• वि.सं २०८२ बैशाख २७ शुक्रबार
  • Friday, 09 May, 2025
बाबुकृष्ण कार्की
२०८० मङ्सिर ९ शनिबार ०६:१७:००
सम्झना

अमेरिकामा ‘नेपाली राष्ट्रियता’को साक्षी बनेर फर्कंदा

२०८० मङ्सिर ९ शनिबार ०६:१७:००
बाबुकृष्ण कार्की

राष्ट्रियताबारे नेपालमा विभिन्न कोणबाट बहस हुने गरेको छ । चार किल्लाभित्र बाँधिएको जमिनलाई राष्ट्रियता मानेर संसारभर अनेक युद्ध भएका छन् । भौगोलिक हिसाबले सानो भए पनि ठूला छिमेकीको सीमा मिचाइको मार हामीले पनि खेपेका छौँ । त्यसैले नेपालीका नजरमा आफ्नो सीमारक्षा सबैभन्दा ठूलो राष्ट्रियता हो (तत्कालका लागि) । सीमारक्षा गर्न नसके पनि चुच्चे नक्सा प्रकाशन गर्दासमेत हामी राष्ट्रिय भावनाले ओतप्रोत भएकै हौँ । तर, राष्ट्रियता चार किल्लाभित्र मात्र सीमित हुँदैन, हुनुहुँदैन । यो त राष्ट्र, यसको भाषा, जाति र समुदायप्रतिको माया, सम्मान, समर्पणको भावना पनि हो, चाहे त्यो विश्वको जुनसुकै कुनामा बसेको वा बस्नु परेको होस् । राष्ट्रियता अब कसैको नारा बन्नु हुन्न । यो मातृ पितृभूमिप्रतिको अगाध प्रेम हो, संसारको जुन कुनामा बसेर गरेको भए पनि । अमेरिकाको हालैको मेरो निजी भ्रमणले पनि मलाई यही अनुभूत गराएको छ ।


म केही हप्ताअघि नेपालबाट अमेरिकाको भ्रमणको सिलसिलामा निस्किएको थिएँ । मेरो लागि सुखद संयोग नै मान्नुपर्छ न्युयोर्कको रचेस्टरमा हजारौँहजार नेपाली मूलका विभिन्न जेनेरेसनका खेलाडीहरूबीचको ठूलो प्रतिस्पर्धा देख्ने अवसर मिल्यो । नेपालमै प्रसिद्ध भएका भलिबल र फुटबल (अमेरिकामा यसलाई सकर भनिदोरहेछ) को प्रतिस्पर्धा त्यो पनि अमेरिका र क्यानडामा बस्ने नेपाली–नेपालीबीचको । रचेस्टरका ठूला दुई खेल मैदानहरू भाडामा लिइएको रहेछ । सेप्टेम्बरको तेस्रो सातामा भएका यी दुवै खेलमा झन्डै एक हजारको संख्यामा त नेपाली खेलाडी नै उत्रिएका थिए । उनीहरूको समर्थनमा अमेरिकाको न्युयोर्क र आसपासबाट जम्मा भएका नेपाली जातिका किशोर–किशोरीदेखि अधबैँसेसम्मका महिला पुरुषहरूको भिड साँच्चै नै लोभलाग्दो थियो– नेपालभन्दा हजारौँहजार कोस पर । 


नेपालबाट पुगेको मजस्तै थाइल्यान्ड, बर्मा, मलेसिया, युरोप र अस्ट्रेलियाबाट अमेरिका घुम्न गएका नेपालीहरू पनि दर्शकका रूपमा त्यहाँ भेटिएका थिए । ढाका टोपीमा सजिएका मानिसहरू सात समुद्रपारिको त्यो भूमिमा ठूलो संख्यामा देख्दा म आनन्दित त थिएँ नै, खेलको प्रतिस्पर्धाले नेपालको राष्ट्रिय खेलभन्दा पनि चर्को प्रतिस्पर्धाको रूप लिएको देख्दा संसारको जुन कुनामा पुगे पनि नेपालीले आफ्ना मन परेका खेल उत्तिकै मिहिनेतपूर्वक खेल्ने रहेछन् भन्ने पनि लाग्यो । म आफैँ पनि कुनै वेला भलिबलको नेपालको अञ्चलस्तरीय खेल खेलेको खेलाडी हुँ, मलाई उनीहरूको खेल निकै उत्कृष्ट र अब्बल लाग्यो । 

