयुद्धको युगसम्म पनि पूर्णरूपमा आकारमा भने आइसकेको थिएन ।

२०औँ शताब्दीको प्रारम्भमा ठूला नोकरशाही राज्यहरूको उदयदेखि पछिल्लो समयमा नवउदारवादको विजयसम्म, शासनका मोडेलमा आएको परिवर्तनलाई तत्कालीन सत्तासीनहरूको स्वाभाविक राजनीतिक प्रवृत्तिमा मात्र सीमित गर्न सकिँदैन । यसमा धेरै ठूला र सूक्ष्म गतिशीलताले काम गरेको छ ।
 


युद्धहरू जित्नु, महामन्दीसँग जुध्नु, समाजवादी लोकतान्त्रिक कल्याणकारी राज्यहरूको निर्माण गर्नु अनि अ–औपनिवेशीकरण र आर्थिक विकासलाई पछ्याउनु सबै नै ठूला सामाजिक परियोजनाका उदाहरण हुन् । राज्यहरूले भूबनोट परिवर्तन गरे, दलदल सफा गरेर भीमकाय बाँध, बन्दरगाह र राजमार्गजस्ता विशाल पूर्वाधार निर्माण गरे । साथै, उनीहरूले शिक्षित बनाउँदै, खोप दिँदै, बन्ध्याकरण र केही अवस्थामा सखाप गरेरसमेत जनसांख्यिकीलाई बदल्ने प्रयास पनि गरे । 


चाहे उनीहरूले हिंसात्मक रूपमा वा अन्य माध्यमबाट मानिस र स्रोतहरू परिचालन गरेका हुन् नयाँ प्रोजेक्ट–स्टेटहरूलाई उनीहरूको पछाडि प्रतिबद्ध ‘जनता’ आवश्यक थिए । तसर्थ, आवश्यक जनसमर्थन जुटाउन प्रोजेक्ट–स्टेट हिटलर, स्टालिन, माओ, चाल्र्स डी गॉल वा जवाहरलाल नेहरूजस्ता एकल क्यारिज्म्याटिक राजनीतिक नेताको शरण प¥यो । र, तिनले राजनीतिक दलका संगठनमार्फत जनसमर्थन जुटाइदिए । 


हुन त, मायरको शीर्षकले औल्याएझैँ, प्रोजेक्ट–स्टेटका प्रतिस्पर्धी पनि थिए । यी प्रतिस्पर्धीमा १९औँ शताब्दीको युरोपेली उपनिवेशवादका रहलपहल ‘आर्थिक साम्राज्य(रिसोर्स एम्पायर्स)’ तथा गैरराज्य ‘शासन’का विभिन्न स्रोत एवं गैरसरकारी संस्था, प्रतिष्ठान, विश्वविद्यालय र संयुक्तराष्ट्र संघजस्ता दाह्रा–नंग्राविहीन अन्तर्राष्ट्रिय संस्थालगायत शासनका विज्ञहरू पनि पर्छन् । यद्यपि, मायरले अहिलेसम्मको सबैभन्दा शक्तिशाली प्रतिद्वन्द्वीचाहिँ ‘पुँजीको अन्तर्राष्ट्रिय जालो (वेब अफ क्यापिटल)’ हो भनेका छन् ।


प्रोजेक्ट–स्टेट र यसका प्रतिद्वन्द्वी प्रत्येकको आ–आफ्नै तर्क र चासो छन् । तर, आधारका लागि सबै एकअर्कामा निर्भर पनि छन् । प्रोजेक्ट–स्टेटले सन् १९४५ पछिको सामाजिक लोकतन्त्रको मोडेल सस्तो तेलले टिकेको थियो भनेर रिसोर्स एम्पाएर (आर्थिक साम्राज्य)लाई तर्क बनाउँछ । यसैगरी, वेब अफ क्यापिटललाई पनि कहिलेकाहीँ नयाँ बजार खोल्न राज्य आवश्यक पर्छ । अन्य समय, यसले राज्यहरूलाई के–कसो गर्ने भनेर अह्राउँछ । प्रोजेक्ट–स्टेटले शासनबाट ज्ञान र विशेषज्ञता हासिल गर्छ भने शासनले बल प्रयोगको प्राधिकार प्रोजेक्ट–स्टेटबाट प्राप्त गर्छ, परोपकारको धन पुँजीको जालोबाट आकर्षित गर्छ ।


