• वि.सं २०८२ बैशाख २७ शुक्रबार
  • Friday, 09 May, 2025
पराजित पोमु
२०८० मङ्सिर ९ शनिबार ०६:२६:००
साहित्य

सीमान्तको आवाज बोल्ने ‘अन्तिम सेलो’

२०८० मङ्सिर ९ शनिबार ०६:२६:००
पराजित पोमु

फ्रान्सिस फुकुयामाले शीतयुद्धको समाप्तिपछि ‘दि इन्ड अफ हिस्टोरी’ पुस्तकमा इतिहासको अन्त्य भएको घोषणा गरे । फुकुयामाले अन्त्यलाई समाप्ति नभएर इतिहासको नयाँ चरणको सुरुवात मानेका छन् । त्यस्तै अन्य दार्शनिक रोला बार्थ, डैनियल बेल, लियोटार्डले विचारधाराको अन्त्य, महाआख्यानको अन्त्य घोषणा गरेको पाइन्छ । यसको मूल मक्सद समयसापेक्ष स्वतः निर्माण हो, समयको टर्मिनेसन भन्ने हो । कवि इन्दु योन्जनकृत कवितासंग्रह ‘अन्तिम सेलो’ पढिरहँदा यस्तै आभास भयो । 


नेपालको सुदूर पूर्व इम्बिरी सभ्यताको बहुल समुदाय बसोवास गर्ने संखुवासभाबाट उदाएका योन्जन पेसाले अस्पताल प्रशासनसित जोडिए पनि काव्य जगत्का लागि उच्च सम्भावना भएको नाम हो ।  काव्य संग्रहभित्र कविले अन्तिमलाई अन्त्य र सेलोलाई सांस्कृतिक बिम्बका रूपमा उभ्याएका छन् ।

 

नेपाल राज्य निर्माणको इतिहासलाई केलाउने हो भने तामाङ समुदायको योगदान उच्च पाइन्छ । तथापि, राज्यसत्ताको असमान नीतिका कारण तामाङहरू अनागरिक, सीमान्त समुदायका रूपमा बाँच्न बाध्य भयो । पिछडा वर्ग, जनजाति, मतुवाली, मुर्मी, भोटे (भोटिया) हुँदै मासिन्याजस्ता भाष्यहरू तामाङमाथि थोपरियो । यसको मुख्य कारण राजधानीवरपर तामाङ जातिको घना बसोवास भएकाले कुनै पनि समय उनीहरूले याम्बु घेराउ गरेर शासनको केन्द्रमा दुःख दिन सक्ने सम्भावनाले उनीहरूलाई दमन र उत्पीडनमा पारेरै तह लगाउन राज्य औपचारिक रूपमै उनीहरूविरुद्ध मासिन्या जाति भनेर लागेको देखिन्छ । 


अफ्रिका र अमेरिकामा रहेको रंगभेददेखि दास प्रथासम्मका घटनाहरू बुझ्न जरुरी हुन्छ । सन् १९४८ को दशकसम्म अफ्रिकी र अमेरिकी देशमा अश्वेत समुदायलाई रंगभेदको आधारमा बेचबिखन गर्ने, दास बनाउने प्रथा थियो । अश्वेत समुदायलाई सामाजिक, धार्मिक, राजनीतिक,आर्थिक उत्पीडनमा पारिएको थियो । अमानवीय भेदभावको व्यवहार गरिन्थ्यो ।

 

उनीहरूलाई लेखपढ गर्न, आवाजलाई खुलमखुला राख्न नपाइने तथा सामान्य मानवीय गतिविधिसमेत गर्न मनाहीजस्तै थियो । यही विभेदबाट अश्वेत समुदायले सामूहिक भेला भएर  र्‍याप गीत गाउने, आपसमा दुःखहरू साटासाट गर्न सामूहिक हिप्पी नृत्य गर्ने आफ्नो मनका भावनाहरू अभिव्यक्त गर्न थाले । अश्वेत जातिका मानिसमाथि छालाको रंगकै आधारमा विभेद गर्ने परम्पराबाट नै  र्‍याप संगीतको इतिहास ‘स्टोरीटेलिङ’ (कथा भन्ने शैली)सँग जोडिएर हिप्पी आन्दोलनको सुरुवात भएको मानिन्छ । यो नै जरा चिन्तनको सुरुवाती आन्दोलन मानिन्छ ।


