• वि.सं २०८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
आमा, बाबु र बहिनीका साथ विपिन जोशी । तस्बिर : विपिनको फेसबुक वालबाट
कमलराज भट्ट काठमाडाैं
२०८० मङ्सिर २ शनिबार १०:१७:००
रिपाेर्ट

बेचैन विपिन परिवार

२०८० मङ्सिर २ शनिबार १०:१७:००
कमलराज भट्ट काठमाडाैं

 

विपिन परिवारमा यति धेरै बेचैन छ कि केही नयाँ समाचार आउँछ कि भनेर दिनरात मोबाइलमा नजर रहन्छ । ‘निकै अन्योलमा छौँ । बाटो हेरिरहेका हुन्छौँ । कसैले फोन गरिहाल्छ कि, कहीँ समाचारमा आउँछ कि भनेर हरपल हातमै मोबाइल हेरिरहेका हुन्छौँ,’ विपिनका बुबाले दैनिकी सुनाए । 

 

हमास–इजरायल युद्धको दिन जतिजति लम्बिदै छ, इस्लामिक चरमपन्थी समूह हमासको आक्रमणपछि इजरायलबाट हराइरहेका नेपालका विपिन जोशीको परिवारमा उतिउति बचैनी बढ्दै छ । हमास–इजरायल युद्धको ४२ दिन बितिसक्दा पनि विपिनबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन । आफन्तको अवस्था अज्ञात हुँदा हरेक दिन विपिन परिवार सकुशल फिर्ताको आशा र सम्भावित अप्रत्यक्षित खबरको त्रासदीमा बाँचिरहेको छ । 

 

विपिनको बाटो हेरिरहेको परिवार हमास–इजरायल युद्धका घटनाक्रम र समाचारमाथि लगातार नजर लगाइरहेका छन् । सरकारबाट स्पष्ट सूचना पाउन नसकेको परिवार आफैँले केही गर्न नसक्ने विकल्वविहीन विवशतामा छ । ‘पहल भइरहेको’ भन्ने जवाफले परिवारमा आशाको होइन, अन्योल दिएको छ । मन्त्री र राजदूतसँग कुरा गर्दा प्रोसेस चलिरहेको छ भन्छन्, कस्तो प्रोसेस हो, कहाँ पुगेको छ भन्ने केही बताउँदैनन्,’ कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ निवासी विपिनका बुबा महानन्द जोशी भन्छन् । 

 

परिवारले पाएको पछिल्लो सूचना हो–‘विपिन इजरायलमा छैनन्, उनलाई हमासले थाइल्यान्डलगायत मुलुकका नागरिकसँगै अपहरण गरेर आफ्नो कब्जामा राखेको छ ।’ लामो समयको खोजपछि इजरायल सरकारले जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि गर्दै नेपाल सरकारलाई पत्राचारमार्फत जानकारी गराएको छ । तर, उनी के–कस्तो अवस्थामा र कहाँ बन्दी बनाइएका छन् भन्ने कुनै सूचना छैन ।

 

थाइल्यान्डलगायत आफ्नो नागरिक फसेका देशले कतार, इरान र इजिप्टमार्फत हमासका प्रतिनिधिसँग सम्पर्क गरी आफ्नो नागरिक सुरक्षित रहने वातावरण सिर्जना गर्न र सकुशल छुटाउनका लागि प्रत्यक्ष पहल गरेका छन् । उनीहरूलाई हमासले उपयुक्त समयमा सकुशल मुक्त गर्ने आश्वासन दिएको खबर सुनिरहेको जोशी परिवार नेपाल सरकारको ‘रेस्पोन्स’प्रति आश्वस्त छैन । 

 

विपिनका बुबा महानन्दले हालै परराष्ट्रमन्त्री एनपी साउदलाई फोन गरेर छोराको खोजीका लागि सरकारले गरिरहेको पछिल्लो प्रयासबारे जानकारी लिन खोजेका थिए । तर, साउदले अपेक्षाकृत ‘रेस्पोन्स’ नगरेको जोशी परिवारको अनुभव छ । ‘हालै मन्त्रीजीलाई फोन गर्दा प्रोसेस चलिरहेको छ भन्नुभयो । नयाँ केही छैन । राजदूतावासमा सम्पर्क गर्दा पनि प्रक्रियामा छौँ, अहिलेसम्म जानकारी आएको छैन भन्छन्,’ महानन्दले भने, ‘सबैले प्रक्रियामा छौँ मात्रै भन्छन् । मन्त्रीजीलाई कतारका माध्यमबाट जाँदै छौँ कि कहाँबाट जाँदै छौँ भनेर सोधेको थिएँ, उहाँले केही भन्नुभएन ।’ 

