जनकपुरधाम धार्मिक सहर हो । मिथिला संस्कृतिको केन्द्र, ऋषिमुनीको तपोभूमि जनकपुरधामको आफ्नो भाषा मैथिली र लिपि तिरहुत हो । सीताको जन्मथलो, लोकतान्त्रिक राजा जनकले शासन गरेको मिथिला राज्यको राजधानी जनकपुरधाम वर्तमानमा मधेश प्रदेशको राजधानी हो ।
भनिन्छ, आजभन्दा पाँच हजार वर्षअघि ऋग्वेदलाई मूर्तरूप दिन तल्लीन थियो जनकपुरधाम । संसारकै सबभन्दा पुरानो र उत्कृष्ट पुस्तक ऋग्वेदको प्रथम खण्ड जनकपुरधाममै लेखिएको वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल बताउँछन् । लुम्बिनी सभ्यता र सम्पूर्ण आर्यवर्तको केन्द्रबिन्दु जनकपुरधाम नै रहेको डा.विमल दाबी गर्छन् । सम्पूर्ण आर्यवर्तमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, इराक, अफगानिस्तान, इरानलगायत मुलुक पर्छन् ।
धर्म, संस्कृति र ज्ञानसँगसँगै राजनीतिको लामो अनुभव पनि छ जनकपुरधामसँग । जनकलाई जनताको पीडा बुझ्ने राजा मानिन्छ । आफैँले हलो जोत्दा सीता फेला परेको किंवदन्ती चर्चित छ । जनकपुरधामका राजाहरूमा सबैभन्दा लोकप्रिय प्रतापी तथा दार्शनिक राजा शिरध्वज जनक मानिन्छ । उनको दरबारमा ठुल्ठूला ऋषि–महर्षिहरू आई शास्त्रार्थ गर्थे । इतिहासकारका अनुसार याज्ञवल्क्य, अष्टवक्र, शुकदेवजस्ता दार्शनिक विद्वान्लाई दरबारमा निम्त्याई दार्शनिक तत्वज्ञानबारे महिनौँसम्म शास्त्रार्थ चलाउँथे । शास्त्रार्थमा विजयी विद्वानलाई पुरस्कृत गरी पठाउँथे । राजा शिरध्वज जनक ‘सर्वे भवन्तु सुखिन र सर्वे भवन्तु निरामया’को पक्षपाती थिए । प्राचीन मिथिला निकै विशाल र विस्तृत थियो भन्ने कुरा विष्णु पुराणबाट पनि थाहा हुन्छ ।
मिथिलाको सांस्कृतिक केन्द्र जनकपुरधामको लोकगाथा, नृत्य, भाषा, पहिरन, भोजन तथा रहनसहन अन्य स्थानको भन्दा भिन्न छ । जनकपुरधामको छठ, जनकपुरमा मनाइने दसैँ, रामजानकी विवाह महोत्सव, मिथिला परिक्रमा, महागंगा आरती पछिल्लो समय पर्यटकहरूको आकर्षण बनेको छ । हिन्दू, मुस्लिम, बौद्ध तथा जैन धर्मको संगमस्थल जनकपुरधाममा प्रत्येक दिन मेला लाग्ने गर्छ । विश्वप्रसिद्ध जानकी मन्दिर, राम मन्दिर तथा दक्षिण एसियाकै सबभन्दा ठूलो रामनन्दीय प्रवेशद्वारले धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेको छ ।
विडम्बना, इतिहासमा जति सबल र अब्बल थियो जनकपुरधाम, वर्तमानमा राज्यको उदासीनता र विभेदकारी नीतिका कारण ओझेलमा परेको यहाँका अग्रजहरू बताउँछन् । उनीहरूका अनुसार जनकपुरधामको गौरवगाथालाई राज्यले संरक्षण र प्रवद्र्धन गर्न सकेन ।
संरक्षण प्रवद्र्धन हुन नसक्नुका अनेक कारणमध्ये एउटा प्रमुख कारण मानिन्छ, जनकपुरधामको विद्रोही स्वभाव । राणाशासन, पञ्चायती व्यवस्था ०४६ साल, ०६२/०६३ को जनआन्दोलन होस् वा पटक–पटक भएको मधेश आन्दोलन सबैमा जनकपुरधाम अग्रमोर्चामा छ । जनकपुरधाममा राजा महेन्द्रको सवारी हुँदा बम फ्याँकेको आरोपमा फाँसीको शूलीमा दुर्गानन्द झालाई चढाइको थियो । त्यस्तो साहसी व्यक्ति जन्माउने भूमि पनि जनकपुर नै थियो । यी यावत् कारणले काठमाडौंपछि नेपालकै दोस्रो राजनीतिक उर्वर भूमिको रूपमा जनकपुरधामलाई लिइन्छ ।