सात समुद्रपारिको त्यो भूमिमा हजारौँका बीच नेपाली खेल भावनाको आदानप्रदान मात्र होइन, नेपाली भाषा र संस्कृतिको व्यापकता पनि कम रोचक र भावविभोर बनाउने खालको थिएन । 


महिला र पुरुष दुवैका लागि भलिबल र फुटबल आयोजित रहेछ । त्यसमा पनि ४० वर्ष नाघेका भेट्रानहरूका लागि छुट्टै खेल आयोजना गरिएको थियो । खेल मैदानमा तीनथरी नेपाली पुस्ता देखियो । अमेरिकामा पहिलोपल्ट आपूm पुगेको पुस्ता, तिनका सन्तानहरूको युवा पुस्ता र उनीहरूका पनि सन्ततिहरूको पुस्ता । यी तिनै पुस्ता खेलाडीका रूपमा आएका थिए– भेट्रान र युवातर्फका खेलका लागि । तीनवटै पुस्ताका खेलाडीसँग कुरा गर्ने अवसर पनि मिल्यो मलाई । पहिलो पुस्ताले दोस्रो र दोस्रोले तेस्रोलाई नेपाली जातिको खेल भावना र खेल अनुशासन सिकाइरहेको पाएँ । 


सात समुद्रपारिको त्यो भूमिमा हजारौँका बीच नेपाली खेल भावनाको आदानप्रदान मात्र होइन, नेपाली भाषा र संस्कृतिको व्यापकता पनि कम रोचक र भावविभोर बनाउने खालको थिएन । मैदानमा सबैलाई नेपाली भाषा मात्र बोल्न उत्प्रेरित र निर्देशित गरिएको थियो भने दुवै खेलका मुख्य रेफ्री पनि अन्तर्राष्ट्रिय मान्यता पाइसकेका नेपाली मूलकै व्यक्तिहरू थिए । 


खेलको उद्घाटन गर्दै आयोजक संस्था इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले प्रवासमा पनि नेपालीपन जगाउन र नेपाली खेल भावनाको विकास गर्न इन्ट्रा कप भलिबल तथा फुटबल आयोजना गरिएको बताएका थिए । प्रवासमा जन्मिएको, हुर्किएको नेपाली जातिका पुस्तालाई खेलकै माध्यमबाट एकजुट बनाउने भावना आफैँमा अनुपम थियो । अमेरिकाको पश्चिम दक्षिणको क्यालिफोर्निया, उत्तरपूर्वको न्युयोर्क, मेरिल्यान्ड, पेन्सिलभेनिया, ओहायो र दक्षिणकै टेक्साससहितका १४ राज्यबाट एक हजारको हाराहारीमा नेपाली खेलाडीहरू त्यहाँ भेला भएका थिए ।


म उसै पनि इन्ट्रा फाउन्डेसनसँग नेपालमै केही प्रभावित थिएँ । संसारभरिका नेपाली प्रतिभाहरूलाई नेपाल ल्याएर उनीहरूबीच प्रतिस्पर्धा गराएर विश्व रंगमञ्चमा नेपाली सेलिब्रेटीहरू जन्माउनका लागि मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सजस्ता ठूला कार्यक्रम नेपालमै हालै मात्र सम्पन्न भएका थिए । संसारका नेपाली प्रतिभा बटुलेर महिनौँ नेपालमा राखी उनीहरूबीच प्रतिस्पर्धा गराएर विजेता छान्ने काम गर्नु चानचुने कुरा थिएन । त्यसमा लाग्ने खर्च, समय र व्यवस्थापनको कौशल चुनौतीपूर्ण थियो नै । यी दुईको ग्रान्ड फिनालेमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, भारतको सिक्किम राज्यका कृषिमन्त्रीसमेतले संसारभरका नेपाली जातिलाई संस्कृतिका माध्यमबाट जोड्ने काम गरेको भन्दै प्रशंसा गरेको सुनेको थिएँ ।