नेपालमा पनि राज्यले बहुसंख्यामा रहेका आदिवासी तामाङ समुदायलाई त्यस्तै चरम भेदभाव ग र्‍यो । सामाजिक, धार्मिक, राजनीतिक,आर्थिक साथै प्रशासनिक रूपमा समेत पिपा दर्ज गरेर विभेद गरेको पाइन्छ । त्यसको फलस्वरूप आफ्ना मनोभावलाई साटासाट गर्न एकै स्थानमा भेला भएर डम्फु बजाउने, सेलो नाच्ने र गाउने गर्थे । कालान्तरमा यो सांस्कृतिक आन्दोलन बन्यो । यसको प्रारूप नेपालको जनक्रान्तिसँगै व्यापक आकार लियो । यसै आन्दोलनको ‘टर्मिनेसन’बाट जन्मिए विचारहरू अनि कविताका हरफहरू लेख्ने कविहरू जन्मिए । राज्यको दमनचक्रप्रतिको नांगो चमचमाउँदो रिन्छेन दोर्जेको तरबार हो–‘मासिन्या’, ‘ओ पेङ्दोर्जे !’ ‘याम्बुनेर’, ‘डम्फुको आत्मलाप’ र ‘अन्तिम सेलो’हरू ।
योन्जनको ‘अन्तिम सेलो’ पढिरहँदा अन्तिम शब्द समयसूचक अन्त्यको सूचना र सेलो सांस्कृतिक क्रान्तिको उपार्जन हो भन्ने महसुस हुन्छ । ‘अन्तिम सेलो’ इतिहासको नयाँ चरण र समयको ‘टर्मिनेसन’ हो भन्ने लाग्छ । जस्तै– एउटा कवितांशः
फूलहरू बगिरहेका छन् निर्बाध !


घाम साक्षी छ । (साक्षी–६१)
कविले फूललाई मानव बिम्बका रूपमा उभ्याएका छन् । त्यसैले फूलहरू बग्नु, हत्या हुनु न्यायोचित हँुदै होइन । घाम सर्वव्यापी न्यायको प्रतीक हो, तर घाम असमानताको साक्षी बसेको देख्छन् । अतः हामीले ओढेको आकाश विभाजित छ, जब आकाशहरू विभाजित बन्छन्, बादलले अनेकानेक आकृति लिन्छ । घनघोर वर्षा हुन्छ, सिंगो प्रकृतिले विद्रोह गर्छ । डम्फु जोडतोडले बज्न थाल्छ । यही भन्छ कविताका हरफहरू :


मेरो घरको आँगनबाट
सुरु भएको बाटो
यसरी विभाजित छ । (बाटो–८०)


पृथ्वीमा कोरिएका अक्षांश र देशान्तर रेखाहरू ‘ग्रिनिज’लाई केन्द्र बनाएर घुम्छन्, तर मानव आफ्नो मस्तिष्कको चेतनालाई । अतः आफ्नै पैताला शून्य ठान्छन् । यात्रा त्यहीँबाट सुरु मान्छन्, तर जब त्यही घरको दिवार, आँगनको शून्य बिन्दुबाट हाम्रो मीमांसाहरू विभक्त हुन्छन्, अनि अतिवाद जन्मन्छन् । यस्तै दादावाद, नाजीवाद–हमास र इजरायल युद्ध मानव नरसंहारका प्रतीक हुन् । विश्व परिदृश्यबाट मानवता, प्रेम हराइरहेका वेला हाम्रो मानवताको बाटो विसंगतिवादतिर होइन, मानवताको पक्षमा उभिनुपर्छ भन्ने आह्वान कवितामा पाइन्छ । हाम्रो आफ्नै आँगन बाटोहरू विभाजित भएकोमा कवि चिन्ता व्यक्त गर्छन् ।


टोटालो फुल्ने भूमि
माने र छ्योर्तेन सँगसँगै
यो लिम्बुवानी धर्तीबाट
साँचो कुरा बुझिरहेको छु
काङ्सोरेका आत्माहरू
सल्बलाइरहेको देखेको छु
युमा रानीहरू अदृश्य रिसाइरहेको देखेको छु
सुम्निमा र पारुहाङ छटपटाइरहेको देखेको छु ।

(बुख्याचा–४४)


वर्तमान विश्व पहिचान युद्धको मुख्य राजमार्गमा हिँडिरहेको अवस्था छ । कवि आफू तामाङ भएकाले उनी ताम्सालिङको कुरा गर्छन्, तर भूगोल र सभ्यताप्रति सचेत छन् । कवि आफ्नो अस्तित्वको कुरा उठाइरहँदा सह–अस्तित्वप्रति पनि त्यत्तिकै सजग देखिन्छन् । कविको युगबोधको चेत कवितामा देख्न सकिन्छ ।


अल्र्बट कामू भन्छन्, ‘कवि ईश्वरको दूत हो ।’ अतः मनुष्यको आस्था र विश्वासमाथि सामाजिक उत्तरदायित्व, मूल्य–मान्यताउपर बोधगम्य संश्लेषण कवि हो । कतिपय ठाउँमा फितलो विषय उठान भएको पाइन्छ । समयसित भोगाइको जीजीविषा कविताको प्लट हो । कविता वर्णनात्मक शैलीका छन् । सरल र सुललित शब्दहरूको समायोजन नै कवि र कविताको उचाइ, गहनता मापनको कोर पक्ष हो ।


योन्जनको ‘अन्तिम सेलो’ संग्रहभित्र वर्तमान युगको आवाज मुखरित छ । कृति दुई खण्डमा विभाजित छ । सामाजिक विकृति–विसंगति, राजनीतिक परिवेशप्रति कतै व्यंग्य छन् त कतै जागरणका जर्बजस्त पक्ष छन् । कविले भावमा जोड दिएर शब्द खेलमा कञ्जुस्याइँ गरेको ठम्याउन सकिन्छ । समग्रमा पठनीय बनेको छ ‘अन्तिम सेलो’ । कविलाई आगामी लेखनयात्राका लागि शुभकामना ! नोगेन ।