• वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
शिवहरि घिमिरे काठमाडौं
२०८० कार्तिक ३० बिहीबार ०६:१५:००
समाज

पुनर्जीवन पाएको एउटा सरकारी विद्यालय

टाट पल्टने अवस्थामा रहेको सरकारी विद्यालयलाई प्रधानाध्यापक सीताले पूर्ण रूपमा सपारिन्

२०८० कार्तिक ३० बिहीबार ०६:१५:००
शिवहरि घिमिरे काठमाडौं

 

एक हजारभन्दा बढी विद्यार्थी संख्या भएको गोर्खाको तारा माध्यमिक विद्यालयमा पठनपाठन गरिरहेकी सीताकुमारी ढकाल ०६३ मा बल्खुस्थित जनविकास माविमा शिक्षकको रूपमा सरुवा भइन् । त्यतिवेला उनलाई राजधानीजस्तो ठाउँको विद्यालय राम्रो होला भन्ने अनुमान थियो । तर, आफू सरुवा भएर आएको जनविकास विद्यालयको वास्तविकता देखेपछि उनी तर्सिइन् । जनविकासमा त्यतिवेला औँलामा गन्न सकिने विद्यार्थी थिए । कक्षा आठसम्म मात्रै पढाइ हुन्थ्यो । पठनपाठन पनि निकै कमजोर थियो ।

 

शिक्षकको रूपमा रहँदा विद्यालयमा अनेक विकृति र समस्या भोगेकी उनले त्यही स्कुलमा नेतृत्व गर्ने अवसर पाइन् । तर शिक्षकको भूमिकामा रहँदा उनले चाहेर पनि विद्यालय बनाउन सक्ने अवस्था थिएन, विद्यालयको तालाचाबी अर्कैको हातमा थियो । झन्डै नौ वर्ष विद्यालयमा शिक्षकको रूपमा कार्यरत रहेपछि ०७२ साल असोजदेखि उनी प्रअको रूपमा काम गर्न थालिन् । ०७२ असोजदेखि विद्यालयमा प्रधानाध्यापकको कार्यभार सम्हाल्दा उनले अनेक चुनौती सामना गर्नुप¥यो । उनी प्रअ भएको विद्यालयको हविगत गएगुज्रेको नै थियो । त्यतिवेला यो ठाउँ विद्यालयजस्तो थिएन, विद्यार्थी बनाउनेभन्दा पनि बिगार्ने थलोको रूपमा थियो ।

 

भवन नहुँदा टहरामुनि पढाउनुपर्ने बाध्यता, न्यून विद्यार्थी संख्या, टहरोको जताततै परेवाका गुँड र फोहोरैफोहोरको चाङ, साँघुरो कम्पाउन्डलगायत अनेक समस्या थिए । शौचका लागि जंगलतिर जानुपर्ने अवस्था थियो । कक्षाकोठामा विद्यार्थीको खडेरी नै थियो । अभिभावकले दिन–प्रतिदिन विद्यार्थी विद्यालय पठाउन कम गर्दै गइरहेका थिए । विद्यालयको पछाडि रहेको खाली ठाउँमा गाँजा र चुरोटरक्सी खानेहरूको रजगज थियो । जसका कारण विद्यार्थी पनि कुलतमा फसेका थिए । विद्यालय व्यवस्थापन समितिको सहयोग थिएन । आर्थिक बेथिति र लापरबाहीले विद्यालयको छवि नै डाँवाडोल बनिसकेको थियो । अभिभावक र विद्यार्थीले पत्याउनै छाडिसकेका थिए । यी सबै समस्याका बाबजुद ढकाललाई सुरुमा त प्रअको जिम्मेवारीमा काम गर्न निकै कठिन भयो । लामो समय शिक्षक बनेर विद्यालय बनाउनेबारे अनुभव बटुलेकी उनी विद्यालय बनाउने पदको जिम्मेवारीमा आएपछि त्यसलाई विद्यालय बनाउने अवसर ठानिन् ।

 