कहिलेकाहीँ, यी प्रतिद्वन्द्वीहरू एकअर्काविरुद्ध उत्रिन्छन् र तनाव पनि सिर्जना गर्छन् । अन्य समय, तिनका मोडेलहरू मिलेर सहअस्तित्वमा रहन्छन् । यसलाई मायर ‘कानुनको स्थिरता’ वा खेलको राजनीतिक–आर्थिक नियममा व्यापक ‘सामाजिक–राजनीतिक सहमति’ भन्छन् । मायरले सहमतिका दुई यस्ता क्षण रहेकोमा जोड दिन्छन्– प्रोजेक्ट–स्टेटका विभिन्न संस्करण बहाल रहेको द्वितीय विश्वयुद्धपछिका दशकमा र नवउदारवादले कानुनको भावनालाई निस्तेज पारेको सन् १९८० पछिका दशकहरूमा । आज, परिस्थिति तरल र अनिश्चित छ, तर कुनै नयाँ व्यवस्था देखापर्ने सम्भावना भने देखिन्छ ।


कहाँ गए ती परियोजना ?
(प्रोजेक्ट–स्टेट, पुँजी, साम्राज्यवादका नयाँ स्वरूप, गैरसरकारी शासकीय संस्था) यी चार प्रतिद्वन्द्वीहरूबीचको बहुपक्षीय सम्बन्धका कारण मायरको इतिहास सधैँ सुगम्य लाग्दैन । तर, यो असाधारण रूपले विद्वत्तापूर्ण र अन्तरदृष्टिले भरिपूर्ण छ । यसले धेरैजसो ध्यान युरोप र अमेरिकामा केन्द्रित गरेको भए पनि, दायरा विश्वव्यापी छ ।


मायरको भाष्य २०औँ शताब्दीको पूर्वाधारबाट सुरु हुन्छ, जतिवेला पहिले पूर्ण युद्ध र त्यसपछि महामन्दीले प्रोजेक्ट–स्टेटलाई मलजल प्रदान गरेको थियो । शीतयुद्धको सुरुवातसँगै अधिकांश विद्वान्हरूले राज्यलाई शासनको प्रकारका आधारमा उदार लोकतन्त्र र तिनका अधिनायकवादी र सर्वसत्तावादी प्रतिद्वन्द्वीमा वर्गीकरण गर्न थाले । मायर फ्र्यांकलिन डी. रुजवेल्टको अमेरिकालाई हिटलरको जर्मनीसँग तुलना गर्न केही नैतिक असहजता भएको बताउँछन् । यो विधि अपनाएर उनले २०औँ शताब्दीको दौरान विभिन्न प्रोजेक्ट–स्टेटहरूको कसरी उदय र पतन भयो भनेर नक्सांकन गरेका छन् । फासीवादको पतन दोस्रो विश्वयुद्धको अवधिमा भयो भने त्यसको तीन दशकपछि सामाजिक लोकतन्त्र र विकासवाद पतन भए । त्यसको एक दशकपछि साम्यवादको पतन भयो । प्रोजेक्ट–स्टेट तबदेखि आफ्नो पूर्वसंस्करणको केवल एउटा खोल मात्र भएको छ ।


सन् १९७० को दशकमा सामाजिक–लोकतान्त्रिक प्रोजेक्ट–स्टेट किन धराशायी भयो ? यसका केही कारण आकस्मिक थिए । सस्तो तेलको युगले बलियो बनेका पुराना रिसोर्स एम्पाएर ओपेकका झट्काबाट दुर्घटनाग्रस्त भए । मायर ऐतिहासिक विवरण पछ्याउँदै, मूल्य मुद्रास्फीति कसरी सामाजिक लोकतन्त्रमा विश्वासको व्यापक संकटको प्रतिबिम्ब र चालक दुवै थियो भनेर देखाउन निकै पृष्ठ खर्चिन्छन् । साथै, उनी प्रोजेक्ट–स्टेटहरू आफ्नै सफलताको सिकार भएको बताउँछन् । केहीले विश्वयुद्ध जिते पनि । आधारभूत संस्थाहरूको स्थापनापश्चात् कल्याणकारी राज्यहरूको निर्माण पनि भयो, तर यी कुरा अब अतित भइसकेका छन् । ब्राजिल वा सोभियत रुसको औद्योगीकरण र आजको ग्लोबल साउथको अधिकांश भागमा कृषिमा हरित क्रान्तिजस्ता आर्थिक विकासका राष्ट्रिय परियोजनाका हकमा पनि यस्तै भयो ।


