• वि.सं २०८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२०८० मङ्सिर ९ शनिबार ०६:५६:००
यात्रा

लार्केपासको एक्लो सफर

२०८० मङ्सिर ९ शनिबार ०६:५६:००

यात्रा भनेपछि अग्ला पहाड र अझ हिमाल नै हो भन्ने मानसिकता ममा गढेको छ । पहाडी हावापानी र परिवेशमा जन्मेहुर्केको प्रभाव पनि हुन सक्छ, मध्यम र चिसो हावापानी प्यारो लाग्छ । त्यसैले यात्राका लागि पनि उच्च पहाडी र हिमाली चित्र–स्मृतिहरू मानसपटलमा आइहाल्छन् । हिमाल, हिउँ, नदी, स्वच्छ वायु, सफा आकाशले मोहनी लगाएझैँ लाग्छ । 


कोभिडको आसपासदेखि हाइकिङको लत लागेको मैले करिब एक वर्षमा काठमाडौं उपत्यकाआसपासका सबैजसो डाँडाकाँडा डुलेर भ्याएँ । त्यसपछि हाइकिङबाट बाहिर निस्केर म अलिक लामो ट्रेकतर्फ लागेँ । होचाबाट क्रमशः अग्ला टाकुरा र गन्तव्य चुम्ने चाहनाले एकपछि अर्को अग्ला चुचुरोमा पुग्दै आएको छु । 


अब कुन ठाउँमा यात्रा गर्ने भन्नका लागि मसँग तीन–चारवटा गन्तव्य विकल्पमा हुन्छन् । यसपालि भने मसँग डोल्पाको से–फोक्सुन्डो ताल र दोलखाको च्छोरोल्पा प्रमुख विकल्पमा थिए । तीमध्ये एकमा जाने भन्ने मानसिकतामा थिएँ । तर, अन्तमा नसोचेको विकल्प फ्याट्ट आइपुग्यो– गोरखाको लार्केपास ।


गोरखाको मनास्लुबारे सामान्य परिचित भए पनि त्यसैमाथिको लार्केबारे मैले खासै देखेसुने र पढेको थिइनँ । र, पनि अन्तिम समयमा मैले लार्के नै रोज्न पुगेँ । लार्के नै किनभने एक त अघिल्लोपटक तिलिचो ताल पुगेकाले त्यसभन्दा माथिल्लो उचाइ चुमूँ भन्ने थियो भने अर्कोतिर गृहजिल्लाको ठूलो भाग र परिचित ट्रेकिङ गन्तव्यमा पुगेकै थिइनँ । लामो ट्रेकिङ रुट भए पनि समय र खर्चका हिसाबले पनि त्यो उपयुक्त हुन्छ भन्ने दाबी पनि रह्यो । 

एक्लो यात्रामा निस्किँदा जोखिम वहन गर्ने अठोट आवश्यक पर्छ । साना गल्तीले पनि क्षति निम्त्याउन सक्छ । कतै केही भइहाल्यो भने सम्हाल्ने कोही हुँदैन । बाटोमा हिँड्ने अपरिचितबाट पर्याप्त सहयोग नपाइन सक्छ । 


अकस्मात् तय भएको यात्रा 
तिहारबिदा सुरु हुनु अघिल्लो दिन बल्ल लार्के जाने निश्चित भयो । सामान्यतया लामो तयारीका यात्रा योजना सफल नभएका विगतका अनुभव, एक्लै यात्रामा निस्किने अठोट र जोखिमहरूको अधिक अनुमान नगर्ने स्वभावले सामान्य पारिवारिक व्यवस्थापनपछि म २५ कात्तिकमा मनास्लु निस्किएँ । 


लगाएकोबाहेक ज्याकेटसहित एक थान अतिरिक्त लुगा झोलामा कोचेर बिहान पौने ६ बजे नयाँ बसपार्क पुगेँ । तर, बसको टिकट थिएन । पुगेर टिकटको व्यवस्थापन गरेपछि सवा ७ बजेतिर गाडी गोरखाको माछाखोलातिर हाँकियो । बसपार्कबाट छुटेको करिब १२ घन्टामा बस गन्तव्यमा पुग्यो । 


