उचाइमा पुग्दा जति डराउँछु, त्यति नै रोमाञ्चित पनि हुन्छु । उचाइ मेरा लागि रोमाञ्च र डरको संगम हो । विश्वको चौथो र चीनको दोस्रो ठूलो भवन पिनगान (पिङ एन इन्टरनेसनल फाइनान्स सेन्टर)को ११६औँ तलामा पुग्दा म जति डराएको थिएँ, त्यति नै रोमाञ्चित पनि भएँ ।
पिनगानको ११६ तलामा पुगेपछि मैले हाम्रो देशको नौतले धरहरा सम्झिएँ । २०७२ को भूकम्प आउनुअघि धरहराबाट गौरीशंकर हिमाल नियाल्दा पनि म उत्तिकै रोमाञ्चित भएको थिएँ, जति पिनगानबाट सेनजेन सहर नियाल्दा भएँ ।धरहराबाट तल भुइँमा हेर्दा म जति डराएको थिएँ, त्यति नै डर पिनगानबाट भुइँमा हेर्दा पनि लाग्यो ।
जम्मा ४० वर्षे इतिहास मात्रै बोकेको चीनको सेनजेन सहरमा पिनगानजस्ता सयौँ गगनचुम्बी भवन बनेका छन्, बनिरहेका छन् । सेनजेनमा बनेका र बन्दै गरेका अग्ला–अग्ला भवनले आकाश छुने प्रतिस्पर्धा गरिरहेका छन् जस्तो लाग्छ । आना एक चिनियाँँ गाइड, जसले हामीलाई सेनजेन घुमाउने क्रममा पिनगानमा पुर्याइन्, उनी पनि सेनजेनमा बनेका र बन्दै गरेका अग्ला–अग्ला भवनले आकाश छुने प्रतिस्पर्धा गरिरहेकाे बताउँछिन् ।
करिब तीन साताअघि चीन घुम्ने अवसर प्राप्त भयो । यो अवसर चिनियाँँ कम्पनी बिवाइडीले जुराइदिएको थियो । पछिल्लो समय विद्युतीय सवारीसाधन (इभी) र त्यसका लागि चाहिने ब्याट्री उत्पादनमा विश्वबजारमा स्थापित कम्पनी हो बिवाइडी । उसले हामीलाई आफ्नो विरासत देखाउन सेनजेन लगेको थियो ।
चीन भ्रमणका क्रममा मैले गगनचुम्बी महलका उचाइ देखेँ । सेनजेन सहरले गरेको विकासको उचाइ महसुस गरेँ । अनि, बिवाइडी र हुवायजस्ता ठुल्ठूला चिनियाँ कम्पनीले प्राप्त गरेको सफलताको उचाइ हेरेँ । भवनहरू एउटा उचाइमा अडिएका छन् । तर, सेनजेनको विकासको उचाइ गतिवान देखिन्छ । बिवाइडी र हुवायजस्ता बहुराष्ट्रिय कम्पनीको उचाइले पनि गति लिइरहेकै छ । यी उचाइ चीनको उचाइ हो ।
आधा शताब्दी इतिहाससमेत पूरा नभएको सेनेजेन सहरलाई मात्रै हेरेर पनि भन्न सकिन्छ, चीनले संरचनागत विकासमा विश्वलाई उछिन्न खोजिरहेको छ । यो छोटो अवधिमै सेनजेनले आफूलाई प्रविधि, अनुसन्धान, उत्पादन र आर्थिक–व्यापारिक, वित्त, पर्यटन र यातायातमा विश्वकै ‘हब’का रूपमा विकास गरिरहेको छ । पछिल्लो समय प्रविधि, नवप्रवर्तन (इन्नोभेसन), अनुसन्धान (रिसर्च) र सिर्जना (क्रियसन)मा समेत चीनले नयाँ–नयाँ उचाइ लिइरहेकै छ । चीनले विकास गरेको सिक्स जी प्रविधि, रोबर्टिक्स, उच्च गतिका रेल, विद्युतीय कारलगायतलाई उदाहरण मान्न सकिन्छ । त्यसको एउटा उदाहरण बिवाइडी कम्पनीले विश्वबजारमा दर्ता गरेको १३ हजारभन्दा बढी पेटेन्ट राइट (बौद्धिक सम्पत्तिको अधिकार)लाई पनि लिन सकिन्छ ।