 

महानन्दले मन्त्री साउदसँग हमाससँग सम्बन्ध भएको कतारमार्फत कूटनीतिक पहल गरिदिन पनि अनुरोध गरेका थिए । यसका लागि एक कार्यक्रममा सुदूरपश्चिम आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कैलाली पुगेर उनले ज्ञापनपत्र पनि बुझाएका थिए । प्रधानमन्त्रीले पहल गर्ने प्रतिबद्धता जनाए, तर जोशी परिवारले व्यवहारमा महसुस गर्न पाएको छैन । 

 

परराष्ट्रमन्त्रीलाई सोध्दा पनि स्पष्ट जवाफ पाएको छैन । ‘कतारसँग पहल कहाँसम्म पुगेको छ भन्दा मन्त्रीजीले हो, हामी गरिराखेका छौँ मात्रै भन्नुभयो । खासै राम्रो रेस्पोन्स पाइएन । स्पष्ट हुने खालको कुरा पाएका छैनौँ,’ महानन्द भन्छन्, ‘उहाँले हामी यहाँसम्म पुगेका छौँ, यो प्रक्रियाबाट यसरी जाँदै छौँ भनिदिएमा थोरै भए पनि राहत हुन्थ्यो ।’ 

 

छोरालाई इजरायल पठाएकोमा जोशी परिवारलाई अहिले पछुतो भइरहेको छ । ‘भविष्य राम्रो हुन्छ, काम पनि सिकिन्छ, पैसा पनि कमाइन्छ भनेपछि राजी भएका थियौँ । पढाइ सकिएको खाली समयमा काम सिक्छु, केही कमाउँछु, समयको सदुपयोग गर्छु भन्थ्यो । हामीले पनि राम्रै होला भनेर छोराको चाहना स्वीकार गर्‍यौँ,’ विपिनका बुबा महानन्दले भने, ‘तर, ठाउँ सजिलो रहेनछ । अशान्त ठाउँ हो भन्ने पहिले नै थाहा पाएको भए जान दिँदैनथ्यौँ । टिकट लिइसकेपछि पनि अन्तिम दिनमा रोक्थ्यौँ ।’ 

 

महानन्द यसमा इजरायल पठाउने सुदूरपश्चिम विश्वविद्यालयलाई दोष लगाउँछन् । ‘विश्वविद्यालयले ठाउँका बारेमा राम्ररी बुझेर पठाउनुपर्थ्यो, गलत भयो,’ उनी भन्छन् । 

 

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि तथा विज्ञान संकायमार्फत ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि ४९ जनाको समूहमा २६ भदौमा इजरायल गएका विपिन ७ अक्टुबरको हमास आक्रमणपछि बेपत्ता भएका हुन् । किबुज अलुमिमको कृषि फार्ममा विपिनसहित कार्यरत १७ नेपाली विद्यार्थीमध्ये १० जनाको हमास आक्रमणमा घटनास्थलमै मृत्यु भयो । ६ जना स्वदेश फर्किसकेका छन् । बेपत्ता विपिनको अवस्था अझै अज्ञात छ । 

 

 

छोरा बेपत्ता भएको पीडामा रहेको जोशी परिवारलाई घटनापछि आएका भ्रमपूर्ण सूचनाले थप तनाव दिइरहेको छ । ‘सम्पर्कमा आयो, अस्पतालमा भर्ना भइरहेको छ भन्ने गलत खबर केही मिडियाबाट आएपछि तनाव भयो । सरकारबाट चाहिँ त्यस्तो केही आएको थिएन,’ विपिनकी आमा पद्मा जोशी भन्छिन्,‘बेपत्ता भएका वेला भेटियो, घाइते छ, अस्पतालमा उपचाररत छ भन्ने अफवाहले तनाव भयो । त्यस्तो खबर आएपछि एम्बेसीमा सोध्दा सम्पर्कमा छैन, भेटिएको छैन भन्ने भएपछि झन् पीडा भयो ।’ 

 