बिल्कुल एकल यात्रा भएकाले त्यही अनुसारको मानसिक अठोट पनि थियो । यसबारे कसैलाई यात्राबारे केही भनिनँ पनि, किनभने पहिला आफ्नो अठोट पूरा गर्नु थियो । यसबीचमा भर्खरै लार्के पुगेर फर्केका केही साथीहरूसँग बाटोघाटो सहीसलामत रहे–नरहेको र हिउँको अवस्थाबारे सामान्य जानकारी लिएँ । माछाखोलामा बास बसेपछि बिहान साढे ५ बजेबाट यात्रा सुरु गरेँ । आकाशमा ताराहरू निभेकै थिएनन्, मोबाइलको लाइटमा माछाखोलाबाट माथि लागेँ । 


यात्रा गर्दा आफू जान खोजेको गन्तव्यबारे सामान्य जानकारी त खोजिन्छ नै, तर धेरै नापनक्सा, ठेगाना खोज्न र योजना बनाउन लाग्दिनँ । यसका आफ्नै जोखिम र बेफाइदा हुन सक्छन् । म भने यात्रामा जाने भनेपछि सोधीखोजी गरेर पनि पुगिन्छ भन्ने सोच्छु, र त्यस्तो जोखिमको धेरै अनुमान गरेर पनि बस्दिनँ । 


बसेको होटेलबाट हिँडेको करिब आधा घन्टापछि अलि उज्यालो भयो । यसपछि भने हिँड्न सहज भयो । बुढीगण्डकीको किनारैकिनार, हुर्किँदै गरेको चिसो मौसममा, प्राकृतिक छटामा रम्दै, घामको स्पर्शमा हिँड्नुमा अपार आनन्द अनुभव भयो । अघिल्लो रात होटेल सञ्चालकसँग आफू हिँड्नुपर्ने बाटो र त्यससम्बन्धी जानकारी लिएको थिएँ ।


तातोपानीको आनन्द 
माछाखोलाबाट माथि आफ्नै लयमा हिँडिरहेको थिएँ । पहराबाट रसाएको पानीमा उडिरहेको बाफले ध्यान आकर्षित ग¥यो । नजिकै गएर हेरेँ र पानी छामेँ, तातो अनुभव भयो । अनि अघिल्लो रात होटेल सञ्चालकले तातोपानीबारे बताएको सम्झेँ । त्यस ठाउँ तातोपानीको नामले परिचित रहेछ । 


नजिकै ठूलो धारा रहेछ र धारासँगै कुण्ड पनि । यसअघि तिलिचो र मुस्ताङ जाँदा तातोपानीमा नुहाउन नपाएको धोको पूरा हुनेभो भन्ने मनमनै गमेर आडैको होटेलका मानिसलाई नुहाउन मिल्ने नमिल्नेबारे सोधेँ । उनीहरूले नुहाउन मिल्ने बताए । करिब साढे तीन घन्टा हिँडिसकेको शरीर पसिनाले निथु्रक्क भएको थियो । त्यहाँ नुहाएँ, प्राकृतिक तातो पानीमा नुहाउँदा त्यसले शरीरलाई ऊर्जावान बनाउँदो रहेछ । 


यहाँबाट हिँडेको करिब डेढ घन्टामा खाना खाएर केही समयको विश्रामपछि फेरि उकालो चढ्ने क्रम सुरु भयो । पहिला भोटको व्यापार र पछि पर्यटनको विकासले यस रुटमा आवासको समस्या खासै नहुँदो रहेछ । एक–डेढ घन्टाको यात्रामा होटेल–लजहरू भेटिन्छन् । बाटोमा पर्याप्त मात्रामा साइनबोर्डहरू भएकाले यात्रामा अल्मलिने सम्भावना पनि कम हुन्छ । 
खच्चड सवारी र झोलुंगे पुलको विकास 