यी सबै कुरा पूरा भएको भए के हुने थियो त ? प्रोजेक्ट–स्टेटहरूलाई फस्टाउन परियोजना चाहिन्छन् । ती जति भव्य भए उति राम्रो । कुशलतापूर्वक हुलाक सेवा सञ्चालन गर्नु, कर संकलन गर्नु वा राष्ट्रिय दन्त–बिमाका कार्यक्रम सञ्चालन गर्नु मात्र प्रोजेक्ट–स्टेटको वैधता र गतिलाई कायम राख्न पर्याप्त हुँदैन । र, यस अनिवार्यतालाई पूरा गर्न सक्ने परियोजनाका प्रकार अनिवार्य रूपमा सीमित छन् । यिनलाई ठूलो ऊर्जा र व्यापक प्रतिबद्धताहरू आवश्यक पर्छन्, तर तिनीले चाँडै आफ्नो बाटो बिराउँछन् । 


पुँजीको विजय
यसरी, सन् १९८० पछि प्रोजेक्ट–स्टेट पछाडि हट्यो र गैरराज्य शासन (नन्–स्टेट गभर्नेन्स) र पुँजीको अन्तर्राष्ट्रिय जालो अगाडि आयो । मायरले भनेझैँ पुँजीको जालोले मुद्रास्फीतिको संकट समाधान गर्‍यो भने राज्य र घरपरिवारलाई समान रूपमा ऋण तानेर नयाँ राजनीतिक–आर्थिक व्यवस्था सिर्जना गर्‍यो ।


जे होस्, सन् १९९० को दशकको अन्तसम्ममा पुँजीले विजय हासिल गरिसकेको थियो र कानुनको नयाँ नवउदारवादी भावनालाई आफूमा सम्मिलित गरिसकेको थियो । नवउदारवादको लक्ष्य यसका पक्षधरले भनेझैँ बजारको पहुँच विस्तार गर्नु थिएन । यो त आयको वितरणलाई श्रमबाट पुँजीमा स्थानान्तरण गर्न उद्यत थियो । उसले यो कुनै पनि तरिकाले गर्नुपर्ने थियो । कहिले यसको लागि नियमन त कहिले राज्यको हस्तक्षेप हटाउन आवश्यक पर्‍यो । यसका लागि अक्सर राज्यशक्तिको प्रयोग विशेषगरी अमेरिकाको शक्ति र हार्वर्डका विज्ञका सिफारिसहरूले प्रदान गरेका वैधताको आवश्यकता पर्‍यो ।


अन्ततः मायर सन् १९९० को दशकको अन्त्यसम्ममा नवउदारवादको विजय अतिशयोक्तिपूर्ण रूपले निर्धारित भइसकेको र क्लिन्टनको प्रगतिशीलताले नीतिलाई प्रभावित गर्ने मौका दिएको बताउँछन् । यहाँनेर लिचेन्स्टाइन र स्टेनको बुझाइ उपयोगी हुन्छ । क्रमैसँग विवरण पस्किँदै उनीहरूले क्लिन्टनको प्रगतिवाद आठ वर्षको कार्यकालका दौरान क्लिन्टनको नवउदारवादमा कसरी रूपान्तरित भयो भन्ने देखाएका छन् ।


जब कि रुबिनको पछाडि वेब अफ क्यापिटल थियो, सुमर्सले आफ्नो प्राज्ञिक प्राधिकारबाट सेवा गरे । तर, यति नै महत्वपूर्ण कुरा, क्लिन्टन, जो उत्कृष्ट राजनीतिज्ञ थिए, उनीसँग कुनै ठूलो परियोजना थिएन । ‘हाम्रो उद्देश्य सरकारलाई आफ्नै ज्यादतीबाट बचाउनु हो ताकि यो फेरि प्रगतिशील शक्ति बन्न सकोस्,’ सन् १९९८ मा उनले भनेका थिए । तर, उनको कालखण्ड नै प्रोजेक्ट–स्टेटका लागि सबैभन्दा प्रतिकूल भयो । लिचेन्स्टाइन र स्टेन नवउदारवादीहरूले खुलिसकेको ढोका ढकढक्याइरहेको बताउँछन् । क्लिन्टन अमेरिकी प्रोजेक्ट–स्टेटलाई परित्याग गर्न तयारै थिए । दोस्रो विश्वयुद्धपछिको सामाजिक–लोकतान्त्रिक भावनाले शीतयुद्धको ‘राष्ट्रिय सुरक्षा’प्रतिको सनकलाई मार्गप्रशस्त गर्न धेरै समय नलागेको मायर पनि स्विर्काछन् । परियोजनामा आएको त्यो परिवर्तनले अमेरिकी राजनीतिमा वामपन्थीहरूको विशेषगरी श्रमिक आन्दोलनलगायतको प्रभावलाई नराम्ररी परिसीमित गरिदियो । 