उपमहानगर प्रमुख मनोजकुमार साह भन्छन्–नयाँ काम गर्नुपर्ने केही छैन । यहाँका ऐतिहासिक संरचनालाई संरक्षण र संवद्र्धन गर्न सकियो भने मात्रै पनि जनकपुरधाम विश्वकै उत्कृष्ट धार्मिक पर्यटकीय सहरको रूपमा चिनिन्छ ।
नेपाली कांग्रेसका तत्कालीन नेता महेन्द्रनारायण निधिदेखि गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवलाई जन्म दिने भूमि पनि यही जनकपुर हो । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको भूमिगत राजनीतिक जीवनमा शरण र तथा शक्ति सञ्चयको अवसर दिने पनि जनकपुरधाम नै हो ।
विकासको पथमा जनकपुर
समयको विभिन्न कालखण्ड पार गर्दै जनकपुरधाम बिस्तारै विकासको पथमा लम्किँदै छ । गणतन्त्रपछि चुनिएका जनप्रतिनिधिको टिमले जनकपुर उपमहानगरपालिकालाई जनकपुरधाम उपमहानगरपालिका नामकरण गर्यो । अर्थात् धाम थपेर जनकपुरधामलाई धार्मिक नगरको रूपमा पहिचान दिने काम तत्कालीन मेयर लालकिशोर साहले गरे । उनले उपमहानगरपालिकाको भवनलाई हिन्दू धार्मिक संस्कृतिअनुसार नामकरण गराए र सहरी क्षेत्रका सर्वसाधारणका घरलाई समेत ‘अरेन्ज कलर’मा पेन्ट गर्न लगाए । यस्तो गर्नुको एउटै कारण देखिन्छ, पर्यटकलाई लोभ्याउन सकियोस् ।
काठमाडाैंपछि राजनीतिको उद्गमस्थल मानिन्छ जनकपुरधाम । काठमाडाैँसँग वेलावेलामा फरक विचार राखेर आन्दोलित भइरहन्छ यो नगर । मुलुकलाई संघीय व्यवस्थामा जान मजबुर गराउने महत्वपूर्ण नगरमध्ये जनकपुरधाम पनि एक हो । संघीयता प्राप्तिको आन्दोलनमा सहिद भएका मधेश आन्दोलनका सहिदलाई पनि उचित सम्मान दिएको छ जनकपुरधामले । तत्कालीन मेयर साहले झन्डै पाँच करोडको लागतमा मुजेलियाँस्थित जनकपुरधाम–ढल्केवर सडक खण्डमा सहिद प्रवेशद्वार निर्माण गराएका छन् । सो प्रवेशद्वारमा मधेश आन्दोलनका सबै सहिदहरूको नाम र उनीहरूको प्रतिमा राखिएको छ, जुन पछिल्लो समय जनकपुरधाम आउने पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ ।
भ्रमणमा आएका पर्यटकहरू एकदशक अघि र एकदशकपछिको जनकपुर हेरेर चकित नै हुने गरेका छन् । कोशी प्रदेशबाट जनकपुर घुम्न आएका एक आगन्तुक भन्छन्, ‘एक दशकअघिको जनकपुर र अहिलेको जनकपुरमा व्यापक परिवर्तन आएको पाएँ । पहिले सानो र साँघुरा सडक थिए, अहिले फराकिलो भएछ । जताततै खाल्डाखुल्डी र फोहोरहरू देखिन्थे । अहिले त जनकपुरधामको मुहार नै फेरिएछ ।’ उनका अनुसार मधेश प्रदेशमा एक दशकभित्र सबैभन्दा धेरै परिवर्तन भएको सहर नै जनकपुरधाम हो ।
केही दिनअघि लुम्बिनी प्रदेशबाट जनकपुरधाम घुम्न एउटा सञ्चारकर्मीको टोली आइपुगेको थियो । टोलीमा सहभागी सन्जु पौडेलले भनिन्, ‘जनकपुरधामको बारेमा धेरै पढेको सुनेको थिएँ । यहाँ आएपछि यहाँको सभ्यताले मोहित बनायो । नेपालका थोरै सहरमध्ये जनकपुरधाम भव्य लाग्यो । यहाँका मठमन्दिर, पोखरीहरू बेजोड लाग्यो ।’