ट्रेकिङ ट्रेलहरूमा सडक बाटो लैजाने विकृति पछिल्लो समय मौलाएर गएको छ । यसले ट्रेकिङ ट्रेलको औचित्यलाई नै फिका बनाइदिने जोखिम हुन्छ । तर, लार्के रुट भने यसबाट हालसम्मको अवस्थामा केही जोगिएको छ । यद्यपि, सडक खन्ने क्रम जारी छ । सडक बाटोले स्थानीयको सास्ती घटाएर सुविधा दिए पनि पर्यटनका लागि भने यसको नकारात्मक असर हुन्छ । हिमाली ट्रेकमा आउने कोही पनि विदेशी पर्यटक ट्रेलमा सडकबाट यात्रा गर्न रुचाउँदैनन् । किनभने उनीहरू सडकभन्दा पनि गोरेटो हिँड्न आएका हुन्छन् । ट्रेल सुरक्षित र त्यहाँ आवश्यक सुविधा हुनु त जरुरी नै भयो ।

स्थानीयको सुविधा र व्यापारिक प्रयोजनका लागि सडक विस्तार गरेर ट्रेकिङ ट्रेललाई जोगाउन सकिने भए पनि हामीकहाँ सडकबाटो पुगेपछि ट्रेल मासिएका उदाहरण प्रशस्तै छन् । लार्के रुटकै धेरै ठाउँमा यस्तो देखिन्छ । सडक बाटो र सवारीसाधन नगुड्ने भएकाले रुटभरि खच्चड र मानिसहरूको बाक्लो आवतजावत देखिन्छ । हेलिकोप्टरको ढुवानी भाडा महँगो हुने भएपछि एक मात्र विकल्प रहेको खच्चडबाटै खाद्यान्नलगायत आवश्यकीय वस्तुको ढुवानी हुँदै आएका छन् । खच्चड र मानिसको आवतजावतले रुट जीवन्त लाग्छ । 


रुटभरि अनगिन्ती झोलुंगे पुल देख्न सकिन्छ । नागबेली भएर बगेको बुढीगण्डकीको कहिले वारि र कहिले पारि भएर यात्रा गर्नुपर्छ । पहरा र चट्टानी भिर आएपछि पुलबाट अर्को भित्ताको गोरेटोतर्फ जानुपर्छ । यसले गर्दा धेरै पुल वारि–पारि गर्नुपर्छ । 


उचाइको कठिनता 
तल्लो भूगोलमा जस्तो सहजता हुन्छ, उचाइ बढ्दै जाँदा कठिन थपिँदै जान्छ । अक्सिजन पातलो हुँदै जाँदा हिँडाइमै थकाइ लाग्ने र श्वासप्रश्वास असहज हुँदै जान्छ । लार्के उच्च बिन्दु भएकाले स्वाभाविक गाह्रो हुने नै भयो । स्याला पुग्दा मनास्लुलगायत हिमाल आँखैअघि छ्यांग देखिँदा मन आनन्दित हुन्छ । त्यसपछि आउने सामागाउँसम्मको बजार सुन्दर लाग्छ । सामागाउँबाट मनास्लु बेसक्याम्प र लार्के जाने बाटो छुट्टिन्छ । यहाँबाट साम्दोसम्मको यात्रा अझै सुन्दर लाग्छ । 


लगभग साम्दोकै उचाइको लार्के बजारबाट धर्मशाला पुग्न करिब ६ सय मिटर उचाइ चढ्नुपर्छ । चार हजार ४६० मिटर उचाइमा रहेको धर्मशालापछि लार्केको चुचुरो पुगिन्छ । लार्के चढ्नु अघिल्लो रात धर्मशालामा बास बसिन्छ । यो ठाउँभन्दा माथि होटेल–लज छैनन् । सामागाउँ, साम्दो कटेर धर्मशाला र त्यसभन्दा माथिको यात्रा उचाइका कारण कठिन छ । यसबीचको बाटोमा पर्याप्त सहजता अपनाउनु आवश्यक हुन्छ । यात्रामा एक्लो रहेको र हिँडाइको तीव्रताले माथि असहज हुन सक्ने अनुमान गरेर प्राणायामको अभ्यासबाट श्वास सहज बनाउँदै उचाइमा अभ्यस्त गराउँदै अघि बढेँ । 