दक्षिण चीनको गंउङडङ प्रदेशमा रहेको सेनजेन सन् १९७९ अघिसम्म पनि एउटा सामान्य गाउँ रहेछ । ‘हङकङसँग जोडिएको एउटा चिनियाँ गाउँ, जहाँका मान्छे माछा मारेर गुजारा चलाउँथे । त्यसवेला सेनजेनको परिचय यस्तै थियो,’ आना भन्छिन्, ‘फिसिङ भिलेज भनिन्थ्यो, मानिसहरू पनि गरिब थिए, त्यसवेला सेनजेनमा करिब ३०–३५ हजार हाराहारी जनसंख्या थियो ।’ सन् १९८० मा चीनले सेनजेनलाई विशेष आर्थिक क्षेत्र घोषणा गर्दै विदेशी लगानीका लागि खुला गर्यो । सोहीअनुसार ठुल्ठूला पूर्वाधार निर्माण अघि बढायो । यो चालीस वर्षमा सेनजेनको परिचय बदलियो । अहिले चीनको तेस्रो ठूलो सहर भइसकेको छ । यो अत्याधुनिक सहरमा झन्डै दुई करोड जनसंख्या पुगिसकेको छ । सेनजेनलाई प्रविधिको सहर पनि भनिन्छ । ६ खर्ब अमेरिकी डलरबराबरको कुल गार्हस्थ उत्पादन (जिडिपी) पुगिसकेको सेनजेन विश्वका २० धनी सहरको सूचीमा अटाउने आनाले सुनाइन् ।
पिनगानको उचाइमै फर्कौं । सामान्य प्रक्रिया पूरा गरेपछि हामीलाई त्यहाँ कार्यरत कर्मचारीले प्रतिसेकेन्ड १० मिटरको गति रहेको लिफ्टबाट पिनगानको ११६औँ तलामा पुर्याए । पिनगान टावरबाट हामीले सेनजेनको अधिकांश भाग हेर्यौँ । सेनजेन मात्रै होइन, हङकङलाई समेत पिनगानबाटै देख्यौँ । पिनगानको उचाइ एक हजार नौ सय ६६ फिट छ । सय तलासम्म विभिन्न कार्यालय छन्, होटल छ र बिक्री केन्द्र छन् । करिब १५ हजारभन्दा बढी मानिस अटाउने सभाहल छ । सन् २०१० मा सुरु गरिएको पिनगानको निर्माण सन् २०१७ मा सम्पन्न भएको थियो ।
चीनमा पुग्दा अर्को पनि उचाइ हेर्ने अवसर पाएँ– बिवाइडीको उचाइ, जसले विश्वको प्रविधि र अटोमोबाइल बजारमा आफूलाई एउटा नयाँ उचाइमा लाने प्रयास गरिरहेको छ । सन् १९९५ मा स्थापना भएको बिवाइडीसँग ६ देशमा ३० वटा औद्योगिक पार्क छन्, जहाँ विद्युतीय सामग्री, अटोमोबाइल, नवीकरणीय ऊर्जा र रेलवे ट्रान्जिट उत्पादन हुन्छन् । अहिले बिवाइडीको वार्षिक कारोबार दुई खर्ब आरएमबी (३६ खर्ब नेपाली रुपैयाँ) हाराहारी पुगिसकेको छ ।
बिवाइडीले ५० लाख विद्युतीय सवारीसाधन उत्पादन गरेर विश्व रेकर्ड बनाइसकेको छ । बिआइडीले विश्वबजार आफ्नो पाइला राखेको करिब डेढ दशक भएको छ । खासगरी विद्युतीय बस र ट्याक्सीमार्फत सन् २०१० मा बिवाइडी विश्वबजारमा प्रवेश गरेको हो । यसबीचमा ७० देशका चार सयभन्दा बढी सहरमा बिवाइडीको विद्युतीय सार्वजनिक यातायात सञ्चालनमा छन् । ५४ देशमा बिवाइडीको विद्युतीय कार पुगिसकेको छ । आफ्नो विश्वव्यापी सञ्जाललाई बिवाइडीले क्रमशः अघि बढाइरहेको छ । नेपालमा पनि बिवाइडीका विद्युतीय कार धेरै रुचाइनेमध्येमा पर्छ ।
जुहाईको गति