अमेरिकामा खेलको माध्यमबाट नेपालीपन र नेपाली मन जोड्ने अर्को विशाल काम गरेको देख्न पाउनु हर्ष र गौरव दुवैको विषय थियो । सँगसँगै अर्को कुराले पनि भित्री मन नराम्रोसँग चिमोटिएको थियो मेरो । मुलुकमा जस्तोसुकै गरिबी भए पनि देशभित्र धनाढ्यहरूको कमी छैन । संसारका खर्बपति नवधनाढ्यहरूको सूचीमा हाम्रै देशका व्यापारीहरूको नाम पनि चढेको सुनेको र पढेका छौँ हामीले । तर, तिनले नेपाली संस्कृति, नेपालीपन र नेपाली मन जोड्ने काम गरेको भने विरलै सुनिएको छ, अर्थात् सुनिएको छैन । 


भुटानमा जन्मिएका अधिकारी र उनको समूह नेपालमा १७ वर्ष शरणार्थी शिविरमा ‘अनागरिक’को पीडादायी जीवन बिताएर पनि नेपाली तन र मन बोकेर तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका पुगेका रहेछन् । तिनै अधिकारीको सपना र कल्पनामा संसारभरका नेपाली जाति जोड्ने अभियान चलेको देख्न पाउनु र हामीले ठानेका, मानेका एवं नेपालमै जन्मिएका अर्ब–खर्बपतिहरू मुकदर्शक भएर बसेको देख्नु आफैँमा आश्चर्य र कौतुहलताको विषय थियो । 


भावनाको जोडाइ कस्तो पनि देखियो भने नेपालको भलिबल खेलमा चारजना पूर्वराष्ट्रिय खेलाडीहरू रोमन श्रेष्ठ, कैलाश भट्ट, सिपोरा गुरुङ र रमिला तन्डुकार पनि खेलाडीकै रूपमा टिमको नेतृत्व गर्दै रचेस्टर पुगेका थिए । अझ रोचक त के पनि देखेँ भने अमेरिकामा नै जन्मेका नेपाली जातिका ससाना बालबालिका र किशोर–किशोरीहरूले “पश्चिम कोही पूर्व घर, आँगन तर एउटै हो” भन्ने गीतमा नेपाली विविधता झल्कने पोसाक लगाएर सुन्दर नृत्य पनि खेल मैदानमै देखाएका थिए । खेलको बीचमा खेलाडी र दर्शकहरूलाई मनोरञ्जन दिनका लागि आयोजकले स्कुले बालबालिकालाई नेपाली वेशभूषा र नेपाली राष्ट्रिय भावको गीतमा नचाएका रहेछन् । अमेरिकाका विभिन्न राज्य र क्यानडासमेतलाई खेलले जोडेको दृश्यसँगै नेपाली राष्ट्रियता झल्कने गीतमा देखेको त्यो नृत्यले कोशौँ टाढाको देशमा पनि नेपाली राष्ट्रियता टल्किरहेको, चम्किरहेको गर्विलो अनुभूति भयो ।पंक्तिकारलाई हाम्रो राष्ट्रियतालाई संसारभरि उजिल्याउने, चम्काउने नेपालीजातिका सच्चा सपुत र भक्तहरू संसारभर छरिएर रहेका रहेछन् भन्ने भावना जागृत भयो । 


वास्तवमा अमेरिकाका धेरैमध्येका केही राष्ट्रिय निकुञ्जहरू घुमुँ र वन्यजन्तु एवं प्रकृति संरक्षणको मोडेल एवं तौरतरिका अध्ययन गरुँ भनेर नेपालबाट निस्किएको म अमेरिकामा चम्किरहेको नेपाली जातिको सक्कली राष्ट्रियता प्रत्यक्ष अनुभूत गरेर मातृभूमि फर्किएँ । आखिरमा राष्ट्रियता आफ्नो गौरवमय इतिहासको पहिचान, भाषा, साहित्य संस्कृतिको रक्षा कल्याण, सम्मान र पुस्तान्तरण पनि रहेछ । सक्कली राष्ट्रियतालाई सीमाले नछेक्ने रहेछ र यो देशभित्रभन्दा बाहिर बसेको नेपाली जातिमा झन् धेरैधेरै रहेछ । र, गहिरोसँग मनमुटु मस्तिष्कमा गढेर बसेको रहेछ ।नेपाली राष्ट्रियताका ती सच्चा रक्षकहरू सबैप्रति सम्मान र सलाम । 
(कार्की नेपाल आर्मीका अवकाश प्राप्त सहायक रथी हुन् ।)