उस्तै सुन्दर मनाङ क्षेत्र
लार्केपास समुद्र सतहबाट पाँच हजार १०६ मिटर उचाइमा छ । चर्को हावा र चिसोले यहाँ धेरै बस्न सकिँदैन । यहाँ बिहान सात–आठ बजेतिर पुग्नु राम्रो हुन्छ । त्यसपछि हावाको वेग बढ्छ । त्यसैले धर्मशालाबाट बिहान साढे ३ देखि ५ बजेभित्र हिँडिसक्नुपर्छ । उचाइमा रहेको लार्के पास गरेपछि मनाङ सुरु हुन्छ । लार्केसम्म उकालो चढेको मान्छे अब ठाडो ओरालो झर्नुपर्छ । भीमथाङ नपुग्दासम्म ठाडो ओरालोले घुँडा दुख्न थाल्छ । लार्के पास गरेर फर्किनेहरू सामान्यतया एक दिन यहीं बस्छन् । यहाँ व्यवस्थित होटेल–लजहरू भेटिन्छन् । भीमथाङको उचाइ तीन हजार ७०० मिटर छ । 


भीमथाङ कटेपछि अन्नपूर्ण संरक्षण क्षेत्र सुरु हुन्छ । मनाङको यो पाटो झन् सुन्दर लाग्छ । हिमालको दृश्यसँगै खोलाको छङछङ आवाज र जंगलको सुन्दरताले मनै लोभ्याउँछ । यसपछि गोवासम्म झर्दाका दृश्य मनमोहक लाग्छन् । यहाँबाट भने प्रायः सडकबाटो हिँड्नुपर्छ । 


एक्लो यात्राको मजा 
एक्लो यात्रालाई अक्सर मानिसहरू नीरस, जोखिमपूर्ण, मूर्खतालगायत रूपमा व्याख्या गर्छन् । तर, मलाई भने त्यसो लाग्दैन । बरु, एक्लो यात्रा बढी आनन्ददायक लाग्छ । यो आनन्द लार्केयात्रामा अझ मजाले महसुस गरेँ । तितरबितर नभई, नबोली, शान्त तरिकाले आफ्नो गन्तव्य योजनामा केन्द्रित भएर प्राकृतिक छटामा डुबेर हिँड्नुको मजा छुट्टै हुन्छ । एक्लो यात्राको सुन्दर पक्ष भनेको तपाईं आफूसँग हुनुहुन्छ । अन्तर्मुख हुने अवसर हुन्छ । यो भनेको बडो आनन्ददायक लाग्छ । 


नेपालको लामोमध्येको मानिने लार्के ट्रेल मैले जम्मा ६ दिनमा पूरा गरेँ । जबकि यो पर्यटकका लागि सामान्यतया १२ दिनको योजना हो । म एक्लो हुनाले पनि सम्भव भयो । यात्रामा म अधिक हिँडेँ । सामान्तया बिहान ५ बजे उठी आधा घन्टा तयारी गरेर म यात्रामा निस्किन्थेँ । यो यात्रा साँझ आँखा देख्दासम्म जारी रह्यो । धर्मशाला पुगेपछि गन्तव्य चुम्ने दिन बिहान ४ बजे उठेर लार्के पास गरेर त्यही दिन साँझ ६ बजे मनाङको धारापानी झरेको सम्झिँदा अहिले आफैँलाई असम्भव जस्तो लाग्छ । त्यस दिन म धर्मशालाको चार हजार ४६० मिटरबाट लार्केको पाँच हजार १०६ मिटर चुमेर धारापानीको एक हजार ९०० मिटरको उचाइमा झरेको थिएँ । 


एक्लो यात्रामा निस्किँदा जोखिम वहन गर्ने अठोट आवश्यक पर्छ । साना गल्तीले पनि क्षति निम्त्याउन सक्छ । कतै केही भइहाल्यो भने सम्हाल्ने कोही हुँदैन । बाटोमा हिँड्ने अपरिचितबाट पर्याप्त सहयोग नपाइन सक्छ । तर, एक्लो यात्रामा रहेको भनेपछि कतिपयले यसलाई साहसिक काम भएको प्रतिक्रिया दिए भने स्थानीयले सदासयता व्यक्त गरे ।