विद्यालयको पछाडि रहेको खाली ठाउँमा गाँजा र चुरोटरक्सी खानेहरूको रजगज थियो । जसका कारण विद्यार्थी पनि कुलतमा फसेका थिए । आर्थिक बेथिति र लापरबाहीले विद्यालयको छवि नै डामाडोल बनिसकेको थियो । अभिभावक र विद्यार्थीले पत्याउनै छाडिसकेका थिए ।

 

अँध्यारो छाएका कक्षाकोठा र अन्योलमा रहेका विद्यार्थीको भविष्य सपार्ने जिम्मा लिएर काम गर्न थालिन् । उनको सोच कुलतमा फसेर भविष्य बिगारिरहेका कलिला विद्यार्थीलाई सपार्नु थियो । भक्ताभुंग बनेको विद्याको मन्दिरलाई आकर्षक बनाउनु थियो र विद्यालय टोल छरछिमेकीले पत्याउने किसिमको बनाउनु थियो । ‘पढाउने ठाउँ राम्रो थिएन, कक्षामा आएपछि बच्चाहरू निदाउन थाल्थे । के भयो भनेर हामीलाई आतुरी हुन्थ्यो, कक्षाकोठामा चुरोट र गाँजा गनाउँथ्यो,’ उनले सुनाइन्, ‘विद्यार्थी र बाहिरका केटोकटीहरू हानाहान गर्थे, कक्षा ४–५ मै पढ्ने विद्यार्थी कुलतमा फसेर पढाइतिर चासै नदिने अवस्थामा थिए, तर कोसिस गरियो भने सुधार्न पनि सकिने रहेछ । प्रअको रूपमा हुँदा विद्यार्थी सुधार्न मैले धेरै कोसिस गरिरहेकी छु ।’ 

 

उनका अनुसार त्यतिवेला यस विद्यालयमा शिक्षक संख्या पनि न्यून थियो । विद्यालयकै कम्पाउन्डमा रहेको डिपिसी भवनको लोनको भारी विद्यालयले बोकिरहेको थियो । आर्थिक, भौतिक र विद्यार्थीको हिसाबले विद्यालय टाट पल्टने अवस्थामा नै पुगेको थियो । तर, प्रअको रूपमा आएपछि ढकालले भवनको ऋण विभिन्न साथ र सहयोगमा फस्र्योट गरिन् । टोल समुदाय र अगुवाहरूसँग मिलेर विद्यालयलाई सपार्नतिर लागिन् । ‘०७२ को भूकम्पपछि विद्यालयको टहरो पनि भत्किएको थियो । ०७२ असोजदेखि मैले प्रअको कार्यभार सम्हालेकी थिएँ, त्यतिवेला पठनपाठन गराउने ठाउँसमेत थिएन,’ उनले सुनाइन्, ‘एकपटक खस्किएको विद्यालयलाई सुधार्न र विश्वासिलो बनाउन निकै समय लाग्दो रहेछ । बालबालिकाको भविष्य सुरक्षित छ । राम्रो पठनपाठन हुन्छ । भौतिक अवस्था राम्रो छ । शिक्षकहरू क्वालिफाइड छन् भनेर चिनाउन निकै कोसिस गरेँ । कति ठाउँमा सहयोगी दाता गुहारेँ । हरेक अभिभावकलाई हात जोड्दै सामुदायिक विद्यालयप्रति भरोसा गर्न अपिल गरेँ, त्यसपछि मात्रै विद्यालयले ‘पिकअप’ लिन थाल्यो ।’ हाल यस विद्यालयमा ४८४ जना विद्यार्थी छन् । ढकालले प्रअको जिम्मेवारी सम्हाल्दा जम्मा ८० जना मात्रै विद्यार्थी थिए । 

 