मठमन्दिर र पोखरीको सहरको रूपमा प्रसिद्ध जनकपुरधामको पहिलो आकर्षकको केन्द्र हो जानकी मन्दिर । मुगल शैलीमा निर्मि तीनतले जानकी मन्दिरलाई अंग्रेजीमा सीता प्यालेस, हिन्दीमा सिसमहल र बोलचालको भाषामा नौलखा मन्दिर पनि भनिन्छ ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई वैवाहिक गन्तव्यस्थलको रूपमा विकास गर्ने लक्ष्यसहित करोडौँ रुपैयाँको लागतमा मनीमण्डप निर्माण गरिँदै छ । त्रेतायुगमा भगवान् रामसीताको विवाह भएको स्थानलाई मनिमण्डप भनिन्छ । सोही स्थानमा अहिले भारतसहितका विदेशी तथा स्वदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले संघीय सरकारको १८ करोड १५ लाखको लगानीमा प्राचीन जनकपुरधामको झल्को दिने गरी दुईतले जनक दरबार, धर्मशाला, पार्टी प्यालेस, विवाहका लागि मण्डपलगायत भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको छ ।
प्यागोडा शैलीमा निर्माण गरिएको विवाह मण्डप, राम मन्दिर, गंगा सागरमा दैनिक हुने महागंगा आरती, मनिमण्डप, जनक मन्दिर, धनुषाधाम, सहिद प्रवेशद्वार पर्यटकहरूको रोजाइमा पर्ने गरेका छन् । उहिलेदेखि जनकपुरधामको विशेषता हो, ५२ कुटी ७२ कुण्ड । ७२ कुण्ड वर्तमानमा देख्न नपाए पनि दर्जनौँ पोखरी जनकपुरधाममा अहिले पनि देख्न पाइन्छ । ती पोखरीको आआफ्नै धार्मिक महत्व छन् । तीमध्ये गंगासागर, धनुषसागर, अंग्रसर, वाल्मीकि सर, रुकमनी सर, दशरथ तलाउ प्रसिद्ध छन् । धनुष सागर र गंगासागरसहितका पोखरीमा नुहाएपछि मन पवित्र हुने जनविश्वास छ । ‘सेभ द जनकपुर हिस्टोरिकल’ संस्थाको अगुवाइमा गंगासागरमा दैनिक महागंगा आरती हुँदै आएको छ । ती पोखरीमध्ये अधिकांशलाई थप सुन्दर बनाउने कार्य भइरहेको छ । पोखरीहरू सौन्दर्यकरण भएपछि जनकपुरधामको पर्यटन विकासमा थप टेवा पुग्ने यहाँका व्यवसायी बताउँछन् ।
विभिन्न धर्मको संगमस्थल
जनकपुर हिन्दूहरूका लागि प्रमुखस्थल त हो नै, अन्य धर्मका मानिसका लागि पनि प्रमुख स्थल हो । डा. विमल भन्छन्, ‘मुस्लिम, जैन, बौद्ध धर्मका लागि पनि जनकपुर महत्वपूर्ण स्थान हो । मुस्लिमहरूको पूर्वज सुफी सन्तहरूको कर्मक्षेत्र मिथिला नै हो । ती सन्तहरूको मजार (अन्तिम दाहसंस्कार गरिएको स्थल)मा हजारौँ मुस्लिमहरूको भिड लाग्ने गर्छ ।’ डा. विमलका अनुसार ११औँ शताब्दीमा मुस्लिम समुदायका प्रमुख ६ शाखा नक्बदी, सोहबदी, कादरी, तिस्ती, गुलजारी र कलबदरी यहाँबाटै विस्तार भएको थियो ।
इतिहासमा जति सबल र अब्बल थियो जनकपुरधाम, वर्तमानमा राज्यको उदासीनता र विभेदकारी नीतिका कारण ओझेलमा परेको छ । जनकपुरधामको गौरवगाथालाई राज्यले संरक्षण र प्रवद्र्धन गर्न सकेन । संरक्षण प्रवद्र्धन हुन नसक्नुका अनेक कारणमध्ये एउटा प्रमुख कारण मानिन्छ, जनकपुरधामको विद्रोही स्वभाव ।