विपिनको परिवारमा बुबा महानन्द र आमा पद्मा शिक्षण पेसामा छन् । महानन्द बझाङको बुंगल गाउँपालिकास्थित दहबगरको महेन्द्र माविमा राहत शिक्षक छन् भने पद्मा कञ्चनपुरको वेदकोट नगरपालिका– ९ सुन्दरपुरस्थित उदयदेव माविको शिक्षिका हुन् । इजरायल गएको छोरा बेपत्ता भएदेखि उनीहरू काममा फर्किन सकेका छैनन् । छोराको खोजीका लागि सम्बन्धित निकायमा गुहार्ने उनीहरूको दैनिकी बनेको छ । ‘छोराको पर्खाइमै दिन बितेको छ । छोराको चिन्ताले काममा फर्किने वातावरण बनिसकेको छैन । केही अपडेट आउँछ कि, छोरा सकुशल फर्किन्छ भनेर कुरेर बसेका छौँ,’ विपिनकी आमा पद्माले सुनाइन् । 

 

दाजु बेपत्ता भएदेखि विपिनकी बहिनी पुष्पा निकै चिन्तित छिन् । दाजुको अवस्थाबारे केही खबर नपाउँदा बहिनीले तिहार पनि मनाउन पाइनन् । घरमा हुँदा दाजुसँग बिताएका क्षण याद आउने गरेको र सम्झेर भावुक हुँदै रुने गरेको पुष्पाले सुनाइन् । ‘दाइको कोठामा जाँदा उहाँसँग बिताएका क्षण याद आउँछ । दाइ सपनामा आउनुहुन्छ । साँझ–बिहान घरमा हुँदा धेरै सम्झना आउँछ,’ उनले भनिन्, ‘तिहारमा पनि दाइसँग सम्पर्क नहुँदा साह्रै नमीठो लाग्यो ।’ 

 

सरकारले छिटोभन्दा छिटो आफ्नो दाइलाई घर फर्काइदिओस् भन्ने उनको आवाज छ । ‘छिटोभन्दा छिटो खोजीकार्यमा शतप्रतिशत सरकार लागोस् । जति छिटो हुन्छ दादालाई सकुशल फर्काइदिनुस् । रातदिन दाइको प्रतीक्षामा बसेका छौँ,’ उनले भनिन् । 

 

परिवारका हरेक सदस्य अहिले विपिनको खोजीका लागि चिनजानका नेताहरूलाई फोन गरिरहेका छन् । कसैले फोन उठाउँछन्, कसैले उठाउँदैनन् । फोनबाटै पहल गरिदिन गुहार गरिरहेका छन् । विपिनको ठूलोबुबाको छोरा किशोर जोशीले विपिन बेपत्ता भएपछि काठमाडौं आएर परराष्ट्र मन्त्रालयमा सोधीखोजी गरेका थिए । किशोर नापी कार्यालय कञ्चनपुरको खरिदार हुन् । त्यसयता विपिन परिवार र किशोरले टेलिफोनबाटै सम्बन्धित निकायसँग सम्पर्कको प्रयास गरिरहेका छन् ।

 

राजदूत कान्ता रिजाल भन्छिन्–

खोजी कार्य जारी छ । अहिलेसम्म पत्ता लाग्न सकेको छैन । उपलब्ध सबै च्यानल र सबै ठाउँमा खोजी कार्य जारी राखेका छौँ ।

 

विपिनको परिवारका सदस्य कोही पनि काठमाडौंमा छैनन् । जिल्लाबाटै सकेसम्म पहल गरिरहेका छन् । ‘हाम्रो ठूलो पहुँच छैन । काठमाडौं जान सकेको छैन । कोही चिनेजानेको छैन, भएको भए पहिले नै गइहाल्थ्यौँ । काठमाडौं गएर कहाँ बस्ने ?’, विपिनका बुबा महानन्द विवशता सुनाउँछन्, ‘हाम्रो पहुँच भइदिएको भए अहिलेसम्म केही न केही पत्ता लाग्थ्यो, जानकारी हुन्थ्यो होला । अहिले त मन्त्रालय र दूतावासको भरमा आसैआसमा रहेका छौँ । दिन बिराएर फोन गर्छाैँ । ४२ दिन बितिसक्यो, हरेक दिन क्यालेन्डर हेरेर बस्छौँ ।’

 

डेढ महिनादेखि विपिनको प्रतीक्षामा रहेको परिवारले राज्यबाट उपेक्षा गरिएको गुनासो गरेको छ । विपिनको परिवारलाई हालसम्म सो क्षेत्रका संघीय सांसद रमेश लेखक र प्रदेश सांसद बहादुर सिंह थापा मात्रै भेट्न आएका छन् । अरू कुनै नेता आएका छैनन् । फोन पनि गरेका छैनन् । 

 