क्लिन्टन स्वयं ट्रेड  युनियनहरूप्रति कुनै प्रतिबद्ध व्यक्ति थिएनन् । उनी अर्कान्सासको विपन्न क्षेत्रबाट उदाएका थिए जुन प्रोजेक्ट–स्टेटद्वारा लगभग अछुत थियो र जुनपछि विश्वव्यापी नवउदारवादी निगमको उत्कृष्ट नमुना ‘वालमार्ट’को मुख्यालय बन्यो । पदमा छँदा उनी र उनका सबैभन्दा ‘वामपन्थी’ सल्लाहकारले समेत श्रमसँग दूरी कायम राख्थे । यसैलाई लिचेन्स्टाइन र स्टेनको शीर्षकले ‘सानदार असफलता’ भनेको हो । 


पक्कै पनि, सहस्राब्दीको अन्त्यताका क्लिन्टनको राष्ट्रपतीय कार्यकाल निकै सफल भएजस्तो देखिन्थ्यो । आखिर, हरेक अमेरिकी आर्थिक परिसूचकमाथि नै थिए, सहरमा पुँजीवादको अमेरिकी मोडेलको एकछत्र हालीमुहाली थियो । तर, लिचेन्स्टाइन र स्टेनको कथनमा क्लिन्टन ‘भ्रम’मा थिए । उनले पुँजीको जालोलाई उसकै उपकरणका भरमा छोडियो भने यसले कुनै न कुनै तरिकाले प्रगतिशील उद्देश्य पूरा गर्ने ठाने । मायर क्लिन्टनको तेस्रो मार्ग सेन्टर लेफ्ट नवउदारवाद सुरुदेखि नै ‘जादुई सोच’मा आधारित रहेको बताउँछन् ।


सन् १९९० को दशकको उत्तराद्र्धमा नै यो मोडेलमा दरार देखापरिसकेको थियो । पूर्वी एसियाको आर्थिक संकटपछि सन् १९९९ मा सियाटलमा भएको विश्वव्यापार संगठनको बैठकमा व्यापक विरोध प्रदर्शन भयो । त्यसपछि सन् २००८ को आर्थिक संकट आयो, जसलाई मायर पछिल्लो इतिहासको आलम्बको रूपमा हेर्छन् । ओबामा प्रशासन विश्वव्यापी वित्तीय प्रणालीलाई सही स्थितिमा फर्काउन सफल भए तापनि नवउदारवादको वैधताको बृहत् संकटको सम्बोधन गर्न सफल भएन । 


के यसको अर्थ प्रोजेक्ट–स्टेटको पुनरागमनको मञ्च तय भएको हो त ? बिलकुल होइन । मायरको विश्लेषणअनुसार हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, ब्राजिलका पूर्वराष्ट्रपति जयर बोल्सोनारो र पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पजस्ता आजका पपुलिस्ट अधिनायकवादी नेताहरूले प्रोजेक्ट–स्टेटको शक्तिलाई उपयोग गर्नुको सट्टा माफिया शैलीको भ्रष्टाचारलाई सहज तुल्याउने अल्पकालीन राजनीतिक गठबन्धन निर्माण गरे । 


व्यवस्थामा नयाँ उत्साह 
के मायरले भनेजस्तै ‘स्वतन्त्रता, समानता र न्यायको विस्तार गर्न सक्ने नयाँ व्यवस्था’ सिर्जना गर्न अझै सम्भव छ ? यसको जवाफ दिन तीनवटा आधारभूत विषयमाथि विचार गर्नुपर्छ । पहिलो, इतिहासले प्रोजेक्ट–स्टेट जहिले पनि युद्ध र सैन्य परिचालनको समयमा सबैभन्दा बढी फस्टाएको देखाउँछ । यस सन्दर्भमा बाइडेन प्रशासनको ‘औद्योगिक नीति’मा क्लिन्टनकालीन अवधारणाहरूको पुनरुत्थान र चीनको सैन्यशक्तिको प्रदर्शनमा वृद्धि सांयोगिक भएको छ । 