०६८ देखि कक्षा ११ र १२ मा पठनपाठन सुरु भएको थियो । त्यतिवेला कक्षा ११ र १२ मा २२ जना मात्रै विद्यार्थी थिए । उनीहरूले त्यतिवेला परीक्षा नै दिन पाएनन् । ०७० मा ११ र १२ को कक्षा नै बन्द भयो । ढकाल प्रअको रूपमा आएपछि उनले ०७२ देखि नै कक्षा ११ र १२ लाई सञ्चालन गर्ने योजना बनाइन् । शिक्षक र विद्यालय व्यवस्थापन समितिसँग हातेमालो गरिन् । आर्थिक स्रोतको लागि सहयोगी दाता खोजिन् । सुरुमा स्टेसनरी, मासिक शुल्क, भौतिक संरचना र शिक्षकको व्यवस्था दाताकै खर्चमा गरेपछि कक्षा ११ र १२ को पठनपाठन पुनः सञ्चालन भयो । हाल कक्षा ११ र १२ एक सयभन्दा बढी विद्यार्थी छन् भने कक्षा एकदेखि नै नेपाली र अंग्रेजी दुवै भाषामा पठनपाठन हुन्छ । यसबाहेक ढकालले कक्षा ११ र १२ मा विद्यार्थी तान्न भौतिक व्यवस्थापनलाई सहज, प्रविधिमैत्री पठनपाठन र टिमवर्क मिलाएकी छिन् । 


जिम्मेवारी सम्हाल्दा गाली, अहिले ताली
उनले प्रअको जिम्मेवारी लिने अवस्थामा विद्यालय यस्तो थियो कि धेरैले अब विद्यालय बन्द हुन्छ भन्ने सोचेका थिए । उनले पनि प्रअको जिम्मेवारी नसम्हाल्ने भन्दै तत्कालीन जिल्ला शिक्षा कार्यालयमा पुगेर अस्वीकार गरेकी थिइन् । ‘धेरै राजनीति हुने र भौतिक तथा पठनपाठन खस्किएकाले मलाई प्रअको जिम्मेवारीमा बस्न मन लागेन, तर जिल्ला शिक्षा कार्यालयले बस्नैपर्छ भनेपछि मैले पद सम्हालेकी पनि हुँ,’ उनले सुनाइन्, ‘त्यतिवेला मलाई यो विद्यालय बनाउने अवसर पनि हो भन्ने लागेको थियो ।’ हाल विद्यालयको भौतिक संरचना निर्माण र व्यवस्थापनका लागि निकै कम बजेट आउने गरेको छ । महानगरले शुक्रबारे बुक फ्री डे शैक्षिक गतिविधिका लागि विभिन्न विधामा बजेट दिएको छ । विद्यालयको आन्तरिक आम्दानीका रूपमा केही सटरहरू भाडामा लगाइएको छ । 


उहिले र अहिलेमा के–के भए सुधार ?
विद्यालयप्रति आमअभिभावकको धारणा पहिले र अहिलेमा व्यापक परिवर्तन आएको छ । पहिले अभिभावकले बिग्रियो भनेर गुनासो राख्थे, अहिले सप्रियो भनेर धन्यवाद दिन्छन् । हाल विद्यालयको भौतिक संरचना व्यवस्थित बनेको छ । कम्प्युटर ल्याब, लाइब्रेरी, मिटिङ हल, हरेक कक्षाकोठामा प्रोजेक्टरबाट पढाइ हुने संरचना जडान भएको छ । टिमवर्क पनि मिलेको छ । विद्यालय सुधार भए पनि अधिकांशले पुरानै नजरले हेर्दा अझै विद्यार्थीको संख्या उल्लेखनीय रूपमा नबढेको प्रअ ढकाल बताउँछिन् । तर, हिजोको अवस्थालाई फर्केर हेर्दा उनी सुन्तुष्ट देखिन्छिन् । ‘गर्नुपर्ने सुधार र कार्य त धेरै छन्, तर हिजोको जीर्ण अवस्था सम्झिँदा केही भयो भन्ने लाग्छ,’ उनले सुनाइन्, ‘अहिले विद्यार्थी संख्या पाँच सय हाराहारी छ, तर भौतिक पूर्वाधार कम नै छ ।’ उनका अनुसार हरेक वर्ष क्रमशः विद्यार्थी संख्या बढिरहेको छ ।