विपिनका बुबा महानन्दले प्रधानमन्त्री कैलाली आएको वेला २९ असोजमा प्रभावकारी कूटनीतिक पहल गरिदिन माग गर्दै सकसका साथ ज्ञापनपत्र बुझाए । कञ्चनपुरबाटै प्रतिनिधित्व गर्ने परराष्ट्रमन्त्री साउदलाई आफैँ फोन गरे । इजरायलस्थित नेपाली राजदूतावासमा पनि आफैँ फोन गरेर अपडेट लिन प्रयास गर्छन् । तर, ठोस जवाफ पाउँदैनन्, राज्यले पहल गरेको महसुस गर्न पाएका छैनन् । 

 

अन्य कुनै नेताले पनि शान्त्वना दिनका लागि भए पनि फोनसम्म गरेका छैनन् । राज्यबाट उपेक्षा भए पनि जोशी परिवारले तिहारअघि कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको थियो । ‘कुनै मन्त्रीको फोन आएको छैन । परराष्ट्रमन्त्रीले पनि आफैँ कहिल्यै फोन गर्नुभएको छैन । प्रधानमन्त्रीसँग ज्ञापनपत्र बुझाएपछि सम्पर्क हुन सकेको छैन । प्रदेश सरकारबाट कुनै सान्त्वना पाएका छैनौँ,’ विपिनकी आमा पद्माले भनिन् ।

 

विपिनको उद्धारका लागि सरकारको प्रभावकारी रूपमा ठोस पहल गरोस् भन्ने चाहना परिवारको छ । ‘थाइल्यान्डले इरानको मध्यस्थतामा हमाससँग वार्ता गरिरहेको सुनेका छौँ । हाम्रो सरकारले पनि यस्ता च्यानल प्रयोग गरेर पहल गरे हुन्थ्यो । खालि गरिराखेका छौँ भन्छन्, प्रभावकारी रूपमा केही गरेको देखिएन,’ महानन्द भन्छन् ।

 

विपिन परिवारमा यति धेरै अन्योल छ कि केही नयाँ सूचना आउँछ कि भनेर दिनरात मोबाइलमा नजर हुन्छ । ‘निकै अन्योलमा छौँ । बाटो हेरिराखेका हुन्छौँ । कसैले फोन गरिहाल्छ कि, कहीँ समाचारमा आउँछ कि भनेर हरपल हातमै मोबाइल हेरिराखेका हुन्छौँ,’ महानन्दले दैनिकी सुनाए । 

 

विपिनकी आमा पद्मा छोरा सकुशल होस् भन्ने कामना गरेर बसेकी छिन्, तर ढुक्क छैनन् । उद्धारका लागि समयमै पर्याप्त पहल गर्न उनको सरकारसँग माग छ । ‘छोरालाई सम्झिँदा पीडा थामिनसक्नु हुन्छ । रातदिन आँखा भिजेका छन् । सकुशल आउला भन्ने आशा छ । सकुशलै ल्याउन सरकारले पहल गरिदेओस्’ उनले भनिन् । 

 

परराष्ट्र मन्त्रालयका एक अधिकारीकाअनुसार सरकारले हमाससँग सम्बन्ध रहेका मध्यपूर्वका देशहरू कतार, साउदी अरब र इरानसँग कूटनीतिक प्रयास गरिरहेको छ । तर, ठोस रूपमा खुलाइएको छैन । इजरालयका लागि नेपाली राजराजदूतावास पनि खोजीमा लागिरहेको छ । राजदूत कान्ता रिजाल भन्छिन्, ‘खोजी कार्य जारी छ । अहिलेसम्म पत्ता लाग्न सकेको छैन । उपलब्ध सबै च्यानल र सबै ठाउँमा खोजी कार्य जारी राखेका छौँ ।’ 

 

तर, विपिनलाई हमासबाट छुटाउन कूटनीतिक पहल नपुगेको बुबा महानन्दको बुझाइ छ । सरकारको अहिलेसम्मको पहलप्रति परिवार सन्तुष्ट छैन । ‘अझै तीव्रगतिमा गरिदियो भने चाँडो हुन्थ्यो कि जस्तो लाग्छ,’ उनले भने, ‘राज्य अहिले परीक्षामा छ, राज्यले चाँडो गरिदिए भने राज्यको गुणगान गाउने थिएँ । बच्चाको चाँडो उद्धार गरिदियो भने सबैलाई धेरैधेरै धन्यवाद दिने थिएँ । ठूलो धर्म हुन्थ्यो ।’