प्रिय कवि महमुद दार्विस !
सञ्चै छौ ?
यस्तो हालतमा सञ्चो हुनु पनि आफैंमा बेइमानी हो
बिसञ्चो हुनु पनि आफैंमा बेइमानी हो
हेर त, कस्तो भयावहतामा बाँचिरहेका छौं हामी
जैतुनको हाँगोझैं सरल हुँदैन जिन्दगी
कि—
भाँचिएपछि भाँचियो, भाँचियो...
अथवा—
हलक्क बढेपछि बढ्यो, बढ्यो...
सन् २०२३ नोभेम्बर ४ को मितिसम्म
प्यालेस्टाइनमा तिमीबाहेक मैले चिनेका भन्नु
खेलौनाहरू मात्रै थिए
ती खेलौना—
जसलाई नानीहरूले ज्यान बचाउन भाग्दाभाग्दै
छोडिगएका थिए
जब आकाशबाट उड्दै उड्दै आएका पर्चाहरूले
जारी गरे फर्मान
“घर छोडेर भाग्नू... आकाशगंगाको तीरैतीर भाग्नू”
ती खेलौना–
जो पुरिएका थिए नानीहरूसँगै विध्वस्त घरहरूमा
(मलाई सोध्छौ भने दार्विस !
म कविलाई भन्दा खेलौनालाई बढी प्रेम गर्छु
कवि त के हो र ?
बस्, शब्दहरूको अप्राकृतिक खेलौना न हो
बरु, खेलौना प्राकृतिक कविता हो
यस्तो नहुँदो हो त
कविहरूलाई
किन देख्नुपथ्र्याे र हामीले दरबारको पटांगिनीमा
आत्मच्युत भएर नाचिरहेका...
बरा कठपुतलीहरू !)
म असाध्यै प्रेम गर्छु खेलौनाहरूलाई
तिनीहरूको अबोध मौनता, जन्मजात स्थिरता,
शाश्वत निष्कपटता, कञ्चन सरलता, असाधारण मामुलीपना
असाध्यै मन पर्छ मलाई
(दस पूरा पुगेर एघार वर्ष लागेको मेरो छोरालाई पनि
खेलौना असाध्यै मन पर्छन्)
नरोऊ खेलौनाहरू हो !
तिमीहरू रुनु युगका लागि अपशकुन हो
रमाऊ केही दिनलाई
धुवाँको एकरंगी इन्द्रधनुष हेरेर
नरोऊ खेलौनाहरू हो !
तिम्रा बच्चाहरू आउनेछन् एक दिन तिमीहरूसमक्ष
ती नआएर जाऊन् पनि कहाँ
यत्ति हो, सम्र्साम्दो नआउलान्
तिनका हातखुट्टासँग, शिरसँग, धडसँग खेल्दाखेल्दा
कुनै दिन त थाक्लान् क्रूरहरू
(जो बममार्फत बोलिरहेछन् अमनको भाषा
जो यति बेबकुफ छन्
कि—
तिनलाई यति सत्यको पनि ज्ञान छैन
कि—
पिंजडाभित्रका बेचैन पन्छीहरूले
बार ठुँगेर विद्रोह त गर्छन्, गर्छन्)
जब बच्चाहरू खेलौनाका लागि तड्पछन्
त्यो समयको कुनै मिठास हुँदैन
जब खेलौनाहरू बच्चाका लागि तड्पछन्
त्यो समयको कुनै भविष्य हुँदैन
खेलौनाहरू हो !
हामीलाई तिमीहरूले
कदापि... कदापि... कदापि... माफ नगर्नू !
हाम्रो मौनमग्न कायरताको मूल्य
कायरतामग्न मौनको मूल्य
तिमीहरूका बच्चाहरूले
यति चर्काेसँग चुकाइरहेका छन्
हामीलाई तिमीहरूले
कदापि... कदापि... कदापि... माफ नगर्नू !