• वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
विश्वराज पछडङ्ग्या बाँके
२०८० मङ्सिर २ शनिबार ०७:५९:००
खेल

सहर चिनाउने नेपालगन्ज म्याराथन

२०८० मङ्सिर २ शनिबार ०७:५९:००
विश्वराज पछडङ्ग्या बाँके

 

विसं ०७१ सालतिर नेपालगन्ज पिस म्याराथनका परिकल्पनाकार टिएस ठकुरी काठमाडौंमा पत्रकारिता गर्थे । पत्रकारिताको विट थियो खेलकुद । काठमाडौंमा पत्रकारिता गर्दा काठमाडौंबाहिरका पोखरा, विराटनगरजस्ता ठूला सहरमा खेलकुद प्रतियोगिता हुन्थे । त्यहाँका पत्रकार प्रतियोगिताको रिपोर्टिङ गर्न देशका विभिन्न ठाउँमा पुग्थे, तर, नेपालगन्जलाई चिनाउने प्रतियोगिता हुँदैनथे । पत्रकार र खेलाडी अन्यत्र गएको देख्दा उनी खिन्न हुन्थे ।

 

काठमाडौंमा बस्नेहरूले नेपालगन्जको नामसम्म उच्चारण नगरेको सुन्दा उनको मन अमिलो हुन्थ्यो । आफूले आफैँलाई धिक्कार्थे । नेपालगन्जका लागि केही गर्न नसकेकोमा उनलाई हीनताबोध हुन्थ्यो । त्यसपछि उनी नेपालगन्जलाई चिनाउने उपायको खोजीमा लागे । र, उनले नेपालगन्जलाई विश्वसामु चिनाउने उचित माध्यम नेपालगन्ज पिस म्याराथन पाए । म्याराथनमार्फत नेपालगन्जलाई विश्वसामु चिनाउने योजनाका साथ उनी काठमाडौंको बसाइ छाडेर नेपालगन्ज फर्किने निधो गरे । ‘पत्रकार मात्र होइन, राजनीतिक दलका नेता, उच्च तहका सरकारी कर्मचारी, मानव अधिकारकर्मीलगायतले नेपालगन्जको नाम नसुनेझैँ गरेको देख्दा मन खिन्न हुन्थ्यो । ‘नेपालगन्ज जानुपर्दा मन अमिलो बनाएको देख्दा नमज्जा लाग्थ्यो,’ उनी भन्छन्, ‘आफ्नो जन्मथलोलाई चिनाउन केही न केही गर्नैपर्छ भन्ने लागेर नेपालगन्ज पिस म्याराथनको परिकल्पना गरेँ र काठमाडौंको बसाइ छोट्याएर नेपालगन्ज फर्किएँ ।’ 

 

तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका वेला नेपालगन्ज युद्धको केन्द्रबिन्दु थियो । माओवादीका नेता, कार्यकर्ता नेपालगन्ज हुँदै भारत छिर्थे । धेरै नेताको सेल्टर नेपालगन्जमा थियो । माओवादीबाट पीडितहरूको आश्रयस्थल पनि थियो नेपालगन्ज । सरकार–माओवादी वार्ता पनि यहीँ भएको थियो ।

 

उनले नेपालगन्ज पिस म्याराथन सुरु गर्ने वेला सरकार–माओवादीबीच १२ बुँदे विस्तृत शान्ति–सम्झौता भइसकेको थियो, तर द्वन्द्वको असर बाँकी नै थियो । ठकुरी भन्छन्, ‘नेपालगन्ज तत्कालीन माओवादी द्वन्द्वको चपेटामा मात्र थिएन । मधेसी–पहाडिया र हिन्दू–मुस्लिमबीचको सद्भावलाई बरकरार राख्नुपर्ने पनि थियो । विस्तृत शान्ति–सम्झौताको स्मरणमा ‘नेपालगन्ज पिस म्याराथन’ नाम राख्ने निर्णय गरेँ ।’

 

उनले विदेशमा हुने म्याराथनका बारेमा बुझे र अध्ययन पनि गरे । विदेशमा हुने म्याराथनमा एकैपटक हजारौँ मानिस भेला भएको देखे । हिन्दू, मुस्लिम, सिख, इसाई, काला, गोरा सबै एउटै मञ्चमा अटाएको पाए । ‘सबै जातजाति, धर्म र आस्थाका व्यक्तिलाई एउटै मञ्चमा अटाउन सक्ने म्याराथन पाएँ,’ उनले भने, ‘धार्मिक, जातीय तथा सामाजिक सद्भाव कायम राख्ने सबैभन्दा राम्रो प्लाटफर्म यही पाएँ ।’

 