कुनै पनि विवेकी व्यक्तिले पूर्ण युद्ध चाहँदैन । यसर्थ, के सैन्य खतरालाई अभिप्रेरित नगरीकनै रूपान्तरणकारी आर्थिक एजेन्डाका लागि घरेलु समर्थन जुटाउन सम्भव छ त भन्नेचाहिँ सान्दर्भिक प्रश्न हुन्छ । यसको स्पष्ट जवाफ छैन । अमेरिकी दार्शनिक विलियम जेम्सले एक शताब्दीअघि भनेझैँ आधुनिकताको एउटा स्थायी चुनौती भनेको ‘द मोरल इक्विभ्यालेन्ट अफ वार’हो । हामी नेट–जेरो उत्सर्जन अर्थ–व्यवस्थातर्फको संक्रमणले मानिसलाई यसको विकल्प दिने अपेक्षा मात्र गर्न सक्छौँ । 


दोस्रो मुद्दा अमेरिकी विश्वव्यापी आधिपत्यको नियतिसँग सम्बन्धित छ । लिचेन्स्टाइन र स्टेनको पुस्तक सन् १९९० को दशकको पूर्वाद्र्धमा उदाएको अमेरिकी आर्थिक शक्तिको नयाँ आधार पत्ता लगाउन प्रभावकारी छ । विगतका अधिकांश रिसोर्स एम्पाएरका विपरित सन् १९८० पछिको अमेरिका पुँजी तथा वस्तुहरूको निर्यातमा निर्भर रहेन । यसको साटो, ऊ व्यापार घाटाबाट गुज्रियो जसलाई विश्वव्यापी पुँजीको अथाह आयातले बढवा दिएको थियो । पुँजीको गतिशीलतालाई निर्वाध छोडिएको अवस्थामा, मलाई लाग्दैन कि प्रोजेक्ट–स्टेट फर्कने कुनै मौका आउला । यसमा क्लिन्टनको बुझाइ सही थियो :  पुँजीको मागलाई नियन्त्रणमा राख्न अन्तर्राष्ट्रिय शासकीय समाधान आवश्यक छ । तर, आजकाल यस्ता समाधानको असाध्यै अभाव छ ।


अन्तमा, नवउदारवाद वास्तवमा के थियो त भन्ने प्रश्न आउँछ । यो आर्थिक लाभको वितरण श्रमबाट पुँजीमा स्थानान्तरण थियो । मायर सन् १९८० पछि ‘आयको पुनर्वितरणमा जोड दिन’ असफल भएकोमा ‘संगठित श्रम’को आलोचना गर्छन् । प्रस्ट भन्दा, यी कार्डलाई धेरै दशकदेखि श्रमिक आन्दोलनविरूद्ध प्रयोग गरिँदै आएको छ । कुनै समय यो उसको निजी परियोजना थियो । तर, अन्य परियोजनाले जस्तै, केही उल्लेखनीय सफलता हात पारे गरेपछि यसले पनि उत्साह गुमायो । लिचेन्स्टाइन र स्टेनका अनुसार यदि यो अझै तस्बिरमा भएको भए क्लिन्टन प्रशासनका आर्थिक नीति असफल हुने थिएनन् । 


सन् २०२३ मा, आर्थिक तथा नीतिगत परिणामका संरचनात्मक निर्धारक पुनः एकपटक परिवर्तन भइरहेको देखिन्छ । र, यो राम्रैका लागि हुन सक्छ । क्लिन्टन र उनका ‘तेस्रो धार’का सहकर्मी राजनीतिज्ञहरूले परित्याग गरेका अर्थ–व्यवस्था मूल्य स्फीतिद्वारा सञ्चालित र ऋणमा निर्भर थिए । तिनको मुनाफाले आममानिसको आयमा खासै योगदान गरेको थिएन, सम्पत्तिका मालिकहरूलाई मात्रै लाभान्वित गराएको थियो । अर्थतन्त्रले सम्भ्रान्त वर्गलाई होइन, आमनागरिकलाई पुरस्कृत गरेर अघि बढे मात्र व्यवस्थामा नयाँ उत्साह देखिनेछ । 


(सिकागो विश्वविद्यालयको इतिहास विभाग र सामाजिक चिन्तन समितिका प्राध्यापक जोनाथन इरा लेभी ‘एजेज अफ अमेरिकन क्यापिटलिज्म :  अ हिस्ट्री अफ द युनाइटेड स्टेट्स’का लेखक हुन् । ‘प्रोजेक्ट सिन्डिकेट’मा प्रकाशित यो लेख नारायण शिवाकोटीले अनुवाद गरेका हुन् ।)