जनकपुरको १६ नम्बर वडामा रहेको बाबा झुमअली शाहको मजार, महोत्तरी अध्यानपुरमा रहेको बाबा गदाअली शाह, बाहर अली शाह, रहम अली शाहको मजारले पनि सुफी सन्तहरूको कर्मक्षेत्र मिथिला रहँदै आएको पुष्टि गर्छ । त्यस्तै, बौद्ध धर्मको जातक कथामा जनकपुरको वर्णन गरिएको डा. विमलको भनाइ छ । त्यस्तै, जैन धर्मका गुरु लमलीनाथ र नेवीनाथको जन्म जनकपुरमै भएकाले उक्त धर्मका मानिसका लागि पनि जनकपुर महत्वपूर्ण रहेको छ । समय–समयमा जनकपुरमा जैन धर्मको विभिन्न धार्मिक पूजापाठ हुँदै आएको छ । जनकपुरधाममा जैन धर्मावलम्बीको बसोवास छ ।
ऐतिहासिक नगरलाई धार्मिक पर्यटकीय नगरको रूपमा विकास गर्न जनकपुरधाम उपमहानगरपालिकाले जोड दिइरहेको छ । उपमहानगर प्रमुख मनोजकुमार साह भन्छन्, ‘यहाँ नयाँ काम गर्नुपर्ने केही छैन । यहाँका ऐतिहासिक संरचनालाई संरक्षण र संवद्र्धन गर्न सकियो भने मात्रै पनि जनकपुरधाम विश्वकै उत्कृष्ट धार्मिक पर्यटकीय सहरको रूपमा चिनिन्छ ।’ जनकपुरधामको सबल र अब्बल इतिहासलाई जोगाउन सके कायापलट हुने उनको भनाइ छ । उनी भन्छन्, ‘अहिले नयाँ काम केही पनि गरिरहेको छैन । प्राचीन जनकपुरधामलाई वर्तमानमा कसरी ल्याउन सकिन्छ भन्ने नै मेरो उद्देश्य हो । म यही उद्देश्यअनुसार काम गरिरहेको छु ।’
धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी जनकपुरमा कामहरू थालिएको मेयर साह बताउँछन् । ‘जनकपुरलाई धार्मिक पर्यटन नगरीका रूपमा विकास गर्न सोहीअनुसार योजना बनाई काम अघि बढाउँदै छु,’ उनी भन्छन्, ‘त्यही योजनाअनुसार फोहरमैला व्यवस्थापन, पार्किङ निर्माण, फुटपाथ निर्माण, छाडा पशुहरूको व्यवस्थापन, पोखरीको सौन्दर्यीकरण, ट्राफिक व्यवस्थापनसहितको क्षेत्रमा तीव्र काम भइरहेको छ । यी सबै काम पूरा भएको खण्डमा जनकपुरधाम अहिलेकोभन्दा झन् सुन्दर देखिनेछ ।’ रामसीताको स्वयंवर भएको ठाउँलाई सौन्दर्यीकरण गर्ने नयाँ परियोजना चाँडै सुरु हुने उनी बताउँछन् ।
मधेश प्रदेश सरकारले पनि जनकपुरधामको विकासमा सहयोग गर्दै आएको छ । मधेश सरकारका पहिलो मुख्यमन्त्री लालबाबु राउतले आफ्ना विकास निर्माणका योजना जानकी मन्दिरबाट सुरुवात गरेका थिए । जानकी मन्दिरमा लाइटिङ लगाउने, मार्बल लगाउने काम प्रदेश सरकारले गरेको थियो ।
मधेश प्रदेश सरकारकी पर्यटनमन्त्री सुनिता यादवले मधेश प्रदेशमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकाले पर्यटनसम्बन्धी गुरुयोजना बनाएर प्रदेश अगाडि बढ्ने बताइन् । जानकी मन्दिर अहिले संघीय सरकारमातहत रहेको बताउँदै मन्त्री यादवले भनिन्, ‘जानकी मन्दिरसहित यहाँका धार्मिक मठमन्दिरमा प्रदेश सरकारले काम गरिरहेको छ । तर, ती मन्दिर अहिले पनि गुठी संस्थानअन्तर्गत संघीय सरकारमातहत छन्, त्यसकारण प्रदेश सरकारलाई काम गर्न कठिनाइ भइरहेको छ ।’
जानकी मन्दिरलगायत अन्य मन्दिरमा दान भेटीहरू पारदर्शी नभएको मन्त्री यादव बताउँछिन् । उनी भन्छिन्, ‘यो अपारदर्शिताकै कारण जानकी मन्दिरलाई ट्रस्टमा लैजाने वा के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’ जनकपुरधामको मठमन्दिरको स्तरोन्नति तथा धार्मिक पर्यटनमा टेवा पुर्याउन प्रदेश सरकारले झन्डै १० करोड बजेट विनियोजन गरेको मन्त्री यादवले बताइन् ।