नेपालगन्ज साबिक मध्य र सुदूरपश्चिमको व्यापारिक, शैक्षिक तथा स्वास्थ्य सेवाको केन्द्र भए पनि आर्थिक रूपमा पछाडि परेको देख्दा उनलाई उदेक लाग्थ्यो । उनले देश–विदेशका खेलाडी, खेलप्रेमीलाई नेपालगन्ज भिœयाएर यहाँको आर्थिक गतिविधि चलायमान बनाउने निष्कर्षमा पुगे । ‘देश–विदेशका हजारौँ मानिसलाई नेपालगन्जमा ल्याएर नेपालगन्जलाई आर्थिक रूपमा समृद्ध बनाउने उचित माध्यम म्याराथन पाएँ,’ उनले भने । 

 

म्याराथनमा सहभागी हुन नेपालगन्ज आएकाहरू वास बस्दा यहाँका होटेलको व्यापार बढ्ने, खाना र खाजा खाँदा रेस्टुरेन्ट चल्ने, खुद्रा पसल, पान पसल, चिया तथा कफिसपले काम पाउने र रिक्सा, अटोरिक्साको व्यवसायमा टेवा पुग्ने कल्पना गरे उनले ।

 

त्योसँगै उनले नेपालगन्जको नाम देश, विदेशमा पुर्‍याउने सोच बनाए । उनी भन्छन्, ‘म्याराथन एक दिन हुन्छ, तर म्याराथनमा सहभागी हुने र अवलोकनका लागि आउनेहरू एक हप्तादेखि नेपालगन्ज आउँछन् । उनीहरू यहाँका होटेल, रेस्टुरेन्टमा खाना खान्छन् । कफी र चिया खान्छन् । रिक्सा र अटोरिक्सा चढ्छन् । यसले थोरै भए पनि नेपालगन्जमा आर्थिक गतिविधि बढाउन मद्दत गरेको छ ।’ 

 

उनी म्याराथनले स्वास्थ्यमा समेत टेवा पुर्‍याउने धारणा राख्छन् । बालबालिकालाई म्याराथनमा आकर्षित गर्न सके स्वास्थ्यमा सुधार गर्न सकिने उनको भनाइ छ । ‘म्याराथनले बालबालिकामा सकारात्मक सोचको विकास गर्न भूमिका खेल्ने मेरो विश्वास छ,’ उनले भने, ‘म्याराथनमा देशका नाम चलेका कलाकार, सुन्दरी, खेलाडी, पाइलट, धावक, राजनीतिक दलका नेता, व्यापारीको जमघट हुन्छ । उनीहरूसँग कुरा गर्न र उनीहरूका कुरा सुनेर बालबालिकाले नयाँ कुरा सिक्छन् र उनीहरूमा सकारात्मक सोचको विकास हुन्छ भन्ने मेरो सिकाइ तथा भोगाइ छ ।’

 

पहिलोपटक विक्रम सम्वत् ०७२ सालमा आयोजना भएको नेपालगन्ज पिस म्याराथनमा तीन सय ३५ जना सहभागी भए । पश्चिम नेपालमा खेलकुदका गतिला प्रतियोगिता नभएकाले राष्ट्रियस्तरका खेलाडी पनि उत्सुक भएर सहभागी भए । खेलाडीको सहभागिता देख्दा ठकुरीको हिम्मत बढ्यो । उनले म्याराथनलाई निरन्तरता दिए । यो वर्ष ९ मंसिरमा नवौँ नेपालगन्ज म्याराथन हुँदै छ । गत वर्ष म्याराथन, हाफ म्याराथन, कर्पोरेट रन, ह्विलचियर दौड, विद्यार्थी र बालबालिकाको पाँच किलोमिटर दौडजस्ता प्रतियोगितामा पाँच हजारजना दौडिए । ‘म्याराथनको महत्व बुझ्दै गएपछि सहभागी संख्या बढ्दै जानेछ । थोरैबाट सुरु गरेका थियौँ, नवौँँमा पाँच हजार जना दौडिए । ‘यसैगरी हरेक वर्ष थपिँदै जाने हो,’ ठकुरीले भने, ‘कुनै न कुनै दिन एक लाख सहभागी हुने विश्वास छ ।’ 

 

नेपालगन्ज म्याराथनलाई एम्सको मान्यता

 

म्याराथनलाई नियमन गर्ने अन्तर्राष्ट्रिय संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन डिस्टेन्स रेस (एम्स)को सदस्यता पाउने नेपालगन्ज म्याराथन पहिलो हो । नेपालको कान्छो म्याराथन भए पनि एम्सको मान्यता पाउने नेपालकै पहिलो हो । हाम्रो मिहिनेत, निरन्तरता र लगनशिलताको प्रतिफल हो यो,’ उनले भने । 

 

अन्तर्राष्ट्रिय मान्यता पाएसँगै यसले जापानमा भएको ‘म्याराथन विश्व कंग्रेस सम्मेलन’मा सहभागी हुने नेपालगन्ज म्याराथन नेपालको पहिलो भएको ठकुरीले दाबी गरे । म्याराथनले नेपालगन्जको नाम देश, विदेशमा पुगेको उनी बताउँछन् । जापानमा भएको विश्व सम्मेलनमा पनि उनले नेपालगन्जको प्रचार गरे । ‘एम्सको क्यालेन्डरमा नेपालगन्ज म्याराथनको नाम छ । यसले पनि नेपाल र नेपालगन्जलाई चिनाएको छ,’ उनी भन्छन्, ‘जापानमा भएको विश्व सम्मेलनमा पनि नेपालगन्जको नाम नसुनेकाहरूले पनि नेपालमा नेपालगन्ज सहर छ भन्ने थाहा पाए । नेपालगन्जका बारेमा जान्ने अवसर पाए ।’ 

 

डिजिटल डिभाइस प्रयोग 

 

यो म्याराथन अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेलाइन्छ । यसको दूरी पनि अन्तर्राष्ट्रिय मापदण्डको छ । सबै मापदण्ड पूरा गरेपछि अन्तर्राष्ट्रिय म्याराथनमा सूचीकृत हुनका लागि निवेदन दिइएको थियो । एम्सको टोली आएर नेपालगन्ज म्याराथनको दूरी, धावनमार्ग, खेलाडीको शरीरमा लगाइने डिभाइसलगायतका प्राविधिक कुराको जाँचबुझ गरेर सदस्यता दिएको क्रियटिभ ह्यान्ड्सका अध्यक्षसमेत रहेका ठकुरीले भने । 

 

धावकले पार गरेको दूरी र समय हेर्ने डिजिटल डिभाइस प्रयोग गर्ने पनि नेपालमा नेपालगन्ज म्याराथन पहिलो भएको उनको भनाइ छ । ‘नेपालगन्ज म्याराथन कान्छो हो, तर यसले एम्सको नीति, नियम पालना गरी विश्वसनीयता कमाएको छ,’ उनले भने, ‘त्यसको फल हामीले अन्तर्राष्ट्रिय सम्मेलनमा समेत सहभागी हुने अवसर पाएका छौँ ।’

 

नेपालगन्ज म्याराथनलाई कर्पोरेट क्षेत्रले स्पोन्सर गरेका छन् । यसको मुख्य प्रायोजक केएल डुगडको उत्पादन धारा तोरीको तेल हो भने अन्य सहप्रायोजक पनि छन् । ‘पछाडि सुरु भए पनि यो म्याराथनलाई कर्पोरेट क्षेत्रले स्पोन्सर गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘नेपालका अन्य म्याराथनले निजी क्षेत्रको स्पोन्सर पाएकोभन्दा यो म्याराथनले धेरै पाएको छ । यो हाम्रा लागि गौरवको कुरा हो ।’

 

म्याराथनप्रति चासो 

 

विद्यालयमा अध्ययनरत साना नानीबाबुलाई म्याराथनमा जोड्न चाहन्छन् उनी । साना नानीबाबुहरू म्याराथनमा आकर्षित भए भविष्यमा ठूलो रूप लिने र विद्यार्थीमा सकारात्मक सोच तथा स्वास्थ्यमा सुधार आउने उनको भनाइ छ । 

 

विद्यालयले माग गरे महिनामा दुईपटक विद्यार्थीलाई म्याराथन सिकाउन प्रशिक्षक विद्यालयमा पठाउने योजना सुनाए । ‘हामीले विद्यार्थीलाई आकर्षित गर्न विद्यालयलाई विद्यार्थी दिनुस् हामी निःशुल्क प्रशिक्षण दिन्छौँ भनेका छौँ, तर विद्यालयले नै त्यति चासो नदिएजस्तो लाग्छ । यो म्याराथन मेरो र तेरोभन्दा हामी सबैको हो भन्ने नबुझ्दा यस्तो भएको हो,’ ठकुरी भन्छन्, ‘यो म्याराथनको परिकल्पना मात्र मैले गरेको हुँ । यो त सिंगो नेपालगन्जको समृद्धिका लागि हो । नेपालगन्जलाई विश्वमाझ चिनाउने माध्यम हो । तेरो र मेरो नभनी नेपालगन्जलाई चिनाउन र समृद्ध बनाउन आउनुस् सँगै हातेमालो गरौँ ।’

 

कला, साहित्य र खेलकुदले सहरको परिचय दिने भएकाले उनले फिल्म फेस्टिभलसमेत गराउँदै आएका छन् । यस वर्ष हुने नेपालगन्ज म्याराथनको अघिल्लो दिन कनक्लेभ आयोजना गरिने भएको छ । कनक्लेभमा विभिन्न क्षेत्रका दर्जनभन्दा बढी सफल व्यक्तिलाई समावेश गराइने भएको छ ।

 

खेल पर्यटन, युवा उद्यम, महिला सशक्तीकरण, साहित्य र स्वदेशमै रोजगारीजस्ता मुद्दामा बहस, छलफल हुने उनले बताए । कनक्लेभ सकिएपछि बाहिरी जिल्लाबाट आएका पाहुनालाई बेलुकी स्ट्रिट फुडका लागि त्रिभुवन चोक एरिया भ्रमण गराइनेछ ।