चीन भ्रमणको दोस्रो दिन आनाले हामीलाई सुनाइन्, ‘तपाईंहरू अहिले जुहाईमा हुनुहुन्छ, यो चीनको सानो सहर हो ।’ आनाले सानो भनेको जुहाई सहर काठमाडौंको तुलनामा भने निकै ठूलो रहेछ । ‘साउथ चाइना सी’ समुद्रसँग जोडिएको जुहाई शान्त, खुला क्षेत्र र टापुका लागि चर्चित छ । एक हजार सात सय वर्गकिलोमिटरमा फैलिएको जुहाईमा पनि अहिले गगनचुम्बी महल बनिरहेका छन् । मकाउसँग जोडिएको जुहाईको विकासको गति पनि लोभलाग्दो नै रहेछ ।
जुहाई सहर भ्रमणका क्रममा बिवाइडीले हामीलाई जुहाई इन्टरनेसनल सर्किटमा कार कुदाउने अवसर दिलायो । गति रुचाउनेहरूलाई इन्टरनेसनल सर्किटमा कार कुदाउन पाउनु ठूलो अवसर थियो । मोटर रेसिङ टिभीमा मात्रै देखेको म पनि ‘रेसिङ स्पट’मा पुग्दा उत्साहित नहुने कुरै भएन ।
जुहाई इन्टरनेसनल सर्किटमा बिवाइडीको सिल नामक विद्युतीय कार चलाउने अवसर मिल्यो । सिल नेपालमा सार्वजनिक भइसकेको छैन । अन्तर्राष्ट्रिय बजारमा भने यसलाई खुब रुचाइएको छ । प्रशिक्षकले सुरुमा हामीलाई सर्किटमा कार कसरी चलाउने भनेर सिकाए । सुरुमा प्रशिक्षकसहित र त्यसपछि एक्लाएक्लै कार कुदाइयो । त्यसपछि सुरु भयो ‘रेसिङ’ । गतिसँग डराउने भएकाले अन्तर्राष्ट्रिय सर्किटमा ‘रेसिङ’ भावनाअनुसार कार कुदाउन सकिनँ ।
विडम्बना नै मान्नुपर्छ, ‘रेसिङ’को समयमा मैले चलाएको कार सबैभन्दा अगाडि परेछ । त्यसैले मभन्दा पछाडि रहेका कार मेरै गतिअनुसार मात्रै चल्ने भए । गतिसँग डराउने मैले जम्माजम्मी प्रतिघन्टा ११५ किलोमिटरको दरमा मात्रै कुदाएँ । मेरै कारण साथीहरूले पनि प्रतिघन्टा एक सय ३०–४०को गतिमा मात्रै कार कुदाए । सर्किटमा आएर पनि पूर्ण गतिमा कार कुदाउन नपाएकामा साथीहरूमा असन्तुष्टि थियो, जुन स्वाभाविक पनि हो । त्यसपछि हामीले आयोजकलाई आग्रह ग¥यौँ र साथीहरूले पुनः रेसिङमा सहभागी हुन पाए । त्यसवेला भने साथीहरूले प्रतिघन्टा १९० किलोमिटरको गतिमा समेत कार कुदाए ।
भनिन्छ– कुनै पनि सहरको विकास त्यहाँ कुद्ने सवारीसाधनको गतिले निर्धारण गर्छ । जहाँ निर्बाध सवारीसाधन कुद्न पाउँछन्, जाम हुँदैन, त्यहाँको आर्थिक विकासको गति उच्च हुन्छ । जुहाईमा रहेका फराकिला सडक, अन्डरपास, फ्लाई ओभर र सुरुङमार्गले त्यहाँ चल्ने सवारीसाधनको गतिलाई बढाएका छन् । अपवाद र सामान्यबाहेक सडकमा जाम देखिँदैनन् । जुहाईका सवारीसाधनको गति जसरी उच्च छ, जुहाईको आर्थिक विकास पनि उस्तै गतिवान् देखिन्छ । करिब पाँच दिनको चीन भ्रमणका क्रममा मैले उचाइ र गतिको अनुभव बटुलेँ, जहाँ डर र रोमान्स दुवै थियो । सेनजेन र जुहाई सहरको भ्रमणपछि मनमा एउटा प्रश्न भने खेलिरह्यो, ‘नेपालले विकासको त्यस्तै गति र उचाइ कहिले लिन सक